भ्रष्टाचारका सहस्र टाउका – १
- आश्विन ३, २०८१
भक्तपुुर, ४ कार्तिक । ३८ औं नेपालभाषा साहित्य तःमुँज्या तथा सांस्कृतिक कार्यक्रम आइतबार भक्तपुर कमलविनायकमा सुरू भयो । सम्मेलनको उद्घाटन २०४६ सालको जनआन्दोलनमा शहादत्त प्राप्त सहिद निर्मलकुमार शाक्यका आमा असलमाया शाक्य र सहिद पुष्परत्न शाक्यका जीवनसङ्गिनी विजयलक्ष्मी शाक्यले ३८ औं नेपालभाषा साहित्य तःमुँज्याको उद्घाटन गर्नुभयो ।
दुई दिन चल्ने साहित्य सम्मेलनको दबुमा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले पार्टीका केन्द्रीय सदस्य तथा किसान नेता बुद्धिकुमार गोसाईलाई सम्मानपत्र र दोसल्लाले सम्मान गर्नुभयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य तथा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले देशमा सङ्घीयता लागु भएर पनि सङ्घीय सरकारका शासक र प्रशासकले अझै एकात्मक चिन्तन त्याग्न नसकेको बताउनुभयो ।
सङ्घीयता लागू हुँदैमा देशको विकास हुने कुरा सही नभएको भन्दै नेमकिपाले विगतमा राख्दै आएको तर्क आजको परिस्थितिले प्रमाणित गरेको चर्चा गर्दै अझै पनि विकेन्द्रीकरण र स्वायत्तताको सिद्धान्त प्रभावकारी तरिकाबाट कार्यान्वयन हुन नसकेको बताउनुभयो ।
परम्परागत मौलिक सम्पदाको संरक्षणको लागि कसैलाई ठेक्का दिनुभन्दा जनसहभागितामा जनपरिचालनमार्फत नै विकास कार्य गर्नुपर्नेमा जोड दिंदै प्रमुख प्रजापतिले काठमाडांै उपत्यकाका अन्य नगर प्रमुखहरूसहित बसेको बैठकले सम्पदा संरक्षणमा मौलिकता जोगाउने निर्णयअनुसार काठमाडौंको रानीपोखरी र काष्ठमण्डप स्थानीय जनताको सहभागितामा बन्न लागेको बताउनुभयो ।
वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीले अपराधलाई जन्मन नदिने परिस्थितिको विकास गर्नुपर्नेमा जोड दिंदै नोकरशाही प्रवृत्तिले न्याय दिलाउन नसकिने बताउनुभयो ।
‘‘२०४६ सालको जनआन्दोलनपछि देशमा १४ जना ‘राजा’ ले शासन गरेको तर एक जना पनि राम्रो न्यायाधीश जन्माउन नसक्नु विडम्बनापूर्ण छ ।’’, उहाँले भन्नुभयो ।
संस्कृतिविद् तेजेश्वरबाबु ग्व·ले तःमुँज्या आफैंमा संस्कृति बनिसकेको बताउँदै विविध भाषा, संस्कृति समेटिएर बहुआयामिक प्रस्तुति देखाउनु नै तःमुँज्याको सफलता भएको बताउनुभयो ।
पूर्वन्यायाधीश गौरीबहादुर कार्कीले कञ्चनपुरको निर्मला पन्त बलात्कार तथा हत्याकाण्डको अनुसन्धानमा खटिएका प्रहरी अधिकारीहरूले सुरूबाटै प्रमाण नष्ट गरी गल्ती गरेको बताउनुभयो ।
उहाँले उक्त हत्याकाण्डमा प्रहरी, वकिल र मेडिकल सेवामा कार्यरत केही व्यक्तिले अपराधीसँग मिलेर प्रमाण नै नष्ट गर्न लागेको हुनसक्ने बताउनुभयो ।
कथाकार लक्ष्मण राजवंशीले देशमा राजतन्त्र अन्त्य भएको तर सामन्ती सोच र संस्कारमा अझै परिवर्तन आइनसकेको बताउँदै राष्ट्रप्रमुख र राज्यप्रमुखले दसैंमा टीकाप्रथालाई निरन्तरता दिनु सामन्तवादी अवशेष भएको धारणा राख्नुभयो ।
कानुनअनुसार चल्ने देश नै प्रगति हुने चर्चा गर्दै उहाँले देशमा आज कानुनी शासनकै अभाव भएको धारणा राख्नुभयो ।
साहित्यकार नरेन्द्रराज प्रसाईले देशको सार्वभौमिकता र राष्ट्रियता रक्षाको सन्दर्भमा नेमकिपाले खेल्दै आएको भूमिका प्रशंसनीय भएको बताउनुभयो ।
नेपाली सेनाका पूर्वजर्नेल तथा इतिहासकार प्रेमसिं बस्न्यातले संसदभित्र शासक दलका गलत निर्णयविरूद्ध नेमकिपाले गरिरहेको सङ्घर्ष देशभक्त नेपाली जनताको भावनाअनुरूप भएको बताउनुभयो ।
मुटुरोग विशेषज्ञ डा. सम्पूर्णमान तुलाधरले मुटुरोग र मुटुरोगका उपचारको विषयमा जानकारी दिनुभयो ।
कार्यक्रममा मनोरोग विशेषज्ञ डा. धनरत्न शाक्यले हालै सम्पन्न मानसिक रोग दिवसबारे चर्चा गर्दै हेर्दा सामान्य देखिने व्यक्तिलाई पनि मानसिक रोग लागेको हुनसक्ने बताउनुभयो ।
भक्तपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले भक्तपुरको मौलिक कला–संस्कृति रक्षाको लागि सबै पक्ष तदारूक हुनुपर्नेमा जोड दिनुभयो ।
साहित्य सम्मेलनमा कवयित्री इन्दिरा प्रसाई, साहित्यकार मोहन दुवाल, कवि हरिहर तिमिल्सिना, लेखक अभय श्रेष्ठ, कवि कृष्णकुमार वैद्य, श्यामकृष्ण खुलिमुली, जट्टाधर झालगायतले आ–आफ्ना साहित्य वाचन गर्नुभएको थियो ।
साहित्य सम्मेलनमा भक्तपुरका व्यवसायी तथा समाजसेवी गोपीकृष्ण प्रजापतिको नाममा रू. पाँच लाख बराबरको अक्षयकोष स्थापनाको घोषणा गरिएको थियो । अक्षयकोष व्यवसायी विश्वराम कवांले तःमुँज्यालाई हस्तान्तरण गर्नुभएको थियो ।
शिक्षासेवी मोहनप्रसाद प्रजापतिको सभापतित्वमा भएको तःमुँज्याको पहिलो दिनमा नेपालभाषा साहित्य तःमुंज्याका अध्यक्ष चन्द्रबहादुर उलक र आयोजक समितिका अध्यक्ष नरेश खत्रीले पनि बोल्नुभएको थियो ।
तःमुंज्यामा कमलविनायक सांस्कृतिक समूह, वालाम्हेन्दो सांस्कृतिक परिवार, थःहितिको सांस्कृतिक समूह, भक्तपुर क्यान्सर अस्पताललगायतका सांस्कृतिक समूहहरूले विभिन्न सांस्कृतिक प्रस्तुति गरिएका थिए ।
साहित्य सम्मेलन पछि ख्याल, नाटक र नृत्य देखाइएको थियो ।
५७ औं विराट
आइतबार नै ५७ औं बिराट नेपालभाषा साहित्य सम्मेलन भयो । वाङमय शताब्दी पुरुष तथा संस्कृतिविद् सत्यमोहन जोशीको प्रमुख आतिथ्यमा भएको सम्मेलनमा कवि योगेन्द्र प्रधानलाई सम्मान गरिएको थियो ।
विराट नेपालभाषा साहित्य सम्मेलन गुठीका अध्यक्ष कृष्णभक्त बोडेको सभापतित्वमा भएको कार्यक्रममा नेपालभाषा मंकाः खलःका अध्यक्ष पद्मरत्न तुलाधर, प्राध्यापक नर्मदेश्वर प्रधान, विराट गुथिका सल्लाहकार नरेन्द्रभक्त हाडा, कन्या मन्दिर माविका विद्यार्थी मलिना स्थापितलगायतले बोल्नुभएको थियो ।
झण्डै १५ साहित्यकारहरूले आ–आफ्ना साहित्य वाचन गरिएको सम्मेलनमा बाबुकाजी साछें श्रेष्ठ, प्रदीप शाक्य, त्रिरत्न शाक्य, हिरण्यप्रताप सांगामीलगायतले बोल्नुभएको थियो ।
Leave a Reply