जुम्लामा चिटको जात्रा
- चैत्र ९, २०८१
सरकारले केही गर्ला भन्ने विश्वास जनताको हुन्छ । देशको आधार जनता हो भन्ने कुरा सरकारले बुझ्नुपर्छ । तर, सरकार गतिलो नभएसम्म देशले काँचुली फेर्न सक्दैन । आफ्नो सरकार टिकाइराख्न या लम्ब्याइराख्न सत्तासीन दलका नेताहरू समाजमा व्याप्त अन्धविश्वास, विकृति र विसङ्गति हटाउन चाहँदैनन् । यो उनीहरूको सरकार टिकाउने षड्यन्त्र हो । भ्रष्ट आचरणका, आपराधिक क्रियाकलापमा संलग्न व्यक्तिहरूलाई बारम्बार भोट दिएर जिताउने र भ्रष्टहरूको पक्षमा साथ दिने कार्यकर्ता, मतदाता भएसम्म देश अगाडि बढ्दैन । कार्यकर्ता र जनता राजनीतिक विसङ्गति र बेथितिहरूको विरोधमा लाग्नुपर्छ† जाग्नुपर्छ । अतः देशका व्यापक जनता सचेत हुनुपर्छ; देशभक्त हुनुपर्छ । जनता सचेत नभएसम्म, देश र जनताको सेवा गर्ने दलको पक्षमा नलागेसम्म असल दलको सरकार बन्दैन र सुसंस्कृत समाज बन्दैन ।
सत्तासीन दलका कुनै पनि नेताहरू द्वैधचरित्रको हुनुहुँदैन । दलका नेताहरू सत्तामा पुग्दा एउटा र सत्तामा नरहँदा अर्काे कुरा गरेर द्वैधचरित्र देखाउनु हुँदैन । नेपाली समाज हल्लाको पछाडि दगुर्नु हुँदैन । साँच्चै व्यापक जनताले राजनीतिक दलको सिद्धान्त, विचार या सही दृष्टिकोण नबुझ्दा देशमा गलत व्यक्तिहरूले शासन गरिरहेका हुन् । श्रमजीवी जनताले पुँजीपतिवर्गको प्रतिनिधित्व गर्ने दल र दलका उम्मेदवारलाई मतदान गर्नु र नक्कली कम्युनिस्ट पार्टीलाई कम्युनिस्ट पक्षधर जनताले मतदान गर्नु गलत हो । जनतामा राजनीतिक र सांस्कृतिक स्तरको कमीले गर्दा जनताले गलत व्यक्तिहरूलाई मतदान गरेर निर्वाचित गरेका छन् । जनताले देशलाई दूरगामी असर पार्ने काममा हस्ताक्षर गर्ने दल र दलका उम्मेदवारलाई चिन्नुपर्छ । विदेशीले पनि वंशजको आधारमा नेपाली नागरिकता लिन पाउने नागरिकता विधेयकमा हस्ताक्षर गर्ने दलहरू चिन्नुपर्छ । नेपालको असलंग्न परराष्ट्र नीतिविपरीत युक्रेनको समर्थनमा सही गर्ने दलका नेताहरू चिन्नुपर्छ । सिद्धान्त र विचारको राजनीति नगरी पद, पैसा र शक्तिको आधारमा राजनीति गर्ने दलहरूलाई चिन्नुपर्छ । देशमा बेथिति निम्त्याउने, भ्रष्टाचार र अनियमिततामा प्रोत्साहन दिने, भ्रष्टाचारी र आपराधिक क्रियाकलापमा संलग्न व्यक्तिहरूलाई कारबाही नगर्ने दल र दलका उम्मेदवारहरू चिन्नुपर्छ । जनताले कुन दलको विचार सही छ, थाहा पाउनुपर्छ । हाम्रो मत देशविरोधी, जनघाती दल र दलका उम्मेदवारलाई होइन असल राजनीति गर्ने असल दल र दलका उम्मेदवारहरूलाई दिनुपर्छ । अनि जनताको मत सही ठाउँमा पर्छ ।
कति राजनीतिक विश्लेषक र बुद्धिजीवीहरू भन्छन्, “नेमकिपाको राजनीति सही छ; दलका नेता तथा कार्यकर्ताहरू पनि इमानदार छन्; दलगत र व्यक्तिगत स्वार्थमा नलागी देश र जनताको पक्षमा इमानदारीपूर्वक राजनीति गर्छन् । तर, दल सानो छ ।” जनताको अमूल्य मत दल ठुलो र सानोको आधारमा दिने होइन; सिद्धान्त र विचारको आधारमा दिने हो । सही दल र दलका उम्मेदवारलाई मतदान गराएर जिताए पो दल ठुलो हुन्छ । नेमकिपाको राजनीति ठीक छ, दलका नेता तथा कार्यकर्ताहरू देश र जनताप्रति समर्पित छन् भन्ने तर सानो दलले जित्दैन भनी मतदान नगर्ने गलत प्रवृत्तिले पनि देशमा सही राजनीति नचलेको हो; देश सही ठाउँमा नआएको हो ।
जनता भ्रष्टाचार, दण्डहीनता र कुशासनको पक्षमा लाग्नुहुँदैन । जुन व्यवस्था फाल्नुपर्ने हो, त्यसैको पक्षमा पृष्ठपोषण गर्नु कसरी सही हुन्छ ? दक्ष जनशक्ति बिदेसिनु र आर्थिक चलायमान नहुनु चिन्ताको विषय हो । देशका सबै उद्योगधन्दा सञ्चालनमा नआउनु, सञ्चालनमा नरहेका उद्योग तथा कलकारखानाहरू नचलाई निजीकरण गर्नेतर्फ लाग्नु अर्काे चिन्ताको विषय हो । देशमा अराजकताले प्रशय पाएको छ । बेथिति र विसङ्गतिले शिखर नाघिसकेको छ । भ्रष्टाचार र अनैतिकताको सूची पनि बढेको बढ्यै छ । यसरी देशमा अराजकता र विसङ्गतिले ठाउँ लिइरहेको समयमा एक दुई वटा जिल्ला, नगरपालिका र गाउँपालिकामा राम्रो भए पनि देशले गति लिँदैन । देश र जनताको सेवा गर्ने नेता, मन्त्री, सांसद, कार्यकर्ता र जनप्रतिनिधिहरू देशभर हुनुपर्छ । सानो दल भनेर सही दल र दलका उम्मेदवारलाई मत नदिएपछि सुसंस्कृत समाज बन्दैन; देशको विकास जति हुनुपर्ने हो हुँदैन । यसकारण, जनता चनाखो हुनुपर्छ, सचेत र सङ्गठित हुनुपर्छ । देशको अर्थतन्त्रलाई मजबुत बनाउन र दीर्घकालीन विकासको निम्ति सरकारले पूर्वाधार तयार गर्नुपर्छ । यसमा सरकार संवदेनशील र गम्भीर हुनुपर्ने हो । तर, त्यो देखिएको छैन । कति बुद्धिजीवी र विश्लेषकहरूले भन्न थालेका छन्, सरकार नै गतिलो नभएपछि अब यो देश बन्दैन† देश राम्रोसँग अघि बढ्दैन । यो कस्तो सरकार ! कस्ता दलहरूको सरकार भनी सर्वसाधारणले पनि धिक्कार्न थालेका छन् । अतः सरकारमा सहभागी दलहरू विशेषतः जिम्मेवारीपूर्वक लाग्नुपर्ने देखिन्छ ।
Leave a Reply