जारशाही संसद्मा बोल्शेभिक सांसद – ८
- कार्तिक २६, २०८२
इमरान खान
(संयुक्त राष्ट्र सङ्घको ७४ औँ महासभामा असोज १० गते (२७ सेप्टेम्बर) मा पाकिस्तानका प्रधानमन्त्री इमरान खानले दिनुभएको मन्तव्य सान्दर्भिक भएकोले भाषणलाई नेपाली भाषामा अनुवाद गरिएको छ ।)
महामहिम सभापतिज्यू, महासचिवज्यू, महामहिमहरू, महिला तथा सज्जनवृन्द,
संसारका नेताहरूको यो दबुमा मेरो देशको प्रतिनिधित्व गर्न पाउँदा म गौरवान्वित छु । संसारले आज सामना गरिरहेका विभिन्न समस्याबारे यहाँ छलफल गर्ने हामी मौका पाउँछौँ । म धेरै समस्याबारे कुरा गर्न चाहन्थेँ । तर, आज म चार वटा समस्याबारे मात्र कुरा गर्नेछु । मेरो देशमा यतिबेला अप्ठ्यारो समस्या छ । पाकिस्तानले थुप्रै समस्या सामना गरिरहेको छ । तथापि म यो सभामा भाग लिन आएको छु । संसारले समाधान गर्नैपर्ने केही तड्कारो समस्याबारे बोल्नुपर्ने महसुस गरी म यहाँ आएको हुँ ।
सबभन्दा पहिले म कुरा सुरु गर्छु–जलवायु परिवर्तनबारे । धेरै नेताहरूले जलवायु परिवर्तनबारे कुरा गर्नुभयो । सभापतिज्यू, मेरो विचारमा यो विषयमा अझै गम्भीरताको अभाव छ । केही नेताहरू जसले धेरै काम गर्नुपथ्र्यो र गर्नसक्थे, उनीहरूले यो विषयको गम्भीरता अझै बुझ्न सकेका छैनन् । हामीसँग धेरै थरी विचार छन् । तर, कार्यान्वयनबिनाको विचार भनेको दिवास्वप्नमात्र हो । म मेरै देशको उदाहरणबाट कुरा अघि बढाउँछु । जलवायु परिवर्तनले सबभन्दा बढी असर गरेका संसारका दस देशमध्ये हाम्रो देश पाकिस्तान पनि पर्दछ । हामी नदीमा निर्भर छौँ । पाकिस्तान मूलतः कृषिमा आधारित देश हो । पाकिस्तानमा बहने ८० प्रतिशत पानी हिमालबाट आउने गर्छ । पाकिस्तानमा मात्र होइन, भारतमा बहने ८० प्रतिशत पानी पनि हिउँ पग्लेर नै बग्ने गर्छ । काराकारोम, हिन्दुकुश आदि हिमाली क्षेत्रबाट बग्ने पानी नै भारतका नदीमा पनि बहने गर्दछ । आज ती हिमालहरू तीव्रतर गतिमा पग्लिरहेका छन् । हामीले ५ हजार वटा हिमनदीहरू घटिसकेको पत्ता लगाएका छौँ । यदि यो क्रम चलिरहे र हामीले केही गर्न नसके मानव जाति एउटा ठूलो महासङ्कटमा पर्नेमा हामी चिन्तित छौँ ।
मेरो देशको खिबर पाखतुन्ख्वा (केपी) प्रान्तमा जब मेरो पार्टी सत्तामा आयो, पाँच वर्षमा हामीले अरबौँ रुख रोप्यौँ । आज हामीले पाकिस्तानमा दस अरब रुख रोप्ने लक्ष्य बनाएका छौँ । विश्वव्यापी तापमान वृद्धि रोक्न हामीले यो कार्यक्रम ल्याएका छौं । तर, एउटैमात्र देशले यो विषयमा केही पनि गर्नसक्दैन । यसमा संसारकै सबैको साझा प्रयास आवश्यक छ । निःसन्देह मानिससँग ठूलो शक्ति छ । त्यसकारण म आशावादी छु । यदि हामी अस्तित्वमा रहनसक्यौँ भने हामीले जे पनि गर्नसक्छौँ । संयुक्त राष्ट्र सङ्घले यो विषयमा नेतृत्व गर्नेमा म आशावादी छु । हरित गृह उत्र्सजनको लागि मूलतः जिम्मेवार धनी देशहरूलाई घच्घच्याउनुपर्छ किनभने हामीजस्ता विकासशील देशले हरित गृह उत्सर्जन निकै कममात्र गरेका छौँ । संरा सङ्घले यो विषयमा ध्यान दिनुपर्छ भन्ने मलाई लाग्छ ।
मेरो दोस्रो विषय अझ बढी गम्भीर विषय हो । महामहिम सभापतिज्यू, हरेक वर्ष अरबौँ डलर पैसा गरिब देशबाट धनी देशमा जाने गरेको छ । विकासशील देशका शासक वर्गले अरबौं डलर बदमासीपूर्वक चोर्ने गर्छ र तिनलाई पश्चिमा देशका बैङ्क खातामा जम्मा गरिन्छ । विदेशको खातामा, ट्याक्स हभन (विदेशी लगानीलाई कम कर लगाउने व्यवस्था भएको देश), पश्चिमा पुँजी बजारमा खरिद गरिएको कम्पनीमा लुकाइएको महँगा सम्पत्तिको रूपमा विकासशील देशका पैसा विदेशिने गरेको छ ।
महामहिम सभापतिज्यू, त्यसले विकासशील देशको अर्थतन्त्रमा घातक प्रभाव पारिरहेको छ । यो गरिबी र मृत्युको कारण बनिरहेको छ । विकासशील देशलाई अझ गरिब बनाइरहेको छ । यसले धनी र गरिब देशबीचको भेद अझ फराकिलो बनाइरहेको छ । यसरी शासक वर्गमार्फत विदेशमा पैसा जम्मा हुनुलाई लागूऔषधको पैसा, आतङ्कवादको सहयोग गर्न हुने मौद्रिक अपचलनसँग तुलना गर्न मिल्दैन । गरिब देशका शासकले विदेशमा पैसा राख्ने विषय लागूऔषध र आतङ्कवादको पैसासँग तुलनायोग्य होइन ।
मेरो देशमा एक वर्षअघि मेरो नेतृत्वको सरकार गठन भयो । ६० वर्षदेखि पाकिस्तानले जम्मा गरेको ऋणको भारी दस वर्षको अन्तरालमा चार गुणाले बढ्यो । परिणामतः हामीले एक वर्षमा उठाउने राजस्वको आधा भाग त ऋणै तिर्नमात्र खर्च भयो । ऋण तिर्न नै आधा पैसा खर्च हुन्छ भने कसरी हामीले २२ करोड जनतालाई खर्च गर्नसक्थ्यौँ र ? हाम्रो देशलाई शासक वर्गले लुटेको थियो । अनि लुटेको पैसा सजिलै विदेश पठाउने गरिन्थ्यो ।
सभापति महोदय, भ्रष्टाचार गरेर र मौद्रिक अपचलन गरेर पश्चिमा पुँजी बजारमा खरिद गरिएको अकूत सम्पत्ति हेर्नोस् । भ्रष्ट नेताहरूले थुपारेका अकुत सम्पत्ति हेर्नोस् । त्यो सम्पत्ति फिर्ता गर्न हामीलाई निकै गा¥हो भयो । त्यो पैसा फिर्ता ल्याउन सके हामीले त्यो पैसा मानव कल्याणमा प्रयोग गर्नसक्छौँ । कानुनले तिनै अपराधीलाई संरक्षण गरेको छ । हामीसँग महँगा वकिल राख्न र करोडौँ करोड खर्च गर्ने पैसा छैन । यसको निम्ति हामीलाई धनी देशको सहायता चाहिएको छ । यो निकै गम्भीर विषय हो ।
धनी देशले राजनीतिक इच्छा शक्ति देखाउन सक्नुपर्छ । उनीहरूले यस्ता सबै काम हुन दिनुहुन्न । जब त्यो पैसा सजिलै हाम्रो देश छोडेर जाने गरेको छ भने संरा सङ्घले भनेजस्तो मानव विकास र दिगो विकास लक्ष्य हासिल गर्न गरिब देशले पैसा कहाँबाट ल्याउने ? अहिले धनी देशले आर्थिक शरणार्थीलाई रोक्न अग्ला पर्खाल बनाइरहेको हामी देख्दै छौँ । त्योभन्दा प्राथमिकताको क्षेत्र यो हो र त्यसमा केही कदम चाल्नु ढिला गर्न हुन्न । यो काम अहिले नै गरिनुपर्छ । भ्रष्ट शासकहरूलाई पैसा देशबाहिर लगेर विदेशी बैङ्क खातामा जम्मा गर्न रोक्नुपर्छ । विदेशमा सम्पत्ति थुपार्न रोकिनुपर्छ । मैले नबुझेको एउटा कुरा किन यो ट्याक्स हभनको व्यवस्था गरिएको छ ? किन तिनलाई अनुमति दिइएको छ ? धनी मानिसले किन कर नतिर्ने ? गोप्य खाता हुने त्यस्ता ट्याक्स हभनलाई अनुमति किन दिइएको छ ?
संसार आज बदलिसकेको छ । संसारमा जनसङ्ख्या बढिसकेको छ । यदि धनी झन् धनी बन्ने र गरिब झन् झन् गरिब बन्दै जाने हो भने संसार एक न एक दिन ठूलो सङ्कटमा फस्नेछ । ढिलो चाँडो त्यो सङ्कट आइपर्नेछ । म आशा गर्छु, संरा सङ्घले यसमा पहलकदमी चाल्ने छ । अन्तर्राष्ट्रिय मुद्रा कोष, विश्व बैङ्क, एसियाली विकास बैङ्कले विकासशील देशमाथि लुटपाट बन्द गर्ने उपाय खोज्नुपर्छ ।
मेरो तेस्रो विषय हो– मुसलमानप्रतिको भय (इस्लामोफोबिया) । संसारमा १ अर्ब ३० करोड मुसलमान छन् । लाखौं लाख मुसलमानहरू संरा अमेरिका, युरोपेली देशहरूमा अल्पसङ्ख्यकको रूपमा बसोबास गर्छन् । सन् २००१ को सेप्टेम्बर ११ को घटनापछि सुरु भएको मुसलमानप्रतिको भय आज उत्कर्षमा पुगेको छ । मानव जाति एकसाथ मिलेर बस्छन् । उनीहरूबीच आपसी समझदारी हुनुपर्छ । तर, मुसलमानप्रतिको भयले विभाजन रेखा कोरेको छ । मुसलमान महिलाले हेजाब लगाउनु केही देशमा ठूलो मुद्दा बनिरहेको छ । हेजाब एक प्रकारको हतियार हो । महिलालाई लुगा फुकाल्न छुट हुने तर हेजाब लगाउन निषेध गरिएको छ । मुसलमानप्रतिको भयका कारण यो सबै भइरहेको हो । यस्तो भय कहाँबाट सुरु भयो–सेप्टेम्बर ११ पछि । किन सुरु भयो ? किनभने केही नेताहरूले आतङ्कवादलाई इस्लामको पर्यायवाचीको रूपमा चित्रण गरे । इस्लामिक आतङ्कवाद । ¥याडिकल
(अतिवादी) इस्लाम । के हो त्यो भनेको ? इस्लाम त एउटैमात्र छ । धर्मगुरु मोहम्मदको इस्लाम एउटै छ जो हामी मान्ने गर्छौं । त्योभन्दा बाहेक अरु कुनै इस्लाम धर्म छैन । इस्लामिक आतङ्कवाद, ¥याडिकल इस्लाम यस्ता शब्दले पश्चिमले के सन्देश दिन खोजिरहेको छ ? अनि किन मुसलमानप्रति भय व्याप्त छ ? संरा अमेरिकामा बसेको र युरोपमा बसेको मुलसमानमध्ये कसलाई मध्यमखालको मुसलमान र कसलाई हिंस्रक अतिवादी मुसलमान भनेर छुट्याउने ? आतङ्कवादको कुनै पनि धर्मसँग कुनै लिनुदिनु हुन्न । दुर्भाग्यवश नेताहरूले प्रयोग गरिरहेका इस्लाम आतङ्कवाद नै मुसलमानप्रतिको भयको मुख्य कारण बनेको छ । मुसलमानहरूको लागि यो पीडाको विषय बनेको छ । हामी यस्तो खालको व्यवहार विभिन्न देशमा भ्रमण गर्दा महसुस गर्ने गर्छौं । यो झनझन खराब बनिरहेको छ ।
युरोपेली देशहरूले मुसलमान समुदायलाई सीमान्तकृत बनाइँदै छन् । सीमान्तीकरणले विद्रोही जन्माउने कुरा हामी सबैलाई थाहा छ । सिरिया र अन्य केही देशमा विद्रोहमा होमिएका मानिसहरू सीमान्तकृत मुसलमान समुदायका हुन् । हामीले यो विषय समाधान गर्नैपर्छ । दुःखको कुरा हामी मुसलमान नेताहरूले पनि यो विषय समाधान गर्न खोजेका छैनौँ । सेप्टेम्बर ११ पछि अतिवादी मुसलमानहरूविरुद्ध लडाइँ घोषणा गरिएको समयमा अतिवादी मुसलमान भनेको हुन्न भन्ने कुरा पश्चिमा देशलाई सम्झाउने प्रयास गरेनौँ । सबै मानव समुदायमा अतिवादी पनि हुन्छन्, उदारपन्थी पनि हुन्छन् । क्रिश्चियन, यहुदी सबै समुदायमा दुई थरी मानिस हुन्छन् । तर, इस्लाम धर्म स्वयं नै अतिवाद भने होइन । न त यहुदी धर्म, क्रिस्चियन न हिन्दु धर्म नै अतिवादी हो । कुनै पनि धर्मले अतिवाद सिकाउँदैन । सबै धर्मको आधार भनेको सदाचार र न्याय हो ।
त्यही सिकाइले हामीलाई पशुबाट भिन्न बनाएको हुन्छ । विडम्बना, मुसलमान नेताहरू आफूलाई अतिवादी भन्छन् भनी यति डराए, सबैजना ‘उदार’ बनिदिए ।
पाकिस्तान इस्लामको आँखा हो । त्यत्तिबेला हाम्रो सरकारले एउटा शब्द निकाल्यो–ज्ञानी उदारता (इन्लाइटन्ट मोडरेसन) । कसैलाई पनि त्यसको अर्थ के हो थाहा थिएन । मानिसले उदारपन्थीको नाममा कोट पाइन्ट लगाउन थाले । अङ्ग्रेजी नजानेकाले पनि अङ्ग्रेजी बोल्न थाले । हामीले पश्चिमा संसारलाई अतिवादी इस्लाम भनेको केही कुरा छैन भन्ने कुरा बुझाएनौँ ।
सेप्टेम्बर ११ पछि धेरै मानिसले आतङ्कवादलाई मुसलमानको पर्यायवाची शब्द मान्नुको एउटा कारण थियो–आत्मघाती हमला । सेप्टेम्बर ११ का हमलाकारीले आत्मघाती हमला गरेकोले त्यस्तो सिद्धान्त आएको थियो । मुसलमानहरूले आत्मघाती हमला गर्नसके स्वर्गको वास हुने भन्ने प्रचार गरियो । आत्मघाती हमला र मुसलमान धर्मलाई पर्यायवाचीजस्तै प्रयोग गरियो । तर, सेप्टेम्बर ११ को घटनाभन्दा अघि संसारमा सबभन्दा बढी आत्मघाती हमला गर्नेहरू तालिम टाइगर्स थिए । उनीहरू हिन्दू हुन् । कसैले यो अनुसन्धान गर्न आवश्यक नै ठानेन । श्रीलङ्काका आक्रोशित मानिसले गरेको आत्मघाती हमलासँग हिन्दू धर्मको के लिनुदिनु थियो र ? दोस्रो विश्वयुद्धपछि जापानी विमान चालकहरूले आत्मघाती हमला गरेका घटना हामीले चलचित्रहरूमा हेर्छौं । त्यसमा धर्मसँग के लिनुदिनु ?
मैले बेलायतमा व्यवसायिकरूपमा लामो समय (क्रिकेट) खेलेँ । त्यसकारण मैले लामो समय बेलायतमा बिताएको छु । पश्चिमा दिमागले कसरी काम गर्छ भन्ने कुरा मलाई थाहा छ । पश्चिमाहरू धर्मलाई कसरी लिन्छन् भन्ने कुरा पनि मलाई थाहा छ । इस्लाम धर्मबारे असमझदारी कहाँबाट आयो भन्ने कुरा म बुझ्छु । त्यहींबाट मुसलमान धर्मप्रतिको भय सिर्जना गरेको हो । सन् १९८९ मा धर्म गुरु मोहम्मदबारे एउटा पुस्तक प्रकाशन भएको थियो । मुसलमानको विषयमा विश्वमा अनेक थरी प्रतिक्रिया देखापरे । तर, पश्चिमा विश्वले भने खास समस्या के हो भन्ने कुरा बुझ्नै सकेन । पश्चिमाहरू धर्मलाई नितान्त फरक तरिकाबाट बुझ्छन् । धर्मबारे हाम्रो र उनीहरूको बुझाइ फरक छ । अनि मुसलमान धर्मलाई असहिष्णु धर्मको रूपमा प्रस्तुत गरियो । इस्लाम धर्म अभिव्यक्ति स्वतन्त्रताको विरोधी बताइयो ।
पश्चिमा केही मानिस जसले यसको असरबारे जानी जानी खुलमखुला प्रचार गर्दै हिँड्ने गर्छन्, उनीहरू यसका लागि दोषी छन् । तर, बहुमत पश्चिमालाई भने त्यसको असर पनि थाहा छैन । मुसलमान नेताहरूले नै मुसलमानहरूलाई तल झारे ।
……
धर्मगुरु मोहम्मदको अपमानलाई मुसलमानहरू सहन सक्दैनन् । शारीरिक चोटपटक भन्दा धेरै गहिरो हुन्छ, मनको घाउ । म किशोरावस्थामा पहिलो पटक बेलायत जाँदा त्यहाँ जिसस क्राइसको विषयमा हाँस्यव्यङ्ग्य चलचित्र चलेको थियो । मुसलमान समुदायमा त्यस्तो कुरा अकल्पनीय विषय हो । मानव समुदायमा एक जनाले अर्को समुदायको मन केमा दुख्छ भन्नेबारे ख्याल गर्नुपर्छ । यहुदी समुदायलाई पीडा दिने भएकोले होलोकोस्टलाई पश्चिमा संस्कृतिमा संवदेनशीलरूपमा लिने गर्छन् । हाम्रो पवित्र धर्म गुरुलाई अपमान गरेर हामीलाई पीडा दिने अभिव्यक्ति स्वतन्त्रताको अधिकार प्रयोग नगर्नुहोला, यही हो हाम्रो कुरा ।
प्रस्तुतिः सुशिला
Leave a Reply