भर्खरै :

साहित्य, संस्कृति र नाचगान समुदायको निम्ति हुनुपर्ने

साहित्य, संस्कृति र नाचगान समुदायको निम्ति हुनुपर्ने

नेपाल विभिन्न जनजाति, भेषभूषा, संस्कृति र रीतिथिति भएको मुलुक हो । यहाँ अनेक नाचगान छन् । हाम्रो सबै साहित्य, कला र संस्कृति जनसमुदायको निम्ति हुनुपर्छ । हाम्रो हरेक चाडपर्व, संस्कृति र नाचगान मजदुर, किसान या श्रमजीवी वर्गको पक्षमा हुनुपर्छ । शारीरिक श्रम गर्ने र बौद्धिक श्रम गर्नेको पक्षमा उभिनुपर्छ । वास्तवमा कला, साहित्य राजनीति र जनसमुदायबाट अलग्ग हुनसकिँदैन । लेनिनले भनेझैँ साहित्य र कला क्रान्तिकारी मेसिनका दाँती र पेचकिला हुन् । हाम्रो संस्कृति बहुसङ्ख्यक जनताको निम्ति हुनुपर्छ । त्यो समाज परिवर्तनको निम्ति बाटो देखाउने खालको हुनुपर्छ । यसले जनतालाई सैद्धान्तिक र वैचारिकरूपले सुसूचित पार्ने काम गर्छ । हरेक साहित्य सम्मेलन, गोष्ठी क्रान्तिकारी विचार छर्ने माध्यम हुनुपर्छ । हरेक चाडपर्व विज्ञानसम्मत हुनुपर्छ ।
हामीले मनाउने चाडपर्व, नाचगानमा जनता नै सरिक हुन्छन् । जनताको सहभागिताबिना कुनै पनि चाडपर्व चाडपर्व जस्तो हुनेछैन । भक्तपुरमा नवरात सकिएको छ । हरेक नवरातमा भक्तजनहरू विभिन्न पीठका मन्दिरहरूमा पुग्छन् । ती मन्दिर र शक्तिपीठहरूमा जनताले सरसफाइ गरेका हुन्छन्; मन्दिर मर्मत सम्भार गरेका हुन्छन्; खोलानाला सफा गरेका हुन्छन् । यो सकारात्मक पक्ष हो । नवरातमा विभिन्न बाजागाजाको टोली पुगेको हुन्छ । यसले बाजागाजाको संरक्षणमा सहयोग गर्छ । कला, साहित्य, संस्कृति, नाचगान र वाद्यवादनको संरक्षण र विस्तारमा सोसित सम्बन्धित कार्यकर्ताहरूको झन् महत्वपूर्ण जिम्मेवारी हुन्छ ।
वर्गीय समाजमा हरेक वर्गको आफ्नै राजनीतिक र कलात्मक मापदण्ड हुन्छ । वर्गीय समाजमा सबभन्दा पहिले राजनीतिक मापदण्ड या विचार पक्षलाई जोड दिइएको हुन्छ । कलात्मक मापदण्डलाई दोस्रो स्थानमा राखिएको हुन्छ । राजनीतिक रूपबाट जतिसुकै प्रगतिशील भए पनि कलाका कृतिहरूमा कलात्मक गुण भएन भने तिनमा शक्ति हुँदैन । कला र विज्ञानको प्रगतिलाई अगाडि बढाउन र समाजवादी संस्कृतिलाई सम्मुनत पार्न देशमा रहेका सबै नाचगान, साहित्य, भाषा, लिपि, धर्म, संस्कृति र सम्पदाको संरक्षण गर्नुपर्छ र विस्तार गर्नुपर्छ । यहाँका अनेक नाचगान, संस्कृति र रीतिथितिलाई विज्ञानसम्मत ढङ्गले उपयोग गर्न सकियो भने त्यो धेरै जाती हुन्छ ।
सम्पन्न साहित्यले देशमा परिवर्तनको बिगुल बजाउँछ । जुन भाषाको साहित्यले देशको समसामयिक चिन्तनको अगुवाइ गरेको हुन्छ, ती देशमा युगान्तकारी परिवर्तनको अगुवाइ भएको देखिन्छ । अतः समाज परिवर्तनमा साहित्य, गीत, नाचगानको पनि महत्वपूर्ण देन हुन्छ । सम्पन्न फ्रान्सेली साहित्यकै कारण युरोपमा उथलपुथल गर्ने फ्रान्सेली राज्यक्रान्ति भयो । साहित्यकै कारण संसारलाई हल्लाउने समाजवादी क्रान्ति रूसबाटै सुरू भयो । एसियालाई जगाउने चीनको मुक्ति युद्धमा प्राचीन सम्पन्न चिनियाँ साहित्यले महत्वपूर्ण योगदान ग¥यो । समाज परिवर्तनकै निम्ति लुसुनले आफ्नो चिकित्सक पेसा छाडेर साहित्यमा हात हाले† साहित्य लेखेर जनतालाई सुसूचित पार्ने काम गरे । यस हिसाबले भक्तपुर, काठमाडौँ, ललितपुर र काभ्रेमा भइरहेको नेपालभाषा साहित्य तःमुंज्या श्रमजीवी जनतालाई सुसूचित पार्ने अर्को महत्वपूर्ण मञ्च बनेको छ ।
तःमुंज्या साहित्यिक र सांस्कृतिक मञ्चमात्र होइन यो राजनीतिक मञ्च हो, यो ज्ञान बाँड्ने बौद्धिक मञ्च पनि हो । यो मञ्चमा साहित्य वाचन हुन्छ† विज्ञनहरूको मन्तव्य हुन्छ । नाचगान हुन्छ । ख्याल (व्यङ्ग्य) र एकाङ्की नाटक प्रस्तुत हुन्छ । हरेक नाचगान, ख्याल र एकाङ्कीमा जनताको समस्या गाँसिएको हुन्छ । देश विदेशमा भइरहेको घटनाको उजागर हुन्छ । विदेशी शक्ति राष्ट्रको थिचोमिचो, हस्तक्षेप र आक्रमणको विरोध हुन्छ । त्यस्तै मध्यपुर थिमिमा प्रगतिशील साहित्य सम्मेलन हुन्छ । यस सम्मेलनमै पुराना नयाँ साहित्यकारहरूका साहित्य वाचन हुन्छन् । ख्याल, नाटक, नृत्य र गीत प्रस्तुत हुन्छन् । ती सम्मेलनले समाज परिवर्तनमा मद्दत गर्छन् । यही चाडबाडको समयमा विभिन्न पुस्तकको विमोचन पनि हुने गर्छ । शनिबार वरिष्ठ राजनीतिज्ञ एवं माक्र्सवादी साहित्यकार नारायणमान बिजुक्छेँ (रोहित) द्वारा लिखित ‘आत्मनिर्भरताको प्रश्न र आर्थिक विकास’ को तेस्रो संस्करण विमोचन हुने भएको छ । पुस्तक विमोचन जनप्रकाशन गृहको आयोजनामा हुनेछ । यसरी चाडबाडमा सरसफाइ, सम्पदा संरक्षण, नाचगान, पुस्तक विमोचनदेखि साहित्य सम्मेलन, गोष्ठी, भेटघाट, अन्तरक्रिया आदि रचनात्मक कार्यक्रम भएको हुन्छ । यसले प्रत्यक्ष या अप्रत्यक्षरूपमा समाजमा चेतना फैलाउने काम गर्छ र समाज परिवर्तनमा सहयोग पु¥याउँछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *