धूर्तले बुनेको जाल एक दिन तोडिने छ
- आश्विन २८, २०८१
– वीरमान तामाङ
सङ्घीय संसद्को प्रतिनिधिसभा र प्रदेशसभाहरूमा तिनको स्तरअनुसारको छलफल भएको पाउँदैनौँ । अर्थात् ती संसद्हरूमा विधेयकलाई लिएर एक दुई जनासांसदहरूले मात्र तर्कपूर्ण मन्तव्य राखेको पाउँछौं । स्वयम् सांसदहरू नै आफूहरू सांसदभन्दा पनि आ–आफ्नो निर्वाचन क्षेत्रको मेयर हो कि भन्ने लागेको बताउँछन् । सांसदहरूलाई संसद्मा पेश भएका विधेयक हेर्ने र पढ्ने फूर्सद हुँदैन, निर्वाचन क्षेत्रको भ्रमणमा निस्कने गरेको पाउँछौं अनि स्थानीय तहको सरकारको उपस्थिति र भूमिकालाई बिर्सेर सबै कुरा आफूले पूरा गरिदिने आश्वासन दिएको पनि सुन्छौं ।
वास्तवमा ती सांसदहरू ‘लाताको देशमा गाँडा तन्नेरी’ भएका मात्र हुन् । निर्वाचन क्षेत्रको विकास– निर्माणको लागि न तिनीहरूसित पर्याप्त बजेट हुने हो न विकास गरिदिने नै हो । सांसदको काम विकास निर्माण गर्ने होइन, बरु देशको नीति, ऐन र नियम तर्जुमा गर्ने हो । तर, हामी समाजका अगुवा, बुद्धिजीवी, शिक्षक, प्राध्यापक, पत्रकार सबैजना सांसदलाई भेटेर के – कस्तो विधेयक आउँदैछ, त्यसमा के– के हुनुपर्छ भनी सल्लाह सुझाव दिनुभन्दा बाटोघाटो, पुलपुलेसा, कुलो आदि बनाइदेऊ भन्छौं । जुन माग स्थानीय तह गाउँपालिका÷नगरपालिका र वडाध्यक्ष र सदस्यहरूसित राख्नुपर्ने हो त्यो माग प्रदेश सांसद र सङ्घीय सांसदहरूसँग राख्छौँ । फलतः विश्वमै कहिं नभएको कार्यक्रम निर्वाचन क्षेत्र र विकास कार्यक्रम हाम्रो देशमा लागू भएको छ र कतिपय सांसदहरूले आफ्नो निर्वाचन क्षेत्रको नवरजौता ठान्न थालेका छन् ।
Leave a Reply