भर्खरै :

अझै हटेन तुइन : पूरा भएन प्रधानमन्त्रीको प्रतिबद्धता

दार्चुला, १३ माघ । ‘‘यो तुइन यहाँका नागरिकका लागि कालसरह नै हो ।’’ व्यास गाउँपालिका–२ राप्ला मालका बहादुरसिँह धामीको भनाइ हो यो । तुइनबाट आवतजावत गर्ने क्रममा हरेक वर्ष यहाँ दुई÷तीनजनाले ज्यान गुमाउने गर्छन् । यो यथार्थ हो ।
जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कअनुसार चालू आर्थिक वर्षमा मात्र चार जनाले ज्यान गुमाइसकेका छन् । नदी वारपार गर्ने क्रममा गत वैशाख २४ गते व्यास–२ का ३५ वर्षीया शकुन्तला भण्डारी, असार १ गते दुहुँ –३ का १६ वर्षीय कञ्चन लोथ्याल, साउन १७ गते व्यास–५ का १८ वर्षीय रवि धामी र भदौ ११ गते महाकाली नगरपालिका– १ का ४५ वर्षीय जीतबहादुर बमको महाकाली नदी वारपार गर्दा ज्यान गएको हो ।
विगतमा तुइनका कारण मृत्यु भएकाको तथ्याङ्क भने प्रहरीसँग छैन । तर, स्थानीय बासिन्दाका अनुसार हरेक वर्ष दुई तीनजनाको तुइनबाट महाकालीमा खसेर ज्यान गुम्ने गरेको छ । नेपाल सरकारले २०७२ सालदेखि नै देशभरका तुइन विस्थापन गर्ने नीति लिएको छ । विसं २०७२ असोज २५ गते पहिलो पटक केपी शर्मा ओलीले देशको प्रधानमन्त्री हुँदा देशभरका तुइन दुई वर्षभित्र विस्थापन गर्ने घोषणा गर्नुभएको थियो । अहिले उहाँकै नेतृत्वको दुईतिहाइ जनमतसहितको शक्तिशाली सरकार अस्तित्वमा छ तर, यो अभियानले अपेक्षाअनुसार गति लिएको छैन । देशभर १८७ वटा तुइन रहेकोमा अहिलेसम्म ‘तुइन विस्थापन कार्यक्रम’ अन्तर्गत ११३ स्थानमा झोलुङ्गे पुल निर्माण भएका छन् ।
तुइन विस्थापनको घोषणा गरिएको आव २०७२÷७३ मा देशभरबाट कुल ५७ तुइन विस्थापित भए । दार्चुलामा महाकाली नदीमा एक र सहायक नदीहरूमा तीन ठाउँमा तुइन विस्थापन भए । यस्तै, २०७३÷७४ मा देशभरबाट २५ ठाउँका तुइन विस्थापन भएको सरकारी तथ्याङ्क छ । दार्चुलाको महाकाली नदीमा भने यो वर्ष तुइन विस्थापन हुन सकेन । आव २०७५÷७६ मा भने महाकाली नदीमा पर्ने लेकम गाउँपालिका–३ लालीमा झोलुङ्गे पुल निर्माण गरिएको छ । यो क्षेत्रको ट्युब विस्थापन हुँदैछ ।
तुइन विस्थापनअन्तर्गत सर्भे तथा टेण्डर भएका महाकाली नदीका पाँच ठाउँमा भारतीय सरकारले पुल निर्माणको लागि सहमति नदिँदा पुल निर्माण कार्य रोकिएको हो ।
भौगोलिक रूपमा विकट व्यास गाउँपालिकाका नागरिक अहिले पनि तुइनमार्फत आवतजावत गर्न बाध्य छन् । यहाँका करीब पाँच हजार ३०० जनसङ्ख्याले महाकालीको तुइन प्रयोग गर्दैआएको स्थानीय पूर्वाधार विकास तथा कृषि सडक विभाग ९डोलिडार० अन्तर्गत झोलुङ्गे पुल योजनाको तथ्याङ्कले देखाउँछ ।
व्यास गाउँपालिका वडा नम्बर २, ३, ४ र ५ का नागरिक अहिले पनि त्यही ज्यानमारा तुइनको सहारामा महाकाली वारपार गर्छन् । नेपालतिर सडकको कामले गति नलिँदा यस क्षेत्रका नागरिक दिनहुँ त्यही तुइन भएर आवतजावत गर्नुपरेको धामी बताउनुहुन्छ ।
खुला सीमा खुला व्यापार यस क्षेत्रमा न प्रहरी, न भन्सार, न त आवतजावत गर्न झोलुङ्गे पुलकै व्यवस्था छ । पूरै सिमाना खुला छ । घरायसी सामानदेखि लिएर विकास निर्माणका सामग्री निर्वाधरूपमा आयात निर्यात हुने गरेको छ । महाकाली नदीमा झुण्डिएको तुइनमाथि ताङ्लो अड्याएर स्थानीय बासिन्दाले वर्षौदेखि सामान ओसारपसार गर्दैआएका छन् ।
यस क्षेत्रका विद्यार्थी, गर्भवती महिला, वृद्धवृद्धा वा अशक्त बिरामी यही तुइनमार्फत वारपार गर्नुको विकल्प नभएको स्थानीय बासिन्दा दानसिह कार्की बताउनुहुन्छ ।
फलामे तार खोला वारिपारि लगाइएको हुन्छ । त्यही तारमाथि डोरी अर्थात् स्थानीय भाषामा ताङ्लो प्रयोग गरिएको हुन्छ । यस क्षेत्रका हरेक घरमा व्यक्तिगत रूपमै ताङ्लो बनाइएको हुन्छ जुन खलङ्गा ९जिल्ला सदरमुकाम० आउँदा झोलामा लिएर आउनुपर्छ । “घर नजिक बजार नहुँदा यहाँका स्थानीय बासिन्दा दिनहुँ त्यही तुइनको सहारामा नून, तेल र चामललगायतका आवश्यक सामान लिन भारतीय बजार जानैपर्छ,” राप्लाका स्थानीय महेश बुढाथोकीले भन्नुभयो ।
भारतको धारचुलाबाट डेढ घण्टा लगाएर पुगिने मालघाटमा नेपालतिर बाटो राम्रो नहुँदा यस क्षेत्रका अधिकांश बासिन्दा तुइनको प्रयोग गर्ने गर्छन् । भारतको धारचुला छिर्ने बित्तिकै मोटर बाटोको सुविधाका कारण भारतीय बाटोमा नेपाली परनिर्भर हुनुपरेको छ ।
घरटहरामा प्रयोग हुने जस्तापाता होस् वा सिमेन्ट, यही तुइन र ताङ्लोबिना तार्नुबाहेक अर्को विकल्प यहाँका जनतासँग छैन । हिउँदमा नदीको बहाव कम हुँदा त जेनतेन तुइन तर्न सहज हुन्छ तर, बर्खामा भेल बढेसँगै भने यो झन् झन् कठिन हुँदै जान्छ । “भारतबाट जाँदा जिल्ला सदरमुकाम खलङ्गा मोटरमा एक घण्टामै पुगिन्छ तर, स्वदेशको गोरेटो नाप्दा ६–७ घण्टा लाग्दछ, त्यही सुविधाको लोभमा स्थानीय बासिन्दा जोखिम मोलेर भए पनि तुइन चढ्ने गरेका हुन्,” बुढाथोकीले भन्नुभयो । नेपालको अन्तिम सीमा महाकाली नदीमा यस पालिकाका वडा जोड्ने पुल छैनन् ।
स्थानीय उत्पादनले तीनदेखि बढीमा ६ महिना पनि राम्रोसँग खान नपुग्ने यहाँका जनतालाई उतैको भरपर्नुपर्ने बाध्यता वर्षौदेखि कायम छ । वर्षौदेखि नेपाल–भारत जोड्ने पुल बनाउने भनी सम्झौता गरे पनि भारत सरकारले अनुमति नदिँदा त्यस क्षेत्रका बासिन्दा तुइनमा गुड्न बाध्य छन् ।
दोहोरो त्रासमा यात्रा
साँझ, बिहान, रातबिरात हिँड्नुपर्ने बाटोमा उर्लंदो महाकाली तर्न कम सकस छैन । महाकालीको जोखिम एउटा कुरा, त्योभन्दा अझ ठूलो त्रास भारतीय सुरक्षा बल ( एसएसबी) को छ । वैध नाका नभएकाले सुरक्षाकर्मीले पटकपटक तुइन फालिदिँदा समस्या हुँदै आएको छ । त्यसैले एकपटक तुइन प्रयोग गरेपछि भारतीय नदी किनारमा बाँधिएको तार फुकालेर नेपालतिरै लुकाउनुपर्छ । एसएसबीको आँखा छलेर सुटुक्क जडान गर्दै वारपार गर्नुपर्ने अवस्था अझै पनि कायमै छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *