भर्खरै :

एउटै रजतमा चित्त बुझाउने कहिलेसम्म ?

इन्डोनेसियामा चालू अठारौं एसियाली खेलमा प्याराग्लाइडिङमा रजत पदक जितेपछि नेपाली टोली रित्तो हात फर्कनु नपर्ने भएको छ । एसियाली खेल सुरु भएको ६७ वर्षमा नेपालले जितेको यो दोस्रो रजत पदक हो । यसअघि सन् १९९८ मा थाइल्याण्डमा भएको एसियाली खेलमा नेपाली खेलाडी सविता राजभण्डारीले इतिहासमा पहिलो रजत पदक जितेकी थिइन् । इन्डोनेसियामा चालू अठारौं एसियाली खेलमा नेपालले हालसम्मकै सर्वाधिक खेलमा भाग लिएको छ । १ सय २९ पुरुष र ५६ महिला गरी एसियाली खेलमा १८५ जना नेपाली खेलाडी सहभागी छन् । एसियाली खेलमा नेपालको तर्फबाट सहभागी भएको यो हालसम्मकै सबभन्दा ठूलो सङ्ख्या पनि हो । प्याराग्लाइडिङ खेलमा नेपालले पहिलो पटक भाग लिएर रजत जित्न सफल भए पनि अरु खेलका खेलाडीको प्रस्तुत मध्यमस्तरको पनि हुन सकेन ।
बेला बेला खेलाडीकै बलबुत्तामा केही सफलता हासिल गरेर पनि नेपालले खेलकुद क्षेत्रमा उल्लेख्य सफलता हासिल गर्न सकेको छैन । राजतन्त्र रहँदासम्म नेपालको खेल क्षेत्र राजदरबार र राजपरिवारको अनुकम्पामा आश्रित रह्यो । बहुदलीय र गणतन्त्रको स्थापनापश्चात् खेलकुद देशका अरु क्षेत्रजस्तै शासक दलबीचको भागबण्डाको रोगले प्रताडित बन्यो । खेलकुद क्षेत्रको समग्र विकास र प्रतिभा पहिचानको आधारमा अवसर दिनेभन्दा नेपालको खेल क्षेत्र शासक दलको आसेपासेको क्रिडास्थल बनेको छ । खेलाडीले आफूसँग भएको प्रतिभाको आधारमा नभई शासक दलको चाकडी गरेको भरमा विभिन्न राष्ट्रिय–अन्तर्राष्ट्रिय खेलमा भाग लिन पाउने–नपाउने पक्षपाती बन्दोबस्तका कारण आज खेलकुद क्षेत्र उकासिन सकेको छैन । खेलकुद क्षेत्रमा शासक दलबीचको भागवण्डा नै खेलकुद क्षेत्र विकास हुन नसक्नुको प्रमुख कारण हो ।
युवाबीच मित्रता र अनुशासनको भावना जगाउने क्षेत्रको रुपमा भन्दा पनि खेलकुद क्षेत्रलाई शासक वर्गले आफ्नो पक्षमा लड्ने ‘गुण्डा’ वा लडाकू तयार गर्ने क्षेत्रको रुपमा हिजोका शासकले व्यवहार गर्ने गरेका थिए । आजका शासक दलहरूले पनि त्यसलाई निरन्तरता दिएका छन् । खेलकुद क्षेत्रलाई दलीय सङ्कीर्णबाट मुक्त गराउन नसकुञ्जेल खेल क्षेत्रमा वास्तविक प्रतिभाभन्दा चाकडबाजहरूले नै स्थान पाउने अवस्था कायम रहनेछ ।
सरकारले कूल बजेटको ०.३२ प्रतिशत युवा तथा खेलकुद क्षेत्रमा विनियोजन गरेको छ । त्यो भनेको ४ अर्ब २० करोड रुपैयाँ हुन आउँछ । त्यसबाहेक नेपालको खेलकूद क्षेत्र विदेशी सहयोगमै निर्भर रहेको छ । खेलको समग्र विकासको निम्ति यो बजेट आफैमा अपुग छ । त्यसमा पनि खेल क्षेत्रमा हुने गरेको भ्रष्टाचारका कारण भएको बजेटअनुसार परिणाममुखी हुन सकेको छैन ।
खेलसम्बन्धी सेवा सुविधा काठमाडांै उपत्यकामा मात्र केन्द्रित बन्दा पनि देशभरका प्रतिभाशाली खेलाडीलाई प्रकाशमा ल्याउन सकिएको छैन । त्यसकारण खेलसम्बन्धी पूर्वाधार निर्माण विकेन्द्रिकृत गरिनुपर्दछ । खेलाडीलाई सरकारले उपयुक्त रोजगारी वा जीविकोपार्जनको ग्यारेन्टी गरेको खण्डमा खेलकुदमा खेलाडीले भविष्य देख्नेछन् र खेलमा दत्तचित्त भएर लाग्न सक्नेछन् । खेल केही समयको सौखको विषय बनुञ्जेल खेलको व्यापक स्तरमा विस्तार हुनसक्दैन । खेल क्षेत्र खेलाडीको चाहनाकै भरमा मात्र टिक्नु देशकै विडम्बना हो ।
हरेक विद्यालयमा व्यवस्थितरुपमा खेलकुदको गतिविधि गर्न सके देशले राम्रा राम्रा खेलाडी जन्माउन सक्नेछ । त्यसको निम्ति सरकारले विद्यालयस्तरमा खेलकुदको विकासमा ध्यान दिन जरुरी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *