भर्खरै :

गडतिर क्षेत्रमा ठूलो खडेरी : खाद्यान्न जोहो गर्ने चिन्ता

–नारायण न्यौपाने
सिन्धुली, रामेछाप र ओखलढुङ्गा जिल्लाका सुनकोशी गडतिर क्षेत्रमा ठूलो खडेरी परेको छ । खडेरीले खेतका मकै सर्लङ्ग सुकेको छ भने पाखाबारीमा वैशाखको शुरुमै छर्नुपर्ने मकै आजका दिनसम्म पनि छर्न नपाएको गोलञ्जोर गाउँपालिकाका कार्यकारी अधिकृत कृष्णहरि न्यौपानेले जानकारी दिनुभयो ।
गडतिर क्षेत्रमा विगत आठ/दश वर्षयता वर्षाको समयमा पनि पर्याप्त पानी पर्न छोडेको, गोर्खा भूकम्पपछि पानीका मुहान सुकेको तथा यस वर्षको निकै लामो खडेरीले खेतका मकैसमेत भसक्कै डढेको सिन्धुली च्याकुटारबेशीका कृषक एकराज न्यौपाने बताउँछन् ।
“लेकको कालोमाटोमा छरेको मकै खडेरीले मरिसक्यो, रातो माटोमा पानी नपरेका कारण छर्न सकिएको छैन, खडेरीले यस क्षेत्रका जनता बेहालमा परेको छन्”, जिल्ला समन्वय समिति सिन्धुलीका सदस्य तेजबहादुर सुनुवार भन्नुहुन्छ ।
“खोलामा पानी नभएका कारण यस क्षेत्रका किसानले धानको ब्याडसमेत राख्न पाएका छैनन्, नजिकका खोलामा पानी सुकेका कारण कार्यालयका लागि खानेपानी पनि सुनकोशीबाट बोकाएर ल्याउने गरिएको छ”, सुनकोशी गाउँपालिकाका कार्यकारी अधिकृत विकास सुन्दासले भन्नुभयो ।
विगतमा यस बेला जङ्गार हेरेर विचार पु¥याएर तर्नुपर्ने अधेरी, खाल्टे, चैनपुर, बन्दीजोर, वितिजोर, ट्याउँ, बाक्सु, निगुरे, साखर र खाङसाङजस्ता ठूला खोला पानी नभएर खहरेमा परिणत भएका छन् । पानी नभएको सुक्खा खोला देख्दा बाहिरबाट आउने जो कोहीले पनि यी खोलामा पानी बग्थ्यो र ? भन्ने जस्तो भएको छ ।
रामेछाप, सिन्धुली र ओखलढुङ्गाको बीच भएर सुनकोशी नदी बगे पनि बिजुली र लिफ्टिङ प्रविधिको प्रयोग हुन नसकेका कारण किसानले ठूलो खडेरीको मार खेप्नु परेको हो । खोलामा पानी नभएपछि लगाएको बालीनाली खेतमै सुकेको तथा पानी समयमा नपरेका कारण त्यस क्षेत्रका किसानलाई यो वर्ष भोकमरीको सामना गर्नुपर्ने त होइन भन्ने चिन्ताले पिरोलेको छ । रोजगारीका अन्य कार्यक्रम नभएका कारण त्यस क्षेत्रका किसान खेतीमै निर्भर रहेका कारण उनीहरुलाई अब कसरी जीवनयापन गर्ने भन्ने सकस परेको छ ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रमअन्तर्गत मकै पकेट क्षेत्र घोषणा गरिएपछि उत्साहित भएका कृषकलाई यो वर्षको खडेरीले नराम्रोसँग धक्का दिएको छ । सिन्धुली ज्यामिरेका कृषक नीरबहादुर पाण्डे भन्नुहुन्छ, “सुनकोशी गडतिरलाई खडेरी क्षेत्र घोषणा गरी सरकारले राहतका कार्यक्रम उपलब्ध गराउनुपर्छ, आगामी दिनमा सुनकोशीबाट विद्युतीय उपकरण जडान गरेर सिँचाइका लागि पानी तान्ने व्यवस्था मिलाउनेतर्फ ध्यान दिइयोस् ।”
लामो खडेरीका कारण पानीको अभावले गडतिरको माथिल्लो भागका जनताले आफ्ना पशुपालन बेच्न बाध्य भएका छन् भने खानेपानीको जोह गर्न पनि धौ धौ परेको छ । त्यस क्षेत्रबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्नुहुने सांसद गणेश पहाडी भन्नुहुन्छ, “चार वर्षअघिको भूकम्प तथा सडक खन्ने नाममा महाभारत क्षेत्रमा अन्धाधुन्धरुपमा भइरहेको डोजरको प्रयोग एवं लामो खडेरीका कारण गडतिर मात्र होइन माथिल्लो भेगसम्म पनि मकैलगायतका बालीनाली सुकेर परालजस्तो भएको छ ।
“छिटोभन्दा छिटो विद्युत् विस्तार गरेर सुनकोशीबाट पानी तानेर सिँचाइको व्यवस्था गर्ने तथा लिफ्टिङको माध्यमबाट माथिल्लो भागमा पानी पु¥याउन सरकारले प्राथमिकताका साथ बजेट दिनुपर्छ, माथिल्लो भागमा ठूला ठूला पोखरी निर्माण गर्नुपर्छ”, उहाँ भन्नुहुन्छ ।
खडेरीबाट सबैभन्दा बढी मार सिन्धुलीको गोलञ्जोर, फिकल र सुनकोशी गाउँपालिका क्षेत्रमा परेको छ । लामो समयसम्म पानी नपरेर त्यस क्षेत्रमा अत्यधिक गर्मी बढेका कारण घमौरालगायत छालामा सङ्क्रमण देखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *