भर्खरै :

नेपालमा पर्यटनको विकास, सम्भावना र चुनौती

नेपालमा पर्यटनको विकास, सम्भावना र चुनौती

पैतालीसौँ विश्व पर्यटन दिवस सङ्घ, प्रदेश र स्थानीय सरकारहरूले विभिन्न गतिविधिहरू गरेर सम्पन्न गरेका छन् । ‘पर्यटन र शान्ति’ भन्ने मूल नाराका साथ सम्पन्न कार्यक्रमहरूमा मन्त्रीहरूले ‘पर्यटनबाटै समृद्धि हासिल गर्न सकिने’ बताए । कार्यबाहक प्रधानमन्त्री प्रकाशमान सिंहले पर्यटनलाई देश विकासको इन्जिनको रूपमा लैजान सरकारले निजी क्षेत्रलाई प्रोत्साहित गर्दै लैजाने राजधानीमा आयोजित एक कार्यक्रममा उल्लेख गरे ।
मन्त्रीहरूले पर्यटनलाई देशको समृद्धि हासिल गर्ने आधार बताइरहँदा नेपालमा पर्यटकहरूको सङ्ख्या, बिताउने समय र औसत खर्च निकै कममात्र भएको तथ्याङ्कले देखाउँछ । नेपालीहरूले विदेश भ्रमणमा गर्ने खर्चभन्दा पर्यटनबाट नेपाललाई हुने आय त्यसको तुलनामा निकै कममात्र भएको देखिन्छ । साउन महिनामा नेपालीहरूले विदेश भ्रमणमा सवा सात अर्ब खर्च गरे भने सोही महिनामा विदेशी पर्यटकहरूले नेपालमा ४ अर्ब ५२ करोड मात्रै खर्च गरेको नेपाल राष्ट्र बैङ्कले जनाएको छ (नयाँ पत्रिका १२ असोज) । एक महिनाको मात्रै भ्रमण खर्च २ अर्ब ७४ करोड घाटा नेपालले व्यहोर्नुपरेको छ ।
वास्तवमा नेपाल पर्यटन विकासको प्रचुर सम्भावना भएको देश हो । नेपालमा केको कमी छ ? संसारका पर्यटकहरू प्राकृतिक सौन्दर्य हेर्न, कला—संस्कृतिको रसास्वादन गर्न, गौतम बुद्धको जन्मथलो लुम्बिनीमा पाइला टेक्न, विश्वको सर्वाेच्च शिखर सगरमाथा र उच्च हिमालको रमणीय दृश्य हेर्न र अनुभव गर्न नेपाल आउने गर्छन् । विभिन्न भाषा र संस्कृति तथा फरक फरक हावापानीको अध्ययन, अनुसन्धानको लागि पनि पर्यटकहरू आउने गरेका छन् । अपार सम्भावना भएर पनि राम्रो व्यवस्थापन नहुँदा पर्यटन क्षेत्रको विकास हुन सकेको छैन । अरू देशमा नपाइने फरक फरक प्रजातिका चरा चुरुङ्गी, वन्यजन्तु, जडीबुटी, विभिन्न जातका फूलहरू नेपालमा पाइन्छन् । उचित व्यवस्थापनको अभावमा पर्यटन क्षेत्रबाट नेपालले राम्रो आयआर्जन गर्न सकिरहेको छैन । प्रकृतिले वरदान स्वरूप दिएका प्राकृतिक सौन्दर्य र भौगोलिक विविधता नेपालीहरूका लागि ‘बाँदरका हातमा नरिवल’ जस्तै भएको छ ।
नेपालमा सन् २०२३ मा जम्मा १० लाख १४ हजार पर्यटक भित्रिएको पर्यटन बोर्डले जनाएको छ । नेपाल सरकार पर्यटन बोर्डका अनुसार सन् २०२४ मा १६ लाख पर्यटक भित्याउने लक्ष्य लिएको छ । सरकारले लिएको लक्ष्य पूरा गर्न सोहीअनुसार तयारी गर्नुपर्दथ्यो । तर, सरकारको अहिलेसम्मको अवस्था हेर्दा त्यसको लागि कुनै तयारी गरेको देखिँदैन । पर्यटकहरूका लागि जीवन सुरक्षा महङ्खवपूर्ण पक्ष हो । चालू आ.व. को ८ महिनामा नेपाल आउने पर्यटकहरूको सङ्ख्या जम्मा ७ लाख २० हजार मात्र पुगेको छ । यो सङ्ख्यालाई आधार मान्ने हो भने महिनामा औसत एक लाखमात्रै पर्यटकहरू भित्रिने गरेको देखिन्छ । यस हिसाबले सरकारको १६ लाख पर्यटक भित्याउने लक्ष्य पूरा हुने सम्भावना न्यून छ ।
नेपालमा पर्यटन विकास नहुनुको कारण सरकारले पर्यटन क्षेत्रलाई प्राथमिकतामा नराख्नु हो । ठुल ठुला आदर्श कुरा गरेर मात्र पर्यटनको विकास हुने होइन । त्योअनुसारको आवश्यक वातावरण पनि तयार गर्नुपर्दछ । नेपालमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाहेक पोखरा र भैरहवामा पनि अन्तर्राष्ट्रिय विमानस्थल बनिसकेका छन् । विमानस्थल उद्घाटन भएको वर्षौँ बितिसक्दा पनि अहिलेसम्म त्यहाँ विमानहरू सञ्चालन भएका छैनन् । त्यसको मुख्य कारण भारतको आकासबाट जहाज उडाउन स्वीकृति नपाउनु हो । अझ त्रिभुवन विमानस्थल निर्माणको सिलसिलामा ५ महिनासम्म दैनिक १० घण्टा काम बन्द गर्ने जनाइएको छ । पटक पटक हवाईजहाज दुर्घटना र सडक दुर्घटनाहरू हुनु पनि पर्यटकहरू घट्नुका कारणहरू हुन् ।
दिनहुँजसो भइरहेको सडक दुर्घटनाले पर्यटन क्षेत्र प्रभावित हुनु पनि त्यत्तिकै स्वाभाविक हो । काठमाडौँदेखि नारायणगढसम्मको करिब १५० किमि बाटो पार गर्न एक दिन लाग्ने, नारायणगढ—बुटवल खण्डमा ज्यानको जोखिम लिएर हिँड्नुपर्ने जस्ता कारण सडक मार्ग भएर आउ जाउ गर्ने विदेशी पर्यटकहरूको लागि अत्यन्त प्रतिकूल छ । दुई वर्षमा बन्नुपर्ने सडक झण्डै एक दशकमा पनि पूरा नहुनु सरकारको गम्भीर लापरबाहीको उदाहरण हो ।
सरकारले सम्पदा पुनःनिर्माण र जीर्णोद्धारमा ध्यान नदिनु, सडकको स्तरोन्नत्ति गर्न नसक्नु, प्राकृतिक सुन्दरता, ऐतिहासिक र पुराताङ्खिवक महङ्खवका स्थानहरूको विश्व स्तरमा प्रचारप्रसार नगर्नु, नेपाल वायु सेवा निगमलाई युरोपले लगाएको खतराको सूचीबाट नहटाउनु, स्थानीय तह स्वयंले सम्पदा पुनःनिर्माण गरिरहेका ठाउँमा सरकारले सहुलियत दरमा काठ उपलब्ध नगराउनु पर्यटन क्षेत्र विकासका चुनौतीहरू हुन् ।
त्यसैगरी १५ दिनको अन्तरमा हवाईजहाज र हेलिकप्टर दुर्घटना हुँदा त्यसले विश्वमा नेपाली वायु सेवाबारे कस्तो सन्देश जाला ? यसर्थ पर्यटन क्षेत्र देशको अर्थतन्त्रको महङ्खवपूर्ण पक्ष हुँदाहुँदै पनि सरकारकै बेवास्ताको कारण यो क्षेत्र अगाडि बढ्न नसकेको हो । अझ कार्यबाहक प्रधानमन्त्री सिंह पर्यटन क्षेत्र निजी क्षेत्रलाई प्रोत्साहन दिने बताएर राज्य पर्यटनको विकास गर्ने जिम्मेवारीबाट भाग्न खोजेको प्रस्ट छ । हाम्रा उपप्रधानमन्त्री देश नै निजी क्षेत्रलाई चलाउन दिन पनि पछि पर्दैनन्, लाजमर्दो कुरा !
पर्यटन र भक्तपुर नगरपालिका :
नाचगानको राजधानी, सांस्कृतिक नगरको रूपमा परिचित भक्तपुरले पर्यटन क्षेत्रलाई विशेष महङ्खव दिँदै आएको छ । विश्व सम्पदा सूचीमा सूचिकृत दरबार क्षेत्र, टौमढी र दत्तात्रयजस्ता ऐतिहासिक, सांस्कृतिक र पुराताङ्खिवक महङ्खवका ठाउँहरू मात्रै होइनन् भक्तपुरको पूरै प्राचीन नगर सम्पदा बस्ती हो । यसको मौलिकतालाई बचाइराख्ने प्रयास पनि भक्तपुरले गर्दै छ । मौलिक शैलीमा घर बनाउनेहरूलाई आर्थिक सहयोग, डकर्मी, सिकर्मीको तालिम, स्थानीय पाठ्यक्रममार्फत नयाँ पुस्तालाई कला—संस्कृति र सम्पदाबारे अध्यापन र युवाहरूलाई चिनियाँ र जापानी भाषालगायत विदेशी भाषाको प्रशिक्षण मौलिकता बचाउन गरिएका कामका सिलसिला हुन् । विभिन्न बाजा र संस्कृतिको प्रशिक्षण दिएर मूर्त अमूर्त सबै खालका सम्पदाहरूको संरक्षण गर्ने प्रयास भक्तपुर नगरपालिकाले गर्दै छ ।
सयौँ वर्ष पुराना हाम्रा सम्पदाहरू अध्ययन अवलोकन गर्न विश्वका धेरै देशहरूबाट पर्यटकहरू भक्तपुर आउने गर्छन् । भक्तपुर आउने पर्यटकहरूको सङ्ख्यामा उल्लेख्य वृद्धि भइरहेको छ । आर्थिक वर्ष २०८०।८१ मा भक्तपुरमा २ लाख ४६ हजारभन्दा बढी पर्यटकहरू भित्रिएको रेकर्ड छ । त्यो सन् २०२३ मा नेपाल आउने पर्यटकहरू १० लाख १४ हजारमध्ये झण्डै २४।२५ प्रतिशतको हाराहारीमा छ । ती पर्यटकहरूबाट उठाइएको पर्यटन शुल्क समेतबाट भक्तपुर नगरपालिकाले शिक्षा, स्वास्थ्य, सरसफाइ तथा सम्पदा संरक्षणलगायतका कामहरू गर्दै जनताको सेवा गर्दै आएको छ । प्राचीन सम्पदाहरूको संरक्षण गरी भक्तपुर नगरपालिकाले नयाँ पुस्ताको सेवा गरिरहेको छ । यो सबैको निम्ति एक उदाहरण बन्न सक्छ ।
नगरपालिकाको महङ्खवपूर्ण स्रोतमध्ये एक पर्यटन शुल्क स्थायी र भरपर्दो भने होइन । २०७२ सालको भूकम्पले देशका विभिन्न जिल्ला क्षत विक्षतपछि विदेशी पर्यटकहरू निकै घटे । त्यस्तै कोरोनाले विश्व आक्रान्त भएको २०७६ र ०७७ सालमा दुई वर्षसम्म नेपालमा आउने पर्यटक सङ्ख्या नगन्य मात्र रह्यो । त्यसको प्रत्यक्ष असर भक्तपुर नगरपालिकामा प¥यो । एकातिर आर्थिक सङ्कट अर्कोतिर कोरोना महामारीबाट जनतालाई बचाउनुपर्ने जिम्मेवारी नगरपालिकामाथि एकसाथ आइप¥यो । जनप्रतिनिधिहरूले बडो सुझबुझपूर्ण तरीकाबाट संयमतापूर्वक काम गरे । जनतासँग सहयोग उठाएर अक्सिजन प्लान्ट राखे, कोभिड बिरामीहरूको निःशुल्क उपचार गरे र सारा नगरवासीहरूलाई अक्सिजन निःशुल्क घोषणा गरेर देशमै एक उदाहरण पेस गरे । त्यस घटनाले हरेक प्रतिकूलतालाई अनुकूलतामा ढाल्ने जनप्रतिनिधिहरूको प्रयासले मूर्त रूप पाएको मात्रै होइन, नगरपालिकालाई आत्मनिर्भर भएर बाँच्न ठुलो पाठ पनि सिकायो ।
भारतले नेपालमाथि नाकाबन्दी गर्दा होस्, रुस र युक्रेनबिचको युद्ध, इजरायलले प्यालेस्टिनी जनतामाथि गरेको बर्बर आक्रमण तथा हाल इजरायलले लेवनानमाथि गरेको आक्रमणलगायतको असर नेपालको पर्यटन क्षेत्रमा प्रत्यक्ष र अप्रत्यक्षरूपमा परिरहेकै छ । त्यसको सानो अंश भए पनि भक्तपुरलाई परिरहेकै हुन्छ । यसर्थ, भक्तपुरले अब आन्तरिक पर्यटन केन्द्रित गतिविधिहरूमा जोड दिनु आवश्यक छ ।
भक्तपुरमा मठ—मन्दिर, देवालय—शिवालय, पोखरी, ढुङ्गेधाराजस्ता सम्पदाहरू जीवन्त छन् । यहाँ विभिन्न ठाउँ गल्ली गल्ली घुमेको अवस्थामा पनि डकर्मी, सिकर्मी, लोहकर्मी,प्रजापतिहरूले आआफ्नो कार्य कक्षमा काम गरिरहेको जीवन्त देख्न पाइन्छ । त्यसैले होला, जर्मनीका एक प्रख्यात वास्तुकलाविद् निल गोत्सेले ‘भक्तपुरलाई संसारकै ठूलो जीवित सङ्ग्रहालय’ को नाम दिएका छन् । त्यही जीवित सङ्ग्रहालयको अवलोकन गर्न अहिले हजारौँ आन्तरिक पर्यटकहरू भक्तपुर आउने गरेका छन् । भक्तपुर आउने ती आन्तरिक पर्यटकहरूलाई भक्तपुरको आन्तरिक स्रोतको रूपमा परिणत गर्न सके भक्तपुर नगर पूरै आत्मनिर्भर भएर अघि बढ्न सक्षम हुनेछ ।
चिनियाँ पर्यटकहरू वार्षिक ११ करोड विदेश भ्रमणको जाने प्रक्षेपण गरिएको छ । तिनीहरूमध्ये नेपालमा १.२ प्रतिशत पनि आउँदैनन् । भारतीय नागरिकहरू झन्डै १ करोडले विदेश यात्रा गर्छन् । तीनतिरै जोडिएको प्रवेशाज्ञा (भिसा) पनि नचाहिने भारतीय नागरिकहरूको नेपाल भ्रमण पनि आशातीत प्रगति हुन सकेको छैन । चीन र भारतलाई मात्रै केन्द्रित गरेर पर्यटन प्रवद्र्धनका कार्यक्रमहरू ल्याउन सकेमा नेपालमा पर्यटनमा कुनै कमी हुनेछैन । त्यसले साँच्चै पर्यटन क्षेत्रले देशको अर्थतन्त्रमा ठुलो योगदान गर्न सक्नेछ ।
सन् २०२३ मा विश्वमा पर्यटकहरूको अवस्था हेर्ने हो भने प्रमुख दसमध्ये पहिलो फ्रान्समा ११ करोड ११ लाख र दशौँ स्थानमा डेनमार्कमा १ करोड ५५ लाखले भ्रमण गरेको रेकर्ड छ (अन्नपूर्ण ७ चैत २०८०) । नेपालमा १६ लाख ?
विश्वका कैयौँ देशहरूले पर्यटकहरू बढी आएकाले ‘पर्यटकहरू घर फर्क’ अभियान चलाउनुपर्ने अवस्था आएको बेला समेत ऐतिहासिक, सांस्कृतिक र प्राकृतिक दृष्टिले विश्वकै एक अनुपम देश नेपालमा पर्यटन उद्योगको विकास नहुनु विडम्बना नै हो । सङ्घ, प्रदेश र स्थानीय तहहरूको तर्फबाट एकीकृत योजनाका साथै आआफ्नो क्षेत्रबाट पर्यटन विकासको प्रयास गर्नु देशलाई समृद्धितर्फ अगाडि बढाउने राम्रो पाइला हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *