भर्खरै :

लेखक लोहनी ९१ औं वर्षमा

काठमाडौँ, २४ कार्तिक । लेखक, अर्थशास्त्री तथा कूटनीतिज्ञ गोविन्दप्रसाद लोहनी ९१ वर्ष पुग्नुभएको छ । ‘चिनी जनसङ्घर्षको इतिहास’, ‘यो हो सोभियत रूस’ आदि सरल भाषामा समाजवादी व्यवस्था र समाजवादी देशहरूबारे पुस्तक लेख्नुभएका लोहनी पाकिस्तान, इरान र टर्कीका लागि नेपालका राजदूत हुनुहुन्थ्यो । आर्थिक विषयमा विज्ञता राख्नुहुने उहाँले नेपालको कृषि क्षेत्रको विकाससम्बन्धी महत्वपूर्ण लेखहरू लेख्नुभएको छ । उहाँ राष्ट्रिय योजना आयोगका सदस्य तथा नेपाल राष्ट्रिय बैड्ढका संस्थापक सदस्य हुनुहुन्छ ।
प्रगतिवादी साहित्य समालोचनामा कलम चलाउनुहुने लोहनी र साहित्यकार ईश्वर बरालबीचको साहित्यिक बहस आज पनि समालोचनाको साहित्यको महत्वपूर्ण निधि मानिन्छ । तर दुई लेखकबीचको त्यो बहस भने पुस्तकाकारमा अझै प्रकाशित हुनसकेको छैन । “त्यो साहित्यसम्बन्धी बहस प्रकाशित गर्न पाए नेपाली साहित्यमा समालोचना साहित्यको अभाव पूर्ति गर्न महत्वपूर्ण उपलब्धि हुने थियो ।”, लामो समयदेखि लोहनीसँग सम्बन्धमा रहनुभएका नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें बरोबर भन्नुहुन्छ ।
लोहनीले समाजवादी देश र समाजवादी व्यवस्थाबारे २० को दसकमा लेख्नुभएका लेख र पुस्तकले कम्युनिष्ट र समाजवादबारे नेपाली समाजमा रहेका भ्रम चिर्न निकै ठूलो योगदान गरेका थिए । ९० वर्षको उमेरसम्म पनि कान नसुन्नेबाहेक अरू कुनै दीर्घरोगबाट उहाँ मुक्त हुनुहुन्छ । खानपिनमा निकै नियन्त्रण गरेर खानुहुने लोहनी हाल आफ्ना कान्छा छोरा लेखक कपिल लोहनीका साथ काठमाडांै घट्टेकुलोमा बस्दै आउनुभएको छ । पाको उमेरमा पनि उहाँले अध्ययनको बानी भने छोड्नुभएको छैन । निकै कममात्र बोल्नुहुने लोहनीको पुस्तक ‘गोविन्दप्रसाद लोहनीका रचना’ हालै नेपाल प्रज्ञा प्रतिष्ठानले प्रकाशन गरेको छ । आफ्नो पिताबारे छोरा कपिल लोहनीले लेख्नुभएको छ, “आफ्नो सम्पूर्ण समय अध्ययन र लेखनमा बिताउनुहुने मेरा पिताजी गोविन्दप्रसाद लोहनी कहिल्यै पनि सत्ता, शक्ति, पद तथा धन, सम्पत्तिको पछाडि दौड्नुभएको मलाई थाहा छैन । छलकपट, डाहा, उन्माद, अहम्, झैझगडा, लोभ, लालच, पाप तथा अस्वस्थ प्रतिस्पर्धामा उहाँ कहिल्यै रूमल्लिनुभएको मलाई याद छैन । धन नभए पनि अरूलाई सकेसम्म ज्ञान बाँड्न पाए हर्षित हुने उहाँ सङ्गीत श्रवणका पारखी हुनुहुन्छ । स्वादको लागि भन्दा पनि जिउनको निम्ति आहार लिने वहाँले खाना थपेको वा स्वादको बयान गरेको पनि मलाई थाहा छैन । उहाँको स्वस्थताको राज सायद यही नै होला ।”
शनिबार उहाँको निवासमा जन्मदिनको शुभकामना दिन नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंलगायतका प्रतिष्ठित व्यक्तित्वहरू पुग्नुभएको थियो । अध्यक्ष बिजुक्छेंले लोहनीलाई भक्तपुरको जुजु धौको टीका लगाइदिई सुस्वास्थ्य र दीर्घजीवनको कामना गर्नुभएको थियो । उहाँले लोहनीलाई पार्टीका विभिन्न प्रकाशन उपहार प्रदान गर्नुभएको थियो ।
लोहनीका तीन छोरा र एक जना छोरी हुनुहुन्छ । उहाँकी श्रीमती रूचिला बाला देवी लोहनीको निधन भइसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *