भर्खरै :

नाचगानमा सन्देशमूलक गीत

– शिवहरि सुवाल
यस वर्षको गाईजात्रामा प्रतिस्पर्धाको लागि ९४ वटा विभिन्न सांस्कृतिक तथा साहित्यिक विधा दर्ता भएका छन् । मूल्याङ्कन समितिबाट प्राप्त जानकारीअनुसार नपामा दर्ता भएका सांस्कृतिक विधाअन्तर्गत भैल नाच तीन, देवी नाच छ, माक (बाँदर) नाच आठ र जङ्गली नाच ८ रहेका छन् । त्यस्तै खिचा (कुकुर) नाच पाँच, फाकंदली नाच आठ, ख्या (ख्याक) नाच छ, कवांचा नाच १०, नागाचा दुई, लाखे नाच चार रहेका छन् । अन्य नाचहरूमा हनुमान नाच एक, कलाँलीचा नाच दुई, म्हेखा नाच एक, भालु नाच दुई, लुसी नाच चार, लाहुरे नाच एक, दैत्य नाच एक, झ्याउरे दुई, नृत्य दुई, झ्याँ झ्याँ नाच एक पनि दर्ता भएको नपा स्रोतले जनाएको छ । साहित्यिक विधाअन्तर्गत ख्याल र नाटक ६ वटा दर्ता गरिएका छन् । गाईजात्राको दिन माक (बाँदर) नाचसहित छ ६८ वटा घिन्ताङगिसी सामेल भएको थियो । यसबाहेक उक्त दिन लाखे नाच, जङ्गली, नागाचा, कार्टून तथा अन्य व्यङ्ग्य प्रदर्शन पनि गरिएको थियो । त्यस्तै भजन मण्डलको सङ्ख्या पनि कमी थिएन ।
नपामा दर्ता भएका सांस्कृतिक तथा साहित्यिक विधाहरूको प्रदर्शन टोल–टोलमा चालू छ । नपाले पुरस्कारको व्यवस्था गरेपछि नाचगान टोलीमा ऊर्जा थपेको छ, उत्साहित भएको छ । त्यही ऊर्जाबाट टोलको चोक–चोकमा देखाइने नाचगान टोलीको सङ्ख्या बढेको छ । फाकंदली, माक, लुसी, लाहुरे, झ्याउरे र नृत्यहरूमा गाइने गीतले देश विदेशमा घटेका घटना, सामाजिक र राजनीतिक पक्षबारे उजागर गरेका छन् । नाचसँगै गाइने गीतमा सामाजिक विकृति र सरकारको कमजोरी औंल्याउँदै खबरदारी गरिएको छ । सम्पदा संरक्षण, सरसफाइ, विकासको नाउँमा बस्ती नै उठाउने कार्य, बहुदल आए पनि जनताको जीवन कष्टकर बनिरहेको, मेलम्चीको पानी उपत्यकामा नआएको, बोङा र खोकनाका जनताको समस्याबारे उठाइएको छ । युवाहरूको विदेश पलायन, आमाबाबु र आफ्ना सन्तानहरूबीच माया ममता टाढिँदै गएको, नेताहरू देश र जनताप्रति समर्पित हुनुभन्दा दलगत र व्यक्तिगत स्वार्थमा लागेको प्रसङ्ग पनि गीतमा उल्लेख छ । त्यस्तै विषादी तरकारी र भारतीय विस्तारवादको विरोध कम्युनिस्ट पार्टी शोषित पीडित जनता, किसान, मजदुरको सेवामा जुट्नुपर्ने, झूटा आश्वासन दिनेहरूको पछि लाग्न नहुने, सांसद विकास कोष बढाएर चुनाव खर्च जुटाउने प्रयास गरेको र जनता कसैको लोभलालचमा नभुली सही र गलत छुट्याएर अघि बढ्नुपर्ने सन्देश गीतमा पाइन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *