साउथ चाइना सीमा वास्तविक “राक्षस” को हो ?
- माघ १, २०८१
विषय प्रवेश :
बैङ्क तथा वित्तीय संस्था र सहकारी संस्थाको औपचारिक विकास हुनुपूर्व नगद, पैसाको लेनदेन एक किसिमको सामाजिक व्यवहार थियो । जुन अधिकतम विश्वासको आधारमा व्यवहार हुन्थ्यो । आज लेनदेन सामाजिक व्यवहारभन्दा बढी आर्थिक कारोबार हुन गएको छ । समयको परिवर्तनसँगै सामाजिक मूल्य र मान्यताको पनि परिवर्तन हुन्छ । हिजो घरायसी कागजको विश्वासमा हुने लेनदेन आज सहकारी र बैङ्कबाट हुन्छ । हिजो मान्छेको विश्वासमा हुने लेनदेन आज धितोमा आधारित भएर हुन्छ । हिजो साहूले आसामीलाई दिएको रु. १,००,००० लाई किर्ते गरी १०,००,००० बनाउँथ्यो, रु. १०,००० लाई १,००,००० गर्न सक्थे तर आज गर्न मुस्किल छ । हिजो सामाजिक व्यवहारमा वस्तु विनिमय प्रणालीले प्रधानता रहन्थ्यो । आज हरेक विनिमयमा नगद, पैसाले प्रधानता पायो । हिजो लेनदेन व्यवहारमा टाठाबाटाको राज चल्थ्यो, बाठाले लेनदेनमा बठ्याइँ गथ्र्याे, सोझाले दुःख पाउँथे । हिजो र आज लेनदेन व्यवहार र प्रक्रियामा धेरै परिवर्तन भयो तर उद्देश्य एउटै छ त्यो हो घर व्यवहार, सामाजिक कार्य तथा व्यापार व्यवसाय । उहिले लेनदेन व्यवहार मान्छे हेरी हुन्थ्यो पछि मुलुकी ऐनले व्यवस्थित ग¥यो आज मुलुकी देवानी संहिताले नियमित र व्यवस्थित गर्दै आएको छ ।
सामान्यतः कसैले कसैलाई सापटी दिँदा अधिकतम ब्याजदर लिएर रकम प्रवाह गर्नु लेनदेन हो । यसमा ब्याजदर आपसी सहमतिमा तोकिन्छ । मिटर ब्याजीले त झन् ब्याजदर ३६ प्रतिशत, ३० प्रतिशतसम्म हुने गर्दछ । त्यसैले १ लाख कर्जा लिएको व्यक्ति ५ वर्षमा १० लाख ब्याज तिर्दा पनि कर्जा चुक्ता नभएको अवस्था छ । यस्तो अवस्था हुनुमा गरिबलाई सरकारी स्तरमा सहुलियत कर्जाको व्यवस्था नहुनु, बैङ्क कर्जा लिन धितो र आय देखाउन नसक्नु, सहकारी सञ्चालक र पहुँचवालाको मात्र बोलबाला हुनु, लघुवित्त संस्था नाफामुखी हुनु हो ।
नेपालमा २०७५ साल भदौ १ गतेदेखि प्रारम्भ भएको मुलुकी देवानी संहिता २०७४ ले बदलिँदो समयअनुसार आवश्यक कानुन संशोधन र एकीकरण गरी लेनदेन व्यवहारको विषयलाई भाग ४ सम्पत्तिसम्बन्धी कानुनको परिच्छेद १५ मा लेनदेन व्यवहारसम्बन्धी व्यवस्थामा समावेश गरेको छ । लेनदेन भनेको २ वा २ भन्दा बढी व्यक्तिहरूबिच कुनै सर्त बन्देज राखी रकम पैसा वा वस्तु लिनु दिनु र लेनदेन भएको पैसा वा वस्तु लिनेले दिनेलाई त्यस्तो फिर्ता गर्नु नै हो । कुनै व्यक्तिले अर्काे व्यक्तिलाई कुनै प्रकारले कुनै रकम वा वस्तु दिएमा र सो लिने व्यक्तिले पुनः दिने व्यक्तिलाई त्यस्तो रकम वा वस्तु फिर्ता गर्नुपर्ने हुन्छ । यसलाई ऋण सरह मानिन्छ ।
