भर्खरै :

लु सुनको अपव्याख्या

संरा अमेरिकाका उपराष्ट्रपति माइक पेन्सले गएको अक्टोबरमा आफ्नो एउटा भाषणमा चीनबारे संरा अमेरिकी नीतिको विषयमा चर्चा गरे । धेरै विषय समेटिएको उनको भाषणमा संरा अमेरिका–चीन सम्बन्धका विगत र वर्तमान अवस्थाबारे चर्चा गरिएको थियो । एउटा सन्दर्भमा पेन्सले चिनियाँ साहित्यकार लु सुनका शब्द उद्धत गरेर आफ्ना तर्कलाई बल पु¥याउन खोजे ।
लु सुनको निबन्ध र टिप्पणीहरूको सङ्कलन ‘हट विन्ड’ को एक ठाउँमा लु सुनले लेखेका छन्,“विदेशीहरूलाई चिनियाँ जनताले दुई तरिकाबाट व्यवहार गर्न सक्दछन्–या त निर्दयी पशुको रुपमा अथवा सम्राटको रुपमा । चिनियाँ जनताले विदेशीलाई कहिल्यै मित्र भन्दैनन् अथवा उनीहरू हामीजस्तै हुन् भनी सोच्दैनन् ।” उपराष्ट्रपति पेन्सले यही वाक्यलाई प्रयोग गरेर “पेकिङले आफूलाई शब्दबाट नभई कामबाट पुष्टि गर्दै जानेछ अनि अमेरिकाप्रति नवीकरण गरिएको सम्मानले हेर्नेछ” भनी आशा व्यक्त गरे ।
लु सुनका यी वाक्यहरू सन् १९१८–१९२४ मा प्रकाशित कृतिबाट उद्धरण गरिएको हो । उपराष्ट्रपति पेन्सले भनेजस्तै लु सुन सामान्य कथावाचक थिएनन्, बरू एकजना महान चिन्तक थिए । पुरानो चीनप्रति उनको कडा आलोचना बलियो देशभक्तिमा आधारित थियो । उनको यो विचार चीन पुराना मूल्यमान्यताबाट जकडिएको अवस्थामा तात्कालीन सामाजिक वातावरणको कडा आलोचनामा व्यक्त गरिएको थियो । त्यत्तिबेला चिनियाँ सामाजिक अवस्थाले कुनै अरू संस्कृतिबाट सिक्न निषेध गरिएको थियो अनि सुधारको लागि कममात्र उत्साह थियो ।
लु सुनले यो भनाइ चीनसँग अरू कुनै देशसँगको सम्बन्धका सन्दर्भमा भनेका थिएनन् । बरू उनले तत्कालीन चिनियाँ समाजको आलोचना त्यस्तो भनेका थिए । लु सुनले तत्कालीन चिनियाँ बुद्धिजीवी वर्गमा चिनियाँ परम्परालाई उत्साहपूर्वक त्याग्दै जाने, अनि आफ्नो राष्ट्रिय परिस्थितिमा कति उपयुक्त छ वा छैन, कुनै विश्लेषण नगरी विदेशी विचार अवलम्बन गर्ने मनसाय देखे । तर जब त्यत्ति मिहिनेतका स्थान ल्याइएको विचार फरक परिस्थितिमा टिक्न सकेन, ती विचारलाई पूर्ण रुपमा त्याग्न खोजियो । बुद्धिजीवी वर्गले सुधारप्रति अनिच्छा देखाउन थाले । तर लु सुनको यो विचार अन्तर्राष्ट्रिय सम्बन्धको सन्दर्भमा चिनियाँ दृष्टिकोणसँग कुनै सरोकार राख्दैनथ्यो । संरा अमेरिकासँगको सम्बन्धको सन्दर्भमा त झन यसको गोरु बेचेको साइनो पनि छैन । आफ्नो भाषणमा उपराष्ट्रपति पेन्सले छिङ राजतन्त्रको अन्तिम वर्षहरूमा अमेरिकाले चीनलाई प्रदान गरेको मद्दतको पनि चर्चा गरे । उपकारकको भावमा उनले भने,“अमेरिकी मिसनरीहरूले आफ्ना विश्वास मात्र फैलाएका थिएनन् बरु ती मिसनरीहरूले चीनमा सबभन्दा पहिलो र सबभन्दा राम्रो विश्वविद्यालयहरू पनि स्थापना गरेका थिए ।” तर उनले सन् १९०० मा आठ उपनिवेशवादी देशहरूको मोर्चाले चीनको छिङ राजतन्त्रलाई कमजोर बनाउन थोपरिएको बक्सर सुरक्षा सम्झौतामा संरा अमेरिका पनि एउटा हस्ताक्षरकर्ता देश भएको कुरा भन्न बिर्सेका छन् । पश्चिमा साम्राज्यवाद र क्रिस्चियन मिसनरीका हस्तक्षेपविरुद्ध चिनियाँ जनताले बक्सर आन्दोलन गरेका थिए । चीनसँगको त्यो सम्झौताले चीनलाई अझ कमजोर बनायो र सुधारको लागि निःशस्त्र बनायो । त्यसैकारण छिङ राजतन्त्रको विनाशको दिन अझ नजिकियो । आत्मरक्षाको लागि छिङ राजतन्त्रसँग भएको वैधानिक अस्त्रबाट समेत वञ्चित बनाइदियो ।
चीनको समकालीन सैनिक आधुनिकीकरणबारे बोल्दै उपराष्ट्रपतिले चीनको शक्तिमा भइरहेको वृद्धिको आलोचना गरे । तर त्यहीबेला उनले एकै श्वासमा आफ्नो सरकारले सैनिक क्षेत्रमा गरिरहेको विकासबारे प्रशंसामा बोले । उनी भन्दै थिए, “हामी आज इतिहासमै सबभन्दा बलियो सैनिक शक्ति बनिरहेका छौं । यो वर्षको सुरूमा हाम्रा राष्ट्रपतिले रोनाल्ड रेगनको पालाभन्दा यताकै सबभन्दा बलियो राष्ट्रिय सुरक्षासम्बन्धी कानुनमा हस्ताक्षर गरेका छन् ।” उनले निकै गौरवका साथ यसले अमेरिकाको आणविक हतियारलाई अझ आधुनिकीकरण गर्ने कुरा बताए ।
पेन्सले आफ्नो भाषणमा सबभन्दा बढी चिनियाँ इतिहासको अपव्याख्या आफ्नो शब्दबाट होइन, ट्रम्पका शब्द, ‘बितेका २५ वर्षमा हामीले चीनको पुनर्निर्माण ग¥यौं’ बाट गरे । यो वर्ष चीनले सुधार र खुलापनको नीति अङ्गालेको चालिसौं वार्षिकोत्सव हो । त्यही नीतिले चीनलाई संसारकै दोस्रो ठूलो अर्थतन्त्र बनायो । चीन आज संसारकै सबभन्दा ठूलो उत्पादन गृह बनेको छ । ७० करोड जनतालाई चीनले गरिबीबाट उकासेको छ । उपराष्ट्रपति पेन्सका अनुसार त्यस्ता अधिकांश चीनले हासिल गरेका प्रगति अमेरिकी लगानीको परिणाम हो । इतिहासमा मिसनरीहरू चीनमा आएर चीनलाई जोगाएको भन्नु र अमेरिकीहरू आज चीनमा आएर चीनलाई जोगाएको हो भन्नु दुवै बेतुकका तर्क हुन् । कडा परिश्रम, प्रतिबद्धता र प्रयोगको चाहनाले नै चिनियाँ अर्थतन्त्रमा सफलता प्राप्त भएको हो । परिणाम के हो भने बितेका दुई दसकमा चीनले संसारको आर्थिक वृद्धिमा झण्डै तीस प्रतिशतको योगदान गरेको छ । साथै संसारलाई सन् २००८ यता अमेरिकी अर्थतन्त्रमा आएको सड्ढटको परिणामस्वरुप विश्व अर्थतन्त्रमा फैलिएको दुष्प्रभावबाट जोगाउन चीन सफल भएको छ ।
चिनियाँ जनता आफ्ना जनताको उत्तम जीवनको चाहनालाई पूरा गर्न अग्रसर भएर लागिरहेको छ । यसो गर्न चीनका नीति आफ्नो मौलिक परिस्थिति सुहाउँदो हुनुपर्दछ र चीनले आफ्नै मार्गमा अघि बढ्नुपर्दछ । आफ्नो मन्तव्यका वाक्यलाई उपराष्ट्रपति पेन्सले अपव्याख्या गर्दै गर्दा लु सुनले दिने सन्देश यस्तै हुनुपर्दछ । यो सन्देश लु सुनका पालामा जति बहुमूल्य थियो, आजको सन्दर्भमा पनि उत्तिकै सान्दर्भिक छ ।
चाइना डेली
नेपाली अनुवादः सुशिला

Leave a Reply

Your email address will not be published. Required fields are marked *