भर्खरै :

स्वार्थको जालोमा भक्तपुर क्यान्सर अस्पताल

काठमाडौँ, २७ साउन । आफ्नो उपचार सेवाको लागि देशैभरि ख्याति विस्तार गर्दै गरेको भक्तपुर क्यान्सर अस्पताल नेतृत्वकै स्वार्थको जालोमा पर्न थालेको अनुभव गरिँदै छ । विसं २०५१ मा १५ शय्याबाट सुरु भएको अस्पतालमा हाल १४२ शय्यामा बिरामीको उपचार भइरहेको छ ।
विगतमा विभिन्न दातृ निकाय, नेपाल सरकार, स्थानीय निकाय र मनकारी दाताहरूको सहयोगमा सञ्चालन भएको अस्पताल अहिले आफ्नै आम्दानीले चल्नसक्ने अवस्थामा पुगेको अस्पताल प्रशासनको दाबी छ ।
नमुना सामुदायिक अस्पतालको रूपमा विकास हुँदै गएको अस्पताल अस्पतालकै व्यवस्थापन समितिका अध्यक्ष, महासचिवलगायतको स्वार्थको कारण अव्यवस्थित हुँदै गएकोमा सरोकारवालाले चिन्ता व्यक्त गर्न थालेका छन् ।
नेपाल सरकार स्वास्थ्य मन्त्रालयको निर्णयअनुसार १ सय शय्या वा सोभन्दा बढी सञ्चालन भएका अस्पतालहरू आफैँले ल्याव, फार्मेसी, सिटीस्क्यानजस्ता सेवा सुपथ शुल्कमा सुलभरूपमा सेवा प्रदान गर्नुपर्ने व्यवस्था छ । तर, भक्तपुर क्यान्सर अस्पताल व्यवस्थापन समितिको नेतृत्वमा बसेकाहरूले आफ्नो निजी आर्थिक स्वार्थलाई महत्व दिएर अस्पतालको आम्दानी वृद्धि हुनसक्ने ल्याव, फार्मेसी, सिटीस्क्यानजस्ता सेवा आउट सोर्सिङका नाममा आ–आफ्ना नजिकका मानिसका निजी कम्पनी र आफन्तहरूलाई ठेक्का दिएर अस्पतालको दीर्घकालीन विकास र आर्थिक सबलीकरणलाई पूर्णतया बेवास्ता गरिरहेका छन् ।
अस्पताल परिसरमा इस्टवेस्ट कम्पनीले विगत आठ वर्षदेखि बिनाप्रतिस्पर्धा सिटीस्क्यान मेसिन सञ्चालन गर्दै आएको छ । उक्त सेवाबापत मासिक ४० लाखभन्दा माथि आम्दानी गर्दै आएको उक्त कम्पनीले मासिक रु. १ लाख ९० हजारमात्र भाडास्वरुप तिर्ने गर्दछ । अस्पताल व्यवस्थापन समितिले के–कस्तो स्वार्थमा अल्झिएर बिनाप्रतिस्पर्धा इस्टवेस्ट कम्पनीलाई नै छनौट गर्छ ? अस्पताल आफैँले सिटीस्क्यान सेवा सञ्चालन गर्नेबारे किन सोच राख्दैन ? जानकारहरू स्वयम् अचम्मित भएको बताउँछन् ।
हालै व्यवस्थापन समितिका अध्यक्ष लोकेन्द्रबहादुर श्रेष्ठ ‘ईश्वर’, महासचिव विमल होडा र कोषाध्यक्ष कृष्णप्रसाद ताम्राकार मिलेर व्यवस्थापन समितिको निर्णयविपरीत अस्पताललाई रु. ६० लाख घाटा हुने गरी इस्टवेस्ट कम्पनीसित पुनः सम्झौता गरेको खुलेपछि उनीहरूको स्वार्थ उदाङ्गो भएको छ ।
स्रोतका अनुसार इस्टवेस्ट कम्पनीले विगत आठ वर्षदेखि सञ्चालन गर्दै आएको सिटीस्क्यान मेसिनले रु. १२ लाखभन्दा बढी स्क्यान गरिसकेकोले त्यसको अपग्रेड गर्न जरुरी भइसकेको थियो । उक्त पुरानो मेसिनलाई क्यान्सर रोगको आधुनिक उपचार प्रणाली अनुकूल बनाउन सिटी सिमुलेटर जडानलगायत गरी सुधारका लागि रु.६० लाख खर्च लाग्ने बताइएको थियो । सल्लाहकार एवं निवर्तमान अध्यक्ष दिवाकर राजकर्णिकारको नेतृत्वमा अस्पताल व्यवस्थापन समितिले साउन दोस्रो हप्तामा इस्टवेस्ट कम्पनीका सञ्चालक शेर सिंहसित वार्ता गरी पुरानो सिटीस्क्यान मेसिन अपग्रेड गर्ने खर्च कम्पनी आफैँले व्यहोर्ने र कम्पनीलाई थप तीन वर्षसम्म सेवा सञ्चालन गर्न दिने तर त्यसको आम्दानीको ४० प्रतिशत कम्पनीलाई र ६० प्रतिशत अस्पताललाई छुट्याउने सम्झौता गर्न सहमत गराएको थियो र त्यसैअनुसारको सम्झौता गर्न खरिद समिति र अस्पताल प्रशासनलाई निर्देशन दिने निर्णय गरेको थियो । तर, व्यवस्थापन समितिका अध्यक्ष र खरिद समितिका अध्यक्षसमेत रहेका अध्यक्ष लोकेन्द्रबहादुर श्रेष्ठ ‘ईश्वर’, सदस्य रहेको महासचिव विमल होडा र कोषाध्यक्ष कृष्णप्रसाद ताम्राकार मिलेर इस्टवेस्ट कम्पनीलाई सिटी मेसिन अपग्रेड गर्न लाग्ने रु. ६० लाख उपलब्ध गराउने र कम्पनीसित अस्पतालले लिँदै आएको पुरानै भाडा रकम कायम गर्ने गरी सम्झौता गरेको बुझिनआएको छ ।
अस्पताल व्यवस्थापन समितिका सदस्यसचिव तथा मेडिकल डाइरेक्टर डा. ऋषिकेशनारायण श्रेष्ठ देशबाहिर गएको मौका छोपी कार्यकारी मेडिकल डाइरेक्टर डा. रोशन प्रजापतिलाई बलिको बोका बनाउने गरी अध्यक्ष श्रेष्ठ, महासचिव होडा र कोषाध्यक्ष ताम्राकारले व्यवस्थापन समितिको निर्णयविपरीत सम्झौता गर्न लगाएको स्रोतको दाबी छ ।
अस्पतालका जिम्मेवार अधिकारीले उक्त वार्ता र सहमति भएको र पछि सो सहमतिविपरीत सम्झौता भएको जनाएका छन् । अस्पतालले इस्टवेस्ट कम्पनीलाई व्यवस्थापन समितिको निर्णयविपरीतको उक्त सम्झौता कार्यान्वयन गर्न नसकिने पत्र पठाइसकेको बताइएको छ ।
यसबारेमा नेपाल अर्बुद रोग निवारण संस्था जिल्ला शाखा भक्तपुरका सभापति श्रीधर राठौरसित सम्पर्क गर्दा आफूले पनि त्यस्तै जानकारी पाएको र सम्झौतामा खरिद समितिमा रहेकाहरूको आर्थिक र व्यापारिक स्वार्थ भएको आशङ्कामा बल पुगेको बताउनुभयो ।
आरोपबारे सत्यतथ्य बुझ्न सम्पर्क गर्न खोज्दा व्यवस्थापन समितिका अध्यक्ष एवं नेपाल अर्बुद रोग निवारण संस्था केन्द्रीय समितिका अध्यक्ष लोकेन्द्रकुमार श्रेष्ठको मोबाइल स्वीच अफ थियो भने नेपाल अर्बुद रोग निवारण संस्था केन्द्रीय कार्यालयमा पनि केही दिनदेखि आउनु नभएको जानकारी प्राप्त भयो ।
स्रोतका अनुसार व्यवस्थापन समितिको कार्यकारी अध्यक्षको जिम्मेवारी कोषाध्यक्ष कृष्णप्रसाद ताम्राकारलाई दिएर हाल अध्यक्ष श्रेष्ठ भूमिगतजस्तै भएका छन् ।
समाचार स्रोतका अनुसार विगत एक दुई वर्षदेखि व्यवस्थापन नेतृत्व कमिसन वा आर्थिक स्वार्थमा फस्न थालेको हो । हालै लिनेक ब्राण्डको अत्याधुनिक रेडियो थेरापी मेसिन किन्दा त्यसमा पनि आर्थिक चलखेल गरिएको शङ्का छ । उक्त मेसिनमा सम्झौताअनुसार सम्बन्धित सामानका सेट नआएको, मेसिन सञ्चालनसम्बन्धी तालिम नदिइएको र मेसिनका कैयौँ सफ्टवेयर अपडेट नभएको जानकारी दिँदा पनि खरिद समितिमा रहेका पदाधिकारीहरू वास्ता नगरी बसेका थिए ।
अस्पतालमा आठ महिनादेखि ब्रेस्टको एक्सरे गर्ने मेमोग्राफी मेसिन ‘बिग्रेर’ भनी त्यत्तिकै थन्काइएको, डेढ–दुई लाख खर्च गरेमा उक्त मेसिन सञ्चालनमा आउनसक्ने तर खरिद समितिका पदाधिकारीहरू नयाँ मेसिन खरिद गर्नमै जोड दिइरहेको बताइन्छ ।
व्यवस्थापन समितिका महासचिव विमल होडाको कम्पनी भरोसा सर्भिस प्रा.लि.ले विगत सात वर्षदेखि बिनाटेन्डर अस्पतालमा सरसफाइ गर्ने मजदुर आपूर्ति गर्ने ठेक्का पाउँदै आएको छ । केही हप्ताअगाडि मात्र ती सफाइ मजदुरहरूले आफूहरूको श्रमशोषण भइरहेको खुलासा गरेका थिए । क्यान्सर अस्पतालबाट भसोसाले प्रतिमजदुर मासिक रु. २६ हजार ५ सय बुझ्दै आएको छ भने मजदुरहरूले मासिक १३ हजार ५ सयमात्र पाउने गरेको बताएका छन् । अस्पताल प्रशासनका अनुसार हाल ३८ जना सफाइ मजदुरले काम गरिरहेका छन् ।
अध्यक्ष श्रेष्ठ र महासचिव होडाले सफाइ मजदुरबाट मासिक ४ लाख ९४ हजार भ्रष्टाचार गर्दै छन् भने औषधि पसल, प्रयोगशाला र अन्य उपकरण निजी क्षेत्रलाई सञ्चालन गराई मासिक दसौँ लाख रुपैयाँ भ्रष्टाचार गरिरहेको यसअघि नै समाचारमा प्रकाशित भइरहेको यथार्थ हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *