भर्खरै :

भेनेजुयला आफ्नो आत्मसम्मान भएको देश हो – ३

निकोलस माडुरोसँग अन्तर्वार्ता
बीबीसीका ओर्ला ग्युरिनले भेनेजुयलाका राष्ट्रपति निकोलस माडुरोसँग १२ फेब्रुअरी २०१९ मा राजधानी काराकसमा लिएको अन्तर्वार्ताको पूर्ण विवरण ः
ग्युरिन ः के तपाईँ राष्ट्रपति ट्रम्पलाई गोरा अहङ्कारवादी भन्दै हुनुहुन्छ ?
माडुरो ः सबैको सामु खुलमखुला छ, उनी गोरा अहङ्कारवादी हुन् । संरा अमेरिका, युरोप र ल्याटिन अमेरिकामा उनी फासीवादी सोचलाई उकास्दै छन् । नवफासीवादी, नवनाजीवादी सोचको प्रवद्र्धन गर्दैछन् ।
संसारलाई घृणा गर्ने यो अतिवादी खेमा हो । उनीहरू ल्याटिन अमेरिकी, मध्य अमेरिकी, मेक्सिकाली, भेनेजुयालीलाई घृणा गर्छन् । उनीहरू हामीलाई घृणा गर्छन्, हामीलाई होच्याउँछन् । उनीहरू सिङ्को संसारलाई घृणा गर्छन् किनभने उनीहरू आफ्नै स्वार्थमा मात्र विश्वास गर्छन् । उनीहरू संरा अमेरिकाको हितलाई मात्र विश्वास गर्छन् । त्यसकारण भेनेजुयलाको लागि हामीले नेतृत्व गरिरहेको लडाइँ भनेको हाम्रो देशको सिमानाभन्दा परको पनि लडाइँ हो । यो लडाइँ प्रतिक्रियाको लडाइँ हो । हेर्नोस् त, केही दिनअघि मात्र डोनाल्ड ट्रम्पले हामीलाई सैनिक हमलाको धम्की दिइरहेका छन् । भेनेजुयलामा संरा अमेरिकी सेना पठाउने भन्दै थिए–ट्रम्प ।
किन ? एउटा शान्तिपूर्ण देश. भेनेजुयलामाथि युद्ध घोषणा गर्नुको कारण, अवस्था र मनसाय के हो ? म संसारका जनतालाई आह्वान गर्न चाहन्छु–निद्राबाट व्युँझनुस् । आँखा उघार्नुस् । एउटा शान्त देशविरुद्ध कसरी हमला भइरहेको छ । संसारका धेरै देशमा जस्तै भेनेजुयलामा पनि समस्याहरू छन् । तर, शान्तिपूर्ण अवस्थामा मात्र ती समस्याका समाधान हुनसक्छन् । तपाईँ वास्तवमै भेनेजुयलामा सहयोगको हात बढाइरहनु भएको छ भने तपाईँले शान्तिलाई समर्थन गर्नुपर्छ ।
संरा अमेरिकालाई भन्नुप¥यो–हस्तक्षेप बन्द गर । भेनेजुयलामा हात नहाल । संवाद र वार्तामार्फत आफ्ना समस्या समाधान गर्ने भेनेजुयलाको पहलकदमीलाई समर्थन गर ।
ग्युरिन ः तपाईँले अमेरिकीहरूलाई भेनेजुयलाबाट हात झिक्न भन्नुभयो । यो कुरा जायज छ । किनभने भेनेजुयला तपाईँको देश हो । तर, के तपाईँ ल्याटिन अमेरिकी देशहरूबाट पनि आलोचना सामना गरिरहेको मान्नुहुन्छ ? यतिबेला वाशिङ्टनले मात्र होइन, ल्याटिन अमेरिकाका अन्य छिमेकी देशहरूले पनि तपाईँको आलोचना गरिरहेका छन् ।
माडुरो ः दुर्भाग्यवश केही देशमा यतिबेला अति दक्षिणपन्थी सरकारहरू शक्तिमा छन् । कोलोम्बिया र चिलीका सरकारहरू यसका दृश्ष्टान्त हुन् । चिलीका राष्ट्रपति पिनेरा पिनोचेको परम्पराबाट आएका हुन् । अर्जेन्टिनाको मार्की पनि उहीं परम्परामा आधारित हुन् । यतिबेला उनीहरूले अति दक्षिणपन्थी मोर्चा निर्माण गरिरहेका छन् ।
उनीहरूले सम्मान र सहिष्णुताको अन्तर्राष्ट्रिय नीतिलाई विस्थापित गरेर अन्तर्राष्ट्रिय राजनीतिमा ठूलो असहिष्णुता थोपर्ने विचारधारा थोपर्न खोजिरहेका छन् । हामी यो दृष्टिकोणको कडा विरोध गरिरहेका छौँ । उनीहरूले एघार वटा देशको समूह बनाएका छन् । तीबाहेक ल्याटिन अमेरिका र क्यारिबियाली देशहरूसँग हाम्रो स्थायी सम्बन्ध छ । हालैसालै मोन्टेभिडियोमा हाम्रो एउटा बैठक भएको थियो । सबैले जान्नुपर्ने निकै महत्वपूर्ण बैठक भएको थियो त्यहाँ । कारिकम र क्यारिबियाली क्षेत्रबाट मेक्सिको, बोलिभिया, उरुग्वेलगायत चौध वटा सरकारले त्यहाँ भाग लिएका थिए । उनीहरूले भेनेजुयलालाई चार चरणमा सहयोग गर्न संवादको लागि संयन्त्र बनाउने प्रस्ताव गरेका थिए । त्यो संयन्त्रमा ल्याटिन अमेरिका र क्यारिबिया क्षेत्रका जम्मा १७ वटा देश सामेल हुनेछन् । आजभोलि उनीहरू वार्ता प्रक्रिया कस्तो बनाउने भन्ने विषयमा तयारी गरिरहेका छन् । मैले त्यसलाई पूर्ण समर्थन गरेको छु । त्यो वार्तामा कुनै कुरा गोप्य रहनेछैन । खुला वार्ता हुनेछ । त्यस्तो शैलीको वार्ताले भेनेजुयलालाई शान्तिपूर्वक विषयवस्तु समाधान गर्न मद्दत मिल्नेछ ।
ग्युरिन ः तर, युरोपले त तपाईँको वैधानिकतामाथि प्रश्न उठाइरहेको छ नि । ह्वाइट हाउसमात्र होइन, ल्याटिन अमेरिकामा तपाईँका छिमेकमा रहेका केही देशमात्र होइनन्, युरोपका शक्तिशाली देशहरूले पनि यो कुरा उठाइरहेका छन् ।
माडुरो ः डोनाल्ड ट्रम्पले लात मारेपछि युरोपका केही देश, केही सरकार डोनाल्ड ट्रम्पको पछाडि लाग्नु दुःखद कुरा हो । उनीहरू विनाकारण डोनाल्ड ट्रम्पका पूर्णतः अवैधानिक नीतिको पछि लागेका छन् । युरोपेली सङ्घका राजदूतहरूसँग म बरोबर बैठक बसेको छु । मैले उनीहरूका संविधान पढेको छु । मैले उनीहरूलाई खेलको आपसी सम्मानको कानुनभन्दा बाहिर गएको भनी प्रस्ट बताएको छु । उनीहरूले भन्ने गरेका कुराहरू झूटा छन् । गलत निर्णय गरेका र निर्णय लिन पर्खिबसेका देशहरूसमेत सबै युरोपेली देशहरूबाट मैले वास्तवमै बढी आशा गरेको छु । उनीहरूले हामीलाई सुन्नेमा म आशावादी छु । मैले उनीहरूलाई भनी पनि सकेको छु–उनीहरू एकपक्षीय कुरामात्र सुनिरहेका छन् । युरोपेली सङ्घले जारी गरेका जति पनि वक्तव्य र भनाइहरू छन्, सबै भेनेजुयाली अति दक्षिणपन्थी शक्तिले भन्दै आएको कुराको पूर्णतः पुनःउत्पादनमात्र बनिरहेको छ । यस्तो हुनुहुन्नथ्यो ।
ग्युरिन, तपाईँ त वास्तवमा ऐतिहासिक, सांस्कृतिक र राजनीतिक एवं प्रजातान्त्रिक पृष्ठभूमि बोकेको एउटा शक्ति हुनुहुन्छ । कमाण्डर चाभेजले थालनी गरेको यो बोलिभारियाली क्रान्ति अस्तित्ववान शक्ति हो । भेनेजुयलामा यो क्रान्ति शक्तिशाली छ र यो क्रान्ति सुनिन आवश्यक छ । मैले युरोपलाई भनेको छु–कान खोल्नुहोस्, सुन्नुहोस् । आपसी सम्मानको बाटो रोज्नुहोस् ।
ग्युरिन ः द बैङ्क अफ इङ्ल्याण्डमा तपाईँहरूको कति सुन रोक्का गरिएको छ ? भेनेजुयलाको स्वामित्वमा रहेको सम्पत्ति बैङ्क अफ इङ्कल्याण्डमार्फत आफ्नो पहुँचमा ल्याउन खोजिरहनुभएको छ । कति सुन रोक्का गरिएको छ र तपार्इँहरूले त्यो निकाल्ने कुनै मौका पाउनुभयो कि पाउनुभएन ?
माडुरो ः बेलायतमा थपघट ८० टन सुन हुनुपर्छ । वैधानिक रुपमा त्यो सुन भेनेजुयलाको हो ।
त्यसको संरक्षण केन्द्रीय बैङ्कहरूले गरेको हुन्छ । त्यो सुन पनि भेनेजुयलाको केन्द्रीय बैङ्कको स्वामित्वको सुन हो । म आशा गर्छु, अन्तर्राष्ट्रिय कानुनको सम्मान गरिनेछ । भेनेजुयलाको केन्द्रीय बैङ्कको सम्मान गरिनेछ । कानुन नै बलियो हुनेमा म आशावादी छु । वैधानिक रुपमा त्यो सुन हाम्रै भएकोले हामीबाट त्यो सुन लुटिएको छैन ।
ग्युरिन ः बेलायतको सरकार र प्रधानमन्त्री थेरेसा मेलाई तपाईँ के भन्नुहुन्छ ?
यथार्थमा प्रधानमन्त्रीसँग हाम्रो उति सम्बन्ध भएको छैन । यदि उनी हाम्रो कुरा सुन्छन् भने म उनीलाई भन्न चाहन्छु, “कान खोल्नुहोस् र भेनेजुयलामाथिको हमलालाई नियालेर हेर्नोस् ।” ल्याटिन अमेरिकामा युद्ध बन्न सक्ने हमलाको साझेदार नबन्नुहोस् । त्यो हमला अपराध हो । ह्वाइट हाउसमा बसेको अतिवादी समूहले भेनेजुयलाको नाममा जे पनि गर्न चाहिरहेको छ । म उनीलाई वास्तविकता नियालेर हेर्न आग्रह गर्छु । भेनेजुयलाको हृदयलाई हेर्नोस् । हामीविरुद्ध दैनिक रुपमा मच्चाइने अभियान र जानकारीभन्दा पर छ भेनेजुयलाको वास्तविक अवस्था । आशा गरौं, बेलायत र सम्रग युरोपसँग भेनेजुयालीबीच आपसी सम्मानमा आधारित संवादको प्रस्ताव आउनेछ । ल्याटिन अमेरिका र क्यारिबियाली क्षेत्रको शान्तिमा गम्भीर खतरा छ । आवश्यक पर्दा भेनेजुयला लड्न तयार छ । हाम्रो स्वतन्त्रता र स्वाधीनताको निम्ति हामी लड्नेछौँ । हामी विगतमा पनि लडेका थियौँ । विगतमा पनि भेनेजुयलाको लडाइँको मैदानमा धेरै अङ्क्रेज र आइरिस जनता सामेल भएका थिए । म प्रधानमन्त्री मेमार्फत बेलायती जनता र सिङ्को संयुक्त अधिराज्यको जनतासमक्ष हामीप्रति ऐक्यबद्धताको लागि आग्रह गर्न चाहन्छौँ । शान्तिको पक्षमा उभिन आह्वान गर्छौँ । जोन लेननको गीत ‘गीभ पिस अ चान्स’ लाई सम्झौँ । शान्तिलाई मौका देऔं र भेनेजुयलामा सत्यलाई मौका देऔं । यही मेरो आह्वान हो ।
ग्युरिन ः तपाईँले लड्नको लागि तयार भएको बताउनुभयो । यदि संरा अमेरिकाले भेनेजुयलाको सिमाना नाघेर आए के तपाईँ सशस्त्र प्रतिरोध गर्न तयार हुनुहुन्छ ?
माडुरो ः त्यस्तो परिस्थितिमा उनीहरूले हामीलाई अर्को कुनै विकल्प छोडेको हुनेछैन । हाम्रो देशको अस्तित्वको अधिकारको लागि हामीले प्रतिकार गर्नैैपर्ने हुन्छ । शान्तिपूर्वक बाँच्न पाउने हाम्रो अधिकार हामीले जोगाउनैपर्ने हुन्छ । त्यस्तो हुनेछैन भन्नेमा म आशा गर्छु । जनताको मत शान्तिको पक्षमा हुनेमा म आशा गर्छु । भेनेजुयाली जनता कति भद्र छन् भन्ने कुरा उनीहरूले देखून् । हाम्रा समस्याबारे शान्तिपूर्वक कुराकानी गर्ने अधिकार हामीलाई छ । कसैले पनि भेनेजुयलामा हस्तक्षेप नगरोस् । संसारभरका शक्तिशाली जनमतसामु ह्वाइट हाउसको त्यो अतिवादी समूह पराजित भइसकेको छ । म यसमा विश्वास गर्छु । म आस्थिक हुँ । म क्रिस्चियन हुँ र म सधैं ईश्वरसामु हामीलाई सद्बुद्धि दिन र रक्षा गर्न प्रार्थना गर्छु । हामीले सबै कुरा शान्तिपूर्वक नै हासिल गर्नेमा म आस्था राख्छु ।
ग्युरिन ः विपक्षहरू स्वयंसेवकहरूको कुरा गरिरहेका छन् । भेनेजुयलाभित्र सहायता सामग्री भित्र्याउन मानिस परिचालन गर्ने कुरा गरिरहेका छन् । यदि उनीहरूले त्यस्तो प्रयास गरे के तपाईँहरूले उनीहरूमाथि गोली वर्साउनुहुन्छ ?
माडुरो ः हामीले त्यस्तो कहिल्यै गरेनौँ । हामी त्यस्तो कहिल्यै गर्दैनौँ । विपक्षीको आफ्नै रणनीति र राजनीति छ । उनीहरू आफ्नै प्रकारले काम गर्नसक्छन् । यो देशमा उनीहरूले जे चाहन्छन्, त्यसै गर्न स्वतन्त्रता राख्छन् । तर, त्यस्तो खालको दमन न कहिल्यै भएको थियो न हुने नै छ ।
ग्युरिन ः तर, सरकारविरोधी प्रदर्शनको क्रममा त मानिस मारिएका छन् नि । गएको महिनामात्र संयुक्त राष्ट्र सङ्घले चालीस जना मानिस मारिएको बताएको थियो । तीमध्ये झण्डै २६ जना सुरक्षाकर्मीले मारेको बताएको थियो । मानिसहरूले अझै प्रदर्शन जारी राखेका छन् ।
माडुरो ः कुन प्रदर्शन ? उनीहरू बढीमा पन्ध्र दिन टिक्ने कुनै पनि आन्दोलन गरेको कुनै पनि प्रमाण देखाउन सक्दैनन् । मैले हेरेको छु । म अन्तर्राष्ट्रिय समाचारमाध्यम हेर्ने गर्छु । अन्तर्राष्ट्रिय समाचारमाध्यमले त्यस्तो भेनेजुयला देखाइरहेका छन् जो यहाँको सडकमा हुने गरेको हुँदैन । गएको जनवरी २३ मा ठूला जुलुस भएका थिए । विपक्षीहरूले पनि ठूलो जुलुस निकाले, हामीले पनि निकाल्यौं । ती तस्वीर र सडकमा तनावका अन्य तस्वीर देखाएर उनीहरू बितेका पन्ध्र दिनदेखि भेनेजुयलामा ठूलठूला प्रदर्शन भइरहेको फलाकिरहेका छन् । जनवरीको २५, २८, २९ र फेब्रुअरी १ मा मलाई फोनमार्फत सम्पर्क गर्ने संसारका विभिन्न देशका राष्ट्रप्रमुख र सरकारप्रमुखले मलाई सोध्दै थिए–के भेनेजुयलाका सडकमा ठूलठूला प्रदर्शन भइरहेका छन् ? मैले भनेँ, “अहँ छैन । भेनेजुयला आफ्नै काममा मस्त छ । भेनेजुयलामा शान्ति छ ।
सत्ताविप्लवको प्रयत्नलाई जायज प्रमाणित गर्न र अन्तर्राष्ट्रिय समर्थन जुटाउन भेनेजुयलाका प्रमुख सहर ठप्प गर्ने उनीहरूको योजना थियो । तर, उनीहरू आफ्नो योजनामा असफल भए । केही स–साना अराजक समूह नै सडकमा देखिएका हुन् । उनीहरूलाई त्यसो गर्न विपक्षीहरूले पैसा दिएका छन् । उनीहरू आफ्ना हिंसात्मक गतिविधिको चेपुवामा फसेका छन् ।
ग्युरिन ः धेरै ठूलठूला विरोध प्रदर्शन भएका थिए । तीमध्ये केही प्रदर्शन त हामी स्वयंले पनि देखेका छौं । हामीले तपाईँका समर्थकहरू पनि देखेका थियौं । विपक्षीहरूले धेरै सङ्ख्यामा मानिस सडकमा उतारेको र उनीहरू परिवर्तनको आह्वान गर्दै सडकमा प्रदर्शनमा उत्रेकोमा के तपाईँ विमति राख्नुहुन्छ ?
माडुरो ः हो, मैले पनि देखेको छु । विरोध गर्ने उनीहरूको अधिकार सुरक्षित राखिएको छ । हामीले जस्तै विपक्षीहरूले पनि ठूला प्रदर्शन गरेका छन् । भेनेजुयलाको प्रजातन्त्र गतिशील प्रजातन्त्र हो । क्रान्तिको समर्थन गर्ने मानिस पनि छन्, क्रान्तिको विरोध गर्ने जनता पनि छन् । उनीहरू जतिबेला पनि प्रदर्शन गर्न पाउँछन्, उनीहरूको त्यो अधिकार सुरक्षित गरिएको छ । मैले सधैं भन्ने गर्छु, उनीहरूले गर्ने सबै त्यस्ता प्रदर्शन शान्तिपूर्वक होस् । उनीहरूभित्र सानो आकारको हिंसात्मक टोलीहरू छन् । विपक्षीहरूका विरोध प्रदर्शन जब सकिन्छ तब जहिल्यै उनीहरू शान्ति सुव्यवस्थामा दखल पु¥याउन प्रहरीसँग भिड्न निहुँ खोज्ने गर्छन् । विपक्षीले जति पटक मनपर्छ, त्यत्ति पटक प्रदर्शन गर्न पाउँछन् । उनीहरूले आफ्ना नारा र माग राख्न सक्छन् । हामीले पनि जनपरिचालन गर्छौं । सुखद् पक्ष भनेको हामी जनतासँग गतिशील प्रजातन्त्र छ ।
ग्युरिनः तपाईँले सत्ता छोड्ने कुनै प्रकारको अवस्था छ ?
माडुरो ः हेर्नोस् ग्युरिन, व्यक्तिको रुपमा शक्तिमा बसिरहनु मेरो चाहना होइन । शक्ति छोड्नु पनि मेरो व्यक्तिगत चाहनामा भरपर्ने विषय होइन । म सामाजिक, राजनीतिक र ऐतिहासिक क्रान्तिकारी आन्दोलनको हिस्सा हुँ । त्यही जनताको आन्दोलनले मलाई यो जिम्मेवारी सुम्पेको हो । संविधानद्वारा निदृष्ट सबै प्रक्रिया पुरा गरेर, चुनावी आवश्यकता पूरा गरेर मलाई दिएको यो म्यान्डेट निकै शक्तिशाली छ । त्यो म्यान्डेट मैले जीवन दिएर पुरा गर्नुछ । मैले त्यसैको लागि सपथ खाएको छु । मैले सर्वोच्च अदालतसामु संविधान जोगाउन र बलियो बनाउन आफ्नो ज्यान दिने सपथ खाएको छु । यो म्यान्डेट हो । जनताले दिएको यो जिम्मेवारी पूरा गर्न सम्भव सबै काम म गर्नेछु ।
बाँकी भोलिको अङ्कमा
अनुवाद ः नीरज

Leave a Reply

Your email address will not be published. Required fields are marked *