भर्खरै :

वरिष्ठ अधिवक्ताहरूको बहस नोटतर्फ एक नजर

वरिष्ठ अधिवक्ताहरूको बहस नोटतर्फ एक नजर

काठमाडौँ महानगरपालिकाको साबिक वडा नं. २९ हाल वडा नं. २६ ठमेलस्थित लिच्छविकालीन थँबहीस्थित विक्रमशील महाविहार, धर्मधातु महाविहार तथा राजविहारजस्ता नामले चिनिने थँ बहिल र सोमा विराजमान गरुड भगवान््को नाममा लिच्छविकालदेखि रहेको गुठी र सोको जग्गा एवम् पोखरी विभिन्न किसिमले किनबेच गरी निजी सम्पत्ति बनाई व्यापारिक भवन (छाया कम्प्लेक्स) समेत खडा गरिएको विरुद्ध गुठी समाप्त गर्न पाइँदैन भन्दै गुठीको जग्गा र पोखरीमा बनेको ठमेलस्थित छाया कम्प्लेक्स भत्काई उक्त जग्गा एवम् पोखरी परापूर्वदेखिकै स्वरूपमा कायम गरी सनातन धर्म, परम्परा एवम् संस्कृति बचाई पाउन गुठी रैतानी निर्णय बदर, लिखत बदर, नक्सा पास बदर, धितोबन्धक लिखत बदर, मिलापत्र बदर, अदालतको अवहेलनालगायत १३ थान मुद्दा दायर भएका छन् ।
२०७३ साल चैत ६ गते सर्वोच्च अदालतका तत्कालीन न्यायाधीशहरू जगदीश शर्मा पौडेल र केदारप्रसाद चालिसेको संयुक्त इजलासले २०३३ सालको नापीमा श्री सिंह सार्थवाह गरुड भगवान्् गुठीको किनं १६७ को पोखरी तथा कि.नं १०४० चोक जनिएको पोखरी र जग्गाबारे मुद्दा दोहो¥याई हेर्ने निस्सा प्रदान ग¥यो । हाल सर्वोच्च अदालतमा मुद्दा विचाराधीन भई सुनुवाइसमेत भइसकेको अवस्था छ ।
उक्त मुद्दाहरूमा वादी भागवत नरसिंह प्रधानको तर्फबाट वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारी, वरिष्ठ अधिवक्ता एकराज भण्डारी, वरिष्ठ अधिवक्ता विश्वप्रकाश सिग्देल र वरिष्ठ अधिवक्ता विजयप्रसाद मिश्रले २०८१ मङ्सिर १७ गते सर्वोच्च अदालतको संयुक्त इजलासमा बहस नोट प्रस्तुत गर्नुभयो ।
के छ बहसनोटमा ?
उक्त बहस नोटमा कि.नं १६७ र १०४० जग्गाको पोखरी र पोखरीको डिलको साबिक स्रोत गुठी रहेकोमा मुद्दाका दुबै पक्षबिच विवाद नरहेको स्पष्ट गरिएको छ । थँ बिहार कहिले स्थापना भयो भन्ने सम्बन्धमा यकिन तिथिमिति नपाइएको तर इ.सं ९८२ देखि १०५४ सम्म भारतको विक्रमशील महाविहारका महास्वामी दीपाङ्कर वा अतोशाको नामबाट चिनिएका बौद्ध धर्मका एक विख्यात महापण्डित तिब्बतका राजाको निमन्त्रणाअनुसार तिब्बत जान नेपालको बाटो भई आएका थिए । उनी आउँदा एक महिनासम्म स्वयम्भूमा बसेका र सोही बखत उनका दोभासे बिरामी भई मृत्यु भएको हुँदा नेपालका राजालाई अनुरोध गरी केही समय थँ बिहारमा बस्दा थँ बिहारबाट ठमेलको नामकरण हुनुका साथै उक्त बिहारलाई दीपङ्कर बिहार, बिक्रमशील बिहार एवम् भगवान्् बहाल आदि नामले पुकारिएको इतिहासमा प्रस्टयाइएको छ ।
ठमेलको माथिल्लो टोलमा अवस्थित भएकोले थँ बिहार नाम रहन गएको र सो बिहारमा विराजमान भगवान्समेतलाई शुद्ध जल र कमलको फूल चढाउने परम्परा कायम गर्ने आधारशिलाको रूपमा उक्त कमल पोखरी अवस्थित रहेकोले उक्त कमल पोखरीको आध्यात्मिक, सांस्कृतिक, ऐतिहासिक र अन्तर्राष्ट्रिय महङ्खवसमेत रहेको पुष्टि हुने स्पष्ट गरिएको छ ।
भारतमा विदेशी आक्रमणबाट बौद्ध बिहारहरू नष्ट हुन थालेपछि बिहार निर्माण र स्थापनाको केन्द्र नेपाल भएको, बिहारलाई ऐतिहासिकताको आधारमा बहाल र बहिल दुई वर्गमा विभाजन गरिएको, बहिल परम्परा बिहारभन्दा पुरानो रहेको, थँ बिहारलाई बहिल भनिएको, थँ बहिल काठमाडौँका प्रसिद्ध बिहारहरूमध्ये बिक्रमशील महाबिहारको नामले चिनिने प्रसिद्ध बहिल रहेको बहसनोटमा उल्लेख गरिएको छ । यसको नाम ‘भगवान् बहाल’ भोट र भारतसमेतका स्थानमा प्रसिद्ध रहेको छ ।
दीपङ्कर नेपालमा एक वर्ष बस्दा उक्त बिहारलाई बिक्रमशील बिहारको परम्परासँग जोडेकोले यसको नाम बिक्रमशील महाबिहार रहन गएको र त्यसबेला उक्त बिहारमा बौद्ध धर्मको अध्ययन, अध्यापन पनि भएको बहसनोटमा उल्लेख गरिएको छ । तिब्बतका प्रसिद्ध भिक्षु धर्मस्वामीले पनि यसै बिहारमा ८ वर्ष बसेर बौद्ध धर्मको अध्यापन एवम् प्रचार प्रसार गरेका थिए । बौद्ध धर्मको ‘प्रज्ञापारमिता’ ग्रन्थ पनि यसै बिहारमा लेखिएको थियो । यस ग्रन्थको दर्शन गर्न देश विदेशबाट बौद्ध धर्मावलम्बीहरू यहाँ आउने गरेको बहस नोटमा उल्लेख छ । चैत कृष्ण प्रतिपदाको दिन गरिने चकँथको जात्रामा चकँथको भव्य मूर्तिसँगै यस ग्रन्थलाई पनि नगर परिक्रमा गराइने, गाईजात्राको भोलिपल्ट हनुमानढोकामा यो ग्रन्थ देखाइनुका साथै कुमारीलाई यो ग्रन्थको केही भाग पढेर सुनाइने र विजयादशमीको दिन साँझ झिकिने खड्ग यात्रामा यो ग्रन्थलाई अघि अघि साथै लगिने परम्परा रहेको उजागर गरिएको छ । यस बिहारमा विभिन्न सन्धिपत्र, ६० भन्दा बढी ताडपत्र रहनुका साथै मध्यकालमा यस बिहारले पशुपतिनाथ र तलेजु सरह नै मान्यता पाएको उल्लेख गरी यसको महङ्खव र ऐतिहासिकतालाई झल्काएको पाइन्छ ।
थँ बिहारको हेरविचार, मर्मत सम्भार, नियमित पूजापाठ र वार्षिक रूपमा गरिने ठुलो पूजा (दिशी पूजा) सम्पन्न गर्न गुठी राखिएको र सो कार्यभार पूरा गर्नको लागि ठमेलका ९ प्रधान परिवारलाई जिम्मा दिइएकोमा प्रधान परिवार ठुलो भई फैलिएकोले प्रधानहरूको ४ खलकले मात्र थकाली बन्न पाउने र अन्य ५ खलकले दपला बन्न पाउने नियम बनाइएको छ । प्रधान परिवारलाई सो बिहारको मूल चोकमा विराजमान भगवान् गरुड र कमल पोखरीको स्याहार सम्भार गर्न पाउने मात्रै दायित्व रहेको छ । बिहारको भित्री आगमपुजाको लागि नियुक्त बज्राचार्य गुरुज्यू, मुख्य भगवान्को दैनिक पूजा गर्ने श्रेष्ठ परिवारका पुजारी, पुजारीको सहयोगार्थ खटिने दुईजना सुवाजुलगायत सबैलाई खान्गीको रूपमा भगवान्को गुठीबाट धान बाली दिइने नियम रहेको छ । गुठीयारको हैसियतले बिहारको लागि राखिएको गुठी, पोखरीलाई बिगार्ने, नष्ट गर्ने, हक हस्तान्तरण गर्न पाउने वा बेचबिखन गर्न पाउने अधिकार प्रधान परिवार लगायत कसैलाई पनि नभएको र विपक्षीले पनि त्यस्तो अधिकार भएको कुनै पनि दस्ताबेज प्रस्तुत गर्न नसकेको अवस्थामा गुठी हितविपरीतको कुनै पनि कार्यले मान्यता पाउन नसक्ने बहस नोटमा स्पष्ट गरिएको छ ।
काठमाडौँलगायत २७ जिल्लामा २०३५।०१।०१ बाट मालपोत ऐन, २०३४ लागु भएको र उक्त ऐनको दफा २ (ख २) ले पोखरी तथा त्यसको डिल एवम् गुठीसमेतलाई सरकारी जग्गाको वर्गीकरणमा समाहित गरी दफा २४ ले सरकारी, सार्वजनिक र सामुदायिक जग्गा कसैले कुनै पनि नाम वा बहानामा व्यक्ति विशेषको नाममा दर्ता गर्न नहुने व्यवस्था गरेको छ । दफा २४ (२) ले सो ऐन प्रारम्भ हुनुअघि वा पछि सरकारी, सार्वजनिक र सामुदायिक जग्गालाई व्यक्ति विशेषको नाममा दर्ता गरी आवाद गरेको भएमा समेत सो स्वतः बदर हुने र लगत कट्टा हुने व्यवस्था भएअनुसार दफा २४ प्रतिकूल व्यक्तिका नाममा दर्ता स्रेस्ता कायम गरी हक हस्तान्तरण गर्ने र हक कायम गर्नेलगायतका विपक्षीका बदनियतपूर्ण कार्यहरू बदरभागी रहेको स्पष्ट गरिएको छ ।
गरुड भगवान्का नाममा रहेको गुठी पूर्णरूपमा धार्मिक र आध्यात्मिक गुठी भएको हुँदा सो गुठी धितो बन्धकसम्म राख्न नपाइनुका साथै जग्गा बेच्न वा हक हस्तान्तरण गर्न पूर्ण रूपमा बन्देज रहेको गुठीभित्र पर्दछ ।
मुलुकी ऐन, २०२० को गुठीको महलअनुसार पनि गुठियारले दान, बकसलगायत कुनै पनि व्यहोराले बेचबिखन गर्न नहुने प्रस्ट व्यवस्था दफा ३ र ४ मा गर्नुका साथै धर्मलोप गरेकोमा जहिलेसुकै पनि नालिस लाग्न सक्ने व्यवस्था गरेकोले प्रस्तुत मुद्दाहरूको फिराद परेको समयमा मुलुकी ऐन, २०२० नै अस्तित्वमा रहेको हुँदा सो ऐनको गुठीको महल आकर्षित हुने र विपक्षीको काम बदरभागी हुने दाबी गरिएको छ ।
केशर शमशेर र केयुर शमशेर राणाको रूपमा बिन्तीपत्र चढाउनुपर्ने अवस्थाका व्यक्तिहरू रहेको वास्तविक किसान नभएको प्रस्ट हुँदाहुँदै शक्तिको दुरुपयोग गरी आफूलाई किसान चित्रित गरी फाइदा लिने कार्य कानुनद्वारा वर्जित कार्य भएकोसमेत स्पष्ट गरिएको छ । सर्वोच्च अदालतको बृहत् पूर्ण इजलासले दर्तावाला मोही हुनको लागि १ नं लगत भएको र २ नं अनुसूची भरेको, गुठी संस्थानलाई बाली बुझाउँदै आएको भरपाई रसिद भएको र भूमिसुधार कार्यालयबाट मोहीको प्रमाण पत्र प्राप्त गरेको अवस्था हुनुपर्ने व्याख्यासमेत गरेको उल्लेख गर्दै प्रस्तुत विवादका सम्बन्धमा विपक्षीसँग त्यस्ता दस्ताबेजहरूको अभाव रहेकोले विपक्षीहरूलाई मोहीको हक प्रदान गर्न नसकिने दाबी गरिएको छ ।
बहस नोटमा गैरकानुनी रूपमा मोही कायम भएका केयुर शमशेरले सुधा पौडेल र वीणा पौडेललाई हक हस्तान्तरण गरेका र निजहरूबाट शङ्करप्रसाद शाहले हक प्राप्त गरी शङ्कर प्रसादले पनि रैतानीमा परिणत गरी प्रतिमा पाण्डेलाई र निजले छायादेवी कम्प्लेक्सलाई हस्तान्तरण गरेका सम्पूर्ण कार्य गैरकानुनी रहेको हुँदा छायादेवी कम्प्लेक्स प्रा.लि. का नाममा दर्ता स्रेस्ता भएका सम्पूर्ण कार्य बदर गरी साबिकबमोजिम श्री सिंह सार्थवाह गरुड भगवान् (नेपाल सरकार) लाई जग्गा धनी कायम गरी उक्त पोखरी र सो को डिललाई सामुदायिक कायम गर्न माग गरिएको छ ।

२०८१ मङ्सिर २३ गते

Leave a Reply

Your email address will not be published. Required fields are marked *