भर्खरै :

गाङ्गतोकमा सामान जहाँतहीं फालिँदैन

–विगोल
पूर्वी सिक्किमको राजधानी गाङ्गतोक सिक्किमकै एउटा उदाहरणीय या अनुकरण गर्नलायकको ठाउँ हो । गाङ्गतोक सिङ्गो पहाडको ढिक्को भएको हुँदा समथर क्षेत्र खासै छैन । सडकका बाटाहरू अनेक छन् तर त्यति चौडा छैनन् । सहर र बजारको बाटो पहाडी भेग भएकोले पनि बाङ्गाटिङ्गा छन् । कमिलाको ताँतीझैँ कार, ट्याक्सी, जीप गुडे पनि जाम देखिँदैन । यात्रुहरू कहीँ कतै जान लामो समय कुर्नुपर्दैन । एक दुई मिनेटमै गाडी आउँछन् र यात्रुहरू गन्तव्यमा पुग्छन् ।
गाङ्गतोकको सहर बजार सफा छ । कार, ट्याक्सी कमिलाको ताँतीझैँ लहरै गुडे पनि वातावरणीय प्रदूषण छैन । बजार व्यवस्थित छ । बजारको दायाँ बायाँ पेटीमा सामान राख्ने चलन छैन । बिहान गल्लीजस्तो केही ठाउँमा कागजका टुक्राबाहेक सहर बजारमा कतै पनि प्लास्टिक, कागज, चुरोटको ठुट्टा या अन्य वस्तु फालेको देखिँदैन । बजारमा अशोभनीय ढङ्गले विद्युतको तार पनि लगिएको छैन । एक दुई ठाउँमा एक दुईवटा तारबाहेक सबैजसो तार भूमिगत नै रहेको छ । तर खानेपानीका पाइपहरू सडक बजारमा त होइन बस्तीको बीच बीचमा खुड्किलो भएको ठाउँबाट खुलामै लगेको देखिन्छ । फालेको देखिएमा जरिवाना गर्ला भनेरै स्थानीय बासिन्दाहरू काम नलाग्ने कुनै पनि वस्तु जहाँतहीँ फाल्दैनन् । उनीहरूमा जहाँतहीँ फाल्न नहुने संस्कार नै बसिसकेको छ । यो सकारात्मक बाटो हो ।
गाङ्गतोक राजधानीकै माथिल्लो उचाइमा एउटा ठूलो बजार छ । त्यो बजार झन् सफा देखिन्छ । त्यो ठाउँ एमजी रोड अर्थात् महात्मा गान्धी सडक नामले चिनिन्छ । एमजी मार्गको माझमा बगैँचा, बस्ने ठाउँको बन्दोबस्त गरेर र आधुनिक बत्ती बालेर झिलिमिली बनाइएको छ । बगैँचाजस्तो गरी बनाइएको सोही ठाउँमा महात्मा गान्धीको पूरै कदको एउटा र आधा कदको अर्को प्रतिमा राखिएको छ । त्यहाँको अर्को महत्वपूर्ण बजार लालबजार हो । खुड्किलै खुड्किला भएर हिँड्नुपर्ने त्यो बजारमा भने आफ्ना आँगन र मातहतका पेटीहरूमा सामान राखेर बेचिएका छन् । बेचिएका सामानको मूल्यमा एकरूपता देखिँदैन । जतिसक्छ बढी मूल्य लिने काम व्यापारीहरूले गरेका छन् । होलसेलका सामानको मूल्य भने घटी बढी देखिएको छैन ।
महात्मा गान्धी पथको बजारको सबै ठाउँमा चिप्लो र चम्किलो ढुङ्गाले छापेर सजाइएको छ । हिँड्दा लड्ला भन्ने पीर हुन्छ । त्यहाँ पनि नेपालको सहर बजारमा जस्तै सफाइ मजदुरहरू कुचोले सफाइ गर्छन् । सफाइ मजदुरको छुट्टै पोशाक छ । गान्धी पथमा दिनको तीन चारपटक सफा गर्नुपर्ने सफाइ मजदुरहरू बताउँछन् । सफाइ मजदुरको लागि भक्तपुरमा जस्तो गाडाको बन्दोबस्त छैन । उनीहरू बोराको ठूलठूलो झोलामा फोहर राख्छन् । फोहर गाडीमा राखी रानी पुलमा फालिन्छ । अन्यत्र बजारमा भने बिहान दिउँसो दुईपटक सफा गरिन्छ ।
सडकको आकाशे पुलमा लहरै गमला राख्ने व्यवस्था मिलाइएको छ । बजारको ठाउँठाउँमा ठूलठूला भवनमा सुपर मार्केटको व्यवस्था गरिएको छ । त्यस्तै ठूलो भवनमा अर्गानिक पसलको बन्दोबस्त छ । बजारमा ‘किप सिक्किम क्लिन एण्ड ग्रीन’ नारा लेखिएको छ । सिक्किम बजार क्लिन भए पनि ग्रीन छैन । तर, सिङ्गो सिक्किम पहाड र जङ्गलले ढाकेको हुँदा जहाँतहीँ हरियाली नै देखिन्छ ।
गाडीको पार्किङ्ग व्यवस्था व्यवस्थित छ । गाडी पार्किङ्गका लागि राज्यले नै ठूलठूला भवन बनाएको छ । तीन चार तलेको सो भवनमा पहिलो र दोस्रो तलामा गाडी पार्किङ्ग मिलाइएको छ । बस्ती बाक्लो छ । सबैजसो घरहरू जोडिएका छन् । बस्ती गुच्चमुच्च भएकोले आफ्नो घरको वर्षाको पानी खसाल्ने ठाउँ नै छैन –विशेषगरी बजारमा । गुच्चमुच्च बस्ती भएको बजार क्षेत्रमा भूकम्पले धक्का पु¥याएमा भक्तपुरमा भन्दा ठूलो धनजनको क्षति हुने सम्भावना छ । तर भौगोलिक बन्दोबस्तको कारण भूकम्पले धक्का दिए पनि क्षति नहुने स्थानीय जनताको भनाइ छ । आ–आफ्नो घरको पानी आफैले सङ्कलन गरेर ढलमा खसालिएको छ । अर्गानिक पसल रहेको एउटा ठूला भवनमा आ–आफ्नो खुला पसल छ । खुलारूपमा खोलेका ती पसलको सामान कहीँ कतै लगिँदैन । कतिले त्रिपाल या प्लास्टिकले मात्र छोपिराख्छ । भवनको एउटा पूरै तलामा सामान सबै खुला छन् । तर पसलको कुनै पनि सामान हराएको या कसैले लगेको पसलेहरूको गुनासो छैन । कसैको सामान लानु हुन्न या चोर्नु हुन्न भन्ने उनीहरूमा बानी बसिसकेको छ । सामान जहाँतहीँ फाल्दैन । जहाँतहीँ पिसाब गरिँदैन । यो सभ्य नागरिकको परिचय हो कि जस्तो अनुभूति हुन्छ । यसरी गाङ्गतोकका बासिन्दाहरूको असल व्यवहार अन्य देशका नागरिकले सिक्नु जरुरी छ । तर, भारतका अन्य राज्यहरूमा भ्रष्टाचार हुन्छ, अनियमितता हुन्छ । बलात्कार, यौन दुव्र्यवहार हुन्छ, लुटमार हुन्छ, चोरी चकारी हुन्छ । कहिलेकाहीँ भारतको अधिकांश ठाउँ अपराधीहरूको थलो हो कि भन्ने भान हुन्छ । भारतीय शासक पक्षले नेपाली भूमि मिचेको, नेपाली भूमि डुबाएको र नेपालीहरूलाई उठिवास गराएको घटना आलै छ ।
गाङ्गतोकका सहर बजार र अन्य सहर बजारका स्थानीय बासिन्दाहरूको नियमित र भरपर्दो आम्दानी नै आन्तरिक तथा बाह्य पर्यटकहरू हुन् । पर्यटकहरूको आगमन नै उनीहरूको ठूलो आम्दानीको स्रोत रहेको छ । गाङ्गतोक बजारमा प्रशस्त साना ठूला होटेलहरू छन् । स्वास्थ्योपचार निःशुल्क गरिएको छ । एकदिन छोम्गो लेकमा हिउँमा चिप्लेटी खेल्दा एकजना मित्रको हातमा केही चोट लाग्यो । उपचारको निम्ति सडकमै रहेको एक सरकारी अस्पतालमा उनी पुगे । घाउको उपचारको सिलसिलामा एक्सरे लिइएको थियो, प्लास्टर गरिएको थियो । तर, अस्पतालले एक पैसा लिएन । उपचारमा कुनै ढिलाइ भएन । नेपालमा कम्युनिष्टको सरकार छ तर स्वास्थ्य सेवा निःशुल्क छैन । कुनै विद्यार्थीले आफ्नै राज्यमा छात्रवृत्तिमार्फत उच्च शिक्षा हासिल गरे, त्यही सेवा गर्नुपर्ने व्यवस्था मिलाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *