साइकल यात्रा पनि एक साहसिक खेलकुद
- श्रावण ६, २०८१
भक्तपुर, १९ माघ । नेपाल प्राध्यापक समाजको ‘दि एकेडेमी’ नामको बुलेटिन प्रकाशन थालनी गरेको छ । शनिबार आयोजित एक समारोहबीच नेपाल मजदुर किसान पार्टीका सचिव प्रेम सुवालले बुलेटिनको पहिलो अङ्क सार्वजनिक गर्नुभयो ।
नेमकिपाको ४५ औं स्थापना दिवसको अवसर पारी गरिएको कार्यक्रममा सचिव सुवालले अनुसन्धानसँग सम्बन्धित विषय नै प्राज्ञिक भएको बताउँदै ‘दि एकेडेमी’ का विषयवस्तु पनि अनुसन्धानमूलक नै हुने अपेक्षा गर्नुभयो ।
उहाँले भन्नुभयो, “प्राज्ञहरुले आ–आफ्नो विषयबारे सर्वसाधारण जनताले बुझ्ने भाषामा अनुसन्धानमूलक लेखहरु तयार गर्नु उपयुक्त हुनेछ ।”
उहाँले पारमाणविक विज्ञान तथा प्रविधिसम्बन्धी र सङ्कटापन्न वनस्पति तथा वन्यजन्तुसम्बन्धी संसदमा पेश भएका विधेयकहरु, नेपाल–भारत इनर्जी बैङ्क स्थापना, निःशुल्क र अनिवार्य शिक्षा ऐनमा निजी विद्यालयको प्रावधान आदि विषयमा तत् विषयका प्राध्यापकहरुले लेख–रचना तयार गरी सर्वसाधारण जनतालाई शिक्षित गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
सचिव सुवालले जोड दिनुभयो – “राजनीति सबै नीतिको मूल नीति भएकोले राष्ट्रिय र अन्तर्राष्ट्रिय राजनीतिबारे नेपाली जनतालाई सुसूचित गर्ने लेखहरु पनि ‘दि एकेडमी’ मा समावेश हुनु आवश्यक छ ।”
नेपाल मजदुर किसान पार्टीको तत्कालीन कार्यक्रम जनताको प्रजातन्त्र र दीर्घकालीन लक्ष्य समाजवाद हुँदै साम्यवादमा पुग्नेबारे पनि प्राज्ञिकहरुले कलम चलाउनुपर्नेमा उहाँले जोड दिनुभयो ।
सचिव सुवालले भन्नुभयो, ‘‘जनताका प्रतिनिधि सांसदले संसद्मा राखेका विषयमा सरकारले सम्बोधन गरे–नगरेको विषयमा पनि प्राज्ञहरुबाट लेख–रचना आउनु उचित हुनेछ ।”
बेलायतमै असफल भएको संसदीय व्यवस्थाबाट नेपालमा देश र जनताको समस्या समाधान हुँदैन । यसबारे पनि प्राज्ञहरुले लेख–रचनामार्फत जनतालाई सचेत गर्नुपर्ने आवश्यकता औल्याउँदै उहाँले भन्नुभयो, “प्राज्ञहरुले माक्र्सवादी–लेनिनवादी पार्टीले झूटा आश्वासन दिएर, पैसा र सामान बाँडेर चुनाव जित्ने र पुँजीवादी सरकारको लुछाचुँडीमा नलाग्ने बरु निर्वाचनको क्रान्तिकारी उपयोग गरी प्रखर प्रतिपक्षको भूमिका निर्वाह गर्नेबारे पनि लेखहरु लेख्नु आवश्यक छ ।”
निजीकरणलाई प्राथमिकता दिने र सार्वजनिक संस्थानहरु निजीकरण गर्नेले समानता नल्याउने भन्दै सचिव सुवालले देशमा भइरहेका आर्थिक अनियमितताहरुप्रति प्रधानमन्त्री र मन्त्रीहरु जिम्मेवार भएको धारणा राख्नुभयो ।
सचिव सुवालले गोविन्द केसीले निःशुल्क शिक्षाको कुरा नगरेको र भएका निजी मेडिकल कलेजहरु यथावत राख्ने नीतिले उच्च वर्ग र मध्यम वर्गको सेवा गर्ने बताउनुभयो ।
शिक्षा अनिवार्य र निःशुल्क हुनुपर्ने पार्टीको धारणा राख्दै उहाँले १२ कक्षासम्म नै निःशुल्क शिक्षाको व्यवस्था हुनुपर्ने धारणा राख्नुभयो ।
कार्यक्रममा प्राध्यापक पृथुचरण वैद्यले शिक्षक तथा प्राध्यापकहरु पाठ्यपुस्तकमा सीमित हुननहुने भन्दै विद्यार्थीलाई अनुसन्धान कार्यमा उत्साहित गर्नुपर्ने विचार राख्नुभयो । नेप्रासका अध्यक्ष सरोजराज गोसाईको सभापतित्वमा भएको कार्यक्रममा उपाध्यक्ष प्रकाशकुमार श्रेष्ठले स्वागत मन्तव्य राख्नुभएको थियो ।
शनिबारै नेप्रासको बुलेटिनमा प्रकाशित लेखहरुका लेखकहरुसँग अन्तरक्रिया गरिएको थियो । पहिलो चरणको अन्तरक्रियाको अध्यक्षता वरिष्ठ शिक्षक उद्धव सुजखूले र दोस्रो चरणमा नेपाल पत्रकार समाजका अध्यक्ष लक्ष्मण जोशीले अध्यक्षता गर्नुभएको थियो ।
अन्तरक्रियामा लेखकहरु सनकमान महर्जन, अम्बिका न्याइच्याई, सुरेश बखुन्छे, हरिसुन्दर सुवाल, सुन्दर राजचल, राजन फाजू, रोशनराज तुइतुई, सुनिल दुवालले आ–आफ्नो लेखको सार प्रस्तुत गर्नुभएको थियो । त्यस्तै राजुभाइ त्यातको सम्पादनमा सङ्कलित नेमकिपाका अध्यक्ष रोहितको विचार र कृपाराम विकको लेखबारे कृष्णप्रसाद धन्छाले आफ्नो विचार राख्नुभएको थियो । नेप्रासको पहिलो अङ्क नेमकिपा र कार्लमाक्र्सकेन्द्रित छ ।
Leave a Reply