भर्खरै :

सांस्कृतिक नगर भक्तपुर

सांस्कृतिक नगर भक्तपुरको सांस्कृतिक वैभव हरेक साँझ नगरका विभिन्न स्थानमा पोखिने गरेको छ । हजारौँ कलाकारहरू विभिन्न नाचसहित सांस्कृतिक उत्सवमा समाहित भएका छन् । नयाँ र पुराना पुस्ताका कलाकार कुनै पनि प्रतिकूलता छिचोलेर उत्कृष्ट प्रस्तुतिको लागि मिहिनेत गरिरहेका छन् । ठूलो सङ्ख्यामा नयाँ पुस्ताको संलग्नताले रैथाने संस्कृतिको लामो आयुतिर सङ्केत गरेको छ ।
‘पुर्खाले सिर्जेको सम्पत्ति हाम्रो कला र संस्कृति’ नारा बोकेर मौलिक कला, संस्कृति र सम्पदा संरक्षणमा लागिपरेको भक्तपुर नगरपालिकाको प्रोत्साहनले लोपोन्मुख नाचहरूले समेत जीवन पाएका छन् । नगरपालिकाले आयोजना गरेको प्रतियोगिताले टोल टोलका नाच समूहबीच मैत्रीपूर्ण प्रतिस्पर्धा भइरहेको छ । सबै टोलीले सकेसम्म आफूलाई उत्कृष्ट तरिकामा प्रस्तुत गर्न मिहिनेत गरेको देखिन्छ । हरेक दिन साँझ हजारौँ मानिस आ–आफ्नो टोलमा बसेर नगरका विभिन्न क्षेत्रका नाचहरू हेरेर मनोरञ्जन र सांस्कृतिक वैभवको अनुभव गरिरहेका छन् ।
भक्तपुरको यो सांस्कृतिक सम्पन्नतालाई अझै पनि पर्यटनसँग भने जोड्न सकिएको छैन । रात्रीकालीन पर्यटनमा अझै पनि उल्लेख्य काम गर्न बाँकी नै भएको राति निकै कम मात्र पर्यटक देखिनुबाट स्पष्ट हुन्छ । पर्यटनसँग मौलिक संस्कृतिलाई जोड्न सकेमात्र तिनको संरक्षण हुन सम्भव छ । भक्तपुरका जनताको आर्थिक आधार बद्लिसकेको छ । उत्पादन सम्बन्धमा परिवर्तन आइसकेको छ । हिजो कृषिमा आधारित उत्पादनसम्बन्धको प्रधानता थियो भने अहिले सेवा र व्यापारमा आधारित उत्पादन सम्बन्धको प्रधानता छ । यस्तो परिस्थितिमा आपसी सहयोगकै आधारमा मात्र कुनै पनि सम्पदा र संस्कृतिको जगेर्ना स्वाभाविक रुपमा गा¥हो हुन्छ । त्यसकारण भक्तपुरको मौलिक सम्पदालाई पर्यटन उद्योगको विकाससँग जोड्न जरुरी छ । पूर्खाले सिर्जेका सम्पदा र संस्कृतिले आजको समाजको सेवा गर्नुपर्छ ।
पर्यटन उद्योग सीमित हुनेखानेहरूको अर्थोपार्जन गर्ने उद्योग मात्र बन्न हुन्न । पर्यटनको प्रतिफल समाजको तल्लो तहसम्म विस्तार गर्नुपर्छ । भक्तपुरको मौलिक संस्कृतिका कर्मीहरूसम्म पर्यटन उद्योगको प्रतिफल कसरी वितरण गर्ने सम्बन्धमा पनि उत्तिकै जोड दिन जरुरी छ ।
समयान्तरमा धेरै अमूर्त संस्कृति लोप हुँदै गएका छन् । ती सम्पदालाई पुनर्जीवन दिन नगरपालिकाको प्रोत्साहन र स्थानीय जनताको अग्रसरताको खाँचो छ । एक हातले कदापि पनि ताली बज्दैन । स्थानीय सरकार मात्रको अग्रसरताले पनि संस्कृतिको सम्वद्र्धन हुन सक्दैन । स्थानीय जनताको अग्रसरता अझ महत्वपूर्ण हो ।
स्थानीय तहले परम्परागत सम्पदाको संरक्षण र प्रवद्र्धनको साथै नयाँ संस्कृतिको आधार पनि बनाइदिन आवश्यक छ । भक्तपुर वास्तवमै संस्कृति र सम्पदाको राजधानी बनाउन पुर्खाले सिर्जेको सम्पदा जोगाउन जति जरुरी छ, नयाँ समयअनुुसारका नयाँ आवश्यकता सम्बोधन गर्ने संस्कृतिको पनि विकास गर्नुपर्छ । नवीनतम प्रयोगको लागि अध्ययन अनुसन्धानको आवश्यकता छ । यसको निम्ति संस्कृतिलाई प्राज्ञिक अध्ययन र अनुसन्धानको विषय बनाउन आवश्यक छ । नयाँ अनुसन्धान निकायको स्थापना गरी संस्कृतिभित्रको सार र संसार निकाल्नु पनि यतिबेलाको अर्को महत्वपूर्ण अभिभारा हो  ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *