भर्खरै :

विवेकशील उपचार र अविश्वास

डा. अरुणा उप्रेती
केही दिन अघि एक हिन्दी फिल्म ‘अङ्कुर अरोरा मर्डर केस’ हेरेँ । निजी अस्पतालको एक चर्चित डाक्टरले पैसा कमाउनको लागि कसरी बिरामीको समस्या बढाइचढाइ गरेर, बेवास्ता गरेर, एक बालकको मृत्यु हुन पुगेको छ र पछि कसरी त्यही डाक्टरविरूद्ध आमाले कानुनी लडाइँ लड्छिन् र जित्दछिन् भन्ने कथावस्तुमा देखाइएको छ । मुम्बइको शेखावत अस्पतालमा शल्यक्रियामा विशेषज्ञता हासिल गरेका एक नामी डाक्टर आफ्नो काममा अति घमण्ड गर्छन् । उनको त्यही निजी अस्पतालमा एकदिन ८ वर्षीय अङ्कुरको पेट दुखेर आमाले अस्पतालमा ल्याउँछिन् । एक जुनियर डाक्टर उनको ‘एपेन्डिसाइटिस भएको र बालकलाई तुरून्त शल्यक्रिया गर्ने’ सुझाव दिन्छन् ।
तर शल्यक्रिया गर्ने तिनै डाक्टरले बच्चालाई अनावश्यक रूपमा बढी दिन अस्पतालमा राखेर बढी पैसा लिने सुझाव दिन्छन् । डाक्टरी सेवा गरेरमात्र अस्पताल चल्दैन । बिरामीलाई केही दिन बढी अस्पतालमा राख्दा केही समस्या पर्दैन । ती धनी महिला होटेल वा फेसन गर्न बढी पैसा तिर्छिन् । बिरामीलाई दुई चार दिन बढी राखेर पैसा आउँछ । कर्मचारीलाई तलब दिन सकिन्छ । अस्पताल पनि त चलाउनुपर्छ भन्ने मान्यताबाट डाक्टर प्रेरित हुन्छन् । अनि बच्चालाई शल्यक्रिया नगरी दुई दिन अस्पतालमा राखिन्छ । शल्यक्रिया गर्ने दिनमा बिहान भोक लागेर बच्चाले बिस्कुट खाइदिन्छ । नर्सले यो कुरा डाक्टरलाई भन्छिन् र शल्यक्रिया रोक्ने सुझाव दिन्छिन् । तर, डाक्टर मान्दैनन् शल्यक्रिया गर्दा मस्तिष्कमा अक्सिजन अपूर्ति बन्द भएर बच्चा कोमामा जान्छ र अन्ततः बच्चाको मृत्यु हुन्छ ।
सङ्क्षेपमा डाक्टरी पेसालाई व्यापारको रूपमा मात्र हेर्दा कसरी बिरामीको अवस्था नाजुक भएर मृत्यु पनि हुनसक्छ भन्ने सिनेमामा देखाइएको छ । डाक्टरको बढी पैसा कमाउने लोभले गर्दा बिरामीको मृत्यु भएकोले सायद यसलाई ‘हत्या’ भनिएको हो ।
यो फिल्म हेरेर मलाई लाग्यो, नेपालमा त्यसरी पैसा कमाउनको लागि भनेर कुनै पनि निजी अस्पतालमा बिरामीहरूलार्ई बढी राख्ने गरिन्छ होला र नचाहिने महँगा जाँचहरू पनि नेपालका निजी अस्पतालमा गरिन्छ होला वा महँगो नचाहिने औषधि पनि दिइन्छ होला र भन्ने आशड्ढा पनि जन्मिए । सायद बिरामी केही दिन बढी बसे अस्पतालका विभिन्न खर्चहरू टर्छ, त्यसैले सक्नेले जति दिनसक्छ लिएर केही नराम्रो हुँदैन भनेर नै कसैले नचाहिने शल्यक्रिया गर्दैन कि भन्ने पनि लाग्छ । तर, नेपालमा यसको विषयमा कतै अनुसन्धान भएको छैन ।
पर्यटकलाई अशुद्ध खाना दिएर बिरामी पारेर ल्याउने र अस्पतालमा उपचार नै नगरिकन बिल बनाउने ठूला अस्पतालका नाम सञ्चार माध्यममा आएका छन् । तर, त्यस्तो अस्पताललाई नसिहट दिनेतर्फ वास्ता गरिएको छैन । भारतका विभिन्न निजी अस्पतालमा धेरै पैसा कुम्ल्याउने उद्देश्यले कतिपय प्रसूति गृहमा नचाहिने रूपमा शल्यक्रिया गरेर बच्चा निकालेका घटना अब नेपालमा समेत व्यापक बनेको चर्चा छ ।
निजी अस्पतालमा सकेसम्म प्राकृतिक रूपमा बच्चा जन्माउन प्रेरित गरिन्छ । जब साँच्ची नै आमा र बच्चाको स्वास्थ्य खराबी हुने अवस्था आउँछ, तबमात्र शल्यक्रिया गरिन्छ भन्ने जवाफमा डा. लक्ष्मी तामाङले मलाई भनेकी थिइन् । नेपालका केही निजी अस्पतालमा ८० देखि ९१५ बिरामीलाई शल्यक्रिया गरिन्छ । अझ नेपालका ठूला व्यक्तिहरू जाने थापाथलीको एक अन्तर्राष्ट्रिय स्तरको अस्पतालमा प्राकृतिक तरिकाले सुत्केरी हुने महिलाहरूलाई लिँदैन रे । त्यो अस्पतालमा त सुत्केरी गर्नु भनेको शल्यक्रियामात्र हो । नेपालमा डाक्टर छुट्टीमा जान लागेकोले वा छिट्टै काम सिध्याउने भनेर शल्यक्रिया गराउने गरिँदैन भन्ने मलाई विश्वास थियो । भारतजस्तो देशमा कुनै महिलाले मलाई बच्चा पाउँदा दुख्छ भन्ने डर लाग्छ, बरू मलाई शल्यक्रिया गरेर बच्चा पाउँछु वा लगनको अनुसार बच्चा बाहिर निकाल्छु भन्दै बहुलठ्ठी मागमा डाक्टरले चक्कु उठाइ हाल्दैनन् भन्ने मेरो विचार थियो । तर, तपाईंको विचार गलत छ भनेर उनले केही निजी अस्पतालको तथ्याङ्कहरूले देखाएका छन्, डा. तामाङले भनिन् ।
‘म निजी अस्पतालमा पैसा तिरेर आएपछि मेरो मागअनुसार हुनुपर्छ’ भन्ने महिलालाई डाक्टर र नर्सले किन नचाहिने शल्यक्रिया गर्दा बालक र आमाको ज्यान जोखिममा पर्नसक्छ भनेर सम्झाउन सक्दैनन् ? प्राकृतिक रूपले बच्चा जन्माउँदाका फाइदाहरू के–के छन् भनेर अस्पतालमा नै राम्रोसँग बुझाउँछन् होला ?
महिलालाई सुत्केरी गराउँदा शल्यक्रिया गर्न किन बाध्य गरिन्छ । निजी अस्पतालमा नेपाल वा भारतमा के पैसामात्र कारण हो वा अन्य केही कारण छन् भन्न गाह्रो छ । तर ९०५ सुत्केरी कुनै अस्पतालमा हुनु भनेको अविवेकशील शल्यक्रिया नै हो भनेर केही स्त्री रोग विशेषज्ञले भनेका छन् ।
डाक्टरले शल्यक्रिया गर्नुपर्छ भनेपछि वा अस्पतालमा केही दिन बस्नुपर्छ भनेपछि बिरामी र उनका परिवार विवश हुन्छन् । एक सम्मेलनमा भाग लिँदा मैले नेपालमा निजी अस्पतालमा धेरै शल्यक्रिया गरेर सुत्केरी गराउने किन होला भन्ने प्रश्न गर्दा “महिलाले सुत्केरी हुँदा शल्यक्रिया किन गर्ने भन्ने प्रश्न उठाएर तपाईंले पाप गरिरहनुभएको छ । हरेक गर्भवती महिलाको सुत्केरी हुँदा शल्यक्रिया गर्नैपर्छ” भनेर एक स्त्री रोग विशेषज्ञले मलाई झपारेका थिए । उनको कुराले मलाई लाग्यो, नेपालमा केहीमात्र स्त्री रोग विशेषज्ञ छन् होला, जसले सुत्केरी हुनु भनेको नै ‘शल्यक्रिया गरेर बच्चा निकाल्नु’ हो भन्ने बुझेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *