वरिष्ठ अधिवक्ताहरूको बहस नोटतर्फ एक नजर
- मंसिर २६, २०८१
– काशीराम शर्मा
बाँके, २४ मंसिर । बर्दियाकी तुलारानी थारूको बच्चा नौ महिनाको भयो । स्वास्थ्य संस्थामा जाँच गराउँदा उमेरअनुसार तौल कम भएको स्वास्थ्यकर्मीले बताएपछि उहाँलाई निकै तनाव भयो । गाउँकै एकजना छिमेकीले भेरी अञ्चल अस्पतालमा रहेको पोषण पुनःस्थापना गृह वा जिल्ला जनस्वास्थ्यले सञ्चालन गरेको उपचार केन्द्रमा लग्न सुझाए । उहाँले त्यसै गर्नुभयो ।
तुलारानी बच्चा लिएर भेरी अञ्चल अस्पतालको पुनःस्थापना गृहमा पुग्नुभयो । त्यहाँ बच्चालाई उपचारात्मक खाना दिन सुरू गरियो । त्यस्तो खानाले बच्चाको तौल बढ्न थालेसँगै तुलारानीले बच्चालाई पर्याप्त खाना नपुगेको थाहा पाउनुभयो । तुलारानीले भन्नुभयो – ‘‘धेरैजसो घरकै काममा ध्यान जाने । पोषणका बारेमा खासै जानकारी छैन । बच्चालाई समस्या भएको रहेछ, बल्ल थाहा पाएँ ।’’
बाँके बैजनाथ गाउँपालिकाकी दुर्गा कार्कीको बच्चा ११ महिनाको भयो । बच्चा निकै दुब्लो र ख्याउटे भएपछि दुर्गालाई चिन्ता भयो । बच्चालाई जाँचका लागि कोहलपुर ल्याएकी उहाँलाई स्वास्थ्यकर्मीले कुपोषण भएको जानकारी दिए । उहाँ पनि शिशुलाई लिएर पोषण पुनःस्थापना केन्द्रमा पुग्नुभयो ।
उहाँले भन्नुभयो – ‘‘बच्चालाई प्रशस्त खानेकुरा खुवाइरहेकी थिएँ तर, त्यसरी खुवाएर हुँदोरहेनछ । बच्चा ख्याउटे र दुब्लो भएपछि मात्रै चाल पाएँ ।’’ घरैमा भएको अन्नलाई मिलाएर सातु बनाई खुवाएमा त्यसले स्वास्थ्य सुध्रिने ज्ञान उहाँले पाउनुभयो ।
कसैले खाना पर्याप्त पाउँदैनन्, कसैले खाना पाए पनि सफा र स्वच्छ हुँदैन । उहाँले भन्नुभयो – ‘‘शक्ति दिने, सुरक्षा गर्नेे, वृद्धि विकास गर्ने खानाहरू एकै पटकमा खाने चलन नभएकोले कुपोषण हट्न सकेको छैन ।’’ समय–समयमा नखुवाउने, बच्चाले खान मानेन भनेर नखुवाउने गरेमा वा बारम्बार निमोनिया, झाडापखालाजस्ता रोग लाग्ने गरेमा पनि कुपोषण हुन्छ ।
भेरी अञ्चल अस्पतालको पुनःस्थापना गृहमा एउटा र जनस्वास्थ्यले १२ स्थानबाट उपचारात्मक खानाको सेवा दिइरहेका छन् । बच्चालाई कुपोषण भएपछि बाँके र आसपासका महिला भेरी अस्पतालमा रहेको पोषण पुनःस्थापना गृह र जिल्ला जनस्वास्थ्यले सञ्चालन गरेको उपचार केन्द्रमा पुग्छन् । कुपोषण यहाँको मात्रै नभएर मुलुककै प्रमुख समस्या रहेको स्वास्थ्यकर्मीहरू बताउँछन् ।
आर्थिक वर्ष २०७४÷७५ को ६ महिनाको अवधिमा बाँकेका आठ वटै स्थानीय तहमा २७९ जना शीघ्र कुपोषित बालबालिका फेला परे । उनीहरूले स्थानीय तहमै उपचार गराइरहेका छन् । गत आर्थिक वर्षमा नेपालगञ्जको भेरी अञ्चल अस्पतालले सञ्चालन गरेको पोषण पुनःस्थापन गृहबाट बाँकेमा मात्र १०० जना कुपोषित बालबालिकाले उपचार पाएका थिए ।
यो वर्षभरि जिल्लाका अस्पताल, बर्थिङ सेन्टर र घरमा गरी १८ हजार ४४५ जना महिला सुत्केरी भए । हरेक महिलाले औसत एकजनामात्र बच्चा जन्माएको तथ्यलाई आधार मान्दा र कुपोषणको उपचार गराइरहेका बालबालिकाको तथ्याङ्क विश्लेषण गर्दा दुई प्रतिशत बालबालिका कुपोषणको शिकार भइरहेको पाइन्छ ।
भेरी अञ्चल अस्पतालमा ७५ र नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगञ्ज र कोहलपुरमा १७३ जना गरी २३० जना २८ दिनमुनिका बालबालिकाको मृत्यु भएको छ । मृत्युको कारणमध्ये एक कुपोषण पनि रहेको अस्पतालले जनाएको छ । उमेरअनुसारको तौल र तौलअनुसारको उमेर नहुनुलाई पनि कुपोषणको एउटा कारण मानिन्छ ।
जिल्ला जनस्वास्थ्य कार्यालयका परिवार नियोजन सुपरीवेक्षक वसन्त गैरेका अनुसार गत वर्ष तौल लिइएका १२ हजार ४७२ बालबालिकामध्ये १ हजार ११ जना कम तौलका थिए । तिनलाई सामान्य, मध्यम र कम तौल तीन वर्गमा विभाजन गर्दा ४२३ जनाको निकै कम तौल र ५८८ जनाको मध्यम तौल पाइएको थियो । कम तौल हुने सबै बालबालिका कुपोषणको शिकार भएका हुन् ।
जन्मेका कुल बालबालिकामा तौल नपुगेका ७ प्रतिशतमध्ये अधिकांश कुपोषणको शिकार भएको आँकलन गर्न सकिन्छ । यी तथ्यका आधारमा बाँकेमा ठूलो सङ्ख्यामा बालबालिका कुपोषणको शिकार भएको निष्कर्ष निकाल्न सकिन्छ । खासगरी मधेसी, मुस्लिम र थारू समुदायमा यो समस्या केही बढी देखिएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेको तथ्याङ्कअनुसार कुपोषणकै कारण मृत्यु भने एकजनाको मात्रै भएको छ ।
कुपोषण न्यूनीकरणका लागि बाँके जिल्लामा सरकारले सामाजिक सङ्घ÷संस्थासँगैको साझेदारीमा एकीकृत पोषण कार्यक्रम सुआहारा सञ्चालन गरिरहेको छ । यहाँ कुपोषित बालबालिकाको निःशुल्क उपचारको व्यवस्था मिलाइएको छ तर, स्थानीय बासिन्दा भने आफ्ना बालबालिकाको नियमित उपचार गर्न मान्दैनन् । फलतः सुआहारा कार्यक्रम प्रभावहीनजस्तै बनेको छ ।
जिल्ला जनस्वास्थ्य कार्यालय र भेरी अञ्चल अस्पतालको पोषण पुनःस्थापना गृह नेपालगञ्जको तथ्याङ्कअनुसार हाल १ हजार ४०४ जना बालबालिकाको उपचार भइरहेको छ । कुपोषण बहिरङ उपचार केन्द्र (ओटीसी) रहेको भेरी अञ्चल अस्पतालको पोषण पुनःस्थापना गृहमा सबैभन्दा धेरै १३८ बालबालिकाको उपचार भइरहेको छ । त्यसैगरी, बेलहरी स्वास्थ्य चौकीमा ७८ जना र बेतहनी स्वास्थ्य चौकीमा ४४ जना बालबालिकाको उपचार भइरहेको छ ।
कुपोषण हटाउन जनचेतना फैलाउन आवश्यक रहेको अस्पतालका चिकित्सक डा. कुलदीप गोइतले बताउनुभयो । उहाँले भन्नुभयोे – ‘‘जसरी खोपबारे जानकारी गराइयो, सबैले लगाउँछन्, त्यसरी नै पोसिलो आहारको बारेमा जनचेतना फैलाउनुपर्छ ।’’ बजारमा पाइने तयारी खाना नखुवाउने, मकै, भटमास, गहुँ, चनाजस्ता गेडागुडीको सर्वोत्तम लिटो, दूध र फलफूललाई मात्रा मिलाएर खुवाउने गरे कुपोषण हटाउन सकिन्छ ।
Leave a Reply