भर्खरै :

बेलायती प्रधानमन्त्री युरोप भ्रमणमा

ब्रसेल्स, २५ मंसिर (एएफपी) । बेलायतकी प्रधानमन्त्री थेरेसा मेले मङ्गलबार युरोपेली युनियनबाट बेलायतको बहिर्गमन
(ब्रेक्जिट) बारेमा पुनः छलफल गर्न युरोपेली नेतासँग भेटघाटका लागि ब्रसेल्सतर्फ लाग्नुभएको छ । उहाँले ब्रेक्जिट योजनामा युरोपेली नेताहरूको समर्थन खोज्नुहुनेछ ।
युरोपेली आयोगका अध्यक्ष जाँ–क्लाउड जन्करले ब्रेक्जिटका बारेमा अझै छलफल बाँकी रहेकोमा आश्चर्य व्यक्त गर्नुभयो । “म आश्चर्यचकित भएको छु किनभने हामीले नोभेम्बर २५ मै यस बारेमा सम्झौता गरिसकेका छौं,” उहाँले भन्नुभयो ।
“मैले आज साँझ बेलायती प्रधानमन्त्रीलाई भेट्दै छु र मैले भन्ने कुरा के छ भने हामीले यसअघि गरेको सम्झौता सबैभन्दा राम्रो थियो र यो नै उत्तम हो,” जन्करले बताउनुभयो ।
प्रधानमन्त्री मेले युरोपेली परिषद्का प्रमुख डोनाल्ड टस्कसँग पनि भेट्नुहुनेछ । उहाँहरूबीच बिहीबार आपतकालीन ब्रेक्जिट वार्ता गर्ने गरी तय भएको छ । टस्कको कार्यालयले बेलायती प्रधानमन्त्री मे दी हेगको भ्रमणपश्चात् ब्रसेल्स आउनुहुने जनाएको छ ।
उहाँले नेदरल्यान्ड्सका प्रधानमन्त्री मार्क रुट र जर्मन चान्सलर एन्जेला मर्केलसँग बर्लिनमा भेटघाट गर्नुहुनेछ ।
सोमबार, ब्रेक्जिट सम्झौतालाई बेलायती संसदबाट पारित गर्ने कार्यक्रम प्रधानमन्त्री मेले हाल स्थगित गर्नुभएको छ । उहाँले ब्रेक्जिटसम्बन्धी सम्झौताका बारेमा संसदमा मतदान गर्नुअघि युरोपेली नेताको समर्थन लिन खोज्नुभएको छ । तथापि, युरोपेली युनियनसँग यसअघि नै ब्रेक्जिटबारे सम्झौता भइसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *