भर्खरै :

चीनमा भएको एउटा काव्यिक बहस

शिची नामले विख्यात चिनियाँ कवि क्व लुशेङको चिनियाँ काव्यमा विशिष्ट स्थान छ । उनलाई चिनियाँ कवितामा अमूर्त(misty) काव्यशैलीका संस्थापक मानिन्छ । चिनियाँ कविताको संसारमा थपिएका अर्का एक नयाँ सदस्य हुन्– यु स्युह्वा । उनी किसानी पृष्ठभूमिबाट आएकी हुन् । बाल्यकालदेखि नै मस्तिष्क पक्षघातसम्बन्धि रोगबाट पीडित युले आफ्ना कविताहरुमा आफूले जीवनमा भागेका पीडालाई उतारेकी छिन् । आजभोलि उनका कविताहरु चिनियाँ पाठकहरु खुब रुचाउँछन् । पछिल्लो समयमा उनका कविताहरु सबभन्दा बढी विक्री भएका कविताहरुमा पर्दछन् । दुवै जना कविहरु चर्चित भएर पनि शिची र युको यसअघि कहिल्यै दोहोरो अन्तक्रिया भएको थिएन ।
कवि शिचीले हालै युको एउटा कविता संग्रहको विमोचन कार्यक्रममा उनको खुला रुपमा आलोचना गरे ।
आफ्नो मन्तव्यमा शिचीले युको लेखनको आलोचना गर्दै भने,‘उनको लागि जीवनको आदर्श भन्नु नै कफी पिउनु, पढ्नु र कुराकानी गर्नु अथवा त्यस्तै आरामदायी अरु काम गर्नुमा सीमित देखिन्छ ।’ शिचीले देश र मानवताको विषयमा चिन्तन गर्नुपर्ने कविको दायित्वबाट यु च्युत भएको तीखो आलोचना गरे । युले साधारण किसानहरुका पीडा र समस्या अनि उत्तम जीवनको लागि उनीहरुको सङ्घर्षबारे कविता लेख्नु दायित्व भएको शिचीको भनाई रह्यो । जवाफमा युले काव्य जगतमा आफ्नो उँचो स्थानको प्रयोग गर्दै शिचीले अरुको अपमान गरेको भन्दै आक्रोश पोखिन् ।
दुई जना कविहरुको बीचको भएको यो बहसप्रति सर्वसाधारणको धारणा बुझ्ने प्रयास केही चिनियाँ सञ्चारमाध्यमहरुले गरेका छन् । तीमध्ये केही विचार यहाँ प्रस्तुत छन्ः
एउटा बहादुर आवाज
ताङ शान(बेइजिङ युथ डेली)
आफ्नो टिप्पणीमा शिचीले जनताको भाषाका कविताको भविष्यप्रति चिन्ता पोखेका छन् । कविताहरु जनताको जीवन र देशको अवस्थाका बारेमा हुनुपर्ने उनको विचार हो । उनले यु स्युह्वाका कृतिभन्दा पनि उनको जीवनशैलीप्रति असन्तोष व्यक्त गरेका हुन् ।
शिचीले पाठकको संस्कृतिप्रतिको उदासिनतामाथि टिप्पणी गरिरहेका छैनन् बरु जनताका कविताले सामना गरिरहेका थुप्रै चुनौतीबारे चर्चा गरेका हुन् । त्यसले उनको बहादुरी र जिम्मेवारीको भावना अभिव्यक्त गरेको छ । आजभोलि उनका जस्ता आवाज उस्तो नसुनिनु दुःखदायी कुरा हो । धेरै मानिसहरुले शिचीको चिन्ता बुझ्न सकेका छैनन् ।
शिचीको आलोचनामा अन्तर्निहित भावना चीनमा जनताका कविताहरुको जन्मबाटै शुरु भएको हो । यो विचार पुस्तौं–पुस्तासम्म कविहरुलाई बाँझो बनाएको परम्परागत काव्यशैलीभन्दा भिन्न छ ।
चिनियाँ समाज आज विविधतातर्फ उन्मुख छ । त्यसकारण धेरै थरी विचार सुनिनु स्वाभाविक हो । जबसम्म ती विचारले तथ्यलाई बंग्याउँदैन वा अतिरञ्जना फैलाउँदैन, तबसम्म ती विचारप्रति सहिष्णुता कायम राखिनु पर्दछ । शिची चुप लागेर पनि बस्न सक्थे, तर उनले त्यो बाटो रोजेनन् । उनले जनताका कविताहरुको आजको अवस्था र भविष्यप्रति चिन्ता व्यक्त गरेका छन् । उनी आफैले समस्याको समाधान दिन सकेका छैनन्, तथापि चिनियाँ जनताका कविताहरुको सन्दर्भमा उनको अपील र भावनाको उच्च मूल्य छ ।
कविहरु स्वतन्त्र हुनुपर्दछ
वाङ स्याओले(blog.sina.com.cn)
यु आज कवि बनेकी छिन् । तर शिचीको दिमागमा उनी अझै किसान नै हुन् । सायद शिची आफैलाई पनि थाहा नहोला उनी युलाई वर्ग र पहिचानको दृष्टिकोणमा हेरिरहेका छन् र युलाई एक जना किसान कवि भएको निष्कर्षमा पुगेका छन् । उनी युले यो लेख्नुपर्ने र यो लेख्न नहुने कुरा गरिरहेका छन् । यो त सोच्ने पुरानो शैली भयो । एक जना आधुनिक कवि भएर शिचीले यसरी सोच्नु लाजमर्दो कुरा हो ।
के एक जना किसान पृष्ठभूमिका कविले किसानी जीवनका समस्या र उत्तम जीवनप्रति उनीहरुको सङ्घर्षबारे मात्र कविता लेख्नुपर्ने कुनै नियम छ र ?
यस्तो विचारले एउटा निश्चित वर्गका मानिसहरुले एकै थरीको लुगा लगाउनुपर्ने, एकै किसिमले बोल्नुपर्ने र एकै किसिमले व्यवहार गर्नुपर्ने मान्यता स्थापित गरेको हुन्छ । अझ एउटै किसिमको सपना पनि देख्नुपर्दछ भन्ने उनीहरुले सोच राखेको हुन्छ । अर्को शब्दमा उनीहरुले एक जना किसानी पृष्ठभूमिका कविले आफ्नो लागि उत्तम जीवन हासिल गर्नेबारे मात्र कविता लेख्नुपर्दछ, साँझपखको सूर्यास्तजस्तो आरामदायी विषयमा कुनै कुरा लेख्नुहुँदैन भन्ने विचार राखेको हुन्छ ।
निसन्देह कसैले आफ्नो जीवनमा गहिरो गरी गाँसिएको विषयमै केही कुरा लेखे, जीवनसँग गहिरो गरी नजोडिएका विषयमा लेखिएको लेखनभन्दा गहिरो हुने गर्दछ । तर त्यसको अर्थ आफ्नो पृष्ठभूमिसँग असम्बन्धित अरु कुनै पनि विषयमा कविले हात हाल्नु वा कलम चलाउनु हुन्न भन्ने कुनै नियम त छैन नि ।
यु स्युह्वाकै कुरा गरौं । उनले जोड दिनुपर्ने पीडा कस्तो खालको पीडा हो ? उनले बिताउनुपर्ने जीवनशैली कस्तो हो ? व्यक्तिगत रुपमा मलाई उनले आफ्ना कविताहरुमा एक जना महिलाले महसुस गर्ने पीडालाई व्यक्त गरेजस्तो लाग्छ । अनि त्यसका कुनै नराम्रो कुरा छ जस्तो मलाई लाग्दैन । उनका पछिल्ला कविताहरुमा व्यक्त भावना किसानहरुले ध्यान दिनुपर्ने भविष्यको पीडासँग सम्बन्धित छ । अनि त्यस्तो कुरा लेख्नु गल्ती होइन । एक जना महिला भएकी कारणले उनले महिला केन्द्रित विषयमा लेख्न पूर्णतः हक राख्छिन् ।
सबै कविहरुले देशको भाग्य र मानवताको बारेमा मात्र लेख्नुपर्दछ भन्ने कुरा होइन । मानवता र देशजस्ता ठूल्ठूला विषयमा लेख्ने कवि ठूला हुने अनि महिलाहरुको भावना र अनुभवका कुरामा कविता लेख्ने कवि होचो हुने भन्ने कदापि हुनसक्दैन ।
तर्कसङ्गत आलोचना
तान केस्यु (www.ifeng.com)
शिचीले आफ्नो प्रतिभाका कारण ख्याति कमाएका हुन्, उनको व्यक्तिगत अवस्थाले उनलाई आजको स्थानमा पु¥याएको पक्कै होइन । समालोचकहरुले सधैं उनका कृतिहरुको प्रशंसा गरेका छन् । तर यु स्युह्वाको व्यक्तिगत अवस्था सबैका सामू आएपश्चात चर्चित भएकी हुन् । उनलाई आजको स्थानमा पाठकहरुले पु¥याएको हो तर उनले विशिष्ट तहमा रहेका समालोचकहरुबाट मुस्किलले कुनै स्याबासी पाएकी छन् ।
युको विषयमा शिचीले गरेको आलोचना कसै–कसैले भने जस्तो र भत्र्सना गरेजस्तो नराम्रो होइन । आधुनिक कवितामा कवि आफूले लेख्ने विषयको छनौटमा स्वतन्त्र छ । मानिसको भाग्य र देशको भविष्यकै विषयमा मात्र लेख्नुपर्दछ भन्ने कुरा होइन । यु एक जना किसान कविको रुपमा चर्चित बनिन् । आफ्ना कविताहरुमा समाजका धेरै अँध्यारा र रुखो पक्षलाई उजागर गर्दै ती कुरामा सञ्चार गर्न खोजेको चञ्चलताबाट सर्वसाधारणको मन जित्न सफल भइन् । तर उनलाई आज किसान कविको रुपमा परिचय दिलाउनाले नै यी र यस्ता सबै समस्या आइलागेका हुन् ।
हामीले उनलाई यसरी पनि बुझ्न सक्छौं । कविका रुपमा चर्चित बने पछि उनको दृष्टिकोणमा परिवर्तन आयो । उनका आँखामा आरामदायी र उत्तम साँझ भनेको कफी पिउने, पढ्ने र कुराकानी गर्ने जस्ता आरामदायी कुराले भरिपूर्ण हुनु हो । ठीक छ । अचानक धनी बनेका अधिकांश मानिस यसरी नै सोच्ने गर्दछन् । शिचीले यो सब देखेर यस्तो खाले चिन्तनशैलीप्रति असन्तोष पोखे । अनि आफ्नो भावना पोखेकै कारण सर्वसाधारण शिचीको बद्ख्वाई गर्नतिर लागेका छन् ।
युलाई अनेकन कठिनाई सामना गरेकी एक जना किसान कविको परिचय दिइएको छ । यो परिचय उनका लागि फाइदाजनक नै बनेको छ । हिजोको भन्दा युको सामाजिक वर्ग उन्नति भए पनि आफ्नो परिचय कविको रुपमा राखिरहन चाहनु पक्कै पनि उनको अधिकारको कुरा हो । तर सर्वसाधारणले उनीबाट आफूले गरेको अपेक्षा भन्न पाउनु पनि त अधिकार हो । हिजो उनलाई चर्चित बनाएका कृतिहरुका आधारमा सर्वसाधारणले यो अपेक्षा गर्न पाउँछन् ।
ली छिनयु(चाइना युथ डेली)
यु स्युह्वाको बारेमा शिचीले गरेको आलोचनाको विषयमा हामीले कसरी हेर्ने ? जनताको कविताबारे चासो राख्नेहरुका लागि यो प्रश्न निकै अह्म प्रश्न हो । वास्तवमै पिछडिएका जनता, देश, मानवताको अवस्थाबारे चासो र चिन्ता गर्नु कविहरुको महत्वपूर्ण जिम्मेवारी हो । शिचीका अधिकांश तर्क उपयुक्त छन् र हामीलाई उनी जस्ता धेरै कविहरुको खाँचो छ ।
तर तिनै आधारमा युको आलोचना गरेर शिची मूल विषयवस्तुभन्दा धेरै पर गएको देखिन्छ । यु र उनका कृतिबारे गरिने कुनै पनि आलोचना उनको व्यक्तिगत पृष्ठभूमिमा आधारित हुनुपर्दछ । बाल्यकालदेखि नै मस्तिष्कघातको समस्याबाट ग्रस्त युले जीवनमा अनेकानेक पीडाको सामना गरेकी छिन् । उनले स्वतन्त्र जीवनको चाहना राखिन् तर दुःखपूर्ण विवाहले उनका सपनाहरु भताभुङ्ग बनाइदियो । अर्को शब्दमा भन्नुपर्दा उनले आफ्नो जीवनका बितेका दशकहरु नियतिसँग पौंठेजोरी खेलेर बिताइन् ।
उनले हृदय छुने कविताहरु लेखिन् । जीवनको उज्यालो पाटोबारे उनको संवेदनशीलता धन्य छ । लुगा धुने, खाना पकाउने र औषधि खाने विरक्तलाग्दो दैनिक जीवनमा उनले काव्यिक चञ्चलता भेटाउन सकेकी छिन् । निसन्देह देश र मानवताजस्ता ठूल्ठूला विषयहरुमा भन्दा उनलाई आफ्नो सामान्य र अझ निरस जीवनबारे धेरै कुरा भन्नुछ । फेरि शिचीले भने जस्तै उनका कविताहरुमा ती ठूल्ठूला विषयमा केही पनि नलेखिएको भने होइन ।
साहित्यिक टिप्पणीमा भावना र बुझाईको ठूलो महत्व हुने गर्दछ । यु स्युह्वाप्रति कडा आलोचनालाई लिएर शिचीले विरोध खेप्नुप¥यो किनभने उनको आलोचनामा युको सन्दर्भमा न्युनतम भावना र बुझाईको समेत अभाव देखियो ।
तर यसको अर्थ शिचीले युको विषयमा भनेका सबै कुरा गलत भने होइनन् । शिचीले परिवर्तन र राजनीतिक आवेगको समयमा कविका रुपमा ख्याति कमाएका हुन् । उनका कविता मानिसको भाग्य र अरु त्यस्तै ठूल्ठूला विषयहरुमा लेखिएका छन् । त्यत्तिबेला उनका कविताहरुलाई ठूलो महत्व दिइन्थ्यो । कविहरुका लागि आदर्शवादमा ध्यान दिनु स्वाभाविक हो । युको आलोचना गरेर शिचीले युमाथि व्यक्तिगत रुपमा प्रहार गरेको पक्कै होइन बरु पैसाको भक्ति गर्ने र उपयोगितावादमा फसेको चिनियाँ काव्य जगतमाथि हमला बोलेका हुन् ।
शिची किसानी जीवनबारे चिन्तित छन् तर यु आजका चिनियाँ किसानहरुको जीवन पीडादायी नभएको जवाफ फर्काउँछिन् । तसर्थ युले वास्तवमा के सोचिरहेकी छन् भन्ने कुरा शिचीले बुझेका छैनन् । आपसी असमझदारी अन्त्य गर्न दुई कविबीच थप संवादको आवश्यकता छ ।
सर्वसाधारणले उनीहरुबीचको शब्दको द्वन्द्वमा फसेर कोही एक जनाको पक्ष लिनु उपयुक्त होइन । चीनका काव्यिक वृत्तले आज विविध साँस्कृतिक मूल्यको खोजी गरिरहेको छ । हाम्रा कविताहरुले जीवनका विभिन्न विषय र पक्षलाई छोएका छन् । यो सधैं चिनियाँ संस्कृतिको विशेषता बन्दै आएको छ । चिनियाँ काव्यिक क्षेत्रका लागि शिची र यु स्युह्वा दुवै कविहरुको आवश्यकता छ ।
बेइजिङ रिभ्यु (फेब्रुअरी १५, २०१८)
अनुवादः नीरज

Leave a Reply

Your email address will not be published. Required fields are marked *