भर्खरै :

मुल नै खराब छ भने धाराको के कुरा !

स्वतन्त्र सांसदको रूपमा निर्वाचित तर गुण्डा, डन, अपराधीको पर्याय बनेका राजीव गुरूङ उर्फ दीपक मनाङे नेकपा प्रवेश गर्ने कुराले सामाजिक सञ्जाल तातिएको छ । अनेक क्रिया–प्रतिक्रिया हुनु अस्वाभाविक होइन । नेकपाकै पूर्वविद्यार्थी नेता तथा हालका केन्द्रीय सदस्य लेखनाथ न्यौपानेले फेसबुक पेजमा यसो भने, ‘‘अनगिन्ती मनाङे पार्टीमा पहिल्यै छन्, थिए, एउटा थपिएको मात्र हो, जाबो एउटा मनाङे थपिँदा केको कोकोहोलो हो कुन्नि ?’’ न्यौपानेको भनाइको प्रतिक्रियामा दर्जनौं टिप्पणी आए । केही प्रतिनिधि टिप्पणी यस्ता छन्, ‘‘मनाङेभन्दा ठूला–ठूला मनाङेहरूले पार्टी चलाएकै छन् । उनी एउटा मनाङे थपिएर झन् प्लस पोइन्ट भयो पार्टीलाई । वास्तवमा कमरेडले सही विश्लेषण गर्नुभएको छ ।’’, ‘‘अब पार्टी अध्यक्ष बनाउनुपर्छ माननीयलाई !’’, ‘‘अपराध सृङ्खलाको पर्याय दीपक मनाङेलाई पनि लालसलाम ठोक्ने दिन आएकै हुन् त हाम्रा, तेसो भए अब लुटपाट, ठोकठाक, पिटपाट, गोदगाद मन्त्रालय पनि छुट्याइदिने हो कि ?’’, ‘‘आचरणका हिसाबले मनाङेका गुरूहरू नै हाम्रो नेकपाभित्र छन् भन्न मिल्छ होला कमरेड !’’, ‘‘पहिले शास्त्रमा लेखिएको थियोे, जालीफटाहा, चोर गुण्डा, नर्क जान्छन् । अहिले ती सबै नेकपामा जान्छन् ।’’ अर्का एकको प्रतिक्रिया थियो, ‘‘मुल नै खराब छ भने धाराको के कुरा !’’ यी टिप्पणीहरूबाट नेकपा कतातिर गइरहेको छ भन्ने सङ्केत गर्छ ।
नेपालको राजनीतिलाई अपराधीकरण र अपराधलाई राजनीतिकरण गर्ने सिलसिला झन् तीव्र हुँदै छ भन्ने तथ्य खोज्न त्यति दुःख गर्नु नपर्ला । गएको संसदीय निर्वाचनमा नेकपा एमालेबाट निर्वाचन लड्ने निश्चित भएपछि सञ्चारमाध्यम, सामाजिक सञ्जाललगायतमा व्यापक विरोध भयो र एमाले दीपक मनाङेलाई टिकट दिन हच्कियो । पछि कुनै बेला पार्टीमै फिर्ता बोलाउने सर्तमा मनाङेलाई स्वतन्त्रको हैसियतमा निर्वाचन लडाउने काम एमालेले नै गरायो । देशैभरको निर्वाचन प्रभावित हुने डरले दीपक मनाङेलाई मनाङबाट निर्वाचन लड्न टिकट नदिएको स्पष्ट थियो ।
नेपाली राजनीतिमा शासक पार्टीहरूले अपराधी, गुण्डा, भ्रष्टाचारीलाई काखी च्यापेरै निर्वाचन आफ्नो पक्षमा पार्दै आएका छन् । नेपाली काङ्ग्रेसका खुमबहादुर खड्का होस् या एमालेका परशुराम बस्नेत होस् । चरी, घँैटे र सञ्जय मगरहरू शासक पार्टीहरूबाटै पालितपोषित थिए, छन् । अर्कोथरी विश्लेषण छ, ‘‘नेपाली राजनीतिको भ्रष्टीकरणको उदाहरण दिन मनाङेको उदाहरणसम्म पुग्नै पर्दैन । गुण्डागर्दीमात्रै अपराध हो र ? सामाजिक र नैतिक विषयमा दलहरूको भूमिका गुण्डागर्दीको भन्दा कम छ र ?’’ कुरा साँचो हो, शासक दलहरूले कुनै पनि अपराधीले भन्दा कम अपराध गरेका छैनन्, तिनीहरूले मातृभूमिमाथि नै बलात्कार गरिरहेका छन् । नेपाली राजनीतिलाई कलुषित बनाउने शासक दलका नेता तथा कार्यकर्तालाई इतिहासको फोहर फाल्ने ढ्वाङमा फाल्ने जनसचेतता टड्कारो छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *