भर्खरै :

ख्वप मावि, ख्वप कलेज र शारदाका शिक्षक–कर्मचारीको वार्षिक भेटघाट

भक्तपुर, २८ पुस । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें (रोहित) को प्रमुख आतिथ्यमा ख्वप मावि, ख्वप कलेज तथा शारदा क्याम्पसमा कार्यरत शिक्षक तथा कर्मचारीहरूको वार्षिक भेटघाट कार्यक्रम शनिबार सम्पन्न भयो ।
कार्यक्रममा प्रमुख अतिथि बिजुक्छेंले समाजवादी देशहरूमा बाहेक विश्वका अन्य देशहरूमा अशान्ति र झै–झगडा भइरहेको बताउनुभयो ।
चीनको साथ र सहयोगले अफ्रिकी देशहरू नयाँ ढङ्गले अगाडि बढिरहेको चर्चा गर्दै उहाँले विश्वको परिस्थितिबारे विद्यार्थीहरूलाई बताउनु आवश्यक रहेको उल्लेख गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘चीनसँगको व्यापार युद्धमा हारेको कारण संरा अमेरिकाले चीनलाई युद्धमा धकेल्न खोज्दैछ । भारतलाई अगाडि सारेर अमेरिका एसियामा युद्ध थोप्ने योजना बुन्दैछ ।’’
‘‘एसिया–प्रशान्त क्षेत्रको एकताको नाममा संरा अमेरिका हिन्द महासागर वरपरका देशमा युद्ध भड्काउन खोज्दैछ’’, उहाँले भन्नुभयो ।
सरकारमा रहेका नेताहरूमा इतिहास, भूगोल र परराष्ट्र मामलाबारे जानकारी नभएकोले दक्षिण कोरियाको हतियार कारोबार गर्ने संस्था यूपीएफले सरकारी नेताहरूलाई फसाएको उल्लेख गर्दै अध्यक्ष बिजुक्छेंले परराष्ट्र मामलामा जानकार दक्ष व्यक्तिहरूलाई राजदूत नियुक्ति गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
नयाँ पुस्तालाई हरेक क्षेत्रमा दक्ष बनाउन शिक्षकहरूले मेहनत गनुपर्नेमा उहाँले जोड दिनुभयो ।
नेमकिपाका सचिव एवं सङ्घीय सांसद प्रेम सुवालले भन्नुभयो, ‘‘शिक्षामन्त्रीले सार्वजनिक शिक्षा सुधारलाई प्राथमिकता राख्ने बताए तर केही दिनअघि त्रिभुवन विश्वविद्यालयका ७०–८० हजार दीक्षित विद्यार्थीमध्ये ११ हजारले पनि रोजगारी नपाएको, एक कक्षामा भर्ना भएका १०० जना विद्यार्थीमध्ये ७२ जना एसईई नपुग्ने, ११ र १२ कक्षाका विद्यार्थी विद्यालयमा भर्ना हुने तर पढ्न नजाने परीक्षामात्र दिने स्थिति छ । यसले मन्त्रीको भनाइमा सत्यता नभएको पुष्टि गर्छ ।’’
महिनावारी भएका जनप्रतिनिधि, शिक्षिका र मानव अधिकारवादी महिलासमेत अलग कोठामा सुत्नुपर्ने वा छाउगोठमा सुत्नुपर्ने समाचारले आजसम्मका सरकारहरूले अन्धविश्वास हटाउने काम नगरेको पुष्टि गर्छ, उहाँले भन्नुभयो ।
पारमाणविक र रेडियोधर्मीसम्बन्धी विधेयक र जीवनाशक विषादीसम्बन्धी विधेयकमा प्राध्यापकहरूले पनि सुझाव दिनुभए मानव जातिको अहित हुने दफा हटाउन मद्दत मिल्ने विश्वास उहाँले व्यक्त गर्नुभयो ।
सांसद सुवालले भन्नुभयो, ‘‘भारतीय विस्तारवादको मार्गचित्रमा सरकार हिँडेर देश र जनताको हित हुँदैन । प्रम र मन्त्रीहरू त्यही बाटोमा हिँडेको बारे प्राध्यापकहरूले नयाँ पुस्तालाई सचेत गर्नु आवश्यक छ ।’’
कार्यक्रमका सभापति एवं विद्यालय÷कलेज सञ्चालक समितिका अध्यक्ष तथा भनपा प्रमुख सुनिल प्रजापतिले शिक्षाको जिम्मेवारी स्थानीय निकायमा आइसकेको जानकारी दिँदै ९ र १० का कक्षाहरू भनपाले सञ्चालन गर्ने योजना रहेको बताउनुभयो । शिक्षा अध्ययनको नाममा वार्षिक ४० अर्ब रूपैयाँ बाहिर गइरहेको तथ्याड्ढ प्रस्तुत गर्दै प्रमुख प्रजापतिले सरकारको नीति नियम राम्रो नभएपछि जनताले दुःख पाउने चर्चा गर्नुभयो ।
शिक्षामा विदेशी प्रभाव बढिरहेको काम रोक्नुपर्ने आवश्यकता औँल्याउँदै उहाँले भन्नुभयो, ‘‘सहयोगको नाममा जे पनि स्वीकार गर्नु राम्रो होइन ।’’
इतिहास, संस्कृति, इतिहासलगायत महत्वपूर्ण विषयहरूमा अध्ययन गर्ने विद्यार्थीहरू कम हुँदै गएकोमा चिन्ता व्यक्त गर्दै उहाँले उक्त विषय अध्ययन गर्ने विद्यार्थीहरूलाई प्रोत्साहनस्वरूप छात्रवृत्तिको व्यवस्था गर्नुपर्नेमा जोड दिनुभयो ।
प्रदेश नं. ३ का सांसद सुरेन्द्रराज गोसाईंले राजतन्त्र समाप्त भए पनि शासक दलका नेताहरू नयाँ नयाँ राजा–रानीहरूको रूपमा उदय भइरहेको हुँदा देश र जनताले दुःख पाइरहेको बताउनुभयो ।
भारतीय एकाधिकार पुँजी, भारतीय विस्तारवाद, पश्चिमा शक्तिहरूले नेपाललाई प्रयोगशाला बनाइरहेको र नेपाली समाजलाई नै निराशातर्फ धकेलिरहेको सांसद गोसाईले बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘‘बौद्धिक वर्ग जागेमात्र समाजमा छिटो परिवर्तन हुनेछ । सिद्धान्तमा दृढ हुन नसक्ने र विचार शून्यता हुनेहरू राजनीतिक दल हुनसक्दैन ।’’
प्रदेश नं. ३ का अर्का सांसद सृजना सैंजूले विश्वविद्यालयको तयारी गर्नु भनेको अनुसन्धानमा जोड दिनु हो भन्दै भनपाद्वारा सञ्चालित कलेजहरूले अनुसन्धानलाई पनि जोड दिनुपर्ने बताउनुभयो ।
अर्थतन्त्रमा सरकारको नियन्त्रण भएको कारण आर्थिक रूपमा चीन विश्वका महाशक्ति हुन सफल भएको जानकारी दिंँदै उहाँले चीनले कसरी प्रगति ग¥यो भन्नेमा विद्यार्थीहरूलाई जानकारी दिनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
शिक्षित महिलाहरू राजनीतिमा आएपछि समाजमा परिवर्तन आउने उल्लेख गर्दै सांसद सैंजूले राजनीतिक सुझबुझ नभएका मानिस राजनीतिमा आएपछि पद र पैसाको मात्र कुरा गर्ने बताउनुभयो । शिक्षाशास्त्र सड्ढायका पूर्वडीन प्रा. पृथुचरण वैद्यले शिक्षकहरू पाठ्यपुस्तकमा मात्र सीमित हुन नहुने चर्चा गर्नुभयो ।
कार्यक्रममा ख्वप कलेजका प्राचार्य रूपक जोशी, ख्वप माविका प्राचार्य प्रकाशकुमार श्रेष्ठ र शिक्षक प्रणेश बाटीले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *