भर्खरै :

सत्याग्रह र वाम आन्दोलनबारे सङ्क्षिप्त चर्चा

सत्याग्रह र वाम आन्दोलनबारे सङ्क्षिप्त चर्चा

नेपाली काङ्ग्रेसले प्रजातन्त्र पुनर्वहालीको माग राखी २०४२ सालमा सत्याग्रह गर्ने घोषणा ग¥यो । त्यस आन्दोलनमा सक्रिय सहयोग गर्न नेपाली काङ्ग्रेसका सर्वमान्य नेता गणेशमान सिंहले वामपन्थीहरूलाई पनि सहभागी हुन अपिल गर्नुभयो । वामपन्थीहरू आन्दोलनमा सरिक भए । नेपालको प्रजातान्त्रिक आन्दोलनमा यो पहिलो पाइला हो । २०३६ भदौ २४ गते वामपन्थीहरूको देशव्यापी आन्दोलन भएको थियो । सिद्धान्त र विचारमा मतभेद भए तापनि जनमतसङ्ग्रहलाई निष्पक्ष र धाँधलीरहित निर्वाचन गराउन तत्कालीन नेपाल मजदुर किसान सङ्गठनलगायत अन्य वामबिच कार्यगत एकता भएको थियो । २०३६ भदौ २४ गतेको देशव्यापी आन्दोलनले वामपन्थी पार्टीहरू एक भएको कारण नेपाली वामपन्थीहरू पनि ठुलो शक्ति हो भनी देखाएको थियो ।
आन्दोलनको लागि वामपन्थीबिच बैठक हुन थाल्यो । निरङ्कुश तानाशाही पञ्चायती व्यवस्थाबाट नेपाली काङ्ग्रेसमात्र होइन वामपन्थी दलहरू पनि पीडित एवम् आक्रान्त थिए । सत्याग्रहमा सबै वाम घटकहरू सामेल हुनु समयको माग हो । यही सिलसिलामा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित), नेकपा (बर्मा समूह) का नेता कृष्णराज बर्मा, नेकपा (कोसी समूह) का नेता सिद्धिलाल सिं, चौमका नेता दिलबहादुर श्रेष्ठ, लीलामणि पोखरेल र नेकपा (बनारस) सँग सम्बन्धित नेताहरूको पटकपटकको बैठकपछि संयुक्त वाममोर्चा गठन गरी आन्दोलन गर्ने कार्यक्रम प्रकाशित भयो । कार्यक्रमअनुसार ललितपुरको पाटनको आमसभामा नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेँको सम्बोधन थियो । पाटनको चोकचोकमा प्रहरी तैनाथ थिए । प्रहरीको आँखा छलेर कार्यक्रम गर्नु प्रायः असम्भव देखिन्थ्यो । पूर्वघोषित कार्यक्रमअनुसार मङ्गलबजारको करिब ३०० मिटर पूर्वतिर तालीको गडगडाहत ध्वनिसाथ अध्यक्ष रोहितले सम्बोधन गर्नुभयो । सोही क्रममा उहाँलाई प्रहरीले पक्राउ गरे । उहाँलाई नखु जेल चलान गरियो । नखु जेलमा रोहितसँगै उद्धव सुजखु, नेकपा बर्मा समूहका चन्द्रशेखर आजाद पनि हुनुहुन्थ्यो ।
गणतन्त्रवादी नेता रामराजाप्रसादले असार ५ गते नारायणहिटी दरबारको पश्चिमको गेट र होटल अन्नपूर्णलगायत काठमाडौँका केही ठाउँमा बम पड्काएकोले नेपाली काङ्ग्रेसले आन्दोलन फिर्ता लियो भने पाँच वामले आन्दोलन स्थगित गर्ने निर्णय ग¥यो । पञ्चायती शासकहरूले राजबन्दीहरूलाई रिहा गरेनन् । भाइटीकाको दिन राजबन्दीलगायत सबै बन्दीहरूलाई नखु जेलको बाहिरको चौरमै राखेर भाइटीका गर्न दिने रहेछ । कार्यकर्ता उद्धव सुजखुका बहिनीलगायत केही साथीहरू जेल परेका दाजुहरूलाई भाइटीकाको अवसरमा पूजा गर्न नखु जेलमा गए । जेल प्रशासनलाई क–कसलाई पूजा गर्ने हो नाम लेखेर दियौँ । केही समयपछि अध्यक्ष रोहित, उद्धव सुजखु र चन्द्रशेखर आजाद बाहिर आउनुभयो । हामीले हाम्रो चलनअनुसार भाइटीका ग¥यौँ । जेलका साथीहरू भाइटीकाको संस्कृति देखेर अचम्मित भए । चन्द्रशेखरले पहिलोपटक नेवार भोज खाने अवसर पाएको, भोजको शैली र परिकारबाट उहाँ खुब प्रभावित हुनुभयो ।
भोजको कार्यक्रम सकेपछि सानो भए पनि महत्वपूर्ण कार्यक्रम भयो । अध्यक्ष रोहितले चन्द्रशेखर आजादलाई सिराहा जिल्लामा भएका आन्दोलनको अनुभव साथीहरूलाई बताइदिन अनुरोध गर्नुभयो । अध्यक्ष रोहितको अनुरोध स्वीकार्दै चन्द्रशेखर आजादले सिराहा जिल्लामा भएको किसान आन्दोलनबारे जानकारी दिनुभयो ।
सिराहा जिल्ला किसान आन्दोलन भएका जिल्लाहरूमध्ये एक हो । वि.सं. २००९–२०१० सालतिर भएको किसान आन्दोलन ऐतिहासिक थियो । सिराहा जिल्लाको किसान आन्दोलनदेखि जिल्लाका सबै शोषक, सामन्त एवम् जमिनदारहरू डराए । कम्युनिस्ट पार्टीको सबल नेतृत्व पाएकोले किसान आन्दोलनको प्रभाव बढ्दै गयो । सिराहा जिल्ला कम्युनिस्ट पार्टीको गढको रूपमा विकास भयो । किसानहरूको बाहुल्य भएको कम्युनिस्ट पार्टीमा घरमा बुबाहरूसँग विद्रोह गरी पढेलेखेका सामन्त र शोषकवर्गका सन्तानहरू कम्युनिस्ट पार्टीमा प्रवेश गरे । तिनीहरूलाई पार्टीको विधानअनुसार दुई वर्ष परीक्षण कालमा राखे । पढेलेखेका ती शोषक तथा सामन्तका छोराहरू तुलनात्मकरूपमा अनपढ किसान कार्यकर्ताहरूभन्दा सक्रिय थिए । पार्टीले दिएको कुनै पनि काम समयमै पूरा गर्ने, माक्र्सवादी साहित्यहरू अध्ययन गरी राजनैतिक कक्षाहरू सञ्चालन गर्ने र पूर्णकालीन कार्यकर्ता जतिकै सक्रिय भएर लागेकोले पार्टीको गतिविधि पनि पहिलाको तुलनामा व्यापक हुँदै गयो । तिनीहरूको सक्रियताले नेताहरूको मन जित्न सफल भयो । तिनीहरूले पार्टी सदस्यता पाए । तिनीहरूको सक्रियताले नेताहरूको मात्र नभई तल्लो स्तरका कार्यकर्ताको पनि मन जित्यो । मीठो बोली वचन, राम्रो व्यवहार र अध्ययनशील हुनुका साथै तर्कपूर्ण कुरा गर्ने भएकाले तिनीहरू जिल्ला पार्टीको नेतृत्व तहमा पुगे । पछि पार्टीको सबै तहमा तिनीहरूको बहुमत भयो । यसरी बिस्तारै सिराहा जिल्लाको पार्टी ती शोषक र सामन्तका सन्तानहरूको पकडमा गएपछि पार्टीको बैठक कम हुँदै गयो । तलको समितिमा पठाउनुपर्ने निर्देशनहरू पठाइएन । यसरी पार्टीको बैठक नबोलाउनु, निर्देशनहरू नदिनु र पार्टीका कार्यक्रमहरू नदिँदा पार्टीका गतिविधिहरू भएनन् । अन्ततः पार्टी निकै कमजोर अवस्थामा पुग्यो । यसरी नेपाल कम्युनिस्ट पार्टीको गढको रूपमा विकास भएको पार्टीमा शोषक, सामन्तका सन्तानहरूको घुसपैठले मरेतुल्य अवस्थामा पुग्यो । यसबाट हरेक जिल्लाका जनता सचेत हुनुपर्ने देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *