भर्खरै :

जनसाहित्यकार हृदयचन्द्रसिंह प्रधान एक शब्दचित्र

सुतेज
सामान्य मानिसलाई युगले जन्माउँछ तर विशिष्ट व्यक्तिले युगलाई जन्माउँछ । त्यस्तै नेपाली साहित्यिक रङ्गमञ्चमा पनि एक सिङ्गै युगलाई यस नेपाली धर्तीमा निम्त्याउने हृदयचन्द्रसिंह प्रधान यस्ता उत्कर्ष नायक, युगान्तकारी र युगप्रवर्तक व्यक्तित्व हुन् जसको नामले उनको युग चिनिन्छ । जसको युगलाई नेपाली प्रगतिशील साहित्यको स्वर्णयुग मानिन्छ र जसले गर्दा सिङ्गै देशका प्रगतिवादी जनता श्रद्धा र आस्थाको भागीदार बन्न पुगेको छ । यस्ता व्यक्तित्वको जन्म विं. सं १९७२ साल, माघ १२ गतेका दिन भएको थियो । उनको बाल्यकाल रोग र अशिक्षामै बित्यो । पाँच वर्षदेखि सत्र वर्षको हुञ्जेल दमको बेथाले उनले केही पढ्न सकेनन् । पढ्न नसक्दा सङ्गत बिग्रेर उनले छाडा र बराला भएरै किशोरावस्था बिताए । त्यसपछि मात्र उनले छिट्छिटो साधारण शिक्षा प्राप्त गरे, अनि स्वअध्ययन सुरु गरे ।
हृदयचन्द्रले पहिलो पटक वि.सं. १९९० सालमा ‘भातृस्नेह’ नामक लेख ‘शारदा’ मासिक पत्रिकामा छपाए । वि.सं. १९९५ सालदेखि सरकारी जागिरे बनेका हृदयचन्द्रले राणा शासकविरुद्ध कलम तिखार्न थाले र युवालेखकहरूका प्रेरणाश्रोत बने । २००७ सालमा चलेको राजनीतिक आन्दोलनमा सक्रिय सहभागी भएको आरोपमा उनलाई अढाई महिनासम्म बन्दी बनाइयो । यद्यपि उनको विचारलाई कैद गर्न सकिएन, त्यो सजायले उनमा झन् क्रान्तिकारी भावनाको विकास गराई दियो, मौलाई दियो । क्रान्तिको सफलता पश्चात्त छुट्कारा पाएपछि उनी साहित्यिक र सामाजिक कार्यमा झन् बढी सक्रिय हुन थाले । यही वर्ष उनी काठमाडौँबाट प्रकाशित हुने पहिलो राजनीतिक साप्ताहिक पत्रिका ‘जागरण’ का सम्पादक भए ।
प्रगतिशील साहित्यकार हृदयचन्द्रका सबैजसो कृतिमा जनवादी भावना, वैज्ञापिनक दृष्टिकोण, स्वास्थ विचार पाइन्छ तथा कामदार वर्ग र नारीहरूको प्रतिनिधित्व गरिएको पाइन्छ । उनका ऐतिहासिक एवं सामाजिक नाटकमा जनताका पिर–मर्का, कमजोर आर्थिक अवस्था, जीवनका विविध समस्याको सजीव चित्रण निकै राम्रोसँग भएको पाइन्छ । आधुनिक उपन्यासकारका रुपमा समेत परिचित प्रधानका उपन्यासमा गरिबीको मार्मिक र सफल चित्रण प्रस्तुत गरेको हुन्छ, सुधार र उदारको शंखधुनि जगाउँछ, अत्याचारप्रति विद्रोह गर्न सिकाउँछ । वास्तविकताको पर्दा उघार्दा हामी पाउँछौ– हृदयचन्द्र नौलो प्रणालीमा समाजलाई बाटो देखाउने अगुवा हुन्, अनि चेतना र जागृतिको बिगुल फुक्ने सचेत पहरेदार ।
उज्यालो गोरो अनुहार, आँखामा चस्मा, होचो कदका, सधैं अनुहारमा विश्वास र दृढ सङ्कल्प सङ्गालेका हृदयचन्द्रको जीवन मार्मिक व्यथा नै व्यथाले भरेका एउटा लामो कथा हो । सङ्कट, पीडा, कष्ट उनको जीवनका पर्याय हुन् । मुस्कान, अठोट, मीठो रहर, अटुट विश्वासले भरे तापनि उनको जीवन रित्तो थियो । हृदयचन्द्रका जीवनका पत्र–पत्र केलाउँदा यी नै यथार्थ कुराको उद्घाटन हुन्छ । अनि यी यथार्थले कुनै पो संवेदनशील हृदयलाई पगाल्दैन, कसलाई मात्र आँसुदहमा डुबाउँदैन ?
यसरी जीवनका अन्तिम पलसम्म मृत्युसित जुध्दाजुध्दै बाँच्नुभन्दा पनि आखिर जीवन रोजेर, चारै दिनको भए पनि जीवनमय जीवन जीएर हृदयचन्द्र अस्ताए २०१६ साल माघ १० गतेका दिन सारा नेपालीलाई शोकदहमा डुबाएर । उनले पहाडभन्दा पनि ग¥हौ मृत्यु मरे । हो, जनताका साहित्यकारहरूका भौतिक शरीर मर्न सक्छ, अस्ताउन सक्छ । तर, उनका विचारले गर्दा प्रत्येक शोषित–पीडित जनताका हृदयमा नवजीवन मुस्काउँछन्, उनका कृतिहरू जनताका आँखामा नाचिरहन्छन्, मन–मस्तिष्कमा बाँचिरहन्छन् । यस मानेमा शोषित–पीडित जनतालाई आमूल परिवर्तनको निम्ति लड्ने उर्जा प्रदान गर्ने युगान्तकारी साहित्यकार हृदयचन्द्रसिंह प्रधान अमर थिए, छन् र रहिरहनेछन् । हर नेपाली हृदयमा उनका जनपक्षीय साहित्यमार्फत् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *