विद्यालय र विश्वविद्यालयको पाठ्यपुस्तक उत्पादन श्रमसँग जोडिएको हुनु आवश्यक
- बैशाख ८, २०८२
भक्तपुर, २९ पुस । बाल विकास सेकेन्डरी स्कूलमा कार्यरत शिक्षक तथा कर्मचारीहरूको वार्षिक भेटघाट कार्यक्रम सोमबार सम्पन्न भयो ।
भेटघाट कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले विद्यार्थीहरूलाई समाजवादी विचारधाराबाट प्रशिक्षित गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
परीक्षाको उत्तीर्णाङ्क प्रतिशतभन्दा पनि विद्यार्थी कुन विचारधाराबाट प्रभावित रह्यो त्यो महत्वपूर्ण हुने धारणा उहाँले व्यक्त गर्नुभयो ।
अध्यक्ष बिजुक्छेलेँ सबैलाई एकढिक्का बनाउन समाजवादी विचारधाराले प्रशिक्षित गर्नु जरूरी छ भन्नुभयो ।
अध्यक्ष बिजुक्छेँले भन्नुभयो, “पद र पैसालाई भन्दा देश र जनतालाई प्राथमिकतामा राखी काम गर्ने र देशमै बसेर काम गर्ने नयाँ पुस्ता तयार गर्नु अहिलेको आवश्यकता हो ।”
देशलाई कसरी अगाडि बढाउन सकिन्छ भन्ने विषयमा बहुसङ्ख्यक जनता जानकार नभएसम्म देश अगाडि बढ्न नसक्ने धारणा राख्दै अध्यक्ष बिजुक्छेँले भन्नुभयो, “समाजवादी देशमा सबै मजदुर–किसानहरू राजनीतिकरूपमा सचेत हुन्छन् ।”
ज्येष्ठ नागरिकहरूको लागि संसारकै सबभन्दा राम्रो बन्दोबस्त चीनमा भइरहेको हुँदा अहिले संसारका राम्रा जनशक्तिले चीनसँग मिलेर काम गर्न उत्सुक रहेको बताउनुभयो ।
अरूको नक्कल होइन मौलिक सृजना गर्नुपर्नेमा जोड दिँदै अध्यक्ष बिजुक्छेँले सङ्घर्ष र परिवर्तनबारे रचना कोर्न र त्यसको प्रचार गर्न आवश्यक रहेको प्रस्ट पार्नुभयो ।
अध्यक्ष बिजुक्छेँले भन्नुभयो, “आम जनतालाई वर्गीयरूपले सचेत गर्न र वर्गीय भावना विकास गर्न ध्यान दिऔँ । समाजवादी बन्दोबस्तबारे गहन अध्ययन गरौँ । हामी जहाँ भए पनि जुन क्षेत्रमा काम गरे पनि कामदारवर्गलाई सचेत पार्न सकेमात्र हामीले सफलता हासिल गर्न सक्नेछौँ, क्रान्तिको लागि सबैले आ–आफ्नो तर्फबाट योगदान गरौँ ।” नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य, वाग्मती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईले तल्लो वर्गका जनताका छोराछोरीहरूलाई माथि उकास्ने नेमकिपाको उद्देश्यअनुसार विद्यालयले सामूहिक प्रयास गर्न आवश्यक रहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “अध्ययनमा जोड दिने, सेवाको भावनाले ओतप्रोत शिक्षकहरू तयार गर्नेतर्फ हामी केन्द्रित छौँ । निरन्तर छलफल र अन्तरक्रियाले शिक्षकहरूको स्तर वृद्धि हुनेमा हामी प्रस्ट छौँ ।”
विद्यालयको गतिविधि नै विद्यालयको तस्बिर हुने धारणा राख्दै उहाँले गुणस्तरीय शिक्षा र अतिरिक्त क्रियाकलापमा जोड दिई विद्यार्थीको चौतर्फी विकासमा जोड दिनुपर्ने बताउनुभयो ।
“विद्यालय संस्थापकहरूको मार्गनिर्देशन, विचार र अग्रजहरूको सुझावअनुसार इमानदारीपूर्वक कार्य गरिरहेकै कारण विद्यालयले प्रगति गर्न सकिरहेको हो”, उहाँले भन्नुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य एवम् वाग्मती प्रदेशसभा सदस्य सृजना सैंजूले बाल विकास सेकेन्डरी स्कूल ‘सिकाइको केन्द्र’को रूपमा विकास हुँदै गइरहेकोमा खुसी व्यक्त गर्नुभयो ।
विश्वमा पश्चिमा दादागिरी हाबी रहेको र त्यसको नेतृत्व संरा अमेरिकाले गरिरहेको चर्चा गर्दै उहाँले विश्वमा युद्ध भड्किनु र अशान्ति फैलिनुमा संरा अमेरिकी साम्राज्यवाद प्रमुख दोषी भएको बताउनुभयो ।
अमेरिकी साम्राज्यवादको विकल्पको रूपमा तेस्रो विश्वका न्यायप्रेमी जनताको आशाको दियोको रूपमा ‘ग्लोबल साउथ’ र ‘ब्रिक्स’ अगाडि बढिरहेको उहाँले बताउनुभयो ।
भनपा वडा नं. ७ का वडाध्यक्ष उकेश कवांले भक्तपुर नगरलाई सुन्दर नगरको रूपमा विकास गर्ने लक्ष्यका साथ जनप्रतिनिधिहरूले इमानदारीपूर्वक कार्य गरिरहेको बताउनुभयो ।
भक्तपुर नगरमा ९२ वटा विद्यालयमा हजारौँ विद्यार्थी अध्ययनरत रहेको जानकारी दिँदै विद्यार्थीमा मेहनत गर्ने बानी घट्दै जानु चिन्ताको विषय भएको बताउनुभयो ।
पाठ्यक्रम र शिक्षा नीति पुरानो हुनुको साथै सृजनात्मक नभएकै कारण विद्यार्थीमा अध्ययन गर्ने बानी घट्दै गएको धारणा उहाँले व्यक्त गर्नुभयो ।
लेखक एवम् शिक्षक योगेन्द्रमान बिजुक्छेँले बीआरआई परियोजनाबारे जानकारी दिँदै चीनले आफ्नो लागि मात्र नभई विश्वको जनताको साझा हितको लक्ष्यसहित कार्य गरिरहेको छ भन्नुभयो ।
“प्राचीन रेशम मार्गको पुनर्जागरणको रूपमा बीआरआई परियोजना अगाडि बढिरहेको छ । बीआरआई परियोजनामार्फत चीन जल र थलमार्गबाट विश्वलाई जोड्न चाहन्छ”, उहाँले भन्नुभयो ।
संस्थागत विद्यालय सङ्घका इसानका अध्यक्ष प्रेमजन थापाले ३७ वर्षको इतिहास बोकेको बाल विकासको प्रगति सराहनीय छ भन्नुभयो ।
शिक्षकहरू बौद्धिक र सचेत वर्ग भएकोले देश र जनताको हितमा शिक्षकले राजनीति गर्ने अधिकार राख्छ, उहाँले भन्नुभयो ।
कार्यक्रममा विद्यालयका शिक्षकहरू सीता प्रजापति र जयराम कोजुले विद्यालयको प्रगति तथा गतिविधिहरू र आगामी कार्ययोजना प्रस्तुत गर्नुभएको थियो । पूर्वविद्यार्थीद्वय डा. मनिषा खर्बुजा, डा. सुनिता धन्छा, चिनियाँ भाषा स्वयंसेवक शिक्षक राङ च्याङ (मतिना), ईसीडी प्रशिक्षक देवना जोशी, शिक्षकद्वय मञ्जु श्रेष्ठ र सुलोचना छ्वाजुले पनि बोल्नुभएको थियो । कार्यक्रमको बिच बिचमा गीतहरू प्रस्तुत गरिएका थिए ।
प्रस्तुत प्रतिवेदनअनुसार उक्त विद्यालयमा १२६० जना विद्यार्थी अध्ययनरत छन् भने १ सय ८ जना शिक्षक—कर्मचारी कार्यरत छन् ।
Leave a Reply