भर्खरै :

भक्तपुरको बिस्का नखः

फिचर तस्वीरः रोशन श्रेष्ठको फेसबुक
 
-ओम धौभडेल
भक्तपुरको बिस्का जात्रा वर्षभरि यहाँ मनाईने विभिन्न जात्राहरूमध्ये सबैभन्दा लामो अनि महत्वपूर्ण जात्रा हो । जुन चैत शुक्ल मसान्तको चार दिन अगाडिदेखि वैशाख ५ गतेसम्म अर्थात् आठरात नौ दिन मनाइने गर्छ । बिस्का जात्रा भन्नासाथ ‘द्यःक्वाँहा’ बिज्याकेगु जात्रा, ‘द्यःथाहाँ’ बिज्याकेगु भनिने भैरव भद्रकालीको जात्रा र योसीं थनेगु, योसीं क्वथेगु भनी चिनिने लिगों जात्रालाई नै प्रमुख जात्रा मानिंदै आएको छ । तर बिस्काभित्र यो बाहेक दुमाजु जात्रा, इन्द्रायणीको त्वरिवा जात्रा, बाराहीको टिप्वा जात्रा, महाकाली महालक्ष्मी जात्रा ब्रह्मायणी माहेश्वरी जात्रा, जेठागणेश बुल्चा भैरव जात्रा, इनारे गणेश (सूर्यविनायक गणेश) जात्रा, ल्हामरु योसीं जात्रा, छुम्ह गणेश जात्रा, द्यःस्वगं बियेगु जात्राजस्ता थुप्रै जात्रा हुन्छ । भक्तपुरमा जस्तै वरपर थिमी, बोडे, नगदेश, कटुन्जे, गुण्डु, दधिकोट, ताथली, सुँडाल, साँगा, खड्पु, धुलिखेल, टोखा, थसी, सुनाकोठी, चौकोटजस्ता ठाउँहरूमा समेत आ–आफ्नै प्रकारका जात्राहरूले बिस्का मनाएको हुन्छ । जसमा थिमी बोडे नगदेशको ३२ खटको जात्रा लगायत ठाउँठाउँमा योसीं उठाई स्थानीय देवदेवीको जात्रा गर्ने चलन छ । यसबाहेक वैशाख १ गते मेष सङ्क्रान्तिको दिन भक्तपुरको योसीखेलस्थित चुपींघाटमा दिनभर मेला लाग्छ । यता उही दिन बिहान टोखाको सपन तीर्थ, दधिकोटको चरखण्डी तीर्थ र वागेश्वरीको वागेश्वर तीर्थमा मेला लाग्दछ । समग्रमा आठरात नौ दिनसम्म भक्तपुरलाई केन्द्रविन्दु बनाएर थुप्रै जात्रा तथा मेलाले बिस्का जात्रा सम्पन्न हुन्छ ।
 

-ओम धौभडेल


यो जात्राको नाम कसरी बिस्का रहन गयो ? खोतल्ने हो भने जात्राको मात्र नभई भक्तपुर र समग्र नेपाल मण्डलको इतिहास देखा पर्न आउँछ । यस जात्राको नाम उल्लेख भएको सबैभन्दा पुरानो अनि भरपर्दो प्रमाण भनेको यक्ष मल्लको टौमढीको ने. सं. ५६१ को शिलापत्र हो । जसमा तत्कालीन नेपाल मण्डलको राजधानी भक्तपुर सहरमा वर्षभरि मनाउने विभिन्न जात्रा चाडपर्व संस्कृतिको उल्लेख गर्ने क्रममा ‘विश्वजात्रा’ को उल्लेख भएको छ । यहाँ विश्वजात्रा भनी बिस्का जात्रालार्ई इङ्गित गरेको छ । यक्ष मल्लले के कति कारणले विश्व जात्रा भनिएको हो, त्यसबारे अलि गहन अध्ययन गर्नु आवश्यक छ ।
वास्तवमा बिस्का जात्राको मूल जात्रा भनेकै चैत शुक्ल मसान्तको दिन योसीं द्य (लिगों) उठाई त्यसमा एक जोडा ध्वजा फहराउनु अनि वैशाख सङ्क्रान्तिको दिन उक्त योसीं ढाल्नु हो । जुन दिन सूर्य विभिन्न १२ राशीको परिक्रमापछि पुनःमेष राशीमा प्रवेश गर्ने भएर उक्त दिन मेष सङ्क्रान्तिबाट पनि चिनिन्छ । यसरी चैत शुक्ल मसान्त र वैशाख सङ्क्रान्तिको दिन मनाउने जात्रा विश्वकेतु जात्राबाट प्रख्यात छ । यही विश्वकेतु जात्रालाई यक्ष मल्लले ने.सं. ५६१ को टौमढीको शिलापत्रमा ‘विश्वजात्रा’ मात्र भनियो । ने.सं. ७१२ देखि जात्रा सम्बन्धमा टिपिएको नें संं. ९१८ मा लेखिएको ठ्यासफुमा समेत ठाउँठाउँमा विश्वजात्रा नै भनिएको देखिन्छ । यता भक्तपुरमा ठाउँठाउँमा राखिएका जात्रासम्बन्धी शिलापत्रमा चाहि विसक्यात, बिसेक्यातजस्ता शब्दहरू परेको छ । जुन उही विश्वकेतुको अप्रभंस रुप हो । यसलाई मौखिकमा बिसका कहलिन पुग्यो यद्यपि हरेक नेवार जनसमुदायमा बिसकाबाट बढी चिनिन्छ । यही विश्वजात्रा, विसक्यात, विसका आम नेपालीको लागि बिस्केट बन्न पुगेको हो । विश्वकेतुलाई पछि गएर विश्वध्वजा पनि भनियो । स्थानीय नेपालभाषामा हलिंपतले चिनिन्छ । जहाँ हलिं भन्नाले विश्व अनि पत भन्नाले ध्वजा भनेर स्पष्ट छ । पछिल्ला समयमा यो विश्वध्वज अर्थात् हलिंपत विजयको प्रतीक वीर ध्वजाबाट समेत चिनियो । जुन ध्वजा एक जोडा हुन्छ । एउटा ३५ हात लामो जसलाई भाले र अर्को ३४ हात लामोलाई पोथी मानिन्छ । यसलाई नागनागिनी पनि भनिन्छ । तर यसमा कुँदिएका अष्टमङ्गलका चिन्हहरू, भैरव, गणेश, त्रिशुल, षट्कोण, त्रिकोण अग्नि, शक्ति, बञ्चरो, इन्द्रको बज्र, हिटिमगं, अनेक मण्डलचित्रहरू, चन्द्र सूर्य, फूलमालाहरू, कमलको फुललगायत अनेक तान्त्रिक चित्रहरूबाट सु–सज्जित हुने क्रममा कतै नागनागिनीको सङ्केत भेटिदैन । बरु ध्वजाको छेउ छाउमा रहेको नृपुर, बतासे घण्टा (फयगां) र रंगीन धागोको आकर्षक बुट्टाहरूले ध्वजा अत्यन्त राम्रो देखिन्छ । हावामा लहराएका यी दुई ध्वजा एक आपसमा ठोकिदा वा हल्लिंदा फयगांको आवाजले अत्यन्त कर्णप्रिय सङ्गित गुञ्जेको हुन्छ ।
नेपालमा लिच्छवी कालमै धार्मिक तथा सांस्कृतिक उद्देश्यले ध्वजारोहण गर्ने चलन रहेको बुझिन्छ । लिच्छवी कालका केही अभिलेखहरूमा उल्लेख भएको ध्वजगोष्ठीबाट त यस्ता ध्वजारोहण तथा ध्वजाजात्रा चलाउन जग्गा जमिनसमेतको आयस्ता राखी गुठीको व्यवस्था गरेको प्रमाणित हुन्छ । तर ध्वजाजात्राकै क्रममा प्रत्येक वर्ष भक्तपुरमा मनाउने बिस्का जात्राको विश्वकेतु अर्थात् विश्वध्वजा जात्रा धार्मिक तथा सांस्कृतिक उद्देश्त्न्दा अलि पृथक रही मनाएको आभास हुन्छ । पौराणिक कालमा समेत ध्वजा फहराउनुलाई विजयको प्रतीकको रुपमा लिएको थुप्रै उदाहरण छंदैछ । त्यसलाई नै मध्यनजर गरी नेपालकै इतिहासमा अझ भक्तपुरकै माटोमा ने.सं. ४१४ को एउटा घटनाले यसमा थप बल दिन्छ ।
ने.सं. २६७ मा लिच्छवी राजा आनन्ददेवले भक्तपुरको चनिगल (हालको तुलाछँे) वरपर त्रिपुर दरबार बनाई सम्पूर्ण नेपाल मण्डलको राज्य चलाउने भएपछि करिब १५० वर्षपछि उही त्रिपुरमा कहिले मल्ल त कहिले देव नामधारी शासकहरूले कब्जा जमाउने होडमा ने.सं. ४१४ मा जयशक्तिदेवले विजय प्राप्त गरेको अवसरमा उनकी आमा वीरमा देवीले ध्वजारोहण गरेको इतिहासमा उल्लेख छ । जुन समयमा यहाँ विपक्षी जयतुगं मल्ल र उनकी रानी पदुमल देवी थिइन् । वीरमा देवी र पदुमल देवी दुवै कर्नाटककी छोरीहरू भएता पनि डोयहरूले कहिले वीरमा देवी त कहिले पदुमल देवीलाई सहयोग गर्ने बहानाले भक्तपुरमथि कैयौं पटक धावा बोलेको थियो । पछि जयतुगं मल्ल र पदुमल देवीले आप्mनी छोरी देवल देवीको विवाह डोय राजकुमार हरिसिंह देवसंग गरि दिएपछि वीरमा देवीको भन्दा पदुमल देवीको शक्ति बढ्न गयो । पछि उनका छोरा रुद्र मल्ल नेपाल मण्डलको शासक बन्न पुगे । वास्तवमा यस्तो शक्ति सङ्घर्षको दौरान वीरमा देवीले ध्वजारोहण गरेको सा¥है अर्थपूर्ण ठहरिन्छ ।
तत्कालीन समयको शक्ति केन्द्र त्रिपुर दरबारबाट अति नजिक पर्ने योसीं खेलमा प्रत्येक वर्ष चैत शुक्ल मसान्तको दिन योसीं उठाउने र वैशाखको पहिलो दिन ढाल्ने गर्दै आएको अझ महत्वपूर्ण छ । त्रिपुरमा बस्ने सत्ताधारीहरूले आफ्नो विजयोत्सव मनाउन योसीं खेलमा योसीं उठाउने विश्वकेतु जात्रा प्रख्यात हुन पुग्यो । तत्कालीन शासकहरूले आफ्नो विजयमा मनाएको यो जात्रा धार्मिक तथा सांस्कृतिक उद्देश्त्न्दा बढ्ता राजनैतिक स्वार्थबाट अभिप्रेरित छ । जो वीर छ उसले मात्र ध्वजा फहराउने भएकोले यसलाई वीरध्वजा पनि भनिएको छ । ध्वजामा अङ्कित विभिन्न चिन्हहरूले यस्तै भन्छ । युद्धमा प्रयोग हुने वज्र, त्रिशुल, अग्नी शक्ति तथा शुभाशुभ लक्षयणयुक्त विभिन्न चिन्हहरूबाट यो ध्वजा वीरताको प्रतीक बनेको देखिन्छ । यता गौतमी पुराणलाई आधार बनाएर रचना गरिएको वर्षक्रिया नामक ग्रन्थमा समेत चैत्र मसान्तको दिन योसीं थाने गरेमा दुःख नास भई शत्रु क्षय हुने र सो ध्वजासहितको योसीं वैशाख सङ्क्रान्तिको दिन ढालेमा दुर्भिक्ष अन्त्य हुने बताएको छ । त्यहाँ स्पष्टसँग उल्लेख भएको योसीं थाने र योसीं क्वथे महत्वपूर्ण प्रक्रिया हो भन्ने पुष्टि हुन्छ । तत्कालीन नेपाल मण्डलका शासकहरूले यसलाई महत्वका साथ लिएको स्पष्ट हुन्छ । यो जात्राको केन्द्रविन्दु भक्तपुर सहर नै हुनु पछाडि तत्कालिन नेपालमण्डलको राजधानी भक्तपुर र त्यसको केन्द्र त्रिपुरलाई लक्षित गरी बिस्का जात्रा मनाएकोमा दुईमत छैन । पूर्व मध्यकालदेखि सुरु भएको बिस्का जात्रा त्रिपुरमा बस्ने शासकहरूको विजय यात्राको रुपमा चल्दै गयो । तर यसै समयमा लेखिएको गोपाल राजवंशावलीमा बिस्का जात्राको विषयमा कुनै एक शब्द उल्लेख भएन । कारण केलाउँदा एक त जयस्थिति मल्ल कुनै युद्ध वा राजनैतिक कारणले यहाँ राजा हुन पाएका व्यक्ति थिएनन् । पत्नी राजल्ल देवीको पतिको हैसियतले मात्र राजा हुन पाएका जयस्थिति मल्लले आफुलाई वीर महान कतै उल्लेख गरेनन् । बरु ठाउँठाउँमा पत्नी राजल्ल देवीलाई नै वास्तविक शासक भएको अर्थ आउने विशेषणहरू लगाए । त्यसैले उनले बिस्का जात्रालाई उल्लेख गर्नु उचित ठानेनन् ।
त्यतिमात्र हैन गोपालराज वंशावली लेख्ने वंशावलीकार स्वयं भक्तपुरका थिएनन् । पनौतीका उक्त अज्ञात व्यक्ति जहाँ बिस्का जात्रा छैन ले बिस्का उल्लेख गर्न आवश्यक ठानेनन् । त्यस्तै उक्त समयका अमात्य (मन्त्री) जयत मूल्मी पाटनका थिए । उनले बिस्काको सट्टा त्यहाँको प्रसिद्ध मच्छिन्द्रनाथ जात्राको उल्लेख गर्न लगाए । यसरी गोपाल राज वंशावलीमा बिस्काको उल्लेख हुन नपाए पनि उनै जयस्थिति मल्लका नाति यक्ष मल्लले उत्तर दक्षिण पूर्व पश्चिममा आफ्नो सिमाना बढाई एक छत्र राज्य चलाएको समयमा ने.सं. ५६१ मा बिस्का जात्रालाई सांस्कृतिक रुपले अभिलेखमा कोर्न सफल भयो । यक्ष मल्लको मृत्युपछि त्रिपुरमा राय मल्लजस्ता कमजोर राजा रहँदा विशाल नेपाल मण्डल सिंगो रहन सकेनन् । महत्वाकाङ्क्षी भाई भारदारहरूले कान्तिपुर, ललितपुर, बनेपा, दोलखा, फर्पिङजस्ता राज्यहरू स्वतन्त्र गर्दै लगे । यो क्रम राय मल्लको नाति प्राण मल्लको समयमा पुग्दा एउटै भक्तपुरलाई तीन जना राज्यका अंशियारहरूले बाँडेर राज्य गर्न ने.सं. ६४७ मा चाँगुमा एउटा ताम्रपत्र राखियो । जसअनुसार एउटै भक्तपुरभित्रको तीन राज्यको सिमाना स्वरुप इनाचो टोलको स्वंगल्वहँ (तीनवटा ढुंगा) लाई केन्द्र बनाई तीनवटा राज्यलाई तीनवटा मसान, तीनवटा दिगु द्य स्थान, तीनवटा तोरी पेल्ने ठाउँ ‘स’ तीन ठाउँमा नवदुर्गा नाचको आरती दिने चलन भक्तपुरको प्रसिद्ध यन्योंपुन्ही (इन्द्रजात्रा) तीन ठाउँबाट यामता, मुपात्र तथा तीन फरक देवदेवीको तीन दिन जात्रा हुने जस्ता थुप्रै संस्कृतिको विकास भयो । त्यसमध्ये पहिलेदेखि प्रचलनमा आएको योसींखेलबाहेक तालाक्व र महालक्ष्मीस्थान वेखालमा समेत गरी तीन ठाउँमा लिगों उठाउने चलन विकास भयो । हाल महालक्ष्मी स्थानको लिगों उठाउने चलन बन्द भइसकेता पनि योसींखेल र तालाक्वको चलन अद्यापि छ । यता राय मल्लपछि भक्तपुरको अधिनबाट नेपाल मण्डल राज्यहरू स्वतन्त्र हँुंदै जाने क्रममा भुवन मल्लले नवदुर्गा नाच र बिस्का जात्रालाई धार्मिक सांस्कृतिक अवधारणाले भक्तपुर र आफ्नो अधिनका राज्यहरूबीच एकता ल्याउने प्रयास भयो । भुवन मल्लले बनाएको यो सोच विश्व मल्लकी रानी गंगारानी जगज्र्याेति मल्लले भक्तपुर र भक्तपुरको अधिनस्थ इलाकामा बिस्का जात्रा भव्य रुपले मनाउने चलन ल्यायो । त्यति भएर पनि बनेपा, पनौती, नालाजस्ता भक्तपुरकै अधिकार भएको ठाउँमा बिस्का नभई नालामा सेतो मच्छिन्द्रनाथ (नाला करुणामय) बनेपामा चण्डेश्वरीको जात्रा तथा पनौतीमा भैरव भद्रकालीको जात्रा प्रमुख हुन पुगे ।
यता जगतप्रकाश मल्लको समयसम्म आइपुग्दा भक्तपुरको बिस्का जात्रा उपत्यकाकै सबैभन्दा महत्वपूर्ण अनि भव्य जात्रा हुन पुग्यो । कान्तिपुरका राजा प्रताप मल्लले भक्तपुरको बिस्का जात्रालाई पूजा भाग पठाएको ने.सं. ७८० को घटना उल्लेख भएको वर्षकृति ठ्यासफुमा बिस्काको उल्लेख हुनु यसको प्रमाण हो । तर उनै प्रताप मल्लले सोही वर्ष आफ्नो आदेशबिना बिस्का जात्रा चलाउन नपाउने भनी भक्तपुर आक्रमण गर्न पुगे । त्यतिमात्र होइन भक्तपुरको बिस्का जात्राको मुख्य भाग लिंगो उठाउने जात्राको लागि चाहिने योसीं रहेको नालासँगैको हलल गाउँसम्म आक्रमण गरे । ती ठाउँमा ठूलाठूला ढुंगाहरूमा समेत आफ्नो अभिलेख कुँदाए । तर पनि उनी भक्तपुरको बिस्का जात्रा चलाउन रोक्नबाट असफल भए । त्यसपछिका भक्तपुरका राजाहरूले बिस्का जात्रालाई अझ आकर्षक अनि भव्य बनाउँदै लगे । यसमा भूपतीन्द्र मल्लको ठूलो देन छ । उनले भैरवनाथ र भद्रकालीको वर्तमान रथ जात्राको चलन चलाए । नगरभरिका विभिन्न देव देवीहरूको जात्रा चलाए । मल्लकालको अन्तसम्म आइपुग्दा बिस्काले भक्तपुरको सान मान रौनक बढायो । बिस्का जात्राको नाम आउनासाथ भक्तपुरको नाम लिने प्रथाको विकास भयो ।
बिस्का जात्राको ऐतिहासिकताबारे हिजोसम्म त्यति अनुसन्धान भएको देखिदैन । नेपालमा किराँती, लिच्छवी, मल्ल, शाह हुँदै अहिले लोकतन्त्र आएको अवस्थामा बिस्का जात्रा एउटा वंशको पतन र अर्को वंशको उदयमा खुसियालीसँग मनाएको जात्रा भन्ने गरिएको कतिको सान्दर्भिक छ , अध्ययन गर्नुपर्ने हुन्छ । ऐतिहासिकता सोधखोजको कमी जतिसुकै भए पनि यहाँ जोडिएका प्रशस्त किंवदन्ती आख्यानले यो जात्रा बढी प्रख्यात छ । एउटा राजनैतिक उद्देश्यले अभिप्रेरित जात्रालाई धर्मभिरु जनताबीच बेरोकटोक मनाउनु पछि यस्तै यस्तै आख्यानहरूले ठूलो भूमिका खेलेको छ । लिंगोमा उठाउने ध्वजालाई नागनागिनीको संज्ञा दिनु, राजकुमारीको नाकबाट निस्केको नागले दिनको एकजना राजकुमार मार्नु, काशीबाट विश्वनाथ भगवान जात्रा हेर्न आउँदा उनको टाउको काटिनु, भैरव भद्रकाली श्रीमान श्रीमती हुनु जस्ता थुप्रै थुप्रै कहावत र ती कहावतअनुसारका धार्मिक सांस्कृतिक क्रियाकलाप जात्राको क्रममा गरिनुबाट बिस्का जात्रा चलाउने शासकहरूले जस्तोसुकै स्वार्थले जात्रा चलाएको भए तापनि यहाँका जनताले यो जात्रालाई अत्यन्त श्रद्धापूर्वक मनाएबाट एकपछि अर्को पुस्ता हुँदै यो जात्रा प्रत्येक वर्ष धुमधामसँग मनाउदै आएको छ, मनाउदै जानेछ । जात्राको क्रममा यस्तै आख्यानले बढावा पाउँदै आएको छ । पहिलो दिन भैरव र भद्रकाली जात्रा हेर्न आआफनो द्यःछेंबाट रथमा सवारी हुन्छ । यसैबीच दुईको बीच अनवन भएपछि भद्रकाली रिसाएर माइती पुग्छे । भैरव चपालमा बस्न पुग्छ त भद्रकाली लयकोमा बस्छ ।
चैत मसान्तको दिन भैरव लिंगो उठाउने हेर्न योसींखेल पुग्छ । सगँसगै भद्रकाली पनि त्यही पुग्छे । एकरात एकदिन भैरव भद्रकाली त्यही बास बस्छ । भोलिपल्ट योसीं ढालेपछि भैरव र भद्रकालीलाई गःहिटी ल्याउँछ । त्यहाँ उनीहरूबीच तीनपल्ट रथ जुधाउँछ । त्यसपछि भैरवको रथ त्यही रहन्छ । तर भैरवनाथको मूर्ति त्यहाँबाट निकाली पुनः चोछेंमा राख्न लैजान्छ । यता भद्रकालीको रथ टौमढी लगिन्छ । यति बेलासम्म नगरभरिका अष्टमातृका देवी, गणेश तथा भैरव देवताहरू द्यःछेबाट तल सवारी भइसकेको हुन्छ । भैरव र भद्रकालीको रथ एक आपसमा जुधाइसकेपश्चात् तिनीहरूको पनि खट जुधाउने कार्य सुरु हुन्छ । वैशाख ४ गते यी सवै देवदेवीहरूलाई द्यः स्वंग वियेगु चलन छ । वैशाख ४ र ५ गते सवै देवदेवीहरू द्यः थाहाँ बिज्याके गरेपछि यस वर्षको बिस्का जात्रा सम्पन्न हुन्छ । नव वर्ष २०७५ सालको सबैमा शुभकामना ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *