भर्खरै :

खाद्यान्नमा आत्मनिर्भर कहिले ?

–वस्तुराज ‘शीतल’
निर्वाचनमा कुनै दल जित्नु र सरकारले नेतृत्व गर्नु अस्वाभाविक होइन । देशमा कहिले अल्पमत, कहिले संयुक्त र कहिले बहुमत प्राप्त दलको सरकार बन्यो । अहिले दुईतिहाइ मत प्राप्त दलको सरकार छ । हालसम्मकै सबभन्दा ठूलो र शक्तिशाली सरकार बनेको सत्तारुढ दलको दाबी छ । कुन दल कहिले ठूलो र शक्तिशाली बन्यो भन्दा पनि कुन दलको सरकारले देश र जनताको पक्षमा के राम्रो काम गर्यो भन्ने कुरा महत्वपूर्ण हो । शक्तिशाली र कम्युनिस्ट दलको धाक लगाएर देश र जनताको हितमा सिन्को भाँच्ने काम गर्दैन, कम्युनिस्ट सिद्धान्त, विचार र आचरणअनुसार सरकारले काम गर्दैन भने त्यो जति दुर्भाग्य अरु के हुनसक्छ ? ठूलो दलको सरकार बनाउनुको अर्थ आफ्नो पार्टीअनुकूल नेता र कार्यकर्तालाई पोस्ने होइन, सत्तारुढ दलका मन्त्री र आफ्ना सांसदहरूको जिल्लामा बढी बजेट छोड्ने होइन । यस्तो काम ओली नेतृत्वमा रहेको सरकारले गरिरहेको छ । यो गलत हो । यसरी सरकारी पक्षपातपूर्ण कार्यको सत्तारुढ सांसदले नै विरोध गरिरहेको छलङ्ग छ । कामको नाउँमा प्रधानमन्त्रीको रोजगारी कार्यक्रम जोडेर घाँस गोडमेल गर्ने र झारपात सफा गर्ने होइन । त्यस्तो झारपात सफा गर्ने काम त आ–आफ्नो स्थानका स्थानीय जनताले गर्नसक्छन् । आफ्नो ठाउँको झारपात सफा गर्ने काममा श्रमदान जुटाउन सकिन्छ ।
राजनीतिक विश्लेषक शिव अधिकारीले असार २० गते प्रकाशित गोरखापत्रमा ‘विकृतिको समाधान समाजवाद’ आवश्यक ठाने । यो विचार ठिक्कै हो । सत्तारुढ दलका नेता र मन्त्रीहरूले यो सरकारलाई कम्युनिस्ट पार्टी नेतृत्वको सरकार, शक्तिशाली सरकार जे फलाके पनि महत्वपूर्ण कुरा त्यो सरकारले गर्ने काम हो, कामको शैली हो । यदि त्यो सरकार आफ्नो दल, आफ्ना मन्त्री, सांसद र निर्वाचित जनप्रतिनिधिहरूको पक्षमा पक्षपोषण भएको छ भने त्यो जतिको गैरजिम्मेवारी अरु के हुनसक्छ ? सरकार र राज्यकोष सत्तारुढ दलको बपौती होइन । सरकारले त देश समृद्ध बनाउन पूर्वाधार तयार गर्ने हो, कलकारखाना, उद्योगधन्दा खोलेर जनतालाई काम–मामको व्यवस्था गर्ने हो ।
देश विकास र जीवनस्तर अभिवृद्धि मीठो नाराले हुने होइन । सुखी नेपाली समृद्ध नेपाल बनाउने पूर्वाधारको कुरा सरकारको नीति तथा कार्यक्रम र बजेटमा उल्लेख छैन । पानीजहाज चलाएर, दुई चार दिन झारपात र नाली सफा गरेर, प्रम र मन्त्रीहरूको कार्यक्रममा दुई चार विद्यार्थी भर्ना गरेर नेपाल समृद्ध बन्दैन, नेपाली सुखी हुँदैन । मुलुकलाई आत्मनिर्भर बनाउनेतर्फ सरकार लागेकै देखिँदैन । नेपालको उत्पादन कमजोर छ । नेपालका लागि चाहिने दाल, चामलमात्र होइन फूल र बिरुवासमेत विदेशबाट आयात गरिन्छ । करोडौँ बिरुवा रोपेर वृक्षरोपण अभियान चलाउने सरकारले आफ्नै देशमा नर्सरी तयार गर्ने काम पनि गरेन । फलफूल, तरकारी पनि विदेशको भरमा बस्नुपर्छ । तराईका कति ठाउँ बाँझा छन् । सिँचाइको बन्दोबस्त छैन । सिँचाइको बन्दोबस्त गरेर बाँझो जग्गामा मात्र खाद्यबाली, नगदेबाली या अन्य उद्योग, व्यवसाय र पशुपालन या घरायसी उद्योग चलाइएको भए धेरैले काम पाउँथे, अन्न बढी उत्पादन हुन्थ्यो र कमसेकम खाद्यान्नमा नेपाल आत्मनिर्भर हुन्थ्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *