पेइचिङ रिभ्यू – चीनमा सम्भावना र चुनौतीका केही कुरा
- आश्विन २८, २०८१
नीरज
पाकिस्तानको कुनै सहरबाट भारतको राजधानी नयाँदिल्लीमा अवस्थित प्रमुख सुरक्षा तथा प्रशासनिक निकाय–साउथ ब्लक र नर्थ ब्लकमाथि आणविक हमला भए त्यसले भौतिक रुपमा कस्तो परिणाम निम्त्याउला ?
सन् १९९८ मे ११ का दिन भारतले आफ्नो इतिहासको दोस्रोपटक सफल आणविक परीक्षण ग¥यो । त्यत्तिबेला भारतमा अटलबिहारी बाजपेयी नेतृत्वको भारतीय जनता पार्टीको सरकार थियो । सफल आणविक परीक्षणले भाजपाका नेताहरूलाई मात्र खुसी बनाएन, केही भारतीय जनता आफ्नो देश पनि आणविक शक्ति बनेकोमा बाटोमा लड्डु बाँड्दै हिंडे । प्रतिपक्ष दल काङ्ग्रेस आईले पनि चर्को स्वरमा आणविक परीक्षणको विरोध गर्नसक्ने अवस्था थिएन किनभने इन्दिरा गान्धी नेतृत्वको काङ्ग्रेस आई सरकारले नै भारतको इतिहासमा पहिलोपटक आणविक परीक्षण गरेको थियो– सन् १९७४ मा । भारत आणविक हतियार बनेकोमा खुसी हुने मानिसले तर्क गरे–अब संसारमा आणविक एकाधिकार तोडिएको छ । पाँच वटा देशमा सीमित आणविक हतियारमा अब भारत पनि थपिएको छ । आणविक क्लव प्रजातान्त्रिक बनेको छ ।
तर भारतले सफल आणविक परीक्षण गरेको दुई सातापछि उसले लामो समयदेखि दुश्मनी पाल्दै आएको पाकिस्तानले पनि अर्को उस्तै आणविक परीक्षण ग¥यो । लड्डुको स्वाद मुखबाट नसकिंदै आएको यो समाचारले भारतीय शासक वर्गको निद्रा खल्बलाइदियो । भारतीय मूलका अमेरिकी लेखक अमिताभ घोसले यही परिदृश्यमा आधारित भएर लेखेको पुस्तक ‘काउनडाउन’ सन् १९९९ मा प्रकाशित भयो ।
मसिनो पुस्तकमा घोषले मूलतः चार विषयमा चर्चा गरेका छन्ः पहिलो, आणविक परीक्षणले परीक्षणस्थल वरपरका मानव बस्तीमा पारिरहेको प्रभाव । लेखकले आणविक परीक्षण गरिएको भारतको राजस्थानको पोकरनको स्थलगत अध्ययन गरी परीक्षणले पारेको प्रभावबारे लेखेका छन् । सन् १९७४ मा सोही स्थानमा गरिएको आणविक परीक्षणको दुष्प्रभाव भोगेका केही स्थानीयलाई लेखकले भेटे । आणविक परीक्षणपछिका वर्ष त्यहाँ आउने पाहुनाले स्थानीय बासिन्दाले पिउने गरेको पानी पिउन मान्दैनथे । किनभने आणविक विकिरणले त्यहाँको पानी पिउन योग्य थिएन । धेरै मानिस क्यान्सरजस्तो प्राणघातक रोगले मारिएका थिए । धेरै आमाहरूको गर्भबाट विखलाङ्ग सन्तान जन्मेका थिए । सत्तामा बस्ने नेताहरूले आफ्नो राजनीतिक स्वार्थ फत्ते गर्न गरिएको आणविक परीक्षणले वास्तवमा स्थानीय जनतालाई बिस्मात्सिवाय केही दिएन । सरकारले दिएको क्षतिपूर्ति उनीहरूले भोग्नुपरेको कष्टसाध्य जीवनभन्दा निकै कम थियो ।
दोस्रो, पाकिस्तान र भारतको दुश्मनीका कारण राज्यले अनावश्यक रुपमा बेहोरिरहेको अनुत्पादक लगानी । सन् १९९८ मा भारतका रक्षामन्त्री थिए, जर्ज फर्नान्डेज । आफूलाई समाजवादी विचारका पक्षधर भने पनि फर्नान्डेज हिन्दुवादी विचारका पक्षधर भाजपाको सरकारका रक्षामन्त्री थिए । तिनै रक्षामन्त्रीसँग लेखक भारतनियन्त्रित कास्मिर र काराकोरम क्षेत्रमा रहेका भारतीय सैनिक चौकीहरूको स्थलगत अवलोकनमा पुग्छन् । बा¥है महिना हिउँ पर्ने निर्जन शिखरमाथि हेलिकप्टरबाट खाद्य र बन्दोबस्तको सामग्री ओसारेर बसालिएका सैनिक चौकीको औचित्य र त्यहाँ भइरहेको अनावश्यक लगानीबारे लेखकले चर्चा गरेका छन् । काराकोरम क्षेत्रमा भारतले राखेका चौकीहरूको लागि मात्र प्रतिदिन २ करोड अमेरिकी डलर खर्च भइरहेको तथ्याड्ढ झस्काउने खालको छ । सन् १९९२ मा भारत र पाकिस्तानबीच ती क्षेत्रमा दुवै पक्ष नबस्ने सम्झौता भएको थियो । तर भारतले सम्झौता उल्लङ्घन गर्दा आज दुवै देशले अनावश्यक लगानी गर्नुपरेको अवस्था छ । ती सैनिक चौकीको सञ्चालन पाकिस्तानको तुलनामा भारतको लागि थप कष्टसाध्य र महँगो बनेको भारतीय सैनिक अधिकारी भन्छन् ।
लेखकले काराकोरममा तैनाथ सैनिक जवानहरूलाई सोध्छन्,“त्यो बरफको पहाडमा बस्दा के तपाईंलाई कुनै पनि देशको लक्ष्य पूरा भइरहेको अनुभव हुन्छ ?”
एक जना सैनिक हाँसेर भन्छ, “हेर्नोस्, जब म पनि हिउँवर्षा सामना गर्दै त्यहाँको उकालो चढ्दै थिएँ, मेरो मनमा यही प्रश्न खेलिरहेको थियो ।”
अर्को सैनिक जवानले तत्कालै भन्यो, “तर हामी त्यहाँ बस्नैपर्छ ।” “किन ?”
“राष्ट्रिय प्रतिष्ठाको लागि–त्यो बिन्दु भारत, पाकिस्तान र चीनको मिलनबिन्दु छ । जुनसुकै मूल्यमा पनि हामी त्यहाँ बस्नैपर्छ ।”
जर्ज फर्नान्डेज स्वयम् पनि त्यस्तो सैनिक तैनाथीलाई अनावश्यक खर्च भन्छन् । राजनीतिक दलहरूलाई उनी पनि दोष लगाउँछन् । तर कसका कारणले त्यहाँ पैसाको अनुत्पादक वर्षा गरिंदै छ, कसैसँग उत्तर छैन ।
तेस्रो, आणविक परीक्षणबारे पाकिस्तानी जनताको अभिमत । गएको फेब्रुअरीमा निधन भएकी पाकिस्तानकी मानव अधिकारवादी वकिल आस्मा जाहागिरलाई घोषले लाहौरमा भेट्छन् । उनीसँगको लामो भेटघाटमा पाकिस्तान, भारत–पाकिस्तान, आणविक कार्यक्रमलगायत थुप्रै विषयमा कुराकानी हुन्छ । आणविक परीक्षणको मोहपासमा दुवै भारत र पाकिस्तान फसेको आस्माको भनाइ छ । पाकिस्तानका मुसलिम धार्मिक अतिवादी र भारतका हिन्दू अतिवादी भाजपाबीच भिन्नता नभएको उनको विश्लेषणबारे चर्चा गरिएको छ । ठूलो देश, विशेषतः संरा अमेरिका र पश्चिमा देशहरूको छायाँमा आफ्नो नीति बनाउने पाकिस्तानी रणनीति र दक्षिण एसियाली देशको रुपमा भन्दा मध्यपूर्वी एसियाली देशको रुपमा आफूलाई चिनाउन चाहने पाकिस्तानी सोचबारे आस्माले आफ्नो बुझाई लेखकलाई बताएकी छिन् ।
चौथो विषय ज्यादै रोचक र घटलाग्दो छ । भारत र पाकिस्तान दुवै आणविक शक्ति बनिसकेको अवस्थामा के उनीहरूले आफूसँग भएको हतियार एकअर्कोविरुद्ध प्रयोग गर्लान् ? वास्तवमा दुवै देशको लागि आणविक हतियार प्रयोगको लागि भन्दा पनि अन्तर्राष्ट्रिय मञ्चमा आफ्नो प्रतिष्ठा र सत्तासीनको राजनीतिक लक्ष्य पूर्तिको लागि भएको तर्क गर्ने एकथरी मानिस पनि नभएका होइनन् । यो दृष्टिकोणले आणविक परीक्षणलाई हतियारको रुपमा भन्दा पनि राजनीतिक प्रतिष्ठाको माध्यमको रुपमा लिइएको देखिन्छ ।
तर पटक–पटक युद्ध गरिसकेका र हरेक दिनजसो दुई देशका सैनिकबीच गोली हानाहान भइरहेका शत्रुतापूर्ण सम्बन्ध भएका देशहरू भारत र पाकिस्तानले फेरि आणविक हतियार एकअर्काविरुद्ध कहिल्यै प्रयोग नै नगर्ला भनेर कसरी ग्यारेन्टी गर्न सकिएला ? भविष्यको गर्भभित्र आणविक हतियार प्रयोगको सम्भावनालाई अस्वीकार नै गर्नसक्ने आधार पनि छैन । कदाचित पाकिस्तानले भारतको प्रशासकीय र सुरक्षा केन्द्र नर्थ र साउथ ब्लकलाई लक्षित गरी आणविक हतियार प्रहार गरे त्यसले भौतिक रुपमा कहाँ कहाँ कसरी प्रत्यक्ष कस्तो प्रभाव पार्ला भन्ने विषयमा लेखकको चासो र त्यसको सम्बन्धित विषय विज्ञसँग मिलेर गरेको हिसाब किताब भने रोचक र घटलाग्दो छ । आणविक हमलाले जापानी सहरहरू हिरोसिमा र नागासीमा पारेका प्रभाव र त्यसको आधारमा भारतको नयाँ दिल्ली र कोलकोत्तामा पार्नसक्ने प्रभावबारे घोषले विश्लेषण गर्ने प्रयास गरेका छन् । नेपालको हिमालमा त्यसको कस्तो प्रभाव पार्न सक्ला भनी उनले नेपालका पत्रकार कुन्द दीक्षितसँग कुरा गरेका छन् । “नेपालमा विकिरणको वर्षा हुनेछ ।”, दीक्षितले भने ।
“नेपालका हिमालहरू पानीको मुहानभन्दा पनि विकिरणको स्रोतमा परिणत हुनेछ ।”, उनले भने ।
भारत र पाकिस्तानको आजको अवस्था सतही रुपमा हेर्दा केही अनुहार परिणत भएको देखिएको छ । अटलबिहारी बाजपेयीको ठाउँ आज उनकै पार्टीका नरेन्द्र मोदीले लिएका छन्, नवाज सरिफको ठाउँ आज इमरान खानले लिएका छन् । तिनका भाषणमा प्रयोग हुने केही शब्दमा केही भिन्नता होला, तर दुवै देशको सत्तामा उही वर्गकै प्रधानता छ । हिन्दू अतिवादी मोदी सरकार बने यता भारतीय शासक वर्गमा सैनिक शक्ति बन्ने अभिलाषा अझ पलाएको छ । संरा अमेरिकी सेनासँग भारतीय सेनाले गरेका सम्झौताले उनीहरूको त्यो इच्छाशक्ति प्रतिबिम्बित भएको देखिन्छ । पाकिस्तानको राजनीति अझै पनि उत्तिकै तरल छ । इमरान खानले झिनो मात्रामा जगाएको आशा कतिबेला तासको घर जत्तिकै भत्किने हो भन्न गा¥हो छ । पाकिस्तान विदेशी शक्ति देशको सबभन्दा मलिलो क्रिडास्थल पनि हो । त्यसकारण सुरक्षा र हतियारको सन्दर्भमा अमिताभले उठाएका कतिपय मुद्दा अझ पनि भिन्न कोणबाट उत्तिकै सान्दर्भिक छन् । दक्षिण एसियाली राजनीतिक र सुरक्षा नीतिबारे बुझ्न यो सानो पुस्तक उपयोगी छ ।
(‘काउन्टडाउन’ का लेखक अमिताभ घोषलाई शुक्रबार भारतकै सम्मानित साहित्य पुरस्कार ‘ज्ञानपीठ पुरस्कार’ बाट सम्मानित गर्ने निर्णय भएको छ । सं.)
Leave a Reply