भर्खरै :

सार्वजनिक जग्गा र परम्परागत स्थलहरू जोगाउन जरूरी

– प्रतिभा महर्जन, काठमाडौँ
केही दिनअघि काठमाडौँको चावहिलको पिँगद्य र आसपासको क्षेत्रमा अवस्थित घाटमा एक रैथाने महिलाको दाह संस्कार गर्न लाग्दा मलामी आएका र घाट वरपर घर भएकाहरूबीच वादविवाद, भनाभन, चर्काचर्की र मुठभेदको स्थिति निम्तियो ।
त्यस घटनाले घाट जोगाउने कि नजोगाउने र वरपरको बस्तीमा दुर्गन्ध फैलिनबाट रोक्ने भन्ने बहस निम्ताएको त्यस घटनाबाट रैथाने नेवार र पछि घर बनाउन आएका भनी साम्प्रदायिक विभाजनसमेत ल्याएको छ । यो दुःखद कुरा हो । काठमाडौँको सार्वजनिक जग्गा र परम्परागत स्थलहरू जोगाउन सरकार र स्थानीय जनताको समेत चासो नहुँदा जग्गा माफियाले त्यस्ता जग्गा नम्बरी बनाएर बिक्री गरेका हुन् । जग्गा दलालको फन्दामा परी त्यस्ता सार्वजनिक स्थलको जग्गामा पछिबाट बस्न आएकाले घर बनाउन बाध्य भएका हुन् ।
सरकार र स्थानीय निकाय (महानगरपालिका) ले समयमै घाट वा द्विप वरपर घर बनाउन नरोकेका कारण, सहरी योजना बनाएका कारण आजको यो समस्या आएको हो । मानिस जन्मेपछि मर्नैपर्छ । मानिसको मृत्यु संस्कार पनि चलिआएकै हो । मृत्यु संस्कार रोक्न वा बदल्न भन्न सकिन्न ।
यदि सार्वजनिक र परम्परागत स्थलहरू जोगाउनमा ध्यान नदिने हो भने चाबहिलमा मात्र होइन, काठमाडौँका धेरै स्थानमा र देशका अरू सहरहरूमा पनि त्यस्ता समस्या आउन सक्छ । सार्वजनिक र परम्परागत स्थलको जग्गा किर्ते गरी निजी बनाउने र बेचबिखन गर्नेहरूमाथि कारबाही हुनुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *