भर्खरै :

नेपालमा फैलिँदै मुटुरोग, कसरी गर्न सकिन्छ नियन्त्रण ?

नेपालमा फैलिँदै मुटुरोग, कसरी गर्न सकिन्छ नियन्त्रण ?

मुटुरोग विभिन्न किसिमको हुन्छ । आमाको कोखमा हुँदादेखि नै समस्याहरू लिएर जन्मने जन्मजात मुटुको रोग हुन्छ । दोस्रोमा पाँच वर्षदेखि १५ वर्षसम्मका बच्चाहरूमा मुटुको बाथ रोगको समस्या हुन्छ । यसले मुटुको भल्ब र मुटुमा क्षति पु¥याउने गर्दछ । समयमै उपचार हुन नसके यो रोगबाट बालबालिकाको मृत्युसम्म पनि हुनसक्छ ।
कहिलेकाहीँ पहिला कुनै पनि लक्षणहरू देखा नपर्ने र पछि मात्र सङ्केतहरू देखापर्ने मुटुको बाथरोगमा मुटुका भल्बहरूमा क्षति पु¥याइसकेको अवस्थामा रोगको पहिचान हुने गर्दछ । सुरुमा खाने औषधिद्वारा मात्र बिरामीको उपचार गर्ने गरिन्छ । तर, समस्या ठुलै भएमा र मुटुमा क्षति पुगिसकेको अवस्थामा बिरामीको भल्ब नै फेर्ने शल्यक्रिया नै गर्नुपर्ने पनि हुनसक्दछ ।
पहिला ६० वर्षको उमेरमा देखापर्ने भनिएको मुटुरोग आजभोलि ४० वर्षको आसपासमा नै देखापर्न थालेको छ । त्यो अर्को प्रकारको मुटु रोग हो । जसलाई हामी कोरोनरी आर्टरी डिजिज भनिन्छ ।
यस रोगमा मुटुका मांसपेशीहरूमा अक्सिजन सप्लाई गर्ने मुटुका रक्तनलीहरू साँगुरिने र मांसपेशीमा अक्सिजनको कमी भई छाती दुख्ने हुन्छ । यसको समयमै पहिचान र सही उपचार गर्न नसके यसले हृदयाघात पनि गराउने गर्दछ, यो तेस्रो प्रकारको मुटुरोग हो । त्यस्तै, चौथोमा हार्टफेलियर अर्थात् मुटुले पूर्णरूपमा काम गर्न नसक्ने अवस्थालाई पनि मुटुरोग मानिन्छ ।
माथिका तीनवटै अवस्था वा मुटुको चाल गडबडीले पनि हार्टफेलियर समस्या देखापर्न सक्दछ । समयमै उपचार हुन नसकेमा यसले बिरामीको ज्यानसम्म लिन सक्दछ । मुटुको चाल गडबड हुने पनि मुटुरोगकै रूपमा लिने गरिन्छ । यसले पनि बिरामीको ज्यान लिन सक्दछ । मुटुसँग प्रत्यक्ष सम्बन्ध राख्ने भएकोले ब्लडप्रेसरलाई पनि अहिले मुटुरोगकै रूपमा लिन थालिएको छ ।
मुटुरोगका लक्षणहरू
बिरामीलाई मुटुरोग लागेको कुरा थाहा पाउने तरिका भनेको सामान्य हिँडदौड गर्दा पनि बिरामीलाई स्वाँ स्वाँ हुन्छ भने यो प्रकारको मुटुरोगको सङ्केत हुन सक्दछ । सामान्य हिँडडुल गर्दा पनि छाती दुख्ने, सामान्य भारी बोक्दा पनि छाती दुख्ने भयो भने यो मुटुरोगको अर्को लक्षण हो ।
अनावश्यकरूपमा मुटुको चाल बढी मुटुको धड्कन बढ्छ भने यो पनि अर्को एउटा मुटु रोगको लक्षण हो । बिरामीको दुइटै खुट्टा कहिलेकाहीँ सुनिन्छ भने पनि मुटुरोगको सङ्केत हुन सक्दछ । बाटोमा हिँड्दै गर्दा झन्झन् रिङ्गटा लाग्नु, ढल्नु, बेहोस हुनु पनि मुटुरोगको लक्षण हुनसक्छ ।
सहरमा बढ्दै मुटुरोग
आजभन्दा २० वर्ष अगाडि जनचेतनाको अभावका कारणले मानिसले मुटु रोगको सेवा लिने मात्रा कम थियो । आज आइपुग्दा यो सङ्ख्या बढेको देखिन्छ । नेपालमा यसको सङ्ख्या बढ्दै गइरहेको छ । यसरी मुटुरोग बढ्नुको मुख्य कारण भनेको खानपान, धूमपान, मद्यपान, अत्यधिक मानसिक तनाव, सुगर, कोलिस्टोरेल, ब्लड प्रेसरजस्ता कारणले पनि नेपालमा मुटुरोगका बिरामीहरू बढिरहेका छन् ।
सहरी क्षेत्रमा पछिल्लो समयमा मुटु ब्लक हुने रोग ह्वात्तै बढेर गएको देखिन्छ । सहरी क्षेत्रमा प्रेसर, सुगर र कोलिस्टोरेलका बिरामीहरू अत्यधिक मात्रामा पाइने हुँदा मुटु ब्लक हुने बिरामीको सङ्ख्या बढेको हुनसक्छ ।
सहरी क्षेत्रको जनताको चेतना स्तर र सहजरूपमा स्वास्थ्य सेवा प्राप्त हुने हुँदा त्यहाँका मानिसहरूमा बढी मात्रामा सुगर प्रेसरको समस्या र औषधि सेवन गरिराखेको पाइएको हुनसक्छ । यसरी सहजरूपमा स्वास्थ्य उपचार प्राप्त गर्ने हुँदा मुटुरोगको सङ्ख्या बढेको अनुमान लगाउन सकिन्छ जुन कुरा ग्रामीण भेगमा सम्भव प्रायः हुँदैन । त्यसैले, ग्रामीण भागमा कम देखिएको हुनसक्छ । युवा अवस्थामा भने चुरोट, सुर्तीजन्य पदार्थ र जाँडरक्सी खाने, नियमित शारीरिक अभ्यास गर्ने बानी नहुनु र मानसिक तनावयुक्त कार्यहरूले पनि यो समस्या बढेको हुनसक्छ ।
सहज छैन ग्रामीण क्षेत्रमा उपचार
विगत १० वर्षभन्दा आजको दिनमा सहरी क्षेत्रमा सहजरूपमा मुटुरोगको उपचार गराउन सक्ने गरी सेवा सुविधाहरू प्राप्त गर्न सकिन्छ । जसले गर्दा ठुलो सङ्ख्यामा मानिसहरूले मुटु रोगको समस्याबाट छुटकारा पाउने अवसर मिलेको छ । देशका मुख्य सहरहरूमा सरकारी अस्पतालमै पनि मुटुरोगको उपचार पहिलाभन्दा विस्तारित भए पनि ग्रामीण भागमा अझै सहजरूपमा मुटुरोगका सेवाहरू प्राप्त गर्न नसक्ने हुँदा अझै ठुलो सङ्ख्यामा मुटु रोगका बिरामीहरू स्वास्थ्य सेवाबाट वञ्चित भएको जस्तो देखिन्छ ।
बच्ने उपायहरू
मुटु रोग लाग्न नदिनका लागि नियमितरूपमा शारीरिक व्यायाम गर्ने, आहारबेहारमा ध्यान दिने र नियमित स्वास्थ्य परीक्षण तथा मानसिक तनावबाट मुक्त हुनेगरी बाँच्ने हो भने मुटु रोग लाग्न नदिन सकिन्छ । मद्यपान, धूमपान लगायत खराब आचरणलाई राज्यले कडैकडाउका साथ नियन्त्रण गर्ने हो भने पनि मुटुरोगको समस्यालाई न्यूनीकरण गर्न सकिन्छ ।
जनचेतना फैलाएर ३० वर्षभन्दा माथिका मानिसले नियमितरूपमा प्रेसर, सुगर र कोलिस्टरको चेकजाँच गराउने गर्दा पनि मुटुरोगको समस्यालाई न्यूनीकरण गर्न सकिन्छ । आफ्नो हाइटअनुसारको शरीरको मोटोपना व्यवस्थापन गर्न सकियो भने पनि मुटुरोग कम गर्न सकिन्छ । मानसिक चिन्ताबाट पनि मुक्त हुन सकियो भने मुटु रोगलाई रोक्न सकिन्छ । दैनिक अधिकतम आठ घण्टा मात्र काम गर्ने र मानसिक चिन्ताबाट मुक्त हुने र पर्याप्त निन्द्रा पु¥याउने गर्दा पनि मुटुरोगको समस्यालाई कम गराउँदछ । मुटुरोका लक्षणहरू देखा परे भने तुरुन्तै स्वास्थ्य चौकीमा अथवा अस्पताल गएर चेकजाँच गराउने गर्नुपर्दछ । जसले पनि मुटु रोगका गम्भीर समस्याहरू निम्तिनबाट बचाउने गर्दछ ।
नियन्त्रणमा भएका सरकारी प्रयास
त्रिवि शिक्षण अस्पताल र गङ्गालाल अस्पतालले १५ वर्षमुनिका र ७० वर्ष माथिका मुटुरोग बिरामीलाई विभिन्न आर्थिक सुविधा प्रदान गरी मुटुरोगका बिरामीहरूको सहुलियतपूर्ण उपचार गर्ने गरेको छ । आर्थिक अवस्था विपन्न भएका परिवार र बिरामीलाई विभिन्न किसिमका सहुलियतपूर्ण उपचार गर्ने गरेको छ । आर्थिक अवस्था विपन्न भएका परिवार र बिरामीलाई विभिन्न किसिमका सहुलियतहरू दिएर पनि उपचार गर्ने गरेको छ ।
आजको दिनमा काठमाडौँ सहरमा मात्र केन्द्रित रहेका यी सेवाहरू प्रदेश अस्पताल र स्थानीय अस्पतालहरूमा उपलब्ध गराउने हो भने ठुलो मात्रामा मुटुरोगका बिरामीहरू लाभान्वित हुने थियो । जुन कार्य आजका दिनमा सरकारी स्तरबाट हुनुपर्ने थियो हुन सकिराखेको छैन यसतर्फ सम्बन्धित निकायको ध्यान जानुपर्ने देखिन्छ ।
नेपालमै विश्वस्तरीय उपचार सम्भव
विश्वस्तरमा प्राप्त हुने मुटुरोगका समस्याहरूको उपचार नेपालमा पनि उपलब्ध छ, ती कुराहरूको जानकारी नहुँदा पनि मुटुरोगका समस्याहरू बल्झिराखेका छन् । नेपालमा प्राप्त हुने मुटुरोगका सेवाहरूसँग विश्वस्तरमा प्राप्त सेवासँग तुलना गर्न सकिने स्तरमा छ । ती सेवाहरू बिरामीहरूले लिएर आफ्नो मुटुरोगको समस्याबाट छुटकारा पाउन सक्दछन् ।
सर्वप्रथमतः मुटुरोग लाग्न नदिनु नै उत्तम उपाय हो । जसका निम्ति माथि उल्लेखित उपायहरू र नियमित शारीरिक अभ्यास मानसिक चिन्ताबाट मुक्त हुने कार्यहरू गर्नुपर्दछ । मुटुरोग लागिसकेपछि पुरानै स्थितिमा बिरामीलाई फर्काउन मुस्किल पर्दछ त्यसो हुँदा मुटुरोग लाग्नै नदिनुपर्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *