भर्खरै :

तःमुंज्या सफल पार्न प्रवचन कार्यक्रम

तःमुंज्या सफल पार्न प्रवचन कार्यक्रम

भक्तपुर, १५ असोज । ख्वप इन्जिनियरिङ कलेज र ख्वप कलेज अफ इन्जिनियरिङको संयुक्त आयोजनामा ४४ औँ नेपालभाषा साहित्य सम्मेलन तथा सांस्कृतिक कार्यक्रम विषयक मङ्गलबार प्रवचन कार्यक्रम भयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवम् वाग्मती प्रदेशसभाका सदस्य सुरेन्द्रराज गोसाईले नेपालभाषा साहित्य तःमुंज्या आयोजना गर्नुको उद्देश्य प्रस्ट्याउँदै पञ्चायती शासनले पनि राणा शासनले जस्तो नै भाषिक दमनको नीति लिएको कारणले जनस्तरबाट पञ्चायती शासनको विरोध भएको बताउनुभयो । जनताले तःमुंज्याको डबलीमार्फत आफ्नै मातृभाषामा सामन्ती शोषण तथा दमनको विरोध गरेको तथा सरसफाइ आन्दोलनलाई साहित्य तथा सांस्कृतिक विधामार्फत जनचेतना फैलाउने कार्य गरेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “नेपालभाषा साहित्य तःमुंज्या विविध भाषाभाषीहरूको साझा मञ्च हो । तःमुंज्याको डबलीमा नेपालभाषालगायत देशका विविध भाषाभाषीहरूका साहित्य पनि वाचन हुँदै आएको छ । देशका विविध क्षेत्रका विद्वान्वर्गलाई अतिथिको रूपमा आमन्त्रण गरिँदै आएको छ । उहाँहरूबाट देशको भाषा, कला, साहित्य, स्वास्थ्य, शिक्षा, राजनीति एवं समसामयिक विषयमा जानकारी प्राप्त हुन्छ ।”
उहाँले तःमुंज्याको डबलीमा निरन्तर काम गरी खाने जनताको पक्षमा काम गर्ने विविध व्यक्तित्वहरूलाई सम्मान गर्दै आएको बताउनुभयो । उहाँले तःमुंज्याले टोल समाजमा योगदान गरेकादेखि राष्ट्रिय स्तरमा योगदान गर्ने महानुभावहरूलाई सम्मान गर्दै आएको उल्लेख गर्दै भक्तपुरमा विगतमा भएका सफाइ आन्दोलनका अगुवाहरूलाई पनि यसै मञ्चमा उच्च सम्मान गरिएको बताउनुभयो ।
विपद्को यस घडीमा जनताको उद्धारमा खटिनुपर्ने सरकार मूकदर्शक भएर बसेको, नेपाल सरकारका मन्त्री तथा मुख्य मन्त्रीहरूमा मानवीय भावना शून्य रहेको उहाँले चर्चा गर्नुभयो । मास्टर जगतसुन्दर मल्लले बालबालिकालाई आफ्नै मातृभाषामा सिकाएमा छिटो सिक्ने बताउनुभएको स्मरण गर्दै हामीले नै आफ्नो मातृभाषाको जगेर्ना नगर्ने हो भने भोलिको दिनमा विदेशीबाट भाषा सिक्नुपर्ने अवस्था आउनेतर्फ सचेत गराउनुभयो ।
साहित्यमार्फत प्र्राविधिक कुरालाई सरल तरिकाबाट जनतालाई बुझाउन सकिने भएको हुँदा इन्जिनियरहरूले पनि साहित्यतर्फ कलम चाल्न अनुरोध गर्दै उहाँले साहित्यमार्फत विद्यार्थीलाई अझ छिटो र स्पष्टरूपमा बुझाउन सकिने बताउनुभयो ।
ख्वप इन्जिनियरिङ कलेजका प्राचार्य ई. सुजन माकले काम गरी खाने जनताको साझा मञ्चको रूपमा तःमुंज्या रहेको चर्चा गर्दै तःमुंज्याकै डबलीमार्फत भूकम्प तथा पुनःनिर्माण सम्बन्धमा जनतालाई व्यापकरूपमा सचेत पार्न सकेको बताउनुभयो ।
ख्वप कलेज अफ इन्जिनियरिङका प्र्राचार्य ई. सुनिल दुवालले विगत ४४ वर्षदेखि निरन्तररूपमा नगरका टोल टोलमा हुँदै आएको तःमुंज्या एक विश्वविद्यालयसरह भएको बताउनुभयो । तःमुंज्यामार्फत जनताले साहित्यदेखि शिक्षा, स्वास्थ्य, सामाजिक एवं राजनैतिक विषयमा प्रशिक्षण प्राप्त गर्ने उहाँले बताउनुभयो ।
कार्यक्रममा ख्वप इन्जिनियरिङ कलेजका उपप्राचार्य डा. सुवेगमान बिजुक्छेँ, ख्वप कलेज अफ इन्जिनियरिङका उपप्राचार्य ई. रत्नशोभा प्रजापतिले ४४ औँ नेपालभाषा साहित्य तःमुंज्याको सफलताको शुभकामना व्यक्त गर्नुभयो ।
कार्यक्रममा नेपालभाषा साहित्य तःमुंज्याका सचिव नरेश खत्री र ४४ औँ नेपालभाषा साहित्य तःमुंज्या आयोजक समितिका सचिव सन्जय मानन्धरले नेपालभाषा साहित्य तःमुंज्याको उद्देश्यबारे प्रकाश पार्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *