भर्खरै :

नौटङ्की छोड, काम गर !

अनेक नौटङ्की एवम् तामझाम गरी सरकारी धान दिवस सम्पन्न गरियो । कति बजेट कसरी सिध्याइयो त्यो सबै सार्वजनिक भइसक्या छैन । यस पटक पनि मन्त्री तथा हाकिमहरूले कतै हातमा पञ्जा लगाएर त कतै खुट्टामा बुट लगाएर धान दिवसमा तस्वीर खिचाउने काम गरे । एउटा धान दिवसमा कृषि मन्त्रीले धान रोप्ने क्रममा गरेको उपद्रो निकै चर्चामा रह्यो । अर्को वर्ष अर्का कृषि मन्त्रीले गमलामा धान रोपेर अर्को जात्रा देखाए । यसपालि कति सांसद भनाउँदाले रोप्नुपर्ने धानको बीउको माला लाउन पनि भ्याए । एक पूर्वप्रधानमन्त्रीले रोपाइँमा खेत साएको फोटो सामाजिक सञ्जालमा राखेको पनि चर्चाकै विषय भयो । चर्चामै आउनमात्र यस्ता हर्कत हुने हो भने भन्नु के र ! होइन भने नेताको काम नीति बनाउनु हो, देशको उत्पादकत्व बढाउन आवश्यक बन्दोबस्त मिलाउने काम हो नेताको । एक दिनको नौटङ्कीले तात्विक फरक हुँदैन ।
धान दिवस मनाइरहँदा देशभर रसायनिक मलको अभावको समाचार आएको छ । सिरहामा ३० हजार बोरा डीएपी मलको माग रहेकोमा हाल एक बोरा पनि डीएपी मल कृषि सामग्रीको गोदाममा छैन । नेपालको सबभन्दा बढी धान उत्पादन हुने झापामा युरिया, डीएपी तथा पोटासलगायत रासायनिक मल नपाएको गुनासो किसान गर्दै छन् । चालू आर्थिक वर्षको अन्त्यसम्म बाँकेमा ३ हजार ५०० मेट्रिक टन रासायनिक मलको अभाव देखिएको समाचार छ । धान रोप्नुपर्ने बेला मलको निम्ति धाउनुपर्ने भन्दै किसान आवेग पोख्दै छन् । बर्सेनि मल अभावको समाचार किन आइरहेको छ ? खै कता छ सरकार ?
वर्षा पर्याप्त नभएको कारण यसपालि धान दिवसको बेला कृषक चिन्तित देखिए । हालसम्म दश–बाह्र प्रतिशत मात्र रोपाइँ सकिएको छ । कुल कृषियोग्य भूमिमध्ये मुस्किलले २० प्रतिशत जतिमा बाह्रैमासा सिँचाइ सुविधा उपलब्ध छ । ८० प्रतिशत आकाशकै भर हो । किसान आफ्नो कर्मलाई मात्र होइन सरकारी नेताहरूलाई धिक्कार गर्दै छन् । कृषिप्रधान देशका सत्तासीन नेताहरूले सिँचाइको व्यवस्था नगरेकोमा किसानहरू सत्तोसराप गर्दै छन् ।
हुन त पानी नपर्दा सरकारी नेताहरूलाई पनि तनाव भएको छ । समग्र कृषिले देशको कुल गार्हस्थ उत्पादनमा साढे २६ प्रतिशत योगदान दिएको छ भने कुल कृषि उत्पादनमा धानको २० प्रतिशत योगदान छ । गत साल राम्रो वर्षा हुँदा धान उत्पादन बढ्यो र कुल गार्हस्थ उत्पादन पनि बढ्यो । सरकारी प्रचारमा आफ्नै सत्प्रयासले कुल गार्हस्थ उत्पादन बढेको ढ्वाङ फुक्ने काम भयो । यसपालि धानको उत्पादन घट्ने सम्भावना छ, हरौँ नेकपाको सरकारले जनतालाई कसरी ढाँट्ने हो !
धानको उत्पादन दोब्बर बनाउने योजना बनाउने सरकारले सिँचाइ, मलखाद्, बीउबिजन, यान्त्रीकरण तथा कृषि कामदार अभावलाई कसरी सल्ट्याउने हो, त्यो पनि हेरौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *