लक्ष्मीनरसिंह मन्दिर उद्घाटनको तयारी
- बैशाख २६, २०८२
स्वस्थानी व्रतको नियम
पौष शुक्ल चतुर्दशीको दिन हात गोडाका नङ काटी स्नान गरी शुद्ध वस्त्र पहिरिएर यसको सुरुवात हुन्छ । बिहान माघ स्नान गरी नित्य मध्याह्नकालमा महादेवको पूजा गरिन्छ । बेलुकी स्कन्द पुराणको केदार खण्डअन्तर्गत माघ माहात्म्यको कुमार अगस्त्यबिच संवाद भएको स्वस्थानी व्रत कथा सुन्ने सुनाउने परम्परा छ । काठमाडौँको साँखुस्थित शाली नदी, पशुपति, गौरीघाट, गुहेश्वरी, सतीदेवीका अङ्ग पतन भएका विभिन्न धार्मिकस्थल तथा महादेव मन्दिरमा श्रद्धालुहरूको घुइँचो लाग्ने गर्दछ । ती स्थानहरूमा व्रतको अवधिभर मेला पनि लाग्ने गर्दछ । नेपालमा धेरै श्रद्घा र विश्वासका साथ विशेषतः महिलाहरूले गर्ने व्रत मध्यको एक स्वस्थानी माताको व्रत हो । यो व्रतको भारतलगायत अन्य हिन्दू बहुल राष्ट्रमा त्यति धैरै लोकप्रिय नभए पनि नेपालमा भने लोकप्रिय छ । तराईको छट पूजा र पहाडको स्वस्थानी व्रत नेपालको संस्कृतिको एक अङ्ग हो । स्वस्थानी माताको व्रतकथामा उल्लेख गरिएकी शाली नदी र श्लेष्मान्तक वन हाम्रै देश नेपालको काठमाडौँमा छन् । यो व्रतकथामा उल्लिखित विषयवस्तु र घटना पनि नेपालकै सेरोफेरोमा घटेको थियो भनी स्कन्द पुराणमा उल्लेख छ । सत्ययुगमा यो व्रत सर्वप्रथम हिमालय पुत्री पार्वतीले महादेवलाई पति पाऊँ भनी गर्नुभएको थियो ।
प्रत्येक वर्ष पौषशुक्ल पूर्णिमाका दिनदेखि यस व्रतको सुरुवात हुन्छ । पूर्णिमाको अघिल्लो दिन अर्थात् चतुर्दशीको दिनदेखि नै दुबै हात खुट्टाका नङहरू काटी, पवित्र भएर हविष्य (दूध दही, जौ, गहुँ, चामल, तिल घ्यू, सख्खर इत्यादि सात्विक पदार्थहरू) भोजन ग्रहण गरी स्वस्थानी माताको स्थापना–पूजा गर्ने ठाउँको सरसफाइ, लिपपोत इत्यादि गर्नुपर्दछ । व्रत गर्नेले त्यसै दिनदेखि व्रत नसकिँदासम्म पलङ र खाटको पनि त्याग गरी भूमिमा शयन गर्नु पर्दछ । एकछाक मात्र सात्विक भोजन ग्रहण गर्नु पर्दछ । व्रत नसकिँदासम्म व्रतालु पुरुष भए रौँ काट्न पनि हुँदैन । त्यसै दिनदेखि एक महिनासम्म कसैसँग झगडा नगर्नु, दुर्वचन नबोल्नु, झूटो नबोल्नु, क्रोध नगर्नु, कसैप्रति दुर्भाव नराख्नु, चोरी नगर्नु, ब्रह्मचर्यको पालन गर्नु, शुद्घ धोएका वस्त्रहरू मात्रै लगाउनु, शौच गएपछि जलको प्रयोगले सफाइ गर्नु, सात्विक भाव मात्र हृदयमा राख्नु व्रतका अनिवार्य नियमहरू हुन् ।
पूणर््िामाका दिन बिहानै उठी नदीमा स्नान (नदी नभए घरैमा) गरी शुद्घ वस्त्र पहिरिएर पाएसम्म कुशको आसन नपाएमा ऊनको त्यो पनि नपाए कम्मलको आसनमा बसेर नित्य कर्म गरिसकेपछि पूजा गर्ने स्थानमा तामाको लोटामा पञ्चगव्य (गोवर, गोमुत्र, दूध, दही र घ्यू) का साथै तिल, सर्सिउँ र जौ हाली वेद मन्त्रले अभिमन्त्रित गरी अभिशेक बनाई अपवित्र पवित्रो वा भन्ने मन्त्रले सम्पूर्ण पूजा सामग्री र आफूमाथि छर्कनुपर्दछ । त्यसपछि त्यसै अभिशेकबाट ‘मैले आजसम्म मन, वचन र कर्मले जानेर वा नजानेर गरेका सम्पूर्ण पाप नाश होस् र मलाई यस लोकमा सुख–सम्पत्ति र अर्को लोकमा शिवलोक प्राप्ति होस् भन्ने कामनासहित एक महिनासम्म स्वस्थानी माताको नियमअनुसार व्रत बस्नेछु ‘ भनी सङ्कल्प गरी व्रतको सुरुवात गर्नु पर्दछ । त्यसपछि आफूले विगतमा खाएका हुन सक्ने अभक्ष पदार्थको प्रायश्चित स्वरूप गोदान, (गाई) असम्भव भए गोबरमा यथासक्य भेटी वा सुवर्ण राखी गोदान गर्नु पर्दछ । गोदान कृत्यपछि मात्रै दीप गणेश र कलशको पूजा आरम्भ गर्नुपर्दछ । दीप गणेश र कलशको पूजा सम्पन्न भइसकेपछि एउटा तामाको थालीमा रक्त चन्दनले अष्टदल कमल बनाई कमलको बिचमा स्वस्थानी माताको सुनको प्रतिमा स्थापना गर्नुपर्दछ । सुन नभए यथासक्य भेटी राखी स्वस्थानी माताको स्थापना गर्नुपर्दछ ।
स्वस्थानी माता आफ्ना चार हातमा क्रमैसँग त्रिशुल, तरवार, चक्र र कमल धारण गरेकी हुन्छिन् । यिनको पग्लिएको सुनको जस्तै पहेँलो वर्ण छ । विविध आभूषणहरूले शोभायमान स्वस्थानी माता सिंहासनमा आरुढ भएकी हुन्छिन् । यिनी आदिशक्ति स्वरूपा भएकीले आफ्ना भक्तजनहरूलाई मनले चिताएको फल तुरन्तै दिने गर्दछिन् । अष्टदल कमलको वरिपरि क्रमशः वैष्णवी, ब्राह्मी, माहेश्वरी, कौमारी, बाराही, इन्द्रायणी, चामुण्डा र महाकालीको स्थापना र पूजा गर्नु पर्दछ । प्रत्येक दिन बिहान दीप गणेश र कलशको पूजा गर्नुका साथै माथि उल्लेख गरिएका अष्टमातृका र स्वस्थानी माताको पूजा आचमन, पाद्य, पञ्चामृत, चन्दन, धूप, दीप, नैबेद्य, वस्त्र, भेटी, सुपारी, सिन्दुर, अबिर, सौभाग्यद्रव्य, सेलरोटी, हलुवा इत्यादिले गर्नु पर्दछ । पूजा पछि दुबै हातमा फूल लिई हात जोडी ध्यान गर्नुपर्दछ ।
स्वस्थानी मन्त्र ध्यानः सुवर्ण–वर्ण–दीप्ताभां त्रिनेत्रां कमलाननाम् । सिंहासन–समासीनां सर्वालंकार–भूषिताम् । । नीलोत्पल–धरां वामे, दक्षिणेवरदां शुभाम् । खड्ग–चर्मधरां चोध्र्वं वामदक्षिणयोः क्रमात । । चतुर्भुजां च मां वाऽपि पूजयेत् वृषकेतुनम् । एवं ध्यात्वा महादेवीं स्वस्थानीं जगदिश्वरीम् । । स्वस्थानी माताको मन्त्रले ध्यान गरी साष्टाङ्ग दण्डवत् गर्नुपर्दछ । स्वस्थानी माता सुनको जस्तै दिव्य पित वर्ण भएकी, तीन नेत्र भएकी, कमल पुष्पझैँ प्रसन्न मुख मण्डल भएकी, विविध आभूषणहरूले शोभायमान भई सिंहासनमा विराजमान भएकी, नीलकमल, खड्ग, ढाल र वरदमुद्रा लिएकी देवी चारबाहु भएकी, यस्ती स्वस्थानी माताको हृदयमा ध्यान गर्दछ ।
मध्याह्न कालमा महादेवको स्वस्थानी मातासँगै पूजा अर्चना गर्नुपर्दछ । पूजापछि स्वस्थानी मातालाई अघ्र्य दिनुपर्दछ । साँझको पूजापछि स्वस्थानी माताको कथा वाचन गर्नुपर्दछ । कथा सुन्ने स्रोता नभए पनि आफै कथा वाचन गर्ने र आफैँ सुन्ने गर्नुपर्दछ । कथा वाचन आफूले गर्न नसके कुनै ब्राह्मणद्वारा वाचन गर्न लगाउने अथवा परिवारका अन्य कसैले वाचन गर्दा पनि हुन्छ । वाचन गर्नेले कुनै अभक्ष पदार्थ खाएको हुनु हुँदैन । कथा सुन्न आफ्ना सबै छिमेकी, इष्ट–मित्र र बन्धु बान्धवलाई पनि बोलाउनुपर्दछ । कथा आरम्भ गर्नुभन्दा पहिले र कथा भनिसकेपछि धूप, दीप, फूल, चन्दन, अक्षता र भेटी चढाई पुस्तकको पनि पूजा गर्नु पर्दछ । कथापछि आरती गर्नुपर्दछ । आरतीपछि कथा सुन्ने जति सबैलाई प्रसाद दिई आफूले पनि ग्रहण गर्नुपर्दछ ।
यस क्रमले जब माघ शुक्ल पूर्णिमाको दिन आउँछ, तब नित्य भनिने कथा समाप्त गरी विशेष पूजाको लागि तामाको थालीमा फ् कार लेखी त्यसमा पवित्र बालुवाको शिवलिङ्ग बनाई त्यही थालीको मघ्यमा स्थापना गर्नू र स्वस्थानी मातासँगै मेरो पनि पूजा गर्नू भनी महादेवबाट आज्ञा भएको छ । यो पूजामा सेलरोटी १०८, सुपारी कुड्का १०८, बेलीको फूल १०८, पान १०८, जनै १०८ अक्षता, १०८ आरतीका बत्तीहरू, १०८ भेटी, जौ, तिल इत्यादि सबै पदार्थ १०८ चढाउनुपर्दछ । अन्य अप्राप्य फलफूल र नैबैद्यहरू यथाशक्ति चढाउन सकिन्छ । पूजापछि १०८ परिक्रमा गरी दण्डवत् ढोग गर्नुपर्दछ । व्रतप्रतिष्ठापछि हे स्वस्थानी माता हजुरका कृपाले मेरो व्रत पूरा भयो भनी अघ्र्य दिई माथिका सबै १०८ प्रसादहरूमध्येबाट ८÷८ वटा प्रसाद झिक्नु अथवा (आठ रोटी, आठ अक्षता आठ पान, आठ कुड्का सुपारी र सगुनसहित) आफ्ना श्रीमान्लाई दिनु, श्रीमान् नभए आफ्ना छोरालाई दिनु, छोरा पनि नभए मित छोरालाई दिनु, मित छोरा पनि नभए मेरो अमुक कार्य पूरा होस् भनी नदीमा बगाइदिनु र सय रोटी आफूले फलाहार गरी प्रतिष्ठाको रात्रिमा जाग्राम बस्नु भन्ने कुरा स्वस्थानी व्रतकथामा उल्लेख गरिएको छ । यति गरिसकेपछि स्वस्थानी माताको प्रसादले व्रतकर्ताको समस्त दुःख नासिई मनोकामना पूर्ण हुनेछ भन्ने कुरा स्वस्थानी व्रतकथामा उल्लेख गरिएको छ । (श्री स्वस्थानीदेवीको व्रतकथा)
१०८ सङ्ख्याको महत्ववारे चर्चा :
ज्योतिषशास्त्रअनुसार ब्रह्माण्डमा २७ नक्षत्र छन् । २७ नक्षत्रको दोब्बर ५४ हुन्छ । प्रत्येक नक्षत्रको ४ चरण हुन्छ । अतः यसको गुणनफल १०८ हो । जुन पवित्र मानिएको छ । त्यस्तै समस्त ब्रह्माण्डलाई १२ भागमा विभाजन गर्दा प्रत्येक एक भागको एक राशि हुन्छ । ब्रह्माण्डमा १२ राशिबाहेक ९ ग्रह (नवग्रह) छन् । १२ राशि र ९ ग्रहको गुणनफल १०८ आउँछ । यही सङ्ख्याले सम्पूर्ण विश्वकै प्रतिनिधित्व गर्छ । साँखु शालिनदी मेला उपत्यकाको उत्तर पूर्वी भेगस्थित १८ किमिको दूरीमा रहेको साँखुस्थित शालिनदीमा माघस्नानसहित माधवनारायणको मेला लाग्दछ । माघ महिनामा यहाँ आई स्नान गरेर माधवनारायणको दर्शन गरेमा पाप पखालिई पुण्य कमाइने धार्मिक विश्वास छ, यो विश्वासमा प्रत्येक वर्ष यहाँ लाखौँ भक्तजन आउने गर्छन् ।
संस्कार : सत्ययुगमा ब्राह्मण कुलमा छोरीलाई रजस्वला हुनुभन्दा पहिले कन्यादान नगरी नहुने चलन थियो । उदाहरणको लागि शिव शर्मा र सती ब्राह्मणीकी पुत्री गोमा ब्राह्मणीलाई पाँच वर्षको उमेरदेखि विवाहको लागि दुलाहा खोजी हिँडेको भन्ने कुरा स्कण्ड पुराणमा वर्णन गरेको पाइन्छ ।
सत्ययुगमा दक्ष प्रजापतिको छोरी सतीदेवी र हिमालय पर्वतको छोरी पार्वतीको बिहे महादेवसँग गर्नुभन्दा पहिले विष्णुसँग वचन विवाह गरे, विष्णुको अर्को नाम सुवर्णकुमार हो । यो संस्कारलाई इही संस्कार भनिन्छ ।
त्यसपछि जया, विजया, अजिता र अपराजिता नाउँ गरेका सखीहरूले पार्वतीलाई कसैले नदेख्ने ठाउँमा लुकाए भन्नाले गुफा राखेको बुझिन्छ । शास्त्रको कथनअनुसार सत्ययुगमा बुबाको घरमा छोरी रजोवती भएमा वृषली भइन्छ भनिन्छ ।
त्यसैले जया, विजया, अजिता र अपराजिता नाउँ गरेका सखीहरूले पार्वतीलाई कसैले नदेख्ने अर्थात् घरबाट टाढा जङ्गलमा लुकाए । किनभने, पहिलो रजोवती हुने केटीले पिता दाजु भाइको मुख हेर्नु हुँदैन भन्ने जनविश्वास सत्ययुगदेखि आजसम्म पाइन्छ । (श्री स्वस्थानीदेवीको व्रतकथा)
पुराणमा राजनीति
सत्ययुगमा त्रिपुरवासी दैत्यहरूलाई नाश गर्न देवताहरूले सनातन धर्ममा लागेका त्रिपुरबासी दैत्यहरूको सर्वप्रथम धर्म खण्डित गरे । देवताहरूले त्रिपुरवासी दैत्यहरूको धर्म खण्डित गर्न कलियुगको धर्म प्रचार गरेका थिए । कलियुगको धर्मले त्रिपुरवासी दैत्यहरूको सनातन धर्म मार्गबाट बिचलित गरिएको कुरा स्कन्ड पुराणको केदारखण्डअन्तर्गत पर्ने स्वस्थानी कथामा यसको व्यापक चर्चा छ, जुन धर्ममा यज्ञ, मूर्ति पूजा, तीर्थ र व्रत हुँदैन । यही सिद्धान्तअनुसार अङ्ग्रेजहरूले भारतमा ई.स. १८३४ मा अनिवार्य अङ्ग्रेजी शिक्षा चलाउँदा हिन्दू र इस्लाम धर्ममा आक्रमण गरेका थिए । थोमस मेकाले बेलायती संसद् (२ फरवरी १८३५) मा भारतलाई जित्न, सर्वप्रथम त्यहाँको आध्यात्मिक र सांस्कृतिक अनि प्राचीन शिक्षा प्रणालीलाई हटाउनु पर्छ, भन्ने प्रस्ताव राखेका थिए ।
पुराणमा शल्य चिकित्सा
पुराणमा दक्ष प्रजापतिको शिर छेदन गरिएपछि यज्ञमा बलि दिइएको बोकाको टाउको उनको शरीरमा जोडिएको, महादेवबाट पार्वती पुत्रको शिर छेदन गरिएपछि पार्वतीको आग्रहमा हात्तीको शिर उनको शरीरमा जोडिएको जस्ता घटना त्यसबेलाका वैज्ञानिक कार्य हुन् ।
अन्तमा, आजको वैज्ञानिक युगमा हरेक संस्कार, संस्कृति र कर्महरू गर्ने र मनाउनुको तात्विक अर्थ साथै त्यसको व्युत्पतिदेखि प्राकृत एवम् विज्ञानसम्मतका अन्तर वस्तुको विस्तृत अध्ययन अनुसन्धान हुन जरुरी छ । पुराणअनुुसार सर्जरीको प्रवर्तक सूर्य पुत्र अश्विनीकुमारलाई मानेका छन् । दीर्धतमा ऋषिलाई त्रैतत् भन्ने एक दासले रिसले छेदन गरेको शिर अश्विनीकुमारले उनकै शरीरमा जोडिदिएका थिए । त्यस्तै, सर्जरीको प्रवर्तक सूर्य पुत्र अश्विनी कुमारले खेल नामक राजाको पत्नी विश्पला युद्धमा घाइते हुँदा इस्पात (फलाम) (Steel Rod) को खुट्टा शल्य क्रियाबाट जोडिएको र प्लास्टिक सर्जरीजस्ता कुरा पुराणमा पाइन्छ । देवराज इन्द्रले अश्विनी कुमारबाट नै सर्जरी तथा आयुर्वेदको ज्ञान प्राप्त गरेका थिए भनिन्छ । देवराज इन्द्रले (अपला) ऋषि अत्रिको पुत्रीलाई चर्म रोगको शल्यक्रिया गरेका थिए । आजको युगमा चिकित्सा विज्ञानको चमत्कार भनेको टेस्टट्युव बेबीलाई मानिन्छ । महाभारत कालको हसिनापुरका महारानी गान्धारीका सय पुत्र हुनु टेस्टट्युव बेबी मान्न सकिन्छ । टेस्टट्युवबाट जन्मने सय पुत्रमध्ये दुर्योधन, दुशासन आदि हुन् । राजा सागरका सात हजार पुत्र र भागरीथ पनि टेस्टट्युव बेबी मान्न सकिन्छ । यो त्यस बेलाको चिकित्सा विज्ञानको चमत्कार मान्न सकिन्छ । जताततै पाश्चात्य संस्कृतिको व्यापक प्रभावले गर्दा हाम्रा संस्कृति, रीतिरिवाज र परम्परा सबै नासिँदै गएका छन् । यस्तो अवस्थामा हामी सबै संस्कृतिप्रेमी महानुभावहरूले आफ्नो संस्कृति जोगाइराख्ने प्रयास गर्नु पर्दछ । आफ्ना सन्ततिहरूलाई हाम्रा रीति–स्थिति पर्व, परम्परा, अनुशासन र कर्तव्यको बोध गराउनुपर्दछ । स्वस्थानी माताको व्रत कुनै अन्धविश्वासी कर्मकाण्ड होइन । यो प्रत्यक्ष वैज्ञानिक पनि हो । यसले प्रत्येक स्त्री–पुरुषलाई भित्रैदेखि इमानदार, कर्तव्यनिष्ठ, निरपराधी र अनुशासित बनाउनमा प्रत्यक्ष फाइदा पु¥याएकै हुन्छ । १ महिनासम्म १ छाक मात्रै भोजन ग्रहण गर्नाले पेटभित्रका विभिन्न पुराना रोगहरू स्वतः ठीक हुन्छ । यो बेला भोजन पचाउन प्रयोग हुने ऊर्जालाई फुर्सद मिल्नाले पेटभित्रका विभिन्न अवशिष्ट पदार्थलाई निस्कासित गर्ने र रोगग्रस्त अङ्गहरूलाई मर्मत गर्ने अवसर मिलेको हुन्छ भनी वैज्ञानिकहरूले स्वीकार गरेका छन् । उपवासको अवधिमा पेटभित्र वर्षौँदेखि सञ्चित भएको मल निष्काशन हुने हुँदा पानी भने प्रशस्तै पिउनुपर्दछ भन्ने वैज्ञानिकहरूको धारणा छ । बढी पानी नपिए शरीरलाई हानि हुनसक्ने कुरा वैज्ञानिकहरू बताउँछन् । स्वस्थानी व्रतकथा ज्ञानको ठुलो भण्डार हो । अमेरिकाको युनिभर्सिटी अफ इलिनोयसका सह–प्राध्यापक जेसिकाले दक्षिण एसियाका महिलाहरूको परम्पराअन्तर्गत स्वस्थानीदेवीको व्रतकथामा विद्यावारिधि (पी. एच.डी.) गरेकी छिन् । तिनले श्री स्वस्थानीदेवीको व्रत दक्षिण एसियाकै उत्कृष्ट पूजा भनी, प्रशंसासमेत गरेकी छिन् ।
समाप्त
Leave a Reply