भर्खरै :

नेमकिपाको महाधिवेशनले दिएको सन्देश

नेपाल मजदुर किसान पार्टीको सातौँ महाधिवेशन शुक्रबार भक्तपुरको सल्लाघारीमा भव्य समारोहबीच उद्घाटन भयो । माक्र्सवाद–लेनिनवाद र माओ त्सेतुङ्ग विचारधारा जिन्दावाद ! समाजवादी प्रचार अभियानमा सहभागी होऔँ ! नाराका साथ सुरू भएको महाधिवेशनको महत्वपूर्ण सैद्धान्तिक पक्ष एकातिर छ भने महाधिवेशनको व्यवस्थित ¥याली र उद्घाटन समारोहमा पार्टी कार्यकर्ता तथा समर्थकहरूको व्यापक उपस्थितिले जुझारू एकतालाई प्रदर्शन गरेको छ । महाधिवेशन उद्घाटन समारोहका सहभागी नेता–कार्यकर्ताहरू भक्तपुरको च्याह्मासिँह, मध्यपुर ठिमीको बोडे र काठमाडौँको कोटेश्वर गरी तीन ठाउँबाट बाजागाजाका साथ ¥याली सुरू गरी भक्तपुर सल्लाघारी उद्घाटनस्थलमा पुगेका थिए ।
महाधिवेशन उद्घाटन ¥याली र समारोहमा स्वयम्सेवकहरूको सक्रियता र जिम्मेवारी वहन प्रशंसायोग्य रहेको अधिकांश सहभागी र पर्यवेक्षकहरूको कथन थियो । महाधिवेशनस्थलमा बस्ने व्यवस्था, खानेपानी, खाजा, औषधोपचार, शौचालय, सूचना आवश्यक सबै क्षेत्रका लागि स्वयम्सेवक उपस्थित थिए । यस्तो प्रकारको जिम्मेवारीबोध, सेवाभाव तथा समर्पण एक सिद्धान्तनिष्ठ र सच्चा कम्युनिष्ट पार्टीमा बाहेक अरू पार्टीमा हुनैसक्दैन । महाधिवेशनका हरेक सहभागीमा थकानको कुनै भाव थिएन । बरू ठूलो उत्साह, उमङ्ग, देश र पार्टीप्रतिको आस्था प्रदर्शन भएको थियो । महाधिवेशनमा मजदुर, किसान, महिला, युवा, विद्यार्थी, शिक्षक, प्राध्यापक, कानुन व्यवसायी, प्राध्यापक, संस्कृतिकर्मी, चिकित्सक, इन्जिनियर, नर्स, पत्रकार, कर्मचारी, साना व्यापारी, सहकारीकर्मी आदि समाजका सबैजसो पेशा र व्यवसायमा आवद्ध जनताको सङ्गठित सहभागिताले पनि कामदार जनतामाझ नेपाल मजदुर किसान पार्टीको जरा रहेको देखाएको छ । महाधिवेशनमा जनताको विशाल सहभागिताले नेपाल मजदुर किसान पार्टी जनतामा आधारित, जनताकै बीचबाट जन्मेको, हुर्केको र विकास भएको पार्टी रहेको पुनः पुष्टि भएको छ ।
पार्टी महाधिवेशनमा पार्टी नेता–कार्यकर्ताहरूमाझ को केन्द्रीय समितिमा पुग्ने भन्ने कुराको कुनै चर्चा वा छलफल छैन बरू नेपालको समाजवादी र साम्यवादी आन्दोलनलाई अगाडि बढाउने कस्तो नीति तथा कार्यक्रम आवश्यक छ भन्ने कुरामा छलफल केन्द्रित देखिन्थ्यो । राष्ट्रिय र अन्तर्राष्ट्रिय राजनीति स्थितिको चर्चा परिचर्चा र के–कस्ता प्रस्ताव पारित गर्नुपर्छ भनी छलफल चलेको सुनिन्छ । यसले अरू पार्टीहरूमा जस्तो नेमकिपामा पदको निम्ति लडाइँ छैन बरू पार्टी, कम्युनिस्ट आन्दोलन र देशको चिन्ता बढी झल्केको स्पष्ट हुन्छ ।
महाधिवेशन उद्घाटन ¥याली र समारोह सदस्य सङ्ख्या वा टाउको गन्तीलाई नै पार्टी ठूलो वा सानो ठान्ने र नेमकिपालाई सधैँ सानो पार्टी भन्नेहरूलाई एक जवाफ मिलेको छ । हो, नेमकिपाले पुँजीवादी निर्वाचनमा पुँजीवादी पार्टीहरूले जस्तै झूठा आश्वासन बाँडेर, पैसा, पद र प्रशासनको दुरूपयोग गरी मत बटुलेको छैन । तर नेमकिपाले निर्वाचनमा प्राप्त गरेको मत विशुद्ध सैद्धान्तिक मत हो । जनतालाई अरू केहीले नभई विचारले प्रभावित पारेर लिएको मत हो । नेमकिपाले पुँजीवादी राजनीति गर्ने पार्टीहरूले झैँ पद र सत्ताको लागि कहिल्यै सिद्धान्त र व्यवहारमा किञ्चित तलमाथि गर्ने सम्झौता गरेको छैन । हिमालमा चिप्लेकाहरू बीचमा कतै अड्ने वा रोकिने सम्भावना रहन्छ तर सिद्धान्तको हिमालमा चिप्लेकाहरू फेदीसम्मै पुग्ने वा पतन हुने सत्यमा नेमकिपा सजग छ । त्यसैले पुँजीवादी र अवसरवादी राजनीतिको आँधीहुरी चलेको प्रतिकूल अवस्थामा पनि नेमकिपाका नेता कार्यकर्ताहरू कम्युनिस्ट सिद्धान्त र आदर्शका पक्षमा सत्तिसालझैँ उभिरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *