भर्खरै :

नगर प्रमुख प्रजापतिद्वारा सेरामिक्स कार्यशाला उद्घाटन

नगर प्रमुख प्रजापतिद्वारा सेरामिक्स कार्यशाला उद्घाटन

भक्तपुर, १६ कार्तिक । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले नेपाल सेरामिक्स आर्टिस्ट सोसाइटीको आयोजनामा भक्तपुरको स्थानीय कलात्मक उत्पादनहरूको प्रवद्र्धन, प्रोत्साहन र विकासको लागि सोमबारबाट सञ्चालित एकहप्ते सिरामिक्स कार्यशालाको उद्घाटन गर्नुभयो ।
कार्यक्रममा नगर प्रमुख प्रजापतिले सिरामिक्सको राम्रो सम्भावना बोकेको देशकै महत्वपूर्ण स्थान भक्तपुर भएको बताउँदै परम्परागत सीपलाई आधुनिकतासँग जोडेर अगाडि बढाउन नसके परम्परागत कला र सीप ओझेलमा पर्ने सम्भावना रहेको उल्लेख गर्नुभयो ।
प्लास्टिकका सामानले माटाका भाँडाको स्थान लिँदै जाँदा परम्परागत पेसामा आबद्ध व्यक्तिहरूको रोजगारी गुम्ने खतरा बढेको बताउँदै उहाँले युवालाई सिरामिक्स क्षेत्रमा आकर्षित गर्ने नीति सरकारले अवलम्बन गर्नुपर्ने र विदेशबाट हुने सेरामिक्स सामग्रीको आयातलाई निरुत्साहित गर्नुपर्ने बताउनुभयो । परम्परागत पेसालाई आधुनिक प्रविधि र सिर्जनशीलतासँग जोड्दै अगाडि बढाउनुपर्नेमा उहाँले जोड दिनुभयो ।
भक्तपुर नगरपालिका वडा नं. ९ का वडाध्यक्ष रवीन्द्र ज्याख्वले युवाहरूमा आफ्नै देशमा सम्भावना खोज्नेभन्दा परनिर्भर सोच बढ्दै गएको बताउँदै
आफूमा भएको सीप र क्षमताको सदुपयोग गरी समाज र परिवारका लागि धेरै काम गर्न सकिने बताउनुभयो । आफ्नो सीप र रुचिसम्बन्धी कामलाई निरन्तरता दिँदै अगाडि बढे त्यसले दक्षता विकास गर्न मद्दत पुग्ने उहाँले बताउनुभयो ।
नेपाल सेरामिक्स आर्टिसट सोसाइटीका अध्यक्ष रमेश प्रधानले कार्यक्रमको उद्देश्यबारे स्पष्ट पार्दै परम्परागत सिरामिक्स कलालाई आधुनिकतासँग जोड्ने, आधुनिक सिरामिक्स कलाको विकास गर्ने तथा कला र संस्कृतिसँग जोडेर यस क्षेत्रलाई अगाडि बढाउने उद्देश्य रहेको बताउनुभयो । नयाँ कलाकारलाई सीप सिकाउँदै सिर्जनशील कार्यमा प्रेरित गर्नु कार्यशालाको प्रमुख लक्ष्य रहेको उहाँले उल्लेख गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *