भर्खरै :

माघे सङ्क्रान्ति र प्रकृतिपुजक संस्कृति

आज माघ १ गते । कठ्याङ्ग्रिदो जाडो यामलाई बिदा गरी माघ महिनाको पहिलो दिनदेखि न्यानोयाम सुरू हुने गर्दछ । प्रकृतिपुजक (प्रकृतिमा आधारित) मानव समुदाय आजको दिनलाई नयाँ समयको सुरुवातको रुपमा उत्सव मनाउने गर्छन् । चिसोले कक्रक्क परेको प्रकृतिमा पनि आजको दिनदेखि नवपालुवा पलाउने गर्दछ । आजको दिनदेखि नै सुवासिन वसन्त ऋतुतर्फ सङ्क्रमणको सुरूवात हुने गर्दछ । फुङ्ग उडेजस्तो प्रकृतिको रङ्गमा आजदेखि लाली चढ्न सुरु हुन्छ । प्रकृतिमा आउने यस्तो परिवर्तनले मानिसको जीवनमा पनि प्रत्यक्ष प्रभाव पार्ने गर्छ । भौतिक परिस्थितिको परिवर्तनसँगै नयाँ जीवनशैली र उत्पादन कार्यको थालनी हुने भएकोले आजको दिन आदिवासी जनता खुसियाली मनाउने गर्छन् । नेपालका अधिकांश आदिवासी समुदाय आजको दिन पर्वको रुपमा मनाउने गर्छन् ।
प्रकृतिपुजक आदिवासी समुदायको संस्कृति प्रकृतिसापेक्ष हुने गर्दछ । प्रकृति सापेक्ष संस्कृति मूलभूत रुपमा विज्ञानमा आधारित हुने गर्दछ । तर विडम्बना संसारभर आज आदिवासी समुदायको संस्कृति भौतिक सम्पन्नताको रापमा नष्ट हुँदै गएको देखिएको छ । आदिवासी संस्कृतिको जग र जरा भनेको जल, जङ्गल र जमिन नै हो । भौतिक विकास र झिलिमिली समृद्धिका कारण आज आदिवासी जनतालाई ती तीनै स्रोतबाट वञ्चित बनाउन खोजिंदै छ । क्यानाडाका गिटदुमटेन आदिवासी समुदाय सरकारले आफ्नो भूमि मासेर पाइपलाइन बिछ्याउन लागेको विरोधमा हिमपातको पर्वाह नगरी यतिबेला सङ्घर्ष गरिरहेका छन् । उनीहरूले सरकारी सशस्त्र प्रहरीलाई निषेध गर्न बनाएको अवरोधलाई सरकारले आगो लगाइदियो र आदिवासी जनतामाथि अन्याय ग¥यो । तथापि गिटदुमटेन आदिवासी जनता भनिरहेका छन्, ‘‘हामी मानिस हौँ । यो भूमि हाम्रो हो ।’’ आदिवासी भूमिमा यसरी पाइपलाइन बिछ्याउँदा आफ्नो भूमिबाट मात्र उनीहरू लखेटिने होइनन्, बरु अथाह प्राकृतिक स्रोतसमेत नष्ट हुनेछ ।
आदिवासी संस्कृतिलाई ‘विकास र समृद्धि’ को परिभाषाले ‘पछौटे’, ‘विकासविरोधी’ र ‘जङ्गली’ समेत भन्ने गरेको सुन्छौँ । तर, खोजी पस्दा प्रकृतिसँग अन्योन्यास्रित रुपमा गाँसिएको आदिवासी संस्कृतिमा मनग्य विज्ञान हुने गरेको छ । जाडो महिनामा आदिवासीले खाने परिकार पोषिलो र न्यानो दिने खालका हुन्छन् । त्यस्ता परिकार कुनै कृत्रिम विज्ञानबाट होइन, जमिन, जल र जङ्गलबाटै प्राप्त हुने गर्दछ । पर्यावरण र पर्य–पर्यावरणको संरक्षणमुखी आदिवासी संस्कृति सभ्यताको द्योत्तक हो । विकासको बजारमुखी परिभाषाले पर्य–पर्यावरणलाई नष्ट गर्दैछ र त्यसैको परिणाम आज करोडौं–करोड प्राणीको साझा घर पृथ्वी खतरामा परेको छ । विकासको नाममा भएका भौतिक विकासले आज पृथ्वीलाई बस्न नालायक भूगोल बनाउँदै छ । यस्तो अवस्थामा नियन्त्रणको लागि बजारमा चल्ती विकास र समृद्धिको परिभाषाबाट सम्बन्धविच्छेद गरी आदिवासी संस्कृतिको विस्तार र संरक्षण गर्नु जरुरी छ ।
माघ १ प्रकृतिसँग जोडिएको उत्सव हो । माघे सङ्क्रान्तिलगायत प्रकृतिपुजक संस्कृतिको विस्तार र संरक्षणले नै पर्यावरणको संरक्षण गर्नसक्छ । कुनै पनि पर्वलाई संस्कृतिको रुपमा मात्र नलिई त्यसको विज्ञान र महत्वबारे पनि अध्ययनको आवश्यकता छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *