भर्खरै :

इजरायल – प्यालेस्टिन द्वन्द्व/दुई राज्य अवधारणाको पृष्ठभूमि र अन्तर्य – ४

इजरायल – प्यालेस्टिन द्वन्द्व/दुई राज्य अवधारणाको पृष्ठभूमि र अन्तर्य – ४

दुई राज्य अवधारणा अमेरिका इजरायल सम्बन्धको छायाँमा
दुई राज्य अवधारणा इजरायल र प्यालेस्टिन समस्या समाधानको लागि सुरुदेखि नै बेलायत र अमेरिकाले अगाडि सार्दै आएको नीति हो । क्याम्प डेभिडदेखि ओस्लो सन्धिसम्मको लागि अमेरिकाले सहजीकरण गरेको बाह्यरूपमा देखिन्छ । तर, यस मामलाका विज्ञहरू यो अमेरिका र इजरायलको देखाउने दाँतमात्र भएको र दुवै देश यसप्रति कहिल्यै इमानदार नभएको बताउँछन् । विज्ञहरू यतिसम्म भन्छन्, दुनियाँको अगाडि लाज छोप्न र इज्जत जोगाउनमात्र दुई राज्य अवधारणा अगाडि ल्याउँछन् । तर, दुई राज्य अवधारणालाई मूर्त रूप दिन सम्झौताहरूमा यसबारे कहिल्यै प्रस्टरूपमा शब्दहरू कोरिएनन् । उल्टै अन्तर्राष्ट्रिय कानुनले बर्जित गर्दागर्दै प्यालेस्टिनी बसोबासको पश्चिम किनारमा प्यालेस्टिनी बस्ती बलजफ्ती भत्काउँदै यहुदी बस्ती विस्तारको क्रमलाई कहिल्यै रोकेन । सामान्यरूपमा आम मानिसहरू ठान्छन्, अमेरिकाको एक कल फोनले इजरायलले आफ्नो गैरकानुनी कार्यलाई रोक्न सक्छ । तर, वास्तविकता योभन्दा निकै टाढा रहेको कुरा इजरायल–अमेरिका सम्बन्धका विभिन्न पाटाहरूले देखाए तापनि यो एक छलछाम हो ।
भूतपूर्व कूटनीतिज्ञ र अमेरिकी राष्ट्रपतिहरूका अनुभवलाई मनन गर्ने हो भने अमेरिकी व्यापारी यहुदी र प्रशासकहरूको अमेरिकी राजनीतिमा पहुँच र प्रभाव यस्तो तहसम्म पुगिसकेको देखिन्छ कि अमेरिकी राजनीतिमा चाहे रिपब्लिकन होस् वा डेमोक्र्याट इजरायल सरकारको कुरालाई बेवास्ता गर्न नसक्ने अवस्थामा उनीहरू पुगिसकेको अनुभव गरे । त्यस्तै, आईप्याक (AIPAC = American Israel Public Affairs Committee) जस्ता अमेरिकास्थित इजरायली लबि समूहको दबाबले समेत अमेरिकी नीति इजरायलविरुद्ध जानै नसक्ने भइसकेको छ । यस्ता केही प्रसङ्गहरूबारे चर्चा गरौँ ।

रुसी कूटनीतिज्ञ तथा वैज्ञानिक लियोनिड कुटाकोभ

रुसी कूटनीतिज्ञको अनुभव
रुसी कूटनीतिज्ञ लियोनिड कुटाकोभले आफ्नो पुस्तक At the Centre of the Political Storms मा पूर्व इजरायली महिला प्रधानमन्त्री गोल्डा मायरको प्रसङ्ग कोट्याएका छन् । गोल्डा मायर सन् १९६९ देखि १९७४ सम्म इजरायलका प्रम थिइन् । उनी न्युयोर्क सहरमा आइरहन्थिन् र अमेरिकी सरकारका मुख्य प्रशासकहरू, व्यापारी समुदाय र यहुदीवादी सङ्गठनसँग सम्बन्धित व्यक्तिहरूसँग भेटघाट, यहुदीवादी समुदायले सङ्कलन गरेको पैसाबाट अमेरिकी हतियारहरू जस्तै फान्टन एन्ड स्काईहक जेट, सिसाइल, ट्याङ्कको प्रबन्ध मिलाएर जान्थिन् । उनी यहुदीवादी प्रोपागन्डाको लागि माहिर महिला थिइन् । अमेरिका आउँदा उनी बाहिरबाट दुःखी आईमाई देखिने गरी साधारण पहिरनमा आउँथिन् र दुनियाँलाई इजरायलको रक्षाको लागि एक एक पैसाको खर्च पनि होस पु¥याएर गरेको देखाई अमेरिकी यहुदीहरूमा विश्वास दिलाउने नाटक गर्थिन् । गोल्डा मायर यहुदी पार्टीको दक्षिणपन्थी धारकी थिइन् । उनी सधँै हिसाकै वकालत गर्थिन् र भन्थिन्, “अरबेली जनताले हतियार बिसाए प्यालेस्टिनमा शान्ति हुन्छ । तर, इजरायलले हतियार बिसाए इजरायल देश नै रहँदैन ।”
सन् १९६९ मा प्रधानमन्त्री भएर तिनी पहिलोपल्ट न्युयोर्क सहर आउँदा तत्कालीन मेयर जो भी. लिन्डसेले उहाँको सम्मानमा भव्य स्वागत रिसेप्सनको आयोजना गरे । मेयर लिन्डसे आफैले यहुदीले लगाउने सानो खपरे टोपीसमेत लगाए । इजरायली प्रधानमन्त्रीको लागि न्युयोर्कका मेयरले गरेका यी सब नाटकको अर्थ कसैलाई अनुमान लगाउन गा¥हो भएन । त्यतिबेलै न्युयोर्कमा करिब २५ लाख यहुदीहरू थिए र अधिकांश बैङ्कहरू, कल–कारखानाहरू तथा धेरै सञ्चार संस्थाहरूसमेत यहुदी पुँजीपतिहरूको नियन्त्रणमा थिए । न्यूयोर्क सहरको मेयर को हुने भन्ने कुराको निक्र्याेल झन्डै यी यहुदी पुँजीपतिवर्गहरूकै हातमा हुन्थ्यो । यी यहुदी पुँजीपतिहरूको हात न्युयोर्क मेयरको छनोटमा मात्र होइन, अमेरिकी माथिलो सदन सिनेट, तल्लो सदन प्रतिनिधि सभा, कङ्गे्रस, राज्य गभर्नरहरूदेखि राष्ट्रपतिसम्मले यिनीहरूलाई बेवास्ता गर्नसक्ने अवस्थामा थिएनन् । इजरायलले स्वतन्त्र राष्ट्र घोषणाको ११ मिनेटमै मान्यता दिने अमेरिकी राष्ट्रपति ह्यारी ट्रयुमेन सिधै भन्थे, लाखौँ हजारौँ मेरा यहुदी मतदाताप्रति म जवाफदेही हुनुपर्छ तर यहाँ मेरा अरबी मतदाताहरू कोही छैनन् ।
प्रधानमन्त्री गोल्डा मायर तत्कालीन संयुक्त राष्ट्रसङ्घमा महासचिव उ थान्त र अन्य देशका कूटनीतिज्ञहरूसँगको अनौपचारिक छलफलमा आफ्ना विदेशमन्त्री वा प्रतिनिधिहरूले राखेका विचार र भनाइमा फरक भएको कुरा उठेमा उनी सिधै भन्थिन्, “मेरा मन्त्री वा प्रतिनिधिले के भने त्यसमा सरोकार नराख्नू, बरु म के भन्छु त्यो सुन्नुस् ।” अमेरिकाकै कुनै प्रस्ताव इजरायललाई केही अप्ठेरो पर्ने देखियो र यो पास गरिएन भने अमेरिकालाई नै अप्ठेरो पर्दा पनि इजरायलले यसलाई पास हुन नदिएका थुप्रै घटनाहरू पनि छन् । सन् १९७३ को तेल सङ्कट अमेरिकाले इतिहासमा पहिलोपल्ट भोग्यो । इजरायललाई अमेरिकाले हतियार आपूर्ति गर्ने नीति र निर्णयविरुद्ध तेल उत्पादक अरबी राष्ट्रहरू ओपेकले यस्तो नाकाबन्दी लगाएको थियो ।

इजरायली प्रधानमन्त्री गोल्डा मायर पूर्वअमेरिकी राष्ट्रपति रिचार्ड मिक्सनसँग

पूर्वराष्ट्रपति ओबामाको अनुभव
इजरालयले अमेरिकालाई नै दबाबमा राख्ने घटनाका बारेमा अमेरिकी पूर्वराष्ट्रपति बाराक ओबामाको पनि त्यस्तै अनुभव रहेको उहाँले आफ्ना संस्मरण ‘प्रोमिस लैन्डमा’ लेख्नुभएको छ, “इजरायलले प्यालेस्टिनी भूमिलाई कब्जा गर्दै लगेको अन्तर्राष्ट्रिय कानुनको उल्लङ्घन भएको कुरा दुनियाँले भन्दै गर्दा अमेरिकाको पनि त्यसमा सहमति जनाउनु स्वाभाविक हो । तर, अन्तर्राष्ट्रिय मञ्चहरूमा अमेरिकाले त्यहीँ आक्रामक इजरायलकोे रक्षा गर्नुपर्दा अमेरिकी कूटनीतिज्ञहरूलाई सा¥है अप्ठेरो अवस्थामा पु¥यायो । जसरी चीन र इरानलाई त्यहाँको मानव अधिकारको अवस्थाका बारेमा अमेरिका आलोचना गर्छ उसले इजरायलले अरबी जनताको हक अधिकारमा धावा बोल्दै गरेकोमा नसुन्नेजस्तो गरेर बस्नुपर्दा लाजमर्दो हुन्छ । साथै, इजरायलको यही आक्रामकताले सारा अरब विश्वसँग अमेरिकाले दुश्मन मोल्नुपरेको हो ।”
ओबामा लेख्छन्, हामी अश्वेतहरू र यहुदीहरूको आफ्नो थातथलो छोडेर, देश छोडेर हिँड्नुपर्ने अवस्थाले हामी दुईमा एउटै भोगाइ देख्छु । यहुदीहरूले देश पाउनुपर्नेमा सकारात्मक हुन्छु । तर, ती नै यहुदीहरूले प्यालेस्टिनीहरूलाई आफ्नै भूमिमा बसोबास गर्न अप्ठेरो पारेको अवस्थालाई लिएर दुःखी हुन्छु । …अमेरिकी इजरायली सार्वजनिक मामिला समिति (AIPAC = American Israeli Public Affairs Committee) अमेरिकी सरकारलाई दबाबमा राख्ने अमेरिकास्थित यहुदीवादीहरूको प्रभावशाली संस्था हो । तर, यो समिति आफै चरमपन्थी संस्थाको रूपमा परिणत हुँदै गएकोले पनि यसको नीति अमेरिकी नीतिसँग विरोधाभाष हुँदै गएको छ । यति हुँदाहुँदै पनि यस संस्थाका आबद्ध अधिकारीहरू अमेरिकी नीति र इजरायलको नीतिमा भिन्नता हुनुहुँदैन भनी दबाब सृजना गर्छन् । इजरायलको यस्तो अमेरिकी नीतिसँग विरोधाभाष हुने नीतिको विरोध कुनै अमरिकी अधिकारी वा राजनीतिज्ञले गर्यो भन्ने उनलाई सजिलै ‘इजरायलविरोधी’ र ‘यहुदीविरोधी’ को तक्मा झुन्ड्याइदिन्छ र त्यस व्यक्तिको विरोधमा अर्को निर्वाचनमा धेरै धनराशी खर्चेर अर्को उम्मेदवार उठाइदिन्छ ।
म दुई राज्य अवधारणाको नीतिको पक्षधर र इजरायली बस्ती विस्तारको आलोचक भएकाले राष्ट्रपति उम्मेदवारको अभियानमा मेरो धेरै आलोचना भयो । इजरायलको आक्रामक नीतिका आलोचकहरूजस्तै मेरा एक मित्र रसिद खालिडी उनी मध्यपूर्व विज्ञ पनि हुन् जोसँग मेरो सम्पर्कको कारणले अश्वेत मानिस र मुसलमानी नाम भएको र मुसलमानकै वरिपरि रहने भएकोले म इजरायलविरोधी हो भन्नेसम्मको आरोप लगाए ।

अमेरिकी पूर्वराष्ट्रपति बाराक ओबामा

इजरायली नेताहरूको अमरिकी सत्ता बाहिर र भित्रका नेताहरूसँगको सम्बन्ध र त्यहाँको भित्री राजनीति सञ्चालनको तौरतरिकासँग परिचित भएरै उनीहरू सजिलै अमेरिकी सरकारलाई दबाब सृजना गर्ने क्षमता र हैसितय राख्छन् । ओबामाका अनुसार वर्तमान इजरायली प्रम बेन्जामिन नेतान्याहुकै उदाहरण लिँदा उनी इजरायलमै जन्मेको भए तापनि उनको पढाइ अमेरिकामै भयो र उनले लामो समय फिलेडेल्फियामा बिताए । हिब्रु र अङ्ग्रेजी दुवै भाषामा प्रभावकारीरूपले संवाद र सञ्चार गर्नसक्ने क्षमता, हरेक समस्याको समाधान वार्ता र छलफलभन्दा बल प्रयोग गरेरैमात्र गर्न सकिने विश्वास गर्ने आईप्याकका अधिकारीहरू, रिपब्लिकन पार्टीका नेताहरू तथा दक्षिणपन्थी अरबपति अमेरिकीहरूसँगको उनको नजिकको सम्बन्धले प्यालेस्टिनको मामलामा मजस्तो डेमोक्रयटिक पार्टीका व्यक्तिहरूबाट जस्तोजुकै दबाब आए पनि त्यसको सामना गर्ने दृढ विश्वास उनी राख्थिन् ।
“नेतान्याहुसँगको एउटा बैठकमा कुरा नटुङ्गिँदै पहिल्यै तय भइसकेको अर्को बैठकमा केही समयको लागि जानुपर्ने भयो । मैले उहाँलाई एकछिन अर्को बैठकमा पुग्नुपर्ने कुरा राखेँ, उहाँले म कुर्छु भन्नुभयो । करिब एक घण्टापछि फेरि हामी बसेर कुरा टुङ्ग्यायौँ । तर, भोलिपल्ट मैले आफ्नो व्यक्तिगत रिसले नेतान्याहुलाई घण्टाँै कुराएर इजरायल र अमेरिकाको विशेष सम्बन्धलाई बिगार्न खोजेको छापामा आएको कुरा एक मित्रले मेरो अफिसमा हुटिँदै आएर सुनाए,” ओबामाले लेखे ।
यी घटना विवरणहरूले प्रस्ट्याउँछन्, इजरायलले प्यालेस्टिनको मामलामा उनले चाहेको नीतिमा ठुलो फेरबदल गर्नसक्ने अवस्थामा अमेरिकी सरकारहरू छैनन् । निकट भविष्यमा पनि यस नीतिमा केही परिवर्तन होला भन्न सकिँदैन । त्यसैले दुई राज्य अवधारणा अरबी जनताको आँखामा धुलो छ्याप्ने र विश्व जगतलाई अलमल्याउनेबाहेक केही नहुन सक्छ । नेतान्याहुजस्तो कट्टर दक्षिणपन्थीधारको प्रतिनिधित्व गर्नेहरूको भित्री मनसाय भनेको सिङ्गो प्यालेस्टिनी भूभागलाई इजरायलमा गाभ्ने नै हो । जुन कुरा इजरायल राज्यको स्थापनाकालदेखि आजका दिनसम्म पनि हुँदै आएको हो । यस कथाको अन्तिम टुङ्गो (क्लाइमेक्स) नेतान्याहुले गत वर्षको संयुक्त राष्ट्रसङ्घको महासभामा बिनाप्यालेस्टिन भूमिको नक्सा पेस गरेपछि दुनियाँले देखे र अनुभव गरे । नेतान्याहुको ‘दुईराज्य होइन, एकमात्र राज्य त्यो पनि यहुदीहरूको मात्रको नीतिले’ गर्दा नै गत वर्षको अक्टोबर ७ को हमासले गरेको आक्रमणका घटनाहरू बारम्बार दोहरिरहने छन् । विगत १०७ वर्षदेखि अरबी जनताले आफ्नो भूमिको लागि गरिरहेको सङ्घर्ष र बलिदानले यही देखाउँदै आएको छ ।

सन्दर्भ सामग्री
१. Barak Obama, A Promised Land.
२. Leonid Kutakov, At the Centre of the Political Storms.
३. J. Neharu, Glimpses of the World History
४. World Civilization, Vol. C, Edward MacNall Burns‘Philip Lee
५. Vladimir Alexandrov, Essays in Contemporary History (1917 – 1945)
६. Albert Hourani, A History of the Arab Peoples
७. इजरायली फासीवादविरुद्ध प्यालेस्टिनी प्रतिरोध, जनप्रकाशन गृह
८. विभिन्न वेवसाइट तथा युट्यव सामग्री
९. दि न्युयोक टाइम्सका नियमित अङ्कहरू

समाप्त

Leave a Reply

Your email address will not be published. Required fields are marked *