भर्खरै :

बेसार

डा. अरुणा उप्रेती
मेरी हजुरआमाले मेरो खुट्टा मर्किंदा बेसार दूधमा मिसाएर, रुघाखोकी लाग्दा पानीमा बेसार पकाएर खुवाउनुहुन्थ्यो । घाउ पाक्दा घिउमा मिसाएर बेसार लगाइदिनुहुन्थ्यो ।
बेसार छालामा राम्ररी शोषण हुन चिल्लो चाहिन्छ भन्ने ज्ञान लेख्न–पढ्न नजानेकी मेरी हजुरआमालाई कहाँबाट थाहा भयो ? सायद उहाँले आफ्ना आमा, हजुरआमाबाट सिक्नुभयो होला । मलाई सिकाउनुभयो ।
केही अघि अष्ट्रेलियाबाट उपहार ल्याइदिएको भनेर विमला गुरुङले मलाई ‘टमक्रि ल्याट्टे’ को प्याकेट दिइन् । ६० ग्रामको त्यो प्याकेटमा बेसार, दालचिनी, कालीमरिच, सुकमेल मिसाइएको रहेछ । ६० ग्रामलाई झण्डै १५ सय रुपैयाँ पर्दाेरहेछ । त्यो हिसाबले एक किलोको झण्डै २० हजार रुपैयाँ पर्ने ।
यहाँका पसलमा एक किलो बेसारलाई ४ सय रुपैयाँ पर्दाेरहेछ । एक किलो कालीमरिच ७ सयदेखि ७ सय ५० रुपैयाँमा पाइने रहेछ । कालीमरिच र बेसार एक–एक किलो मिलाउँदा ११ सय रुपैयाँ हाराहारी पर्नेरहेछ । अष्टे«लिया वा अमेरिकामा बेसार र कालीमरिचको धुलो किन महँगो भनेर केही व्यक्तिसँग छलफल गरेकी थिएँ । बेसारमा ‘करकुमिन’ भन्ने तत्व हुँदोरहेछ । त्यही कारण बेसारमा सङ्क्रमण र रोगसँग लड्ने शक्ति हुँदोरहेछ । सय ग्राम बेसारमा ५–८ प्रतिशत तेल, ७.३ प्रतिशत प्रोटिन र सूक्ष्म मात्रामा भिटामिन ए हुन्छ ।
शरीरमा विभिन्न सङ्क्रमण भइरह्यो भने मुटुको रोग लाग्छ र उमेरसँगै हुने समस्या बढ्दै जान्छ । करकुमिनले मानवकोषिकाभित्र पुगेर सङ्क्रमणसंँग लड्छ । आयुर्वेदमा बेसारलाई महाऔषधिको नाम दिइएको छ । आयुर्र्वेिदक औषधि विज्ञानमा यसलाई गौरी, कुमकुम भनेर चिनिन्छ ।
बेसारमा ‘एन्टिबायोटिक’ गुण पनि हुन्छ भने थाहा पाएपछि सौन्दर्य प्रसाधन बनाउने कम्पनीले बेसार प्रयोग गर्न थालेको छ । साबुन बनाउँदा बेसार प्रयोग हुनथालेको छ । ‘बेसार हालेर बनाएको क्रिम र साबुन’ को विज्ञापन खुब देखिन्छ ।
धार्मिक क्रियाकलापमा पनि बेसार प्रयोग हुन्छ । मधेसतिर विवाहमा ‘हल्दीकी रसम’ महत्वपूर्ण धार्मिक संस्कार मानिन्छ । यसमा वर, वधुको अनुहारमा मान्यजनबाट बेसार लगाइन्छ । बेसारबारे वैज्ञानिक अनुसन्धान भइरहेकै छ । क्यान्सरलाई रोक्ने वा क्यान्सर भइसेकपछि प्रयोग गरिने औषधिको कुप्रभाव कम गर्ने सम्बन्धमा करकुमिनमाथि अध्ययन सुरु भएको छ । बेसारलाई मरिचसँग मिलाएर प्रयोग गरियो भने करकुमिन कोषिकामा बढी शोषण हुने वैज्ञानिकहरूले प्रमाणित गरेका छन् । बेसारमा रहेको तत्वबारे थाहा पाएरै क्याप्सुल, पाउडर बनाएर पश्चिमा देशमा प्रयोग सुरु गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *