भर्खरै :

छापा चित्रप्रति युवाको आकर्षण बढ्दो

काठमाडौं, ६ मंसिर । पछिल्लो समय प्रिन्ट मेकिङ (छापा चित्र) प्रति युवा पुस्ताको आकर्षण बढेको पाइएको छ ।
प्रिन्ट मेकिङ नेपालले बबरमहलस्थित नेपाल कला परिषद्मा आयोजना गरेको दोस्रो छापा चित्र कार्यशालामा युवा वर्गको सक्रियतामा स्वदेशी संस्कृति, प्रकृति, सामाजका विविध पक्षलाई समेटिएको छ । कला सिर्जनाको यो विधिलाई प्राचीनशैलीका रूपमा लिइएको छ ।
यस प्रविधिबाट विकास गरिएका सिर्जना तथा चित्रको स्वदेश तथा विदेशमा माग बढ्दै गएका कारण नेपालमा यस क्षेत्रमा काम गर्ने कलाकारको सङ्ख्या पछिल्लो समय बढ्दै गइरहेको र नयाँ पुस्ताका कलाकार यसप्रति आकर्षित हुन थालेका हुन् । नेपालका २३ र भारतका दुई कलाकार कल्पना गरेका विभिन्न चित्रलाई साँचो (ब्लक) बनाएर त्यसबाट आवश्यकताअनुसार चित्र सिर्जना गर्न व्यस्त छन् । यस विधालाई इचिङ प्रविधिसमेत भनिन्छ ।
यही मंसिर २ गतेदेखि ९ गतेसम्म जारी कार्यशालामा उमाशङ्कर साह, डा. सीमा शर्मा, अनिता खनाल, विपना महर्जन, सौरगङ्गा दर्शनधारी, सन्तोष सिग्देललगायत कलाकारले उक्त कार्यशालामा राम्रा र आकर्षक छापा चित्र निर्माण गरिरहनुभएको छ । आयोजक संस्थाका उपाध्यक्ष कलाकार सौरगङ्गा दर्शनधारीले यस अवधिमा कलाकारले विकास गरेका करीब १०० चित्रलाई प्रदर्शनीमा राखी बिक्रीसमेत गरिने जानकारी दिनुभयो । करीब चार दशक अगाडिसम्म यस विधालाई कलाकारले व्यावसायिकरूपमा अगाडि बढाउन सकेका थिएनन् । सन् १९८१ मा उर्मिला उपाध्याय ‘गर्ग’ले यस विषयमा विदेशबाट उच्च तहको अध्ययन गरेर आएपछि क्रमिकरूपमा यस प्रविधिको विकास भएको पाइन्छ ।
यस विधामा काम गर्नका लागि जिङ्क प्लेट र तेजाबको बारम्बार प्रयोग गरिरहनुपर्ने हुँदा केही कठिनाइ आउने गर्दछ । कलाप्रेमीको चासो र जिज्ञासा यस विधाप्रति बढ्दै जान थालेपछि उत्पादनका साथै जनशक्ति वृद्धि हुने क्रममा रहेको अर्का कलाकार विपना महर्जनले बताउनुभयो ।
प्राचीनकालमा छापा चित्रअन्तर्गत विभिन्न ढुङ्गा तथा काठलगायत वस्तुमा खोपेर कला सिर्जना गर्ने गरिन्थ्यो । अहिले विकास भएका विभिन्न प्रविधिलाई समेत उपयोग गरी कलाको शैलीमा केही परिवर्तन गरेर आधुनिक बनाइएको छ । उक्त कार्यशाला हेर्न आउनुभएका वरिष्ठ कलाकार जीवन राजोपाध्यायले मानिसको भावना अभिव्यक्त गर्ने सशक्त माध्यम कला भएको बताउँदै यसलाई समयसापेक्ष प्रविधिको उपयोग गर्नुपर्नेमा जोड दिनुभयो ।
महँगो यन्त्र, विभिन्न रसायनसँग कलाकारले हातेमालो गर्नुपर्ने र त्यसबाट आउनसक्ने सम्भावित जोखिमका कारण स्वदेशमा यो विधाले तीव्रगति लिन नसकेको भए पनि हाल युवा पुस्ताका कलाकारको सक्रियतामा ढुङ्गा, काठमा कुँद्ने परम्परादेखि लिथोग्राफी हँुदै डिजिटल प्रिन्टसम्म आइपुगेको छ । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानमा जापानले सहयोगस्वरूप उपलब्ध गराएको प्रिन्ट मेकिङ यन्त्र लामो समयसम्म प्रयोगविहीन अवस्थामा थियो । प्रतिष्ठानको गठन भएपछि यन्त्रको प्रयोगमा प्रिन्ट मेकिङ आर्ट स्टुडियोसमेत स्थापना गरी समय–समयमा कार्यशालासमेत हुँदै आएको थियो । विसं २०७२ को भूकम्पपछि प्रतिष्ठानले कार्यक्रम सञ्चालन गर्न सकेको छैन । एउटा यन्त्रलाई करीब रु. १० लाख पर्दछ । एउटै आकृतिको चित्र धेरै प्लेटमा निकाल्न सकिने हुँदा ठूलो मात्रामा कलाको विकास गर्दा यो क्यानभास चित्रको तुलनामा सस्तो हुन जान्छ ।(रासस) 

Leave a Reply

Your email address will not be published. Required fields are marked *