भर्खरै :

सरकारमा गएका नेता र मन्त्री बिग्रेका हुन्

काठमाडौं, २३ कार्तिक । नेकपाका एक अध्यक्ष प्रचण्डले सोमबार विराटनगरको एक कार्यक्रममा कर्मचारीहरू नसुध्रिएको, नेताहरूको दिमाग खराब गर्ने काम तिनै कर्मचारीहरूले गरेको, केही वर्षको सङ्गतपछि नेता नै कर्मचारीजस्तो भएर निस्केको, पुराना कर्मचारीतन्त्र बाधक रहेको, उनीहरू आन्दोलन दमन गर्ने भनी बसेको, तर अहिले कर्मचारीले नेतालाई सिकाउन थालेको आदि गुनासो गरे । प्रचण्डले भने –“छातीमा हात राखेर भन्नुपर्दा तपार्इँ हामी सबै (सरकारमा गएका नेताहरू) अलिकति बिग्रेका छौं । बिग्रेकाहरूको पार्टी एकता पनि हो, सप्रेका मात्रको होइन ।’’ विराटनगरपछि पोखराको कार्यक्रममा उनले भने –‘‘कर्मचारीकै असहयोगको कारण सरकारले भनेजस्तो काम गर्न सकेन ।’’
नेकपाका अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीले भदौ २२ गते कर्मचारीलाई दोब्बर काम गर्न निर्देशन दिँदै काम नगरी बस्ने कर्मचारीहरूलाई कडा कारबाही गर्ने चेतावनी दिएका थिए ।
निरङ्कुश र निर्दलीय पञ्चायतको अन्त्य र बहुदलीय प्रजातन्त्रको पुनःस्थापनासँगै निजामती कर्मचारीको पनि ट्रेड युनियन खुल्यो । सरकारमा गएका पार्टीहरू – नेका, एमाले, राप्रपाको निजामती कर्मचारी ट्रेड युनियन हावी भयो । एउटा पार्टीको सरकार हुँदा प्रमुख प्रतिपक्षी पार्टीको निजामती कर्मचारी ट्रेड युनियनले भाँजो हाल्ने काम ग¥यो । निजामती कर्मचारी ट्रेड युनियनमा लागेका कर्मचारीहरूले आफ्नो जिम्मेवारी र कर्तव्यबाट पन्छिएर सरूवा–बढुवामा सरकारलाई दबाब दिए । विभागीय मन्त्री पनि निजामती कर्मचारी ट्रेड युनियनको निर्देशनमा कर्मचारी सरूवा–बढुवा गर्न थाले । पन्ध्र–बीस वर्षको यो अभ्यासपछि सरकारमा गएका पार्टीहरू एक आधिकारिक ट्रेड युनियन गठन गर्ने कानुनी व्यवस्थामा लागे । अहिले मजदुर, निजामती कर्मचारी, शिक्षक, प्राध्यापक, संस्थान र प्राधिकरणको आधिकारिक ट्रेड युनियनमा नेका, एमाले र माओवादीको हावी छ । तीन वर्ष अगाडि भएको निजामती कर्मचारी ट्रेड युनियनको चुनावमा एमालेको ४४ प्रतिशत, नेकाको ३४ प्रतिशत र माओवादीको १२ प्रतिशत जितेको थियो । एमाले र माओवादीको पार्टी एकतापछि निजामती कर्मचारीमा नेकपाको झण्डै ८० प्रतिशत पुग्यो ।
यो यथार्थलाई अध्ययन गर्दा निजामती कर्मचारीलाई बिगार्ने एमाले, माओवादी र नेका नै हुन् । ओली र प्रचण्डले निजामती कर्मचारीलाई आफ्नो पार्टीको कार्यकर्ता बनाएर स्थानीय तह, प्रदेशसभा र प्रतिनिधिसभाको चुनावमा दुईतिहाइ बहुमत प्राप्त गरेका थिए ।
बहुदलीय व्यवस्थापछि नियुक्ति भएका कर्मचारी एमाले, माओवादी र नेकाकै प्रभावका बढी छन् । नेका र एमालेले बहुदल पुनःस्थापनाको तीस वर्षयता र माओवादीले गणतन्त्र स्थापनाको १२ वर्ष यता कर्मचारीलाई देश र जनताको इमानदारीपूर्वक सेवा गर्नेबारे कुनै प्रशिक्षण दिएनन् । उल्टो मन्त्री भएका तीनवटै पार्टीका नेताहरूले निजामती कर्मचारीसँग भ्रष्टाचार र कमिसन खाने पाठ सिके । गलत काम गर्ने कर्मचारीलाई हटाउने सरकारसँग दसवटा उपाय छन् तर हटाइएन ।
हो, सरकारमा गएका, मन्त्री प्रधानमन्त्री भएका र राजनीतिक नियुक्ति पाएका नेका, एमाले, माओवादीका अधिकांश नेताहरू बिग्रिए । कतिपय अवकाश प्राप्त कर्मचारीहरू नेका, एमाले र माओवादीबाटै संसद सदस्य र मन्त्री भए । यसकारण कर्मचारीहरू नसुध्रिएको र बिग्रेको होइन सरकारमा गएका नेता र मन्त्रीहरू बिग्रेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *