भर्खरै :

सहस्रधारामा छाँगावरोहणको आकर्षण

– रामबहादुर थापा
बागलुङ, १६ असार । गलकोट नगरपालिका–३ हटिया बजारदेखि तीन किमि मोटर यात्रामा सहस्रधारा झरना पुगिन्छ । पैदल हिँडे जम्मा ३० मिनेट । हिँड्दै जाँदा अक्करे भीर र घना जङ्गल आइपुग्छ । झट्ट हेर्दा लाग्दैन, त्यस्तो अनाकन्टर खोँचमा झरना छ ।
तर, त्यहाँ पुग्दा सत्य अर्कै हुन्छ । सिँढी चढेर यात्री जब झरना छेउ पुग्छ, वरिपरि नजर डुलाउँछ । माथि हेर्छ, दङ्ग पर्छ । छयासी मिटर अग्लो झरनाले मनै लोभ्याउँछ । दुई वर्ष अघिसम्म उक्त झरना गुमनाम थियो । गाउँलेले ‘छहराको झाँक्री’ मानेर वर्षको दुईपटक झरनामा पूजा गर्थे ।
झरना बगिरहेकै थियो । समय पनि बितिरहेकै थियो । वडाअध्यक्ष र गाउँका केही युवाले नयाँ सोच बनाए । झरनालाई पर्यटकीय गन्तव्य बनाउनेबारे जुक्ति निकाले । साहसिक खेल छाँगावरोहण (क्यानोनिङ) को सम्भावना खोजे । स्थानीय युवाले ‘सहस्रधारा क्यानोनिङ प्रवद्र्धन केन्द्र’ गठन गरे । वडा कार्यालयले अगुवाइ प्रदान ग¥यो । नगरपालिकाले लगानी भित्यायो । सहस्रधारा झरना अहिले छाँगावरोहण (क्यानोनिङ) खेलको गन्तव्यका रूपमा विकास भइरहेको छ ।
विसं २०७४ फागुनमा गरिएको परीक्षण सफल भएपछि सहस्रधारामा छाँगावरोहण व्यावसायिक बन्न थालेको हो । शनिबार र आइतबार गरी २० जनाले छाँगावरोहण गरेको केन्द्रका सचिव गुञ्जबहादुर खत्रीले बताउनुभयो । खेलाडीले शुल्क तिरेर खेलमा भाग लिएका थिए । छाँगावरोहण गरेको हेर्ने दर्शकको भीड नै लागेको थियो । खेलाडीलाई आयोजक तथा स्थानीयवासीले फूलमालाले सम्मान गरेका थिए ।
छाँगावरोहणपछि रासससँग प्रतिक्रिया दिँदै स्थानीयवासी मीना श्रेष्ठले आफूले रोमाञ्चक अनुभूति गरेको बताउनुभयो । “सुरुमा डर लागिरहेको थियो, पछि चाहिँ मज्जा आयो” उहाँले भन्नुभयो, “आँट भयो भने गाह्रो काम पनि सकिने रहेछ ।” महिलामा श्रेष्ठ र नितु खड्काले शनिबार छाँगावरोहण गरेका थिए । महिलाहरू डोरीमा झुण्डिएर झरनाबाट ओर्लिएको दृश्य देख्दा गाउँलेहरू उत्साहित देखिन्थे ।
उपस्थित दर्शकले उनीहरूको मुक्तकण्ठले प्रशंसा गरे । छाँगावरोहणका लागि बागलुङ सदरमुकामदेखि पुग्नुभएका सुमन जिसीले खेल नियमति सञ्चालन गर्नुपर्ने बताउनुभयो । वडाध्यक्ष वीरजङ्ग भण्डारीका अनुसार ‘क्यानोनिङ’ लाई व्यावसायिक बनाउन पूर्वाधार तयारीको काम भइरहेको छ । विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) मार्फत् सहस्रधारा क्षेत्रको विकासलाई अघि बढाइएको छ ।
गलकोट नगरपालिकाबाट चालू आवमा विनीयोजित रु. पाँच लाख बजेटबाट पदमार्ग, पोखरी र विश्राम कक्ष बनेको छ । रेष्टुराँ, बगैँचालगायतका संरचना निर्माण गर्ने योजना छ । यस्तै ‘क्यानोनिङ’ मा चाहिने ‘हार्नेस’, ‘हेल्मेट’, ‘ज्याकेट’, डोरी (रोप) जस्ता सामग्री तथा उपकरण जुटाइने भएको छ । अहिले ‘पोखरा क्यानोनिङ’ का विज्ञ र सहयोगीले खेल सञ्चालनमा सघाइरहेका छन् । सम्भाव्यता अध्ययन र परीक्षण पनि उनीहरूले नै गरेका थिए ।
‘पोखरा क्यानोनिङ’ का ‘गाइड’ सुनिल गुरुङले सहस्रधारा प्राविधिक र सबै हिसाबले उचित रहेको बताउनुभयो । “यहाँ व्यावसायिक क्यानोनिङको राम्रो सम्भावना छ” उहाँले भन्नुभयो, “पूर्वाधारसँगै खेलाडी, पर्यटकको सेवा, सुविधामा ध्यान दिनुपर्छ ।” साहसिक खेलमा रमाउन चाहने आन्तरिक तथा बाह्य पर्यटकलाई ‘क्यानोनिङ’ ले आकर्षित गर्ने उहाँको भनाइ छ ।
सहस्रधारा झरनालाई पर्यटकीय गन्तव्यको रूपमा विकास गर्ने योजना रहेको नगरप्रमुख भरत शर्मा गैरेले बताउनुभयो । “
ढाडाको पाखा सामुदायिक वन क्षेत्रमा पर्ने सहस्रधारा क्षेत्रमा ‘शहरी वन प्रवद्र्धन तथा उद्यान पार्क’ निर्माणको योजना पनि सुरु भएको छ । उक्त योजनाका लागि गण्डकी प्रदेश सरकारले चालू आवमा रु. १२ लाख बजेट विनियोजन गरेको थियो । उक्त बजेटबाट उद्यान, पदमार्ग, वृक्षरोपणलगायतका काम हुनेछन् ।
‘क्यानोनिङ’ खेललाई दिगो बनाउन पूर्वाधार तयारी देखि प्रचारप्रसारलाई तीव्र पारिने केन्द्रका सचिव खत्रीले बताउनुभयो । “बर्सेनी मेला नै राखेर सहस्रधारा झरनाको विकास र प्रवद्र्धन गर्ने योजना छ” उहाँले भन्नुभयो । ‘क्यानोनिङ’ नियमित सञ्चालनका लागि स्थानीय युवालाई तालिममा पठाउने वडाको तयारी छ ।
उपकरण महँगो पर्ने हुँदा तत्कालै खरिद गर्न नसकिएको वडाध्यक्ष भण्डारीले बताउनुभयो । तालिमप्राप्त खेलाडी र उपकरण हुने हो भने खेल नियमित सञ्चालन गर्न कठिनाइ नहुने उहाँको भनाइ छ । पर्यटकीय सम्भावना भएर पनि ओझेलमा परेको गलकोटलाई उजागर गर्न ‘क्यानोनिङ’ ले टेवा पु¥याउने देखिन्छ ।
सन् २००७ बाट नेपालमा सुरु भएको ‘क्यानोनिङ’ कास्की, पर्वत, मनाङ, लमजुङ, काभ्रे, सिन्धुपाल्चोक, सुनसरी, नुवाकोट लगायतका जिल्लामा सञ्चालित छ । बागलुङ सदरमुकामदेखि मध्यपहाडी पुष्पलाल लोकमार्गको ४५ किमि यात्रापछि हटिया आइपुग्छ । हटियाबाट मोटर वा पैदल सजिलै सहस्रधारा पुगिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *