भर्खरै :

नयाँ सम्भ्रान्त वर्गले सारा जनतामाथि शोषण गर्दैछ

-सृजना सैंजू
जेठ १५ गणतन्त्र दिवस, हामी गणतन्त्र स्थापना दिवस मनाउँदैछौं । सबैभन्दा पहिला गणतन्त्र स्थापनार्थ सहादत्त प्राप्त गर्ने सहिदहरुप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछु संगसंगै संघर्षशील योद्धाहरुप्रति सम्मान व्यक्त गर्दछु ।
गणतन्त्र स्थापना भएको एक दशक बितिसक्दा पनि जनताले गणतन्त्रको आभास गर्न नपाएको घामजतिकै छर्लङ्ग छ । जनताको आन्दोलनको बलमा राजतन्त्र त ढल्यो तर एउटा महाराजलाई विदाइ दिएकोमा खुसी भएका जनता गणतन्त्रमा श्रीपेचविहीन नयाँ–नयाँ महाराज र महारानीहरु देखेर भने अच्चम्मित छन्, जनता चिन्तित छन् । जनता यतिखेर बलिदान र संघर्षको हिसाबकिताब मागिरहेका छन् । नयाँ सम्भ्रान्त वर्गको उदयबाट पूँजीवादी गणतन्त्रले सारा जनतामाथि शोषण गर्दैछ ।
हिजो गणतन्त्रको निम्ति प्रतिगमन विरुद्ध संघर्ष भइरहँदा, गणतन्त्रको निम्ति गगनभेदी आवाज दिइरहँदा समर्थन नजनाउने र चिसो पानी खन्याउँदै हिँड्ने व्यक्तिकै हातमा देशको बागडोर जानु ठूलो बिडम्बनाको विषय हो । हिजो जो उखान टुक्कामै सही, गणतन्त्र असम्भव देख्थ्यो उही मानिस आज गणतन्त्रको ठेक्का लिएर बस्नु कमैलाई मात्र शोभनीय लाग्ला । जनताले तब मात्रै गणतन्त्रको आभास गर्न सक्नेछन् जब समाजवादी गणतन्त्रको आवाज सुनिनेछ, स्थापना हनेछ । आफूलाई कम्युनिष्ट दाबी यदि कसैले गर्छ भने उसले समाजवादी गणतन्त्रको पक्ष लिनैपर्छ । पूँजीवादी गणतन्त्रमा अलमलिने र समाजवादी गणतन्त्रको पक्ष नलिने कम्युनिष्ट हुनै सक्दैन । कम्युनिष्ट एक ठेगो होइन बरु जीवनपद्धति हो ।
हिजो यहि सदनमा दुई शासक दलबीचको एकताको खुशीयाली साटासाट गरियो । जर्मन कवि बर्टाेल्ट ब्रेख्टले भन्नुभएको थियो– शासकहरु जब शान्तिको सन्देश दिइरहेका हुन्छन् तब युद्धको आदेश गइसकेको हुन्छ । ठिक त्यसरी नै एकताको दीपावली भइरहँदा फुटका रेखाहरु त्यहि भित्रबाट देखापरेको प्रष्ट देखिँदैछ ।
‘हामी आफै मिल्न नजानेका
हामी कसैले मिलाई दिनुपर्नेहरु’
भूपि शेरचनका यी पङ्ति आज झनै सान्दर्भिक लागिरहेछ । यो एकताको प्रसंग केवल धुवाँको पर्दा हो । संविधान संशोधन गर्ने उद्देश्य पुरा गर्नको निम्ति विभिन्न खेल चल्दै आएकोमा यो त्यसैको पछिल्लो परिदृश्य बाहेक केहि पनि होइन । अत्यधिक वहुमत कसको निम्ति चाहिएको थियो बुझ्ने नेपाली कयौँ छन् । यदि ओली नेतृत्वको सरकारबाट त्यो भारतीय इच्छा पुरा नभए अर्को सरकार बनेमा आश्चर्य हुने छैन । भारतीय एकाधिकार पूँजीले बारम्बार घोडा फेर्दै आइरहेकोमा यो पटक अलि अग्लो, मोटो घोडा फेला पारेको यथार्थ खुल्दै जानेछ । तसर्थ यो एकता या नयाँ शक्तिशाली पार्टी समाजवादको निम्ति नभई भारतीय एकाधिकार पूँजीको सेवाको निरन्तरताको निम्ति कृत्रिमरुपमा तयार पारिएको हो । इतिहासले धेरै कुराको पुष्टि गरिसकेको छ र यो कुराको पुष्टि पनि अवश्य गर्नेछ ।
आफूलाई सबैभन्दा ठूलो पार्टीको दम्भ देखाउँदै स्थीर सरकारका कथा वाचन गरिरहँदा वास्तविकतातिर फर्केर हेर्ने गरौं । मानिसहरुको ठूलो भीड र हुल नै पार्टी हुने गर्दैन । पार्टी भनेको विचारको निकेतन (स्कूल अफ थट) हुने गर्छ । अध्यक्ष रोहित भन्नुहुन्छ, सिद्धान्तमा छूट दिनु भनेको हिमालयमा चिप्लेटी खेल्नु जतिकै हुन्छ । सिद्धान्त र विचार कुनै पार्टी नेतृत्वले छोडेपछि कस्तो दूर्घटना हुन्छ भन्ने शिक्षा १९९० को सोभियत घटनाबाट लिन सकिन्छ । याद रहोस्, सोभियत कम्युनिष्ट पार्र्टी त्यतिबेला संसारकै सबभन्दा ठूलो कम्युनिष्ट पार्टी थियो । आज इतिहासको पानाबाट हराइसकेको छ । पुर्वी युरोपका देशहरुमा समाजवादी व्यवस्था तासको घरजस्तै ढले, एउटै कारण सिद्धान्त र विचारमा चिप्लिनु र नेतृत्वले सिद्धान्त त्याग्नु । त्यसकारण समयले खोजेको समाजवादी विचार, माक्र्सवादी विचारलाई भाँचकुच गरी संशोधन गर्न खोज्ने संसोधनवादीहरुको एकता होइन वैज्ञानिक समाजवादका पक्षपाति, सच्चा माक्र्सवादी लेनिनवादी र माओ विचारधाराका अनुयायीहरुको एकता जनताले खोजिरहेका छन् । अन्यथा बाघको छाला ओडेर किसानको बाली खाने गधालाई किसानहरुले कस्तो सजाय दिएको थियो भन्ने स्मरण यहाँ गराउन नपर्ला ।
आज जनताद्वारा निर्वाचित सरकारद्वारा संचालन हुनुपर्ने देश लगानीबोर्डको माध्यमबाट चलाइँदैछ । प्राकृतिक स्रोत र साधनको हकमा सदनको दुई तिहाई वहुमतले निर्णय गर्नुपर्ने प्रावधानलाई खारेज गरी लगानी बोर्ड विधेयक नेमकिपाको विरोधमा पनि पारित गरियो । आज लगानी बोर्ड संसदभन्दा ठूलो, योजना आयोगभन्दा पनि ठूलो, सरकार भन्दा शक्तिशाली बन्दैछ । लगानी बोर्ड विधेयकले बिदेशीलाई ठेक्का दिने मार्ग प्रशस्त गरेको छ । मन्त्रालयले गर्ने, सरकारले गर्ने काम लगानी बोर्डलाई गर्न दिनु देशकै लागि ठूलो दूर्भाग्य हो । शासक दल राजनीतिक क्रान्ति सम्पन्न भएको बताइरहँदा ऊर्जा मन्त्रालय र लगानी बोर्ड, स्वास्थ्य मन्त्रालय र लगानी बोर्डबीचको हालैको विवादबारे गम्भिरता पूर्वक सोच्न जरुरी छ । कम्युनिष्ट भनिने वर्तमान संयुक्त सरकार देशी र विदेशी पूँजीपति वर्गको सहयोगी संस्था वा निमित्त सरकार हो ।
विदेशी लगानी भित्रिनु भनेको विदेशी प्रभाव तथा शर्तहरु भित्रिनु हो । विदेशी पुँजीले राज गर्ने आधारहरु बलियो हुँदै जानु हो । यो देशघाती कदम आफूलाई कम्युनिष्ट दावी गर्ने पार्टी सरकारमा रहँदा पनि चालू रहनु विडम्बना हो । लगानी बोर्डमार्फत देशलाई आर्थिक रुपमा नवउपनिवेश बनाइरहेको अनुभव हुन्छ । त्यसैले देशको हितको निम्ति लगानी बोर्डको हामी फेरि पनि विरोध गर्छांै ।
सभामुख महोदय,
लगानी बोर्डमार्फत देशलाई आर्थिक रुपमा नवउपनिवेश बनाइरहेको अनुभव हुन्छ । त्यसैले देशको हितको निम्ति लगानी बोर्डको हामी फेरि पनि विरोध गर्छांै । धन्यवाद ।
(जेठ १४ गतेको प्रदेश नं ३ को व्यवस्थापिका बैठकमा ब्यक्त विचार)

Leave a Reply

Your email address will not be published. Required fields are marked *