युक्रेनी जग्गा कब्जा गर्दै अमेरिकी कम्पनीहरू
- पुष २८, २०८१
सन् १८६१–१८६५ मा संरा अमेरिकामा उत्तरका उद्योगपति र दक्षिणका दासमालिकहरूबिच गृहयुद्ध भयो । दासमालिकहरूको हारपछि अमेरिकामा पुँजीवादको द्रुततर विकासको बाटो खुल्यो । दासताको अन्त्य, बसोबासको निम्ति राज्यद्वारा जग्गा वितरण र देशको पश्चिमी भेगमा तीव्र बसाइँसराइले आदिवासी वन्यजातिहरू झन् पश्चिमतिर सर्दै गए । रेलमार्गको उत्साहजनक निर्माणले अमेरिकाको घरेलु बजार अत्यन्त छिटो विस्तार भयो । यस्तो परिस्थितिमा संरा अमेरिकामा अन्य पुँजीवादी देशमा भन्दा उच्चस्तरमा पुँजीवादको विकास भयो ।
प्रचुर प्राकृतिक स्रोत–साधन, फालाफाल कोइला, फलाम, तेल, तामा र काठले नै अमेरिकामा पुँजीवादको द्रुततर विकासमा टेवा पुगेको थियो । युरोपेली देशहरूको पुँजीको प्रयोग, हब्सी दासहरूको अमानवीय शोषण तथा गरिबीले गर्दा कामको खोजीमा आ–आफ्ना देश छोडेका युरोप र एसियाका आप्रवासीहरूको क्रूर शोषणबाट संरा अमेरिकाको आर्थिक विकासले गति लियो ।
सन् १८९० सम्म खेती नगरिएको वा आवाद नभएको प्रचुर भूमि हुनाले अमेरिकामा सर्वहारावर्गले पनि तुलनात्मकरूपले सजिलैसँग भूमि पाउन सक्थ्यो । यस्तो स्थितिमा सुरुका दिनहरूमा ज्यामीको माग निरन्तर बढ्नु र ज्याला पनि उँचो हुँदै जानु स्वाभाविक थियो । यसकारण, अमेरिकी उद्योगपतिहरूले राम्रो प्रविधि र शोषणका अन्य उपाय अपनाउने सोच्न थाले ।
सन् १८७० र १८९० को बिचमा एडिसन (Edison), बेल (Bell) जस्ता आविष्कारकहरू देखापरे । हुन त त्यसबेला पुँजीवादी देशहरूमाझ आविष्कारको होड नै थियो । सन् १८७९ मा एडिसनले बिजुली बत्ती परिमार्जन गरे । तर, त्यसको प्रारम्भिक आविष्कार रूसी वैज्ञानिक याब्लोकोभ (Yablochkov) र लोदिगिन (Lodygin) ले गरेका थिए । एडिसनले एकै वर्षमा पहिलो बिजुलीघर वा विद्युत् केन्द्र बनाए; बेलले सुधारिएको टेलिफोन प्रयोगमा ल्याए । सन् १८९३ मा फोर्ड (Ford) कम्पनीले आफ्नै पहिलो मोटरकार परीक्षणमा ल्यायो र २० औँ शताब्दीमा पहिलोचोटि भार बहन गर्न सक्ने पट्टी (Conveyor Belt) भएको गाडी बनाउने कारखाना निर्माण ग¥यो । त्यसबेला अमेरिकी कारखानाहरूमा बनेका प्राविधिक सामान युरोपेली कारखानामा तयार भएका भन्दा राम्रा र बलिया देखिए ।
गृहयुद्धपछि उद्योग र कृषिमा वृद्धि
गृहयुद्धको ३० वर्षपछि संरा अमेरिका एउटा कृषिप्रधान देशबाट उच्चस्तरको विकसित औद्योगिक र कृषि शक्तिमा रूपान्तरित भयो । अमेरिकाका पूर्वी र उत्तरपूर्वी राज्यहरू औद्योगिक विकासका केन्द्र बने ।
सन् १८४० मा औद्योगिक उत्पादनको हिसाबले संसारको पाँचौँ स्थानमा रहेको संरा अमेरिका सन् १८६५ मा चौथो स्थानमा पुग्यो र २० औँ शताब्दीको सुरुमा पहिलो स्थानमा पुग्यो । सन् १८९४ मा अमेरिकाको औद्योगिक उत्पादन पश्चिम युरोपका सबै देशको उत्पादनको आधाभन्दा बढी थियो भने बेलायतको भन्दा दोब्बर थियो । सन् १९०० मा अमेरिकाको रेलमार्गको लम्बाइ १ लाख ९० हजार माइल थियो । पश्चिमी युरोपका सबै रेलमार्ग जोड्दा पनि त्यति लामो हुन्थेन । कृषि उत्पादनमा मिसिसिपी घाटी अमेरिकाको अन्न भण्डार बन्यो । खेतीको क्षेत्र उल्लेखनीयरूपमा बढ्दै गयो ।
संरा अमेरिका पश्चिम युरोपमा कच्चा माल, अन्न र अन्य खाद्य पदार्थ निर्यात गर्ने मुख्य उत्पादक देश बन्यो । विदेशबाट सस्तोमा अन्न आयात गर्दा युरोपेली मुलुकहरूको कृषि अर्थतन्त्र ध्वस्त भयो । संरा अमेरिकामा कृषि क्षेत्रहरूको अत्यन्त तीव्र विकासबाट हातले बनाइएका सामान वा कारखानाबाट उत्पादित सामानको अत्यन्त ठुलो मात्रामा माग बढ्यो; त्यसले गर्दा औद्योगिक विकासमा झन् उत्साहजनक वृद्धि भयो ।
संरा अमेरिकाको औद्योगीकरणको त्यस अवधिमा ठुलठुला सहरहरूका आकार बढ्दै गयो । गृहयुद्धको ३० वर्षपछि कुनै–कुनै सहरको जनसङ्ख्या १० गुणा वृद्धि भयो ।
अमेरिकी साम्राज्यवाद
१९ औँ शताब्दीको अन्त्यतिर अमेरिकी पुँजीवाद साम्राज्यवादी चरणमा पुग्यो । उत्पादन र पुँजीको द्रुत सङ्केन्द्रण चालु रह्यो । इस्पात, तेल, विद्युत् र रेल कम्पनीका परिवार वा घराना शक्तिशाली भए । डरलाग्दो होडबाजीका कारण केही संस्था र कम्पनीको पतन हुनुका साथै एउटा कम्पनीले अर्कोलाई निल्दै जाँदा केही बनियाँ एकाधिकारी कम्पनी बने । बिस्तारै संरा अमेरिकामा थरीथरी एकाधिकारी संस्था ट्रस्ट (Trusts) देखापरे । अमेरिका एकाधिकारी पुँजीवादको उदाहरण देश बन्यो ।
सन् १८७० मा रकफेलर (Rockefeller) ले स्थापना गरेको स्टान्डर्ड तेल कम्पनी (Standard Oil Company) ले संरा अमेरिकाका झन्डै सबैजसो तेल कम्पनीमाथि नियन्त्रण कायम गर्यो । तेलका आफ्नै खानी, दसौँ हजार तेलका पाइप लाइन, समुद्रमा जाने सयौँ जहाज, जगेडा राख्ने भण्डार र बन्दरगाहका धेरै जहाज–बिसौनी (Dock) रकफेलर कम्पनीको स्वामित्वमा थिए । अमेरिकामा मात्र होइन अन्य देशमा पनि रकफेलरको प्रभुत्व कायम भयो । तेलमाथि आफ्नो मालिकत्व कायम गरेपछि ग्यास, विद्युत् उद्योग तथा तामा, जस्ता र अन्य वस्तुमा समेत ट्रस्टले नियन्त्रण जमाउँदै गयो ।
२० औँ शताब्दीको सुरुमा बैङ्कपति मोर्गन (Morgan) ले इस्पातको ट्रस्ट (Steel Trust) स्थापना गर्यो । ठुलठुला धातु कम्पनीबाहेक ट्रस्टले विशाल ताल (Great Lakes) क्षेत्रका फलामका धाउहरू, रेलमार्ग, बाफचालित साना जहाज कम्पनी, कोइला खानी आदिलाई आफ्नो बनायो । ट्रस्टले ती खनिज, खनिजका उत्पादन र कारखानाहरूसँगै १ लाख ७० हजार मजदुरमाथि शोषण ग¥यो ।
ट्रस्टको विकास र बैङ्कहरूको शक्ति आपसमा घनिष्टरूपले जोडिएको हुन्छ । उद्योगमा पुँजीको सङ्केन्द्रण बैङ्कमा पुँजीको सञ्चयसँग जोडिएको हुन्छ ।
जर्मनी, बेलायत र फ्रान्समा जस्तै संरा अमेरिकामा पनि बैङ्कहरू उद्योगसँग जोडिदै गए । बैङ्कहरूले उद्योगलाई दीर्घकालीन ऋण प्रवाह गरे र उत्पादनमा ठुलो लगानी गरे ।
१९ औँ शताब्दीको आधाआधीसम्म सबै पुँजीवादी देशमा संयुक्त लगानी कम्पनीहरू (Joint–Stock Companies) को व्यापक प्रचलन सुरु भयो । साना र मध्यम आय भएका मानिसलाई समेत अंश वा सेयर वितरण गरियो । यसको अर्थ तिनीहरूको बचत (Savings) ठुला पुँजीपति वा बैङ्कपतिहरूलाई सुम्पिनु थियो । सेयर किन्नेहरू औपचारिकरूपले उद्योग–व्यवसायका सह–मालिक (Co–owner) हुन्थे भने कम्पनी मालिकले तिनीहरूलाई नाफा लिने अधिकार दिन्थे । सेयरधनीहरूको साधारणसभा औपचारिकरूपले संयुक्त लगानी कम्पनीका सबै मालिकको मानिन्छ । तर, त्यसको प्रबन्ध सानो समूहले मिलाएको हुन्छ । साधारणसभामा हरेक सेयरधनीको मत सङ्ख्या उसले किनेको सेयरको सङ्ख्यामा निर्भर रहन्छ ।
संयुक्त लगानी कम्पनीको सङ्गठनमा धेरै बैङ्कले भाग लिन्थे । कम्पनीले आफ्ना सेयर बैङ्कका शाखा र दलालहरूमार्फत बेच्थे । प्रायः बैङ्कले सेयरको निश्चित भाग आफ्नै हातमा राख्थे । यसबाट बैङ्कले व्यवसायको प्रबन्धमा सक्रिय भाग लिने र पूर्ण नियन्त्रण गर्ने अधिकार पाउँथ्यो । संयुक्त लगानी कम्पनीको विस्तारले सङ्गठनको एकरूपको आधारमा उद्योगमा बैङ्कहरूको पहुँच पुग्थ्यो । पहिलो विश्वयुद्धको मौका छोपी मोर्गन र रकफेलर नामका दुई ठुला अमेरिकी बैङ्कले ११२ ओटा बैङ्क, रेल, बीमालगायत धेरै कम्पनीमा नियन्त्रण जमाए । ती बैङ्क र कम्पनीको पुँजी २ अर्ब डलरभन्दा बढी थियो ।
बैङ्कहरूले उद्योग र यातायात कारोबारका धेरै सञ्चालक समिति वा बोर्डहरूमा आफ्ना मान्छे राखेर ती कारोबारमाथि नियन्त्रण जमाउँथे । बैङ्कको पुँजी औद्योगिक पुँजीसँग घनिष्ठ थियो । लेनिनले यसप्रकारको पुँजीलाई वित्तीय पुँजी (Financial capital) भन्नुभयो । वित्तीय पुँजीको निर्माण संरा अमेरिकामा मात्र होइन जर्मनी, बेलायत, रूस, फ्रान्स आदि देशमा पनि भयो । अमेरिकी साम्राज्यवादबारे लेनिनले लेख्नुभयो, “पुँजीको शक्ति मुट्ठीभर करोडपति र अर्बपतिहरूको शक्ति हो र यो शक्ति अमेरिकामा जस्तो हाकाहाकी भ्रष्टाचार गर्ने गरी संसारमा कहीँ पनि देखिएको छैन ।” (लेनिन, सङ्कलित रचना, भाग २२, पाना ४९)
पुँजीवादको विकासमा बरोबर औद्योगिक सङ्कट आइरहन्छ । तर, अमेरिकामा सङ्कट अरू देशको भन्दा अत्यन्त चर्को हुन्थ्यो ।
सबभन्दा गम्भीर सङ्कट सन् १८९३ र १९००–१९०३ मा आएका थिए । ती सङ्कटले गर्दा अमेरिकाका मजदुर र किसानलाई बढी दुःख भयो । लाखौँलाख जनता बेरोजगार र कङ्गाल भए ।
उद्योगको वृद्धि र प्रविधिको उन्नतिले एकातिर श्रमको शोषण झन् चर्कियो । प्राविधिक उन्नतिले बेरोजगार बढायो र कामदार जनतालाई चरम गरिबीमा डुबायो । छोटो समयमै अमेरिका पुगेका आप्रवासीहरूको अवस्था विभत्स भयो । हब्सी, जापानी र चिनियाँलगायत ‘गैरगोरा’ मजदुरहरू बर्बर अत्याचार र उत्पीडनको सिकार भए । संयुक्त राज्य अमेरिकाका “… मुट्ठीभर करोडपतिहरू भ्रष्टाचार र ऐस–आरामको फोहोरमा लत्पतिएर एउटा खाडल छेउ बसेका छन् । करोडौँ कामदार जनता गरिबीको खाडलको पिँधमा छन् । यो खाडलको गहिराइका दृष्टिले संरा अमेरिका संसारका सबै देशहरूभन्दा अगाडि छ ।” (लेनिन, सङ्कलित रचना, भाग २८, पाना ४४)
साभार : आत्मनिर्भरताको प्रश्न र आर्थिक विकास
Leave a Reply