– पूर्णप्रसाद मिश्र

ककनी, २४ भदौ । वरिपरि हरियाली डाँडा र राजधानीसँग जोडिएको रमणीय दृश्य हेर्दै सवारीसाधनमा जान सकिने नुवाकोटाको ककनी गाउँपालिकाको सिसडोल र बञ्चरेडाँडामा झर्ने बित्तिकै नाकमा दुर्गन्ध फैलन्छ । आँखा पोल्न थाल्छन्, नाकबाट लिइने श्वास पनि दुर्गन्धित भएजस्तो लाग्छ ।
पाँच मिनेटमै टाउको दुखेको अनुभव हुन्छ । हरियो डाँडाबीचको यो गाउँमा बस्नु स्वास्थ्य र वातावरणका लागि चुनौतीपूर्ण छ । देशको राजधानी काठमाडौँले आफू स्वच्छ बन्न यहाँ फोहर पठाउने गरेको १४ वर्ष बितेको छ । तीन वर्षका लागि लैजाने भनिएको सिस्डोलको डम्पिङ साइटमा सरकारले २०६२ जेठ २२ गतेदेखि फोहर फाल्न थालेको थियो ।
सम्झौता गरेको भन्दा ११ वर्ष बढी समय बिते पनि विकल्प तयार भइसकेको छैन । दुई किमि टाढाको बञ्चरेडाँडामा फोहर व्यवस्थापन गर्न सहरी विकास तथा भवन निर्माण विभागले स्यानिटरी ल्यान्डफिल्ड साइट निर्माण सुरु गरेपनि गति सुस्त रहेको स्थानीयवासीको गुनासो छ । विभागले शिलान्यास कार्यक्रममा नुवाकोटका तीनै तहका जनप्रतिनिधिलाई थाहा नदिएको भन्दै स्थानीयवासी रुष्ट छन् । पारदर्शीरूपमा काम नगरेकाले सिसडोलकै नियति बञ्चरेडाँडाले पनि भोग्नुपर्ने जनप्रतिनिधिको आशङ्का छ ।
फोहर फाल्न थालेको १४ वर्षमा सिसडोलमा पहाड नै बनेको छ । फोहरको पहाडमा पहिरो गएर सिस्डोलको सडक बिग्रिएको छ । सडककै कारण यस क्षेत्रका करिब ५०० परिवारका ५० हजार मानिसको आवतजावतमा समस्या भएको छ । फोहरबाट निस्कने तरल पदार्थ (लिच्चड) को सिस्डोलमा कुलो नै बगेको छ ।
लिच्चडबाट तीन वटा पोखरी बनेका छन् । पोखरीमा लामखुट्टे, झिङ्गालगायतका कीटाणु निकै देखिन्छ । राजधानीमा डेङ्गुको सङ्क्रमण फैलिएको समाचार सार्वजनिक भइरहेका बेला यहाँका स्थानीयवासी भयभित छन् । राजधानी नजिकैको यो स्थानबाट अन्य रोगको सङ्क्रमण फैलन सक्ने भए पनि रोकथाममा कुनै निकायको ध्यान नगएको ककनी गाउँपालिका–२ का अध्यक्ष केदार पौडेलले बताउनुभयो ।
सिसडोल जाने बाटो बिग्रिएको तीन महिना बितिसक्दा पनि काठमाडौँ महानगरपालिकालगायत सरोकार भएका निकायको ध्यान जान नसकेको उहाँले बताउनुभयो । सोमबार प्रतिनिधिसभा, विकास तथा प्रविधि समितिले सिसडोल र बञ्चरेडाँडाको स्थलगत अनुगमन गर्ने भनेपछि आइतबारमात्र अर्को बाटोमा माटो हालेर खाल्डाखुल्डी पुरिएको स्थानीयवासी राजाराम खत्रीले सुनाउनुभयो ।
वर्षामा बिग्रिएको बाटोमा हालिएको माटोमा समिति सचिवालयको सवारी फसेको थियो । फोहर लैजाने सम्झौता गर्दा गरिएको व्यवस्थाअनुसार महानगरपालिकाले ५० शय्या अस्पताल निर्माण, एक घर एक रोजगार, विद्यालयमा शिक्षक शिक्षिकालगायत जनशक्ति व्यवस्थापन, छात्रवृत्तिको व्यवस्थालगायत बुँदा अझै कार्यान्वयन नभएको गाउँपालिका वडा नं– १ का अध्यक्ष चन्द्रबहादुर श्रेष्ठ बलामीले बताउनुभयो ।
फोहर फाल्ने सम्झौता गर्दा महानगरपालिकाले कोल्पुखोलाको पानी पिउन योग्य हुने गरी व्यवस्थापन गर्ने प्रतिबद्धता जनाए पनि कार्यान्वयन भएको छैन । लिच्चडको कुलो सिधँै कोल्पुखोलामा मिसिन्छ । खोलाको पानी प्रदूषित भएपछि घाउ चोट लागेकोले खोला तर्दा रोग लागेर मरेको घटना स्थानीयवासी श्रीराम ढुङ्गानाले समितिको संसदीय टोलीलाई सुनाउनुभयो ।
“महानगरपालिकाले पटक÷पटक गरेको सम्झौता कार्यान्वयन नभएकोले बञ्चरेडाँडामा पनि सिसडोलकै जसरी अव्यवस्थितरूपमा फोहर फाल्न खोजिएको छ, सिसडोल व्यवस्थित नगरेसम्मका लागि असोज १ गतेदेखि यहाँ काम गरिरहेका सबै यन्त्र काठमाडौँमै फर्काउँदै छौँ”, उहाँले भन्नुभयो ।
स्थानीयवासीले समिति सभापति कल्याणीकुमारी खड्कालाई ज्ञापनपत्र पेश गर्दै समस्या समाधानको पहल गरिदिन माग गरे । संसदीय समूह आउने जानकारी समेत प्रभावित जनता एवं जनप्रतिनिधिलाई नदिइएको भन्दै धुनिबँेसी नगरपालिका–१ का अध्यक्ष चन्द्रबहादुर तामाङले गुनासो गर्नुभयो । कोल्पुखोला वारिपारिका दुई जिल्लाका दुवै स्थानीय तहका गरी चार वडा क्षेत्रमा फैलिएको दुर्गन्ध एवं झिङ्गाका कारण चियाखाजा खान नसकिने गरेको उहाँले सुनाउनुभयो ।
स्थानीय विश्वास ढुङ्गानाले संसदीय समितिबाट स्थलगत अध्ययनमा जानुभएका सांसदहरूलाई प्रश्न गर्नुभयो ‘माननीय मानिस र फोहर एकै स्थानमा रहनसक्छ कि सक्दैन ?’ । काठमाडौँमा मानिस र फोहर एकै स्थानमा रहन नसक्ने यहाँ कसरी राख्न सकिन्छ भन्ने यहाँका स्थानीयवासीको भनाइ छ । यस्तो प्रश्न यस क्षेत्रका अधिकांश मानिसले संसदीय समितिलाई सोधेका थिए ।
सभापति खड्काले फोहर अवरुद्ध भएको सडकमा बिजुलीको पोल ढल्न लाग्दासमेत नउठाएको देखिएको सुनाउनुभयो । “फोहरको थुप्रोले कोल्पुखोला थुनियो भने यस क्षेत्रमा अझ ठूलो समस्या आउन सक्छ, थोरै जनसङ्ख्या भएको स्थानमा रोग र विपत्तिको समस्या आउन नदिन बेलैमा उपयुक्त कदम चाल्न समितिका तर्फबाट पहल गर्छौँ”, उहाँले भन्नुभयो ।
फोहर लैजाने बेलामा एक गाडी फोहर हालेपछि माटोले पुरेर व्यवस्थापन गर्ने उल्लेख गरिएको थियो । तर, अहिले सिसडोलमा मरेका जीवको दुर्गन्धित अवस्थामा सडकमै फालेको देखिन्छ । गन्ध हटाउन कुनै औषधिजन्य पदार्थ पनि हालिएको छैन ।