यसमा कुनै व्यक्तिले अर्काे व्यक्ति भन्नुको अर्थ एउटै परिवारका सदस्य, नातेदार, टोलछिमेकी, अपरिचित जोसुकै पनि हुनसक्छ । कानुन सधै बकितम (मौखिक) भन्दा लिखित हुने भएकोले यस्तो लेनदेन व्यवहार गर्दा लिने र दिने व्यक्तिबिच लिखत गरेर मात्र व्यवहार गर्नुपर्छ । लिखितको अर्थ तमसुक तथा सम्झौतामात्र नभई कुनै प्रकारको लेनदेन कारोबार प्रमाणित गर्ने चेक, बिल, भौचर रसिद तथा यी पनि नभए भर्पाई कागजातसमेतलाई मानेको छ । बिना यस्तो लिखत लेनदेन गर्नु हुँदैन, नगरेमा के हुन्छ त ? एक त लेनदेन प्रमाण हुँदैन, अदालतबाट न्याय पाउन गा¥हो हुन्छ । अर्काे विश्वासमा घात हुन्छ अन्ततः किन दिए भन्ने पश्चाताप मात्र बाँकी हुन्छ । लेनदेनलाई संहिताले सम्पत्तिसम्बन्धी कानुनमा राखेको छ । तसर्थ, यो सम्पत्ति र आर्थिक कारोबारसँग सम्बन्धित छ । यसकारण, यस्तो कार्य बिनाप्रमाण, कागजात गर्नु हँुदैन । लेनदेन एउटै शब्द भए पनि यसभित्र लेन अर्थात् लिने र देन अर्थात् दिने दुई शब्दको संयोजन हो । दिने र लिने कार्यमा आकाश जमिनको फरक हुन्छ । दिने काम एकदमै सरल सहज छ आफूसग भएको चिज हत्केलाले छोडे पुग्छ तर जब लिने कार्य गर्नुपर्छ तब एकदम कठिन छ । लिने मान्छेको हजार बहाना कुरा सुन, भेट्न गा¥हो, असुलउपर गर्न महायज्ञ जस्तै छ । लिने काम माग्ने जस्तै हो । फिर्ता गर्न त कहाँ सजिलै मान्छ । तसर्थ, दिने मान्छेले नगद, पैसा वा वस्तु दिँदा लिनेसँग कागजात लिखत बनाई हस्ताक्षर ल्याप्चे गराई, साक्षी राखीमात्र पैसा दिनुपर्छ, अझ नयाँ कानुनले वडा कार्यालयमा दर्ता तथा प्रमाणीकरण गर्नुपर्ने व्यवस्था गरेको छ, कारण पछि विवाद हुँदा प्रमाणको रूपमा हेर्न सकोस् । लिन सकियोस् ।
लेनदेनको कागज बनाउँदा सम्पूर्ण विवरण उल्लेख गर्नुपर्छ अन्यथा रकम असुल गर्न कठिन हुन्छ । लिखत बनाउँदा लिने र दिने व्यक्तिको तिनपुस्तेको नाम थर, ठेगाना, वतन उल्लेख गर्ने, लेनदेनको उद्देश्य, कारण, कति रकम, वस्तु भए सोको मूल्य, लेनदेनको समयावधि, ब्याज लिने नलिने, लिने भए कति, लिनेले रकम फिर्ता नगरे लिने अर्थात् ऋणीको सम्पत्ति असुल गर्न पाउने कुरा, लिखत गरेको ठाउँ र मिति उल्लेख गर्नुपर्छ ।
नेपालमा ‘सावाँभन्दा ब्याज प्यारो’ भन्ने उखान प्रचलित छ । लेनदेनमा दिने अर्थात् धनीको मूल उद्देश्य ब्याज रकम प्राप्त गर्नु हो, त्यसैले दिनेले अधिकतम ब्याज लगाउने हुनाले संहिताले नै अधिकतम १० प्रतिशत ब्याज निर्धारण गरेको छ । व्यवहारमा मिलेमतो गरी जति लिए दिए पनि कानुनतः अधिकतम सय कदा दस प्रतिशतमात्र ब्याज लिन पाउँछ । अर्थात्, वार्षिक १ लाखमा १० हजार रूपैयाँ मात्र । यदि लिखतमा ब्याजको सट्टामा मुनाफा लिने कुरा उल्लेख भएमा के कति कुरा हो लिखतमा लेख्नुपर्छ, नलेखिए साहूले ऋणीबाट ब्याज सरहमात्र लिन पाउनेछ ।
ब्याज लिने सम्बन्धमा संहिताले विस्तृतरूपमा व्यवस्था गरेको छ । सुरुमा ब्याज लिने भए लिखितमा लेख्नुपर्छ । ब्याज लिने भए अधिकतम १० प्रतिशतसम्म लिन पाउँछ । ऋणीले समयमा कर्जा र ब्याज नतिरे ब्याजको ब्याज दाबी गर्न पाउँदैन । यदि कुनै दिने व्यक्तिबाट साहूले ऋणीबाट ब्याजको ब्याज लिएको रहेछ भने सावाँबाट कट्टी हुनेछ र सावाँ रकम चुक्ता भइसकेको रहेछ भने त्यस्तो ब्याज फिर्ता गर्नुपर्छ । त्यस्तै, साहूले ऋणीलाई दिएको सावाँभन्दा बढी ब्याज लिन नपाउने व्यवस्था छ । यसले सिधै ऋणीलाई फाइदा गर्छ । जसले नियतपूर्वक ऋण लिई तिर्न मनाई गर्छ उसले अनुचित लाभ लिन सक्छ, ऋण लियो सावाँ र ब्याज नतिर्ने । जस्तैः– कसैले १ लाख कर्जा लिई १५ वर्ष नदिई चलाएमा ब्याजमात्र १ लाख पचास हजार हुन्छ, यो व्यवस्थाले कसलाई फाइदा ग¥यो । तसर्थ, अन्याय सहेर बस्नेलाई कानुनले पनि सहयोग गर्न सक्दैन भने जस्तै धनी आफनो ऋण असुल गर्न अदालत समक्ष जानुपर्छ । तर, विशेष कानुनअन्तर्गत बैङ्क तथा वित्तीय संस्थाले कर्जाको असुल गर्दा सावाँ, ब्याज, हर्जाना, अदालती खर्च, सूचना, प्रकाशन, ँयचअभ यिबल, पेनाल ब्याज सबै असुलउपर गर्न पाउँछ ।
लेनदेन व्यवहारमा ऋणीले साहूलाई सम्पूर्ण सावाँ ब्याज चुक्ता गरेपछि त्यस्तो लिखत च्यात्नुपर्छ वा त्यस्तो लिखत कर्जा असुल भएको व्यहोरा लेखी साहूको सही, ल्याप्चे लगाई ऋणीले लिनुपर्छ, यदि तत्काल तमसुक वा कागज नभेटिए सोको व्यहोरा खुलाई कर्जा चुक्ता गरेको खुलाई रकम बुझेको छुट्टै भरपाई गरी ऋणीलाई दिनुपर्ने हुन्छ । घरसारमा बसी कसैले कसैलाई सापटी वा लेनदेन व्यवहार गर्दा सो लिखतको अवधि बढीमा १० वर्षसम्म हुनेछ । नेपालको कानुनले १८ वर्षमुनिको व्यक्तिलाई नाबालक मानेकोले कसैले निजसँग लेनदेन कार्य गरेमा कानुनी मान्यता पाउँदैन र कार्य बदर हुन्छ र कानुनी प्रभाव शून्य हुन्छ ।
माथि नै उल्लेख गरेझैँ यदि लिखतमा ऋणीले कर्जा नतिरे निजको श्री सम्पत्तिबाट असुल उपर गर्ने व्यवस्था लेखिएमा र सो मा ऋणीको एकासगोलको घरको मुख्य व्यक्तिको सहिछाप लिएको अवस्थामा एकासगोलको सम्पत्तिबाट घरमुलीबाट रकम भराई दिनुपर्छ, यदि मुख्य व्यक्तिको सहिछाप नभएको र मञ्जुरी नभएको अवस्थामा सगोलको सम्पत्तिमा ऋणीको हक नपुगेसम्म साहूले त्यस्तो सम्पत्तिमा आफ्नो रकम भराई लिन पाउँदैन । यस्तो अवस्थामा १० वर्षभित्र साहूले ऋणी उपर अदालतमा मुद्दामामिला गरी आफ्नो लेनदेनको रकममा हक कायम गरी राख्नुपर्छ र सगोलको सम्पत्तिमा निज ऋणीको हक पुगेपछि निजबाट कानुनबमोजिम रकम भराई लिनुपर्छ ।
कुनै कारणबस लेनदेन व्यवहार हुँदा तमसुक नबनाएको तर लेनदेन गरेको कुनै लिखत, बैङ्किङ कारोबार, विनिमेय अधिकारपत्र, चेक, भौचर वा बही खातामा लेखिएको व्यहोराबाट कुनै व्यक्तिसँग लेनदेन भएको देखिन आए अदालतले त्यस्तो प्रमाणको आधारमा साहूलाई ऋणीबाट रकम भराउनुपर्छ तर यस्तो मुद्दामा ब्याज पाउँदैन । यदि लेनदेन गर्दा लिखत गरी गरेको अवस्थामा लिएको रकम नतिरी साहूले मुद्दा गरी अदालतबाट साहूले ब्याजसमेत पाउने फैसला भएमा साहूबाट फैसलाबमोजिम भरिभराउँदा मितिसम्मको ब्याजसमेत पाउँछ ।
लेनदेन व्यवहारमा अदालतको महत्वपूर्ण भूमिका भएजस्तै स्थानीय निकाय अर्थात् नगरपालिका तथा गाउँपालिकाको पनि उत्तिकै स्थान छ । सर्वप्रथम घरसार तथा लेनदेनको कागज दर्ता र प्रमाणित गर्न वडा कार्यालयको महत्व छ । यसलाई हामी लेनदेन व्यवहारको वैधानिकीकरणको रूपमा हेर्न सक्छौैँ । त्यस्तै, घरव्यवहारमा भएको लेनदेनको लिखत हराएमा, दैवी प्रकोप वा काबु बाहिरको परिस्थितिले नासिएमा साहूले सो व्यहोरा खुलाई स्थानीय तहमा निवेदन गर्नुपर्छ । सो कुरा दर्ता गरी साहूलाई भरपाई दिनुपर्छ । त्यसपश्चात् स्थानीय निकायले लिखत गरिदिने व्यक्ति अर्थात् ऋणीलाई झिकाई पहिला लिखतबमोजिम अर्काे लिखत तयार गराई सो प्रमाणितसमेत गरी निवेदक साहूलाई दिनुपर्छ । देवानी दायित्वबाट छुटकारा नपाउने सिद्धान्तबमोजिम यदि ऋणीको मृत्यु भएको अवस्थामा निजको हकवाला झिकाई त्यस्तो लिखत तयार गर्नुपर्छ । यदि लिखत गरिदिने व्यक्ति÷ऋणीले लिखत हराएको जनाई अर्काे लिखत गर्न इन्कार गरेमा साहूले लेनदेन व्यवहार भएको प्रमाण देखाई अदालतमा नालिस गरी आफ्नो हक कायम गर्नुपर्छ र निज वा हकवालाबाट असुल उपर गर्नुपर्छ ।
त्यस्तै, वस्तुसम्बन्धी लेनदेन व्यवहार रहेछ भने लिखतमा लेखिएबमोजिमको मूल्य वस्तु नभई कच्चा भई भोग गर्न नसक्ने भएमा साहूले अर्काे वस्तु सट्टापट्टा गर्नुपर्छ र नभएमा आफ्नो वस्तु फिर्ता लिई त्यस्तो लेनदेन कागज फट्टा गरी दिनुपर्छ । वस्तुको लेनदेन गरेकोमा लिनेले जस्तो प्रकृतिको परिमाण तथा गुणस्तरको लिएको यथास्थितिमै वस्तु फिर्ता गर्नुपर्छ । कथम्कदाचित वस्तु हराएमा नासिएमा बिग्रेमा वा क्षति भएमा अर्काे वस्तु दिनुपर्छ या सो बराबरको प्रचलित बजार मूल्य बराबरको रकम फिर्ता गर्नुपर्छ ।
कानुनी व्यवस्थाको अध्ययन तथा सामाजिक व्यवहार नियाल्दा पनि कुनै रकम तथा वस्तु दिन जति सजिलो छ त्यति नै सो असुल उपर गर्न गा¥हो छ भन्ने हामीले बुझ्नुपर्छ । त्यसैले लेनदेनमा लिनेलाई आवश्यक हुन्छ, हतार हुन्छ, जति सक्दो छिटो लिन चाहन्छ । त्यसको सट्टा दिने मान्छेले होस विचार गर्नुपर्छ । कानुनी प्रक्रिया पूरा गरी लिखत लेखी, सहीछाप गराई, साक्षी राखी वडा कार्यालयमा दर्ता गरी बल्ल रकम वा वस्तु प्रदान गर्नुपर्छ । लिनेले विश्वासघात गर्छ, फिर्ता नै गर्दैन भन्ने होइन तर दिनेले आफू कानुनीरूपमा बलियो र सुरक्षित हुनु अति उत्तम हो । यहाँ दिनेको बारेमा बढी केन्द्रित भए जस्तो लाग्ला तर तीतो सत्य नै हो सामान्य घरव्यवहार लेनदेनमा सदा दिने मान्छे मर्कामा पर्छ, कारण लिनेले लिइसकेको हुन्छ यसो भनी रहँदा मिटरब्याज पीडित कुरामा यो कुरा मिलेन भन्न सकिन्छ । मिटरब्याज पीडितमा कानुनीभन्दा बढी सामाजिक, आर्थिक राजनीतिक विषय आकर्षित हुन्छ । यो विषय राजनीतिक तथा आपराधिक प्रपञ्चको जालोमा जेलिएको छ । मिटरब्याज पीडितको सम्बन्धमा राज्यले अनुचित लेनदेनसम्बन्धी कानुनको निर्माण गरेको छ तर कार्यान्वयनको पाटो फितलो हुँदा सरकारले चासो नदिँदा समस्या ज्युँका त्युँ छ ।
Leave a Reply