भर्खरै :

दुई सहरको कथा

सीमा गुहा
न्युजिल्याण्डले आतङ्कवादी हमलाप्रति कसरी एउटा सभ्य देशले प्रतिक्रिया जनाउँछ भन्ने कुरा संसारलाई देखाएको छ । क्रिसचर्च सहरका दुई वटा मस्जिदमा शुक्रबारे प्रार्थनाको क्रममा अन्धाधुन्ध गोली चल्दा ५० जना मानिस मारिए । प्रधानमन्त्री जासिन्डा अर्देनको नेतृत्वमा न्युजिल्याण्डका जनता उक्त विवेकहीन हमलाको भत्र्सना गर्न एक ठाउँमा उभिए । न्युजिल्याण्डले यसअघि कहिल्यै पनि त्यस्तो आतङ्कवादी हमला सामना गर्नुपरेको थिएन । लेबर पार्टीको सरकारले निकै धैर्यता र प्रभावकारी कदमहरूमार्फत सो घटनाको सामना गरेको देखिन्छ । जुन शक्ति र भावनाका साथ न्युजिल्याण्डले सो घटनाको सामना ग¥यो, त्यसले त्यहाँको महिला नेतृत्वको आयाम र क्षमताबारे धेरै कुरा बोलेको छ ।
न्युजिल्याण्ड धेरै जनसङ्ख्या भएको देश होइन । आप्रवासीहरूका लागि न्युजिल्याण्डले आफ्नो ढोका खुला राखेको छ । न्युजिल्याण्डमा बस्दै आएका आप्रवासीमध्ये केही शरणार्थी पनि छन् भने अधिकांश सुखद् जीवनको खोजीमा त्यहाँमा पुगेका हुन् । तर, आजसम्म त्यहाँ कुनै प्रकारको साम्प्रदायिक तनाव थिएन । त्यसकारण हालैको घटनामा बन्दुक चलाउने हत्यारा ब्रेनटन तारान्त स्थानीय बासिन्दा नहुनु कुनै आश्चर्यको विषय होइन । २८ वर्षका गोरा अहम्कारी तारान्त न्युजिल्याण्डको छिमेकी देश अस्टे«लियाका बासिन्दा हुन् । उनी गोराहरूको संसारको कुनै पनि कुनामा आप्रवासी सुरक्षित नभएको देखाउन चाहन्थे ।
तारन्तको शब्दमा आप्रवासीहरू ‘हमलाकारी’ हुन् । उनी आप्रवासीहरूको हत्या गर्ने लक्ष्यका साथ न्युजिल्याण्डमा पुगेका थिए । युरोप र पश्चिमा विश्वभरि फैलिएको आप्रवासी र शरणार्थीविरोधी भावनाले उनलाई प्रभावित बनाएको उनले बयानमा भने । गोराहरूको बसोबास भएका देशहरूमा अफ्रिका, एसिया र ल्याटिन अमेरिकाबाट ठूलो सङ्ख्यामा आउने काला र खैरा आप्रवासीहरूप्रति उनमा गहिरो घृणाभाव थियो । दक्षिण क्यारोलिनाको एउटा चर्चमा गोली चलाई नौ जना अफ्रिकी अमेरिकीको हत्या गरेका डेलान रुफ र लेबर पार्टीको एउटा युवा कार्यक्रममा सहभागीमध्ये ७७ जनाको ज्यान जाने गरी गोली चलाउने नर्वेका एन्डर्स बे्रभजीलाई आफ्नो आदर्श मान्ने गर्दा रहेछन् । नर्वे र अरु युरोपेली देशहरूमा तथाकथित मुसलमानको कब्जा निमन्त्रणा गर्ने लेबर पार्टीप्रति उनी आक्रोशित थिए । न्युजिल्याण्डमा पनि लेबर पार्टीकै सरकार छ । तारान्तले आफ्नो एउटा भिडियो सन्देशमा आफ्नो कामले व्यापक हिंसा फैलिने र गोराहरूको संसारमा आप्रवासी भित्र्याउँदा आउन सक्ने खतराबारे मानिसहरूको आँखा उघारिने आशा व्यक्त गरेका छन् ।
न्युजिल्याण्डका प्रधानमन्त्रीले तारन्तले चाहेजस्तै घटना नहोस् भनी सावधानी अपनाइन् । सरकारले सुरुमा तारान्तको नाम सार्वजनिक गरेन । त्यस्तो गर्दा आफ्नो बदनामी प्रचार गर्ने तारान्तको आशा पूरा भएन । साथै अरुलाई पनि उनको रक्तपातपूर्ण उदाहरण पछ्याउन उत्साहित गरेन । सरकारले तत्कालै सैनिक शैलीका अर्धस्वचालित बन्दुकहरूमाथि रोक लगायो । छ दिनभित्रै न्युजिल्याण्डले त्यससम्बन्धी कानुन पारित ग¥यो । न्युजिल्याण्डका समाचार माध्यमअनुसार त्यो कानुन अप्रिल ११ देखि नै लागू भइसकेको छ । “सैनिक शैलीको अर्धस्वचालित बन्दुक बनाउन आवश्यक पर्ने पाटपुर्जामाथि पनि प्रतिबन्ध लगाइएको छ । साथै उच्च क्षमताको मेगेजिनमाथि पनि रोक लगाइएको छ ।”, प्रधानमन्त्रीले पत्रकारलाई भनेकी थिइन् ।
तर, त्यस्ता घटना पटक – पटक भएर पनि संरा अमेरिकाको सरकारले भने यस्तो प्रतिबन्ध लगाएको छैन । संरा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना निर्दोष जनताको मात्र नभई स्कुले केटोकटीसमेतको हत्यामा प्रयोग भएका प्राणघातक हतियारमाथि समेत प्रतिबन्ध लगाउन मानेका छैनन् । गएको वर्षमात्र संरा अमेरिकामा स्कूलमा गोली चलेका ११३ घटना भएका थिए । यो दसकमा यो नै सबभन्दा धेरै सङ्ख्या हो । जनताको आक्रोश र निश्चित प्रकारका सैनिक शैलीका स्वचालित हतियारमाथि प्रतिबन्ध लगाउने मागबीच पनि सरकारले कुनै प्रकारको प्रतिबन्ध लगाउन मानेन । आफ्नो जीवन रक्षाको लागि बन्दुकमाथि प्रतिबन्ध लगाउन स्कुले केटाकेटीले गरेका प्रदर्शनको पनि कुनै सुनुवाइ भएन ।
क्रिसचर्चको घटनामा ठूलो सङ्ख्यामा न्युजिल्याण्डका जनता मस्जिदको प्राङ्गणमा जम्मा भई मुसलमान समुदायप्रति ऐक्यबद्धता व्यक्त गरेका थिए ।
भारतलाई पाठ
यसप्रकारका विवेकहीन आतङ्क सामना गरेका सबै देशको लागि यहाँ सिक्नुपर्ने पाठ छन् । भारतको कास्मिरमा एक जना आत्मघाती हमलाकारीले गरेको पुलवामा हमलालगत्तै भएको हुनाले पनि न्युजिल्याण्ड घटनासँग यसको तुलना हुनु स्वाभाविक हो । भारतले आफ्ना मारिएको सेनाप्रति शोक ग¥यो । त्यसो गर्नु स्वाभाविक हो । तर, भारतमा शोकभावसँगै बदलाभावका चिच्याहट पनि चर्कै सुनियो । पाकिस्तानलाई तुरुन्तै पाठ सिकाउनुपर्ने आवाज उठे ।
सबभन्दा अशोभनीय काम भनेको भारतभरि कास्मिरका व्यापारी र विद्यार्थीमाथि हमलाका घटना भए । न्युजिल्याण्डमा जस्तै सङ्कटको समयमा सारा भारत एक हुनुको साटो भारतीयहरू घूसपैठियाको इसारामा नाच्न थाले । कास्मिरीमाथि रीस फेर्ने भन्दै भारतभरि विभिन्न ठाउँमा पढिरहेका र काम गरिरहेका मानिसहरूमाथि हमलाका घटना भए । त्यस्तो घटना सबभन्दा पहिले जम्मुमा भयो । त्यहाँ कट्टरपन्थी हिन्दुवादी समर्थकहरूले कास्मिरी मुसलमानहरूमाथि हमला गरे । यसले भारतीय समाज कति विवेकहीन र मूर्ख छ भन्ने कुरा प्रष्ट देखायो । यस्ता हमलाको विरोधमा कहींकतैमात्र विरोधका आवाज सुनियो । आतङ्कवादी गतिविधिसित कास्मिरी विद्यार्थीको के लिनु दिनु ? यो प्रश्न कसैले पनि सोधेनन् ।
अमबाला, जयपुर र देहरादुनलगायत भारतका विभिन्न क्षेत्रमा कास्मिरी विद्यार्थीमाथि कुटपिट र आक्रमणका घटना भएको समाचार प्रकाशमा आए । देहरादुनको एउटा शिक्षण संस्थाका सञ्चालकमाथि विद्यार्थी युनियनले कास्मिरी विद्यार्थीहरू देशविरोधी गतिविधिमा संलग्न भए–नभएको परीक्षण गर्न दिनुपर्ने भन्दै आक्रमणमा उत्रेका थिए । अर्को एउटा शैक्षिक संस्थाका प्रधानाध्यापकले कोही पनि कास्मिरी विद्यार्थीलाई आप्mनो संस्थामा भर्ना नगर्ने वचन दिनुपरेको थियो ।
भारत कास्मिर आफ्नो देशको अखण्ड भूभाग भएको दोहो¥याइरहन्छ । तर, त्यहाँमा जनतामाथि गर्ने व्यवहार हेर्दा भारतले कहिल्यै पनि कास्मिर उपत्यकाबाट आएका कास्मिरी मुसलमानहरूलाई आफ्नो नमानेको देखिन्छ । के हामी कास्मिरको भूमिमाथि मात्र दाबी गर्छौं ? त्यो उपत्यका जोगाउन हामी रगत बगाउन तयार छौं । तर, त्यहाँको जनताको बारेमा चासो र चिन्ता लिनुपर्दैन ?
भारतमा अतिराष्ट्रवादी भावनालाई सरकार स्वयम्ले प्रवद्र्धन गरिरहेको छ । दक्षिणपन्थी समूह र सङ्घ परिवारका सदस्यहरू देशभक्तिको नाममा कानुन आफ्नो हातमा बोकेर हिंडिरहेका छन् । सरकारले पुलवामा घटनापछि देशभरिका कास्मिरी जनतामाथि खतरा हुन सक्ने दूरदर्शिता देखाउनुपथ्र्यो । तर, विगतमा जस्तै सरकारले यसतर्फ ध्यान दिएन ।
भारतमा सन् २०१४ मा हिन्दुवादी शक्ति सत्तासिन भएयता सबै धार्मिक समुदायसँग मिलेर बस्ने पुरानो परम्पराको ठाउँ मुसलमानविरोधी भावनाले लियो । भिजिलान्तेहरूले भीडमा मान्छे मार्ने घटनाको सङ्ख्या बढ्न थाल्यो । अरु मानिसहरूले पनि देखेनदेखेजस्तै बस्न थाले । दोषीलाई केही सजाय दिइएन । त्यसकारण यस्ता घटनाले निरन्तरता पाए । १६ वर्षका जुनाएड खाँको रेलमा कुटीकुटी हत्या भयो । तर, उसलाई जोगाउन कोही अघि सरेन । उसको एउटै दोष भनेको ऊ मुसलमान थियो ।
न्युजिल्याण्डमा प्रधानमन्त्री स्वयम्ले उदाहरणीय भूमिका खेलिन् । उनले कुनै पनि वियोगान्त घटनाले पनि मानिसलाई एक ठाउँमा ल्याउन सक्ने रहेछ भनी देखाएकी छिन् । उनले यही सन्देश संसारभर सञ्चार गरेकी छिन् । जासिन्दा अर्देन यसकारण आदरको पात्र बनेकी छिन् ।
(सीमा गुहा विदेश नीतिका वरिष्ठ पत्रकार हुन् ।)
स्रोतः न्युजक्लिक
नेपाली अनुवादः सुशिला

Leave a Reply

Your email address will not be published. Required fields are marked *