भर्खरै :

भेनेजुयलामा सत्ता विप्लवको अर्को अध्याय

प्रकाश
अप्रिल ३० को बिहान झिसमिसेमै भेनेजुयलाका दक्षिणपन्थी विपक्षीहरूले सत्ता विप्लवको अर्को प्रयास गरे । संरा अमेरिकी साथ र समर्थनमा स्वघोषित अन्तरिम राष्ट्रपति ह्वान ग्वाइडो, भेनेजुयाली प्रहरी गुप्तचर विभाग (SEBIN) को एक समूह र भेनेजुयाली सेनाका केही जवानहरू मिलेर सत्ता विप्लवको असफल प्रयास गरेका थिए ।
सत्ता विप्लव स्थानीय समयअनुसार बिहान ५.४६ मा स्वघोषित राष्ट्रपति ग्वाइडोले विद्रोह सुरु भइसकेको भिडियो सन्देश सामाजिक सञ्जालमा अपलोड गरेसँगै औपचारिकरूपमा सुरु भयो । उक्त भिडियोमा उनी पूर्वी काराकासस्थित ला कार्लोटा सैनिक विमानस्थल बाहिरको अल्टामिरा राजमार्गमा सेनाको एक सानो समूहका साथ देखिएका थिए । त्यससँगै सन् २०१४ को हिंसात्मक भिडन्त (guarimbas) का योजनाकार रहेका र घरमै नजरबन्दमा रहेका अर्का विपक्षी नेता लियोपोल्डो लोपेजलाई उनलाई नै पहरा दिएर बसेका प्रहरी गुप्तचरहरूको एक समूहले मुक्त गरेको थियो । त्यसपछि लोपेज सिधै ला. कार्लोटा विमानस्थल नजिक अल्टामिरा राजमार्ग बन्द गरेर बसेका ग्वाइडो, सेनाको सानो समूह र दक्षिणपन्थी प्रदर्शनकारीहरूसँग मिल्न पुगेका थिए ।
ग्वाइडो र लोपेजले सँगै बसेर फोटो खिचाउनुका साथै सेनालाई सत्ता विप्लवमा सामेल हुन आह्वान गर्दै भिडियो बनाए । भिडियोमा ग्वाइडोको सन्देश स्पष्ट थियो ः “म यतिखेर हाम्रो देशको सेनाको मुख्य युनिटसँग छु र अपरेशन लिवरटाडको अन्तिम चरण सुरु भएको छ ।” ग्वाइडोले माडुरो सरकारविरुद्ध अन्तिम चरणको सङ्घर्ष मात्र बाँकी भएको बताएका थिए । नजरबन्दको सजाय भोगिरहेका लोपेजको उपस्थितिले उनको दाबीलाई बल मिलिरहेको थियो । तर, केही घण्टाभित्रै आफूलाई सेनाको ‘मुख्य युनिट’ को साथ भएको उनको दाबी एउटा झूटमात्र भएको छर्लङ्ग भयो । ग्वाइडोको नियन्त्रणमा सेनाको कुनै युनिट वा आधार पनि थिएन र कोही कमान्डिङ्ग अफिसर पनि उनको पक्षमा थिएन । भिडियोमा उनले दाबी गरेअनुसार उनी ला कार्लोटा हवाइ अड्डाभित्र थिएनन् बरु बाहिर थिए । उनले कुनै टिभी वा रेडियो स्टेशन पनि नियन्त्रणमा लिन सकेका थिएनन् ।
ग्वाइडोले आह्वानअनुसार केही सय दक्षिणपन्थी युवाहरू ला कार्लोटा हवाइ अड्डा अगाडि भेला हुन पुगे र त्यसको रक्षा गरिरहेका नेसनल गार्ड (सशस्त्र प्रहरी) सित भिडन्त गर्न पुगे । ला कार्लोटा विमानस्थल सुरक्षार्थ बसेका नेसनल गार्ड र ग्वाइडोको विद्रोहमा सामेल केही दर्जन सैनिकबीच केही बेर गोली हानाहान भएको थियो र दुवैतर्फ केही मानिस घाइते पनि भएका थिए ।
प्रतिरोधको भावना
यसैबीच राष्ट्रपति माडुरोले सैनिक विद्रोहको दुष्प्रयास भएको ट्विट गर्नासाथ दसौँ हजारको सङ्ख्यामा चाभेजवादी नेता, कार्यक्रर्ताहरू तथा जनमिलिसियाका सदस्यहरू राष्ट्रपतीय भवन मिराफ्लोर्स दरबारको चारैतिर भेला भएका थिए । राष्ट्रपति माडुरोले ट्विटमार्फत सेनाका सबै युनिटमा सम्पर्क गरिएको र कहिँकतै पनि कुनै विद्रोह नभएको बरु सबै माडुरो सरकारप्रति बफादार रहेको पाइएको जनाउनुभयो ।
मिराफ्लोर्स दरबार अगाडि उक्त दिन राष्ट्रिय संविधानसभाका अध्यक्ष डायस्डाडो क्याबेलो, सञ्चारमन्त्री रोड्रिग्वेजमात्र थिएनन् बरु मञ्चमा चाभेजवादी जनवर्गीय सङ्गठनका प्रतिनिधिहरू उभिएका थिए । तिनीहरू त्यसभन्दा अगाडि कुनै सरकारी कार्यक्रमहरूमा अगाडि देखिने गरेका थिएनन् । उक्त भेलामा सामेल एक–एक व्यक्ति दृढ निश्चयी देखिएका थिए र त्यहाँ प्रतिरोधको भावना व्यापक थियो । जनमिलिसियाका नेता र प्रतिनिधिहरूले आफूहरूलाई अविलम्ब शस्त्रागारको साँचो सुम्पन आग्रह गरेका थिए ।
सत्ता विप्लवविरुद्धको प्रतिरोध लडाइँलाई केही सैनिक जनरलहरूको जिम्मामा छोड्न नसकिने भनाइ सचेत चाभेजवादीहरूको रह्यो । ती जनरलहरूका आफ्नै स्वार्थहरू छन् जसलाई तिनीहरू पहिलो प्राथमिकतामा राख्छन् । जबसम्म तिनीहरूलाई माडुरो सरकारले तिनीहरूको स्वार्थ रक्षा र पूरा गर्नसक्छ भन्ने लाग्छ तिनीहरू बफादार देखिनेछन् । तर, सरकारले जब तिनीहरूको स्वार्थ पूरा गर्न र रक्षा गर्न सक्दैन, आफ्नो स्वार्थ रक्षा र पूरा गर्ने सुनिश्चितताका लागि तिनीहरूले बफादारी फेर्ने र हस्तक्षेप गर्न खोज्नेछन् । तिनीहरूसित कुनै सिद्धान्त र आस्था छैन । प्रतिबन्धहरूले गहिरो पारेको आर्थिक सड्ढटको निरन्तरताका साथै अन्तर्राष्ट्रिय दबाबका कारण सेनाभित्रका केही खेलाडीहरूलाई आफ्नो छाला बचाउन माडुरोलाई हटाउने खेलमा लाग्न सक्छन् । विकल्प भनेको जनमिलिसियाको सशस्त्रीकरण र हिंसात्मक झुण्डहरूमाथि कडा कारबाही मात्रै हो ।
साम्राज्यवादी समर्थन
भेनेजुयलामा खबर सँगसँगै त्यसलाई अमेरिकी राष्ट्रपति ट्रम्प, विदेशमन्त्री पोम्पेओ, इलियट अब्राम्स, मार्को रुबियो आदि अमेरिकी अधिकारीहरूको समर्थनका ट्विट र वक्तव्यहरू पनि बाहिरिएका थिए । त्यसपछि तिनीहरूको सिको ब्राजिल कोलम्बिया, चिलीका दक्षिणपन्थी राष्ट्रपतिहरू तथा युरोपेली संसद्का अध्यक्षले पनि गरे । त्यसदिन अमेरिकी राज्य सङ्गठन–ओएएसका महासचिव लुइस अल्माग्रोको सक्रियता विशेष देखिएको थियो । उनी पटक–पटक ट्विटमार्फत अमेरिकी महादेश र विश्वका सरकारहरूलाई सत्ताविप्लवलाई समर्थन गर्न आग्रह गर्दै थिए । सो विद्रोहको दुई दिन अगाडिमात्र भेनेजुयलाले उक्त सङ्गठनलाई संरा अमेरिकाको उपनिवेश मन्त्रालय भन्दै सङ्गठनको सदस्यता त्याग गरेको हुनाले पनि भेनेजुयलाविरुद्धको उनको आक्रोश देखिएको थियो ।
त्यसदिन अमेरिकी विदेशमन्त्री पोम्पेओ र राष्ट्रिय सुरक्षा सल्लाहकार जाने बोल्टनले झूटको ठूलै खेती गरे । पोम्पेओले राष्ट्रपति माडुरोलाई हटाउन संरा अमेरिका र भेनेजुयलाका उच्च अधिकारीहरूबीच सम्झौता भइसकेको बताए । बोल्टनले त अझ अगाडि बढेर भेनेजुयाली रक्षामन्त्री भ्लादिमिर पेड्रिनो, सैनिक प्रतिजासुसी र राष्ट्रपतीय गार्ड प्रमुख इभान हर्नान्डेज र सर्वोच्च अदालतका प्रधानन्यायाधीश माइकेल मोरेनोको नामसमेत उल्लेख गरे । तर, साम्राज्यवादीको हल्ला झूटो भएको केही बेरमै पुष्टि भयो । मङ्गलबार दिउँसै रक्षामन्त्री पेड्रिनोले आफूले कुनै अमेरिकी अधिकारीसँग कुरा नगरेको र सत्ता परिवर्तनबारे कहिल्यै कुनै कुरा पनि नगर्ने स्पष्ट पारे । उनले विद्रोहमा सामेल सेनाका केही सदस्यहरूलाई पक्राउ गरिसकेको र देशभर नै सेनाका सबै युनिटहरूमा सामान्य अवस्था रहेको र सेना राष्ट्रपति माडुरोप्रति बफादार रहेको जानकारी दिए । प्रधानन्याधीश माइकेल मोरेनोले पनि अमेरिकी अधिकारीहरूको दाबी झूटा भएको बताए । पछि फेरि लाजै नमानी पोम्पेओ र बोल्टनले माडुरो क्युवा निर्वासनमा जानका लागि पर्खेर बसेको विमानमा जानसमेत तयार भइसकेका तर रुसले उनलाई रोकेर काराकसमै रहन भनेकोले त्यहीँ बसेको भनी अर्को झूट प्रचार गरे । रुसले पनि उक्त झूटको तत्काल खण्डन र निन्दा ग¥यो ।
सैनिक विद्रोहको दयनीय हार
बोलिभारियाली राष्ट्रिय गार्डसको सक्रियतासँगै विद्रोहमा सामेल सेना र प्रहरीको भागाभाग भएको थियो । ग्वाइडोको हुलदङ्गा गर्ने झुण्ड र राष्ट्रिय गार्डसबीच दिनभरजस्तो भिडन्त भइरहेको थियो । सामाजिक सञ्जालमा लोपेजलाई साथमै राखेर बनाएको भिडियो अपलोड गरेको केही घण्टामै ग्वाइडो सडकबाट हराएका थिए । पछि साँझतिर फेरि काराकसको पश्चिम भागबाट सरकारविरोधी प्रदर्शनको नेतृत्व गर्दै राष्ट्रपतीय भवनतिर बढ्न खोजेका थिए तर राष्ट्रिय गार्डले राष्ट्रपति भवनको १० किमि परदेखि नै अगाडि बढ्नबाट रोकेको थियो । बिहान घोषणा गर्दा सफल भइसकेको दावी गरिएको विद्रोह साँझसम्ममा दयनीय हारमा परिणत भइसकेको थियो । सबैजना आ–आफू जोगिन भागिरहेका थिए ।
नजरबन्दबाट भागेका लियोपोल्डो लोपेज र उनको परिवार चिलीको राजदूतावासमा लुक्न पुगे । पछि उनीहरूलाई स्पेनको राजदूतावास पु¥याइएको थियो । त्यस्तै विद्रोहमा सामेल २५ जना सेनाका सदस्यहरूले ब्राजियाली दूतावासमा शरण लिएको दूतावासले नै पुष्टि ग¥यो ।
आफ्नो हुलदङ्गा फौजसँगै पूर्वी काराकासतिर भागेका ग्वाइडो राति साढे आठतिर फेरि ट्विटरमा भिडियो सन्देशमा देखिए । उनले भोलिपल्ट “मे–१ को दिन अपरेशन लिवरटाड चालू रहनेछ ” भने । उनले समर्थनको लागि सेनालाई धन्यवाद दिए र “सेनामा माडुरोको समर्थन छैन” भनी अर्को झूट बोले । तर, भोलिपल्ट पूर्वी काराकसमा दक्षिणपन्थीहरूको सामान्य विरोध प्रदर्शनबाहेक केही भएन ।
राष्ट्रपति माडुरोको शान्तिवादी नीति
यद्यपि सैनिक विद्रोहको प्रयास असफल भयो तर अमेरिकी साम्राज्यवादी र दक्षिणपन्थी विपक्षीहरूको धम्की धम्कीमात्र होइन भनी फेरि एकपटक पुष्टि भएको छ । ट्रम्प र उनका सल्लाहकारहरूले सुरुदेखि नै “सबै विकल्पहरू तयार छन्” भनी दोहो¥याउँदै आएका थिए ।
केही दिन अगाडि मात्र ट्रम्पले “माडुरोले देशमाथिको नियन्त्रण गुमाउँदैछन्” भनी ट्विट गरेका थिए । तर, भेनेजुयाली सुरक्षा निकायहरूले पर्याप्त सावधानी अपनाउन नसकेको देखियो । शत्रुले गरेको विद्रोहको समयमा पनि माडुरो सरकारको सुस्तता र शान्तिवादी नीतिको चाभेजवादीहरूबाटै आलोचना सुरु भएको छ । साँच्चिकै केही हजार सेना विद्रोहमा सामेल भएको भए जनमिलिसियालाई हतियार नदिने सरकारको निर्णय निकै भारी पर्नसक्थ्यो भन्ने दाबी उनीहरूको छ । विद्रोह सुरु भएको १५ घण्टापछि मात्र राष्ट्रपति माडुरो टेलिभिजन सम्बोधनमा देखापर्नुलाई सरकारको सुस्तता भनी चाभेजवादीहरूमाझ आलोचना भएको छ । यसै सम्बन्धमा बोलिभारियाली क्रान्तिका एक प्रखर वक्ता जर्ज मार्टिनले लेखेका छन्–“आफ्नो पक्षबाट सरकारले निकै अनिर्णायकरूपमा कदम चालेको देखियो ।” विद्रोहको हल्ला भइरहेको १५ घण्टासम्म पनि टिभीमा राष्ट्रपति माडुरोको वक्तव्य आएन, विद्रोहलाई दबाउन सेना परिचालन गरिएन, मिराफ्लोर्स अगाडिको ¥यालीमा कोही उच्च सरकारी अधिकारी देखिएनन् । मङ्गलबार बेलुकी राष्ट्रपति माडुरोले दाबी गरेझैँ के यो खुला सैनिक भिडन्त वा रक्तपात रोक्ने प्रयास मात्र हो ? के सरकारलाई सेनाका युनिटहरूलाई सैनिक विद्रोह दमन गर्न परिचालन गर्न सकिँदैन भन्ने अनुमान हो ?
भेनेजुयला एनालाइसिसको विश्लेषणअनुसार सत्ता विप्लवमा प्रहरीको गुप्तचर विभाग (SEBIN) र सेनाको गुप्तचर विभाग (DGCIM) का केही उच्च अधिकारी र युनिटहरूको समर्थन देखिन्छ तर विद्रोहलाई अलिक हतारमा सुरु गरियो । विपक्षीहरूले मे १ को ¥यालीपछि मे २ का दिन गर्ने योजना थियो । तर, योजनाबारे माडुरो सरकारलाई सूचना पुगिसक्ने डरले योजनाको दुई दिन अगावै अप्रिल ३० का दिन नै गरिएको थियो । विद्रोहमा सेना र प्रहरीका केही उच्च अधिकारीहरू सामेल हुने भएका थिए तर अन्तिम समयमा आएर तिनीहरू पछाडि हटेका थिए । लोपेजलाई पहरा दिइरहेका गुप्तचर प्रहरीलाई तिनीहरूको मुख्यालयबाटै लोपेजलाई मुक्त गर्न आदेश आएको भनाइ र विद्रोहमा सामेल भई पक्राउ परेका सैनिकहरूले सेविन मुख्यालयबाटै आफूहरूलाई हतियार वितरण भएको खुलासा गर्नुले त्यसलाई पुष्टि गर्छ । यद्यपि सेविन ९क्भ्द्यक्ष्ल्० का निर्देशक म्यानुयल क्रिस्टोफर फिग्वेरालाई पदबाट हटाई पक्राउसमेत गरिसकिएको छ ।
चाभेजवादीहरू सत्ता विप्लवको नेतृत्व गर्ने ग्वाइडो र सामेल सेना तथा प्रहरीलाई कानुनी कारबाही गर्नुका साथै विद्रोहमा साथ दिने राष्ट्रियसभाको विघटन गर्नुपर्ने माग गर्छन् । माडुरो सरकारले शान्तिवादी नीति लिँदै विपक्षीहरूप्रति निकै उदार भइरहेको बताइन्छ । रक्तपात र अन्तर्राष्ट्रिय दबाब छल्न अपनाएको उदारताको उपायले माडुरो सरकारकै लागि पछि ठूलो सङ्कट निम्त्याउने वामपन्थी चाभेजवादीहरूको धारणा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *