भर्खरै :

रास्वपा एकपछि अर्को सङ्कटमा किन फस्दै छ ?

रास्वपा एकपछि अर्को सङ्कटमा किन फस्दै छ ?

रास्वपाले चुनावअघि तीनवटा फाइल खोलिए सरकारमा गएर भ्रष्टाचार गरेका अधिकांश नेताहरू जेलमा बस्नुपर्ने बताएको थियो । यसका लागि सिंहको जस्तो मुटु चाहिने र त्यो मुटु रास्वपासँग भएको दाबी गरिएको थियो । रास्वपा सरकारमा पुगेको सात महिना नाघ्यो तर ती तीनवटा फाइल खोलिएनन् । यतिखेर फाइल खोलिए रास्वपाका कतिपय नेता र कार्यकर्ताहरू चिसो छिँडीमा बस्नुपर्ने अवस्था आउने चर्चा सार्वजनिक भएको छ । के रास्वपा सरकारको मुटु फिस्टे चराको जस्तो भएको हो ?
रास्वपा नेतृत्वको सरकार बन्नुअघि यो पार्टीका नेताहरू उपप्रधानमन्त्री र मन्त्री बनेका थिए । त्यसबेला रास्वपा नेतृत्वको सरकार बनेको भए कस्ता जादुमय काम गर्न सकिन्छ भन्ने आफूहरूलाई थाहा भएको र काम टाकटुक गर्ने दाबी पनि गरिएको थियो । रास्वपाले सङ्ख्या पुगेको दिन अकुत सम्पत्ति कमाएर त्यसको मादकतामा मस्त रमाउँदै बेहोस भएकाहरूलाई ब्युँझाउने वाचा पनि गरेको थियो । सरकारको नेतृत्वमा पुगेपछि रास्वपाले आजको मेहनतले देश नबन्ने भन्न थाल्यो । रास्वपाका कतिपय नेता र कार्यकर्ताहरूले पार्टीको वाचापत्रमा के छ भन्ने अध्ययनसमेत नगरेको सार्वजनिक भयो ।
राजनीतिक दलहरू निश्चित दर्शन र वर्गीय आधारमा स्थापना तथा सञ्चालन भएका हुन्छन् । यतिखेर रास्वपा र यसको सरकार आफ्ना नेताहरूको मेहनतका कारण गठन नभएको, बरु संरा अमेरिकी सरकारको केन्द्रीय गुप्तचर संस्थाअन्तर्गतका संस्थाहरूमार्फत दुई करोडभन्दा बढी डलर पठाएर उपद्रवको तालिमसमेत दिएको भन्ने विषय ‘दि ग्रे जोन’ सञ्चारमाध्यममा सार्वजनिक भयो ।
आर्थिक घोटाला गर्नेहरूलाई जेल कोच्ने दाबी गर्दै सरकारमा पुगेका रास्वपाका नेताहरू नै यतिखेर अनेक आर्थिक घोटाला र दुव्र्यवहारका काण्डमा परेको सार्वजनिक भइरहेको छ । लुम्बिनी विकास कोषको उपाध्यक्ष पदमा नियुक्त गरिएकी आनीको नागरिकतामा नक्कली बुबाको विवरण रहेको, छिमेकी देश चीनको अभिन्न अङ्ग तिब्बतलाई विखण्डन गर्न लागिपरेका दलाई लामासँग सम्बन्ध रहेको तथा करोडौँ रुपैयाँ विदेशबाट प्राप्त भए पनि त्यसको स्रोत नखुलेको जस्ता विषय सार्वजनिक भइरहेका छन् ।
रास्वपा सरकारका अर्थमन्त्री स्वर्णिम वाग्लेले भारत पुगेर त्यहाँका विदेशमन्त्री जयशङ्करको विद्यार्थीझैँ बनेर भारतको विरोध गर्ने नेपाली राष्ट्रवादको अन्त्य गरेको घोषणा गरे । नेपालीले भारतीय एकाधिकार पुँजी र विस्तारवादको विरोध गर्दै आएका हुन्, भारत र भारतीय जनताको विरोध होइन । नेपाली काङ्ग्रेसमा उम्मेदवार बन्न सिफारिस नभएपछि ढिलो गरी रास्वपामा प्रवेश गरेका वाग्लेमा कुनै राजनीतिक नैतिकता र अडान नभएको आरोप लगाइएको छ । वाग्ले रास्वपाको अर्थमन्त्री भएलगत्तै बजेट निर्माणमा करका दरसम्बन्धी सूचना चुहावट र बीवाईडी गाडी आयातमा दुई अर्ब रुपैयाँ कमिसनको विषय बाहिरिएकै हो । यसअघि वाग्ले प्रतिनिधिसभा सदस्य हुँदा दक्षिण एसियामा ‘मोदी डक्ट्रिन’ को समर्थन गर्दै भारतीय शासक वर्गसामु लम्पसार परेको आरोप पनि लागेको थियो ।
रास्वपा सरकारले १३ जना राजदूत सिफारिस गरेकामध्ये संसदीय सुनुवाइ समितिबाट दुई जना अस्वीकृत भए भने एक जनाको सिफारिस स्थगित भयो । यसले सरकारको सिफारिस हचुवाका भरमा वा प्रभावमा परेर गरिएको पुष्टि गर्छ । सिफारिस गरिएका राजदूतमध्ये महिला दुव्र्यवहारमा मुछिएका र म्यानपावर कम्पनीसँग साँठगाँठ भएका व्यक्ति पनि रहेको आरोप लाग्नु रास्वपा सरकारको अपरिपक्वताको सङ्केत हो । जापानका लागि राजदूतमा सिफारिस गरिएका व्यक्तिसँग उतैको स्थायी आवास अनुमति रहेको विषयसमेत सार्वजनिक भयो ।
बिचौलिया भएको आरोपमा थुनामा रहेका दीपक भट्टसँग पूर्वप्रधानन्यायाधीश चोलेन्द्रदेखि इनम सापकोटा, सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाल र नेपाल प्रहरीका आईजी दानबहादुरसम्म जोडिएको विषय बाहिरियो । यस काण्डमा बालेन र विश्वराजसमेत जोडिएको सार्वजनिक भयो । यी विषयमा समाचार प्रकाशन गर्ने सञ्चारमाध्यमका पत्रकारलाई सादा पोसाकका प्रहरीले पत्रिकाको कार्यालयभित्रै प्रवेश गरेर पक्राउ गर्ने प्रयास गरेको, तर यस विषयमा रास्वपा सरकार बेखबर रहेको स्पष्टीकरण दिने नाटक भइरहेको आरोपसमेत सार्वजनिक भयो । केही विश्लेषकहरूले रास्वपा सरकारको नैतिकता समाप्त भएको भन्दै राजीनामा दिनुपर्ने विषय उठाए ।
रास्वपा सरकार आएयता नेपाल आयल निगममा तीन खर्ब रुपैयाँभन्दा बढी घाटा भएको र सार्वजनिक ऋण पनि एक खर्बभन्दा बढी थपिएको विषय सार्वजनिक भयो । केही विश्लेषकहरूले जनअधिकार आन्दोलनमा रास्वपा र यसका नेताहरूको कुनै भूमिका नरहेको, संरा अमेरिकी सरकारको पैसामा सिंहदरबार जलाएर सरकारमा पुगेको र त्यसैलाई आधार मानेर चुनावमा मत दिइएको भन्दै आक्रोश पोखे । यतिखेर कुनै पनि राजनीतिक दल र त्यसका नेता २–४ वर्षको उमेरमै परिपक्व हुँदैनन् भन्ने विज्ञहरूको भनाइ पुष्टि भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